संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~biplav-prateek

बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा सम्झनाको सुरेली खेल्दै जाँदा म त्यहाँ पुग्छु, जहाँ बाल्यकालका मधुर स्मृति छन् । केही स्थिर र केही सिनेमाका रलिजस्तै चलायमान छविहरू सम्झनाका रजतपटमा सलबलाएका छन् ।

समीरा दिदी सम्झनामा हुनुहुन्छ अहिले । बालखैमा उहाँ र हामी छुटेका थियौँ । कहिलेकाहीँ सम्झनामा बाहेक उहाँसँग कहिल्यै पनि सशरीर भेट भएको छैन । त्यस्तो मान्छेसँग करबि साढे चार दशकपछि अचानक फोनमा भेट भयो, त्यो पनि अमेरकिामा ! बिलकुल सन् ‘७० को दशकका हिन्दी सिनेमामा मेलामा छुटेकाहरू भेटिएझैँ । यो अनौठो संयोग थियो र यतिखेर उहाँ मेरो सम्झनामा आउने कारण पनि त्यही हो । कल्पनाभन्दा पनि अद्भुत हुन्छ वास्तविकता भनेर सायद त्यसैले भनिएको होला । म पार्कमा हिँड्दै थिएँ, उहाँसँग कुरा हुँदा । मेरो स्वर हल्का चर्को भएको थियो र अनुहारमा पक्कै हुनुपर्छ छक्क परेको भाव ।

कुरैकुरामा उहाँले धर्मबुबाको नाम लिनुभयो । समीरा दिदीको बुबा हुनुहुन्थ्यो धर्मप्रसाद ढकाल । उहाँलाई सम्झिनेबित्तिकै म स्मृतिको दराज खोतल्दै सरासर त्यस सँघारमा पुगेँ, जहाँ मेरो बाल्यकालको एउटा भाग कुँदिएर रहेको छ । त्यस भागमा मुसुक्क हाँसेका धर्मबुबा देखा पर्नुहुन्छ । उहाँ दुवै हात फिँजाएर मलाई भंगिमाले बोलाउँदै गरेको देख्छु । अनि, विभिन्न तस्बिर आउँछन् सम्झनाको पर्दामा । मूक सिनेमा हेरेझैँ, चलायमान तस्बिरहरू छन् तर ध्वनि छैन । सम्झनामा आवाज हुँदैन कि क्या हो ! निःशब्द, सम्झनाको पाना पल्टाउँदै जाँदा कतै एक ठाउँतिर पुगेपछि मन कटक्क हुन्छ । भर्खर मात्र फुलेको फूल अचानकै चुँडिएर पत्थरमा फ्यात्त खसेझैँ ओइलिन्छ मन । अनि, सहसा बदलिन्छ खुसी र पानी बनेर आँखामा रसाउँछ । खुसी र खिन्नताको यो कस्तो संयोग कुन्नि !

धर्मबुबालाई सम्झिँदै जाँदा त्यतिखेरको स्मृति झर्‍याम्म फुटेको ऐनाजस्तै पाएँ । यति मसिनोसँग फुटेको रहेछ कि कसरी जोडूँ, कुनकुन जोडूँ र कताबाट जोडूँ ? बडो जतनले जोडेर आफ्नो प्रतिविम्ब हेर्दा देखियो मेरो अनुहार चर्किएको त्यस ऐनामा र भेटियो मनलाई सिरंिग पार्ने कहानीका सूत्रहरू । सबै अहिले भनेर साद्धे छैनन् ।

