लघुकथा : जिम्मेवारी

~कात्यायन~dhanwantari-mishra-katyayan

– “काँधमा थप जिम्मेवारी !”

– कुनै एक-दिन सर्वदलीय सभामा हामीहरू सहभागी भएकाथियौं | थुप्रै साथीहरू आ-आफ्नै मोबाईलका खेलमा व्यस्त थिए | मेरो एकजना मित्र पनि फेस-बुकको एउटा खेलमा सम्मिलित थियो | खेलको नाम थियो, – “तपाईंको फोटो नेपाली राष्ट्रिय दैनिकको मुख्यपृष्ठमा”|

– “काँधमा थप जिम्मेवारी” सहितको उसको सुन्दरफोटो एउटा राष्ट्रिय दैनिक पत्रिकाको मुख्यपृष्ठमा अंकित थियो | साथी पुलकित थियो | मनमनै मोबाईल र फेस-बुकप्रति आभार व्यक्त गरिरहेको आभास हुन्थ्यो !

– साथीहरूको – “बधाई छ!” तथा “तपाईंको जिम्मेवारीमा हाम्रो पनि पूर्ण सहयोग रहनेछ!” भन्ने टिप्पणीले ऊ गौरवान्वित महसूस गर्दछ | काँधतिर कर्के नजरले हेर्दछ | “काँधमा काँध जोडी, बिघ्नको पहाड फोडी तन, मन र धन लगाई देश निर्माणको बेला छ है!”… भन्ने अर्को सल्लाहले त झन् जुरुक्कै उचाल्छ उसलाई|

– “काँधमा जिम्मेवारी आए पछि पानी-जहाज, ग्याँसका पाईप, मेट्रो-ट्रेन, हावाबाट विजुली जस्ता झिना-मसिना कुराहरूमा नअल्झिएर सोझै आफ्नो देशबाट चंद्रमासम्म जोड्ने केबुल-कार निर्माण गर्नुपर्ने!”… सुझावले त आफ्नो काँधमा अत्यन्तै गर्विलो जिम्मेवारी थपिएको बोध गर्छ |

– आफ्नो फोटोको दायाँ-बायाँतिर राखिएका राष्ट्रपति र प्रधान-मन्त्रीको फोटोसहितको मुख्य समाचारलाई आफ्नो अगाडि फगत निरिहयताको प्रतिमूर्ति झैं लाग्छ उसलाई | जिम्मेवार व्यक्तिले कसैलाई थुक्न पनि त भएन ! आफ्नै दलको सरकार र राष्ट्र प्रमुख समेत भएको समयमा समेत देशको उदीयमान् नेताहरूको वर्षौं पुरानो हत्याको रहस्यको पर्दाफास गर्न नसक्नेले, सर्वसाधारण निमुखाहरूको त के गर्लान् भनेर आफैंलाई धिक्कार्छ उसले!

– खेलमा नै सही; जिम्मेवारी बढेकोबेला, – भोकमरी र महंगीदेखि लिएर तरल राजनीतिका खेलहरूलाई मनमनै गुणना पनि गर्नथाल्छ |…

– नयाँ जिम्मेवारीको उत्साहले अघि थुक्न बाँकी रहेको थुकलाई घुटुक्क निल्छ |

– र, अन्त्यमा, – अगाडि मन्चमा खाली रहेको प्रमुख-अतिथिको सिंहासनलाई भोको नजरले हेर्छ, र आफूलाई त्यसैमा विराजमान भएको उल्लासले रमाउंछ !

२०७३/०२/०७
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.