संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~Nirmohi Vyas

यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त कतै पनि नदेखे-नभेटेकी एउटी सम्मोहक रूप र जीउडालकी किशोरी झुलुक्क देखा परिन् । त्यसरी अचानक उनलाई त्यहाँ देखेपछि एकछिन म टोलाएर हेरेकोहेर्‍यै भएँ र आफ्नो किशोरकालीन प्रारम्भिक दिनको एउटा प्रसङ्ग झल्झली झल्किन थाल्यो मेरो स्मृतिको रङ्गीन पर्दामा सवाक् चलचित्र भएर । अनि त ओहो ! कस्तो काटीकुटी मिल्ती हँ ! भन्ने हर्षर विष्मयमिश्रति सुरम्य अनुभूतिको कञ्चन तलाउमा डुबुल्की मार्दै त्यहाँ उभिएको उभियै सुदूर अतीतको सुमधुर यात्रामा राम्रैगरी हराउन पुगेँ म केही बेर अचम्मैसित ।

अँ ! २०२०-२१ सालतिरको कुरा हो । म त्यस्तै एघार/बाह्र वर्षो थिएँ र घरछेउको सिद्धेश्वर संस्कृत महाविद्यालयमा पढ्थेँ । त्यसैताका मभन्दा अलि मुन्तिरको कक्षामा भर्ना हुन आइपुगिन् एउटी किशोरी । संस्कृतका स्तुतिपद्यकारहरूले राम, कृष्ण, विष्णुजस्ता देवताका स्तुतिपद्यमा उनीहरूका रूपरङ्गको बयान गर्दा जुन वर्णलाई नीलकमल, आलसको फूल र वर्षा ऋतुको नूतन मेघको वर्ण उपमा दिएका छन् । ठीक त्यस्तै श्यामवर्ण वा साँवली थिइन् उनी । भरिलो र सुक्सुकाउँदो जीउडाल, गुलाफको कुनै बोटमा ढकमक्क भएर फक्रेको पहिलो-पहिलो छिमलको पहिलो थुँगाजस्तो र त्यो पनि प्रभाती स्वर्णरश्मिले चुमेका शीतबिन्दुहरूले झल्झलायमान थुँगाजस्तो सम्पूर्णतः हिस्सीदार हँसिलो बाटुलो मुखमण्डल, दुइ चुल्ठी पारेर बाटेको लामो र कालो कपाल, उमेरअनुसारको कद, सुरिलो बोली, इन्द्रेणी पखेँटा चालेर हलुकासित फुर्रफुर्र र भुरभुर डालीडाली चालीचाली यो फूल र त्यो फूल डुलिहिँड्ने झिल्के पुतलीको झझल्को दिने किशोरीसुलभ चन्चले चाल, नीलो रङ्गको घाँगर र सेतो सुरुवाल अनि पाउमा चिटिक्क परेका रङ्गीन चप्पल, छातीमाथि घाँगरको गलामा जतनसाथ सिउरिएको फोल्टिनपेन र दाहिने हातमा च्यापिएको कापीकिताबको सेट । समग्रमा एउटा सम्मोहक स्वरूप । मैले फूलबुट्टा जडेको होइन मित्रहरू, सत्तेसत्ते अक्षरसः यस्तै नै थिइन् उनी, मैले पाएको उनको पहिलो दर्शनदेखि लिएर पछिल्लो दर्शनसम्मै ।

उनीसित मेरो पढाइ मिल्दैनथ्यो, खेलाइ मिल्दैनथ्यो, पारिवारिक थैली र जीवनशैली मिल्दैनथ्यो । उनी काठमाडौँतिर हो क्यारे ! स्थायी बसोबास भएका, हुनेखाने घरका, जागीरमा उच्च पद सम्हालेका र त्यसताका मेरो नगरोन्मुख गृहगाउँ कलैयामा सम्बन्धित कुनै कार्यालयका प्रमुखका रूपमा सरुवा भएर स-परिवार आएका विशिष्ट व्यक्तिकी छोरी थिइन् र म थिएँ एक स्थानीय गाउँले सामान्य परिवारको केटो । फिल्मी गीतको शैलीमा भन्ने हो भने ‘तिमी चन्द्रमा हौ, म धर्तीको धूलो…’ भन्नुपर्ने खालको थियो उनको सामु मेरो हैसियत । उमेर, जात र भाषाबाहेक हाम्रो केही पनि मिल्दैनथ्यो । बस्, यत्ति हो – म उनलाई चौपट्टै मन पराउँथे, बच्चाले कुनै राम्रो खेलौनालाई हत्ते हालेर मन पराएजस्तै गरी । कसैलाई मन पराउनु कस्तो हुन्छ – त्यस कुराको प्रथम अनुभूति र प्रथम अनुभव मलाई उनलाई त्यसरी मन पराउँदा नै भयो ।