कृष्णप्रसाद सर्वहारा याने कि मेरो बा आजभन्दा ६ दशकअघि राजाविरोधी राजनीतिमा लागेको मान्छे । बासँग नेता हुने महत्त्वाकांक्षा थिएन । कार्यकर्ताको भूमिकामै सन्तुष्ट हुन पनि सन् ‘५० कै दशकमा उहाँले धोबीधारास्थित पैतृक घर र जमिन गुमाउनुपर्‍यो । राजनीतिको नशा र परविर्तनको सपनाले गर्दा पुर्ख्यौली सम्पत्ति गुमेको उहाँलाई पत्तै भएन । जतिखेर चाल पाउनुभयो, त्यतिखेर कस्तो अनुभव भयो होला कुन्नि ! तर, उहाँले मेरो पुर्ख्यौली घर धोबीधारामा थियो, राजनीतिमा लागेर डुबाएँ भनेर गर्व गरेको याद छैन । न सम्झना छ, उहाँले पछुतो मानेको । घर गुमेपछि धेरै वर्षसम्म उपत्यकामा हाम्रो बसाइँसराइ चलिरह्यो, कहिले भीमसेनस्थान, कहिले प्यूखा त कहिले प्याफलमा ।

राजनीतिमै लागेका कारण मेरी आमा र मसँगसँगै बस्न न मेरा बाको तकदिरमा लेखिएको रहेछ, न हाम्रो भाग्यमै । बा काठमाडौँ बाहिरबाहिरै काम गर्नुहुन्थ्यो । कहिले कता, कहिले कता अर्थात् जताजता काम पाइयो, त्यतैत्यतै जानुहुन्थ्यो । कहिले काभ्रेपलान्चोक त कहिले धादिङतिर उहाँले मास्टरी गरेको मलाई अलिअलि सम्झना छ । होस्टलमा बसेर पढ्ने विद्यार्थीजस्तो आक्कलझुक्कल मात्र घर आउने गर्नुहुन्थ्यो बा ।

बाको मास्टरी कमाइले आमा पढ्नुहुन्थ्यो, घरबहाल तिरिन्थ्यो र बचेकाले जेनतेन गुजारा चल्थ्यो । कहिलेकाहीँ म बिरामी पर्दा नियमित खर्चमा दखल पुग्थ्यो र समयमा घरको बहाल तिर्न सकिँदैनथ्यो । घरीघरी आर्थिक अभावमा गुज्रिनुपर्दा आमालाई हुनुसम्म दिक्दार लाग्दो हो । मैले थाहा पाएसम्म एकदिन बाटामा उहाँको भेट विष्णु दिदी -धर्मबुबाकी जेठी छोरी)सँग भयो । परचिय हुनेबित्तिकै दुवैको मन मिलेछ क्यार ! आमाले आफ्नो रामकहानी सुनाउनुभयो । विष्णु दिदीले आफ्नो बुबासँग सल्लाह गरेर आफ्नो घरमा एउटा कोठा सित्तैँमा बस्न दिने व्यवस्था मिलाउने हुनुभयो । बाको अनुपस्थितिमै आमा सर्नुभयो प्याफलबाट सिफल, जसलाई उहिले सिफले पनि भनिन्थ्यो ।

त्यहाँ सरेपछि हो मेरो परचिय भएको धर्मबुबासँग । पहिलोपल्ट भेट्दा नै हामीलाई सायद स्नेह र आत्मीयताले बेर्‍यो । एकअर्कालाई एकअर्काको उपस्थिति मन पर्नु पनि संयोग हो, अझ मलाई त यो वरदानै लाग्छ । सिफलमा बिउँझिएको पहिलो बिहान कस्तो महसुस भयो, याद छैन । तर, पहिलो बिहान नै होला मैले भेटेको धर्मबुबालाई । शिष्टाचारवश आमा धर्मबुबालाई भेट्न माथि उक्लिनुभयो । बैठक कोठामा हुनुहुन्थ्यो धर्मबुबा । के के कुरा भए कुन्नि ! म भने आमाको काखबाट ओर्लिएर कतिखेर धर्मबुबाको छेउमा पुगिसकेछु । आमाले ‘बाबु नमस्ते गर’, ‘सलाम गर’ र ‘ह्यान्डसेक गर’ भन्नुभयो । मैले भनेबमोजिम गरििदएँ । धर्मबुबा दंग पर्नुभयो । मलाई काखमा लिएर कपाल मुसार्नुभयो । अघिल्तिर आमा हुनुहुन्थ्यो । आमालाई पुलुक्क हेरेपछि मैले गर्दन उचालेर धर्मबुबालाई हेरेँ । उहाँ निहुरनिुभयो र मलाई हेरेर मुसुक्क हाँस्नुभयो । सायद हामीबीच बिनाधागोको साइनो बाँधियो त्यसपछि । धर्मबुबाको काखबाट मलाई लिएर जान अलि बलजफती गर्नुपर्‍यो आमालाई । नचिनेको बालक झ्याम्मिँदा सके धर्मबुबालाई पनि रमाइलो लाग्यो होला ।

त्यसपछि आमा घरमा छँदा होस् वा नहुँदा, हाम्रो परिवार सिफलमा बसुन्जेल र धर्मबुबा काठमाडौँ हुँदा म धेरैजसो समय उहाँकै वरपिरि हुन्थेँ । परिवारमा बाको व्यक्तित्वको खोजी थियो क्यार ! मेरो त्यही खालीपन सायद धर्मबुबाबाट पूरा भयो ।

बिहान हुन पाउँदैनथ्यो, म उठ्नेबित्तिकै माथि उक्लिहाल्थेँ, धर्मबुबाको बैठकमा । उहाँ गिलासमा चियाको चुस्की लिँदै गरेको भेटिनुहुन्थ्यो अक्सर । मैले खाजा खाए/नखाएको नबिराईकन सोध्नुहुन्थ्यो । म छैन भनेर मुन्टो हल्लाउँथेँ । आमालाई जाँगर हुँदैनथ्यो वा पैसाले पुग्दैनथ्यो, थाहा छैन तर बिहान नास्ता बनाउने चलन थिएन हामीकहाँ । गम्भीर मुद्रामा मेरो मुन्टो हल्लाइपछि उहाँ भान्छेलाई बोलाएर भन्नुहुन्थ्यो, “टंक, लौ यो नानीलाई केही ख्वाऊ त !”

एकदिन म बैठकमा निरुद्देश्य रगरग गर्दै थिएँ । कोठाको एउटा कुनाको दराजमा केही किताबहरू थिए । त्यहीँनेर पुगेर उभिएछु म । धर्मबुबाले अह्राएपछि टंक दाइ मेरा लागि खाजा बनाउन गएका थिए । अचानक मलाई सोध्नुभयो, “अक्षर चिन्छौ ?” मैले ‘चिन्छु’ भनेँ र उहाँलाई पुलुक्क हेरेँ । मेरो जवाफ र हेराइबीच कतिबेरको विश्राम थियो कुन्नि ! मैले हेर्दा दुवै हातले समातेको दैनिक अखबार गोरखापत्रबाट च्याएर उहाँ मलाई क्वारकार्ती हेरिरहनुभएको थियो । चस्मा नाकको डाँडीमा अडिएको र आश्चर्यभाव अनुहारमा झल्किएको थियो, उहाँको । सायद उहाँले पत्याउनु भएन । स्कुलको मुखै नदेखेको चार-पाँच वर्षको फुच्चेले के पढ्न जानेको होला र भन्ने उहाँलाई लागेको हुँदो हो । नजिकै बोलाउनुभयो र गोरखापत्र टिपेर दिनुभयो । मैले फरररर पढिदिएँ । त्यो देखेर उहाँ यति दङ्ग हुनुभयो कि म त मानौँ उहाँको खेलौना भएँ । घरका सबै सदस्यका सामु धर्मबुबाले मलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न लगाउनुभयो । त्यसपछि उहाँकहाँ कोही पाहुना आउँदा पनि मैले गोरखापत्रका समाचार पढ्नुपर्थ्यो । मैले बालबोलीमा समाचार पढ्दा मनोरञ्जक लाग्थ्यो होला सुन्नेलाई र मलाई पनि स्याबासी पाउँदा मजा लाग्थ्यो । यस्तै सानातिना कुराले हाम्रो सम्बन्ध गाढा हुँदै गयो, निःसर्त स्नेहको नाता झाँगिँदै गयो ।