मलाई सम्झना भएसम्म उनीहरू तीन सहोदर दिदीबहिनी त्यहाँ एकैदिन भर्ना भएका थिए क्रमशः एक-एक कक्षाको फरकमा । तीमध्ये जेठी उनी नै थिइन् । तीनोटीकै नाउँ दुइ-दुइ अक्षरका र मीठा थिए । म यहाँ नाउँ त कसैको पनि खोल्दिनँ, तर कुन कुरा चाहिँ निर्धक्कसित खोल्छु भने मलाई उनको नाउँ विशेष मीठो लाग्थ्यो ।

तीनैवटी औधी राम्रा थिए, तर मलाई उनी विशेष राम्री लाग्थिन् । उनका तुलनामा बहिनीहरू केही गोरा थिए, तर उनको श्यामलता वा साँवलोपन नै मलाई रमणीय लाग्थ्यो । ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपम् रमणीयतायाः’ जतिपल्ट हेरे पनि जुन हरेक छिनमा नयाँनयाँ देखिन्छ, रमणीयताको रूप त्यही नै हो भनेर संस्कृतका कुनै कविले भनेझैँ उनको रूप पनि मलाई काटीकुटी त्यस्तै लाग्थ्यो । जहिलेसुकै उत्तिकै सदाबहार, नवीनतम, सुरम्य र सम्मोहक । अर्थात् –

‘जति हेरिरहृयो अझ हेरूँ हुने
जति चाह गर्‍यो अझ चाह हुने
अनुभूति नवीन नवीन हुने
जति तृप्ति मिले पनि ‘भो’ नहुने’

एकै घरका ती तीन दिदीबहिनी त्यसरी रोजै दिउँसो ठीक दस बजे पढ्न आउँथे र चार बजे र्फकन्थे अरू विद्यार्थीजस्तै ।

म आफैँ पनि स्कुलको समयमा पटक्कै तल-माथि पार्दिनथेँ । त्यसै पनि उनी भर्ना भएदेखि त झन् उनलाई सकेसम्म छिटै र धेरै बेरसम्म हर्न लालायित र आकुलित हुँदै प्रतिदिन दस बज्नुअघि नै विद्यालयको मूल ढोकामा उभिन पुग्थेँ ।

उनका बहिनीहरू आउनु-नआउनुसित मलाई चासो हुँदैनथ्यो तर उनी आउनु र नआउनु भने मेरो निम्ति परम प्रसन्नता र चरम उदासीको कारण बन्दथ्यो अर्को दिनको दस बजेसम्मका लागि । कहिले बहिनीहरू नआएर उनी मात्र आउँथिन् । त्यस दिन मेरो मन उनीप्रति कृतज्ञ हुन्थ्यो । बहिनीहरू आएको र उनी नआएको दिन मेरो मन घनघोरसित अमिलिन्थ्यो । यसरी उनी आएको दिनमा पारिलो घाम झल्मलाउँथ्यो मेरो मन, मुटु र मगजभरि र नआएको दिनमा चाहिँ खग्रास ग्रहण लाग्थ्यो । श्रीमद् भागवत महापुराणमा गोपिनीहरूले कृष्णलाई ‘हे प्रिय ! दिउँसो तिमी वनमा डुल्न जान्छौ र तिमीलाई देख्न नपाउँदाको प्रत्येक छिन हामीलाई एक/एक युगजत्तिकै लाग्छ । अनि जब गोधूली बेलामा हामी त्रि्रो घुम्रेको कपालले सुशोभित मोहनी मुहारको दर्शन पाउँछौँ, त्यतिबेला पनि परेला झिम्झिम भइदिनाले तिमीलाई धित मर्नेगरी एक टकले हेरिरहने हाम्रो लालसामा बारम्बार बाधा पर्छ र आँखामाथि परेलाका ढकनी बनाइदिने ब्रहृमाजी हामीलाई साह्रै मूर्ख लाग्छन् ।’ भनेझैँ म पनि दुरुस्त त्यस्तै अनुभूतिले गाँजिएर उनीसित मनमनै उसैगरी पोखिन्थेँ छताछुल्ल भएर ।

मित्रहरू, मेरो नवकिशोरकालीन तन्मयताका ती वासन्ती दिन र छिनहरूको छोटो अवधिमै अप्रत्याशित रूपले अवसान भयो उनका पिताको सरुवापत्रको आगमनसँगै । एक दिन बिहान आठ/नौ बजेतिर संयोगवश स्थानीय राजदेवी मन्दिरतिर घुम्न गएको बेला त्यहाँ त्यतिखेर पितामाता र सकल परिवारसहित बिदाइको दर्शन गर्न नीलो कुर्तासुरुवालमा सजिएर आएकी आफ्नी ती भावनाकी सखीलाई अन्तिमपल्ट देखेँ मैले र तरल नयन र विहृवल हृदय लिएर सदा-सदाका लागि बिदा गरेँ मैले, उनी घुम्ती काटेर आँखाबाट ओझेल नहुञ्जेल ट्वाल्ल परेर हेर्दै । सत्ते, मुटु नै चुँडिएर गएझैँ लाग्यो र लागिनैरहृयो मलाई निकै समयसम्म ।