आमा २१-२२ वर्षको हुनुहुन्थ्यो त्यतिखेर । बाको हौसला, निर्देशन र उहाँको आफ्नै रुचिका कारण आमा एसएलसीको तयारी गर्दै हुनुहुन्थ्यो, सिफलमा बसेको त्यस साल । दिनभरि पढ्न जानुहुन्थ्यो उहाँ, मलाई कोठामा थुनेर । न्यास्रो मेट्न म झ्यालबाट बाहिर हेर्थें, जहाँ मेरा दौँतरीहरू चौरमा खेलिरहेका हुन्थे । त्यहाँ एउटा हाँगाबाट भुइँ र भुइँबाट अर्को हाँगामा भुर्रभुर्र चरा उडिरहेका हुन्थे । ती सब देखेपछि त्यसरी थुनिएर बस्नुपर्दा मन कोक्याउँथ्यो, साह्रै नरमाइलो लाग्थ्यो मलाई । तर, आफूलाई मन नपरेका कुरा मनमै राख्थेँ, पोख्न जान्दिनथेँ । आमा मलाई ज्ञानी भन्नुहुन्थ्यो र त्यस विशेषणले सायद ममा सहने चरत्रि विकसित गराएको थियो । हेर्दाहेर्दै हरेक दिन दिनभरि कैदमा रहने बानी भयो । समय बित्दै थियो एवंरीतले । झापाबाट समीरा दिदी पढ्नका लागि सिफल आउने हुनुभयो । हामी बसिराखेको पहिलो तलाको कोठा उहाँका लागि खाली गरियो र हामी भुइँतलामा सर्‍यौँ । समीरा दिदी के आउनुभयो, मेरो रहिाइको फरमान लिएर आउनुभयो । मेरा दिन फिरे । किनभने, भुइँतलाको निरीक्षण गर्दागर्दै झ्यालको डन्डीबीचबाट म सजिलैसँग भित्रबाहिर ओहोरदोहोर गर्न सक्ने ठाउँ पत्ता लाग्यो । आमालाई मेरो अन्वेषणको सुइँकै भएन, धेरै समयसम्म ।

त्यसपछि सुरु भए मेरा मस्तीका दिन । दिउँसो कहिले साथीहरूसँग त कहिले धर्मबुबाको कोठामा बित्थ्यो । उहाँको छोरा खगेन दाइ र भतिजा वीरमणि दाइ (वीरमणि ढकाल, जो ०४६ को परविर्तनपछिको सरकारमा मन्त्री पनि हुनुभयो)को कोठा चहार्ने काम पनि मेरो दैनिकीमा पर्थ्यो । मलाई भेटेपिच्छे धर्मबुबा स्नेह जनाउनुहुन्थ्यो, काखमा राख्नुहुन्थ्यो, गाला र केश मुसार्नुहुन्थ्यो । भोकाएको अनुहार देख्यो कि खाना मगाइहाल्नुहुन्थ्यो । मलाई पनि उहाँको उपस्थिति एकदमै मन पर्थ्यो । उहाँ केके केके सोध्नुहुन्थ्यो, मलाई । सायद म उहाँलाई घत पर्ने जवाफ दिन्थेँ क्यार, सुनेर मुसुमुसु हाँस्नुहुन्थ्यो । अहिले सबै सम्झना नभएकामा थकथकी लागिरहेछ । तर, उहाँको सौम्य हँसिलो अनुहार कताकता याद छ अझै । खाजा खाइसकेपछि ‘धर्मबुबा जान्छु है, पछि आउँछु’ भन्दै उहाँलाई आश्वस्त पारेर म खेल्न ओर्लिन्थेँ । चौरजस्तो आँगनमा उफ्रिँदै, दौडिँदै पसिनापसिना हुन्थेँ, भाँडाकुटी खेल्थेँ दौँतरीहरूसँग । यत्तिकैमा रमाइलो हुन्थ्यो र यही हुन्थ्यो मेरोे दिनचर्या । घरमा धर्मबुबा हुनुहुन्न र आमा घरमा हुनुहुन्छ भने मात्रै यो दैनिकी बदलिन्थ्यो । तर, यो मस्ती धेरै टिकेन ।

हामी सिफलबाट सर्ने भयौँ । बाले घर किन्ने हुनुभयो । सिफल बसुन्जेलको घरबहाल पूरै जोगिएको थियो । अलिअलि खाने खर्चमा पनि कटौती गरेर आमाले पैसा जोगाएको काम लाग्यो । बीचमा कसैले केही रकम खाइदिए पनि सरसापट गरेर घर किनिछाडियो । बा अब काठमाडौँमै बस्ने हुनुभयो, हामीसँगै । तर, लामो समयसम्म सँगै बस्न नपाएकाले होला, सुरुसुरुमा बासँग रत्तिन समय लाग्यो मलाई । त्यो अवस्थामा मलाई धर्मबुबाको कति धेरै अभाव महसुस हुन्थ्यो, अहिले बताउन सक्दिनँ । मलाई घरबाट बाहिर निस्केर कतै खेल्न जान दिने नियम थिएन । मेरो बाल्यकाल के थियो, कुनै कैदको सजाय थियो । एकपल्ट छलेर गएको थिएँ सिफल अर्थात् आमालाई पत्तो नदिई । सबै जना मेरो प्रतीक्षामा बसिरहेका होलान् भन्ने लागेको थियो होला, म बबुरोलाई । तर, घर सुनसान थियो, म घरमा कोही नहुने बेला पारेर पुगेछु । कोही पढ्न, कोही काममा र सायद धर्मबुबा झापा जानुभएको थियो । म फर्केर घर आएँ ।

समय बित्दै थियो । एकदिन घरमा बा आफ्नो साथी भवानी घिमिरे (वामपन्थी नेता तथा प्रगतिशील साहित्यकार)सँग कुरा गर्दै हुनुहुन्थ्यो । धर्मबुबालाई झापामा रातको खाना खाँदाखाँदै कसैले खुकुरी हानेछन् रे ! उहाँका माहिला छोरा ज्ञानुलाई पनि । ज्ञानु दाइ झ्यालबाट हाम फाल्नुसम्म भयो, भाग्न पाउनुभएन रे ! खगेन दाइचाहिँ भाग्न भ्याउनुभएछ । मैले ज्ञानु दाइको नाम मात्र सुनेको हुँ, हिमचिम त मेरो वीरमणि दाइ र खगेन दाइसँग ज्यादा थियो । सबैलाई मैले सिफलमै चिनेको थिएँ धर्मबुबाका कारण ।

मैले ‘वीरमणि दाइलाई के भयो ?’ भनेर सोधेँ । पछि थाहा भयो, उहाँ सकुशल हुनुहुँदो रहेछ । तर, त्यतिखेर कसैले जवाफ दिएनन्् र धेरै बेरसम्म कोही केही बोलेनन् पनि । चुरोट तान्दै धूवाँको गोलो गोलो चुराजस्तो आकृति बनाउन थाल्नुभयो बा । भवानी काका दुवै हात गर्दनमा राखेर कुर्सीमा ढल्किनुभएको थियो र झ्यालबाहिर चुपचाप हेरिरहनुभएको थियो । त्यतिखेरको मौनता बडो बलशाली थियो, मैले दोहोर्‍याएर सोध्ने आँट गर्न सकिनँ, कुनै आवाज निकाल्न सकिनँ । बिस्तारै झ्यालमा गएँ र डन्डी समातेर अगाडि हेरेँ । पशुपति मन्दिरको अग्रभागको बाटो सुनसान थियो । दायाँतिर अर्थात् एयरपोर्टतिर नजर गयो, एउटा जहाज अवरतण गरिरहेको छर्लंग देखियो । त्यही कोणमा धूवाँको मुस्लो आकाशतिर उड्यो । सायद आर्यघाटमा अपरििचत लाश जल्दै थियो । एकछिनअघिको समय अब साटिइसकेको थियो सम्झनामा ।

हिन्दुस्तानको नक्सलबाडीबाट सन् ‘६० को दशकतिर सुरु भएको वामपन्थी आन्दोलनद्वारा प्रेरति नेपालको राजनीतिक समूहले धर्मबुबाको सफायाबाट क्रान्तिको थालनी गरेको थियो । त्यस समूहसँग बाको कुनै लेनदेन नभए पनि सिफलमा गएर समवेदना प्रकट गर्न जाने साहस सायद कमलो मनका मेरा क्रान्तिकारी बाले जुटाउन सक्नुभएन । आफू र आफ्नो परिवारलाई स्नेहपूर्वक शरण दिने जमिनदारकहाँ समवेदना प्रकट गर्न जानु कतै गद्दार कहलिनु हुन्थ्यो कि भन्ने डर थियो अथवा सरकारी जासुसहरूले राजनीतिक समूहसँग सम्बद्ध ठानेर ठिंगुर्‍याउने त्रास थियो बाको मनमा, थाहा छैन ।

म पनि त्यसै ताका स्कुल भर्ना गरिएँ, एकैपल्ट कक्षा ४ मा । नयाँ अनुभव, नौलो दैनिकी र नयाँ साथीहरूतिर मेरो बालमन एकोहोरियो । धर्मबुबालाई भेट्न जाने मेरो बाटो समयले अन्तै मोडिदियो । मेरो शैशवको अमूल्य समय बिताएको र सुनौला सम्झना गाँसिएको एउटा प्रिय ठाउँसँग मेरो साइनो समयको फेरसँगै छुट्यो ।

जुन कालखण्डमा धर्मबुबाको हत्या भयो, त्यो कालखण्डसम्म संसारमा काटमार, युद्धको धङधङी सायद बाँकी नै थियो । र, नेपालमा राजा एवं क्रान्तिकारी दुवैका सामु राजनीतिक महत्त्वाकांक्षाका अघिल्तिर कम थियो जीवनको मूल्य र मानवीय संवेदनाको महत्त्व । आजको कालखण्ड बेग्लै छ ।

सन्दर्भ धर्मबुबाकै हो । जमिनदारको घरमा स्वेच्छाले जन्म लिनुभएको थिएन उहाँले । परोपकारी, सहृदयी र सहयोगी हुनु उहाँको इच्छा थियो, उहाँले रुचाएको जीवन पद्धति थियो । मैले सुनेसम्म उहाँले बाँचुन्जेल चिनेजानेकालाई सकेको सहयोग सधैँ गर्नुभयो । मेरा बा राजतन्त्रविरोधी भएको कुराले पनि उहाँलाई आफ्नो सहयोगी मिजासबाट पन्छिन प्रेरति गरेन । तर, क्रान्तिकारीहरूका निम्ति उहाँ पञ्चायती व्यवस्थाको प्रमुख प्रतीकमध्ये एक बन्न पुग्नुभयो । राजतन्त्र मास्ने सपना उहाँकै बलिबाट सुरु गरे क्रान्तिकारीहरूले । के सही थियो क्रान्तिकारीहरूको ठम्याइ ? तिनले बुनेको सपना बुन्दाबुन्दै उध्रियो कि बुनिसिद्धियो ? थाहा छैन ।

सम्झना कुनै आनन्ददायी हुन्छन्, जसलाई सम्झिँदा आनन्दकै रसायन बग्छ । कुनै सम्झनामा धर्मबुबाजस्ता मान्छे र उहाँले भोगेका घटना पनि हुन्छन्, जुन सम्झनामा आउनासाथ हृदयको एउटा कुनो चसक्क हुन्छ । आज धर्मबुबालाई सम्झिएर भन्न मन छ कि हृदय चिरिने सम्झनाले कसैको मनमा वास नपाओस्, कसैको पनि । र, हृदय चिरिने समय कसैले पनि जीवनमा भोग्नु नपरोस्, कसैले पनि ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक २०६९ कार्तिक ५ अंक: ५१८ )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.