मैले त्यस दिन प्रज्ञामा अचानक झुलुक्क देखे-भेटेकी काटीकुटी उही रूप र बनोट भएकी, हिस्सीदार मुहारकी, नीलाम्बुजश्यामलकोमलाङ्गी किशोरीलाई त्यसरी देख्दा मनले झवाट्ट ठानेँ – ‘ओहो ! यी नानी कतै मेरी तिनै भावनाकी प्रथम सखीकी कान्छी छोरी वा नातिनी त होइनन् – मेरा छोरा र नातिमा पनि त मेरो रूप दुरुस्तै आएको छ नि ! अथवा ती नानीको अनुहार उनको अनुहारसित मिलेको मात्र हो र तिनी उनकी कोही पनि हुँदै होइनन् कि ! खै कुनि ! तर सङ्कोचले गर्दा मैले ती नानीसित उनको नाम-थर-वतन केही पनि सोधिनँ । किनभने झन्डै पाँच दशक लामो अन्तराल भइसकेको छ मेरो त्यस किशोरकालीन प्रसङ्गको र यत्रो लामो अन्तरालमा । त्यसपछि फेरि कहिल्यै कुनै दिन र कुनै छिन पनि कहीँ-कतै पनि मैले उनलाई देख्न पाएको छैन । उनी कहाँ छिन् र कुन रूप र अवस्थामा छिन् वा न अब संसारमा छँदा पनि छैनन् कि ! पटक्कै केही थाहा छैन मलाई । थाहा हुने कुरा पनि त भएन नि, किनकि उतिबेलै पनि मलाई उनका मातापिताको घर मात्र होइन, नाउँ र थर समेत थाहा थिएन, फगत उनै तीन दिदीबहिनीका दुइ/दुइ अक्षरका नाउँबाहेक भने उनी अझै छिन् भने पनि मेरै उमेरकी भइसकेकी उनलाई कहीँ-कतै देखिहाले पनि अब मैले चिन्न सक्ने कुरा पनि त भएन – अनि त्यसदिन प्रज्ञाको लबीमा भेटिएकी ती नानीसित मैले परिचय नै गरिहालेको भए पनि मेरी ती भावनाकी सखीका बारेमा मलाई कसरी र के नै पो थाहा हुन सक्थ्यो होला र ! र सोध्नाको औचित्य नै के पो हुन्थ्यो होला र !

त्यसैले एकछिनको नितान्त मौन हेराइ र मनोद्वन्द्वपछि म प्रज्ञा भवनबाट निस्केर गाडी चढी सरस्वतीनगरको आफ्नो आवासतर्फलागेको थिएँ त्यस दिन । मेरी ती भावनाकी सखी भने मेरो सम्झनाको आकाशमा अहिले पनि उत्तिकै ताजा भएर सदा झल्मलाइरहन्छिन् अन्तिम भेटका बेलामा लगाएको उही नीलो कुर्ता    सुरुवालमा सजिएकी एउटी हँसिली, रसिली कल्कलाउँदी किशोरीका रूपमा । अनजानमै किन नहोस्, नितान्त मूक पारामै किन नहोस्, त्यसताका केही महिना अवधिमा उनले मलाई जुन सुरम्य अनुभूति दिइन्, त्यो मेरो निम्ति आनन्दको अक्षय निधि र ऊर्जाको अनन्त स्रोत बनेर रहेको छ, कहिल्यै ननासिने, कहिल्यै नसुक्नेगरी । त्यसैले त होला बिदाइको केही वर्षछि एकदिन उनको त्यस मोहक छविलाई शार्दूविक्रीडित छन्दमा अनायास यसरी उतारेको थियो मेरो कलमले –

बोलेको उनले अहा ! कलकले सङ्गीतको निर्झी
हेरेको पनि स्निग्ध भावहरूको मूलै फुटेझैँ गरी
हिस्सीदार मुहार नील नभमा जूनै खुलेको सरि
हाँसेको अझ बिर्सनै नसकिने बेली फुलेको सरि

र २०४९ साल जेठमा चुरे पर्वत शृङ्खलाको यात्रा गर्ने क्रममा चन्द्रनिगाहपुर चोकदेखि उत्तर गैँडाटारतिर लम्केको बाटोमा हिँड्दै गरेको बेला चारकोसे झाडीभित्र घारीका घारी नै भरेली भएर झपक्कै फुलेका मग्मगाउँदा कुटजपुष्पावलीको सम्मोहक सौर्न्दर्य र मादक सुगन्धमा स्वयम् पनि रङ्मङदिै र मग्मगिँदै त्यसको बयान गर्न लाग्दा वर्षौं-वर्षेखि अवचेतनमा बास गर्दै आएको उनकै छविलाई थाहै नपाइकन मनोनुकूल रूपमा सहजै यसरी रूपायित गरेको छु मैले झलझली आँखामा शीर्षक आफ्नो नियात्रासङ्ग्रहमा सङ्कलित ‘छचल्किन्छन् आँखाहरू’ नामक नियात्रामा अचम्मैसित – “मानौँ, कुटज मेरी अज्ञात स्वप्नसुन्दरी हो, किशोरकालकी काल्पनिक प्रेमिका हो – अपरिचित भएर पनि चिरपरिचित, अज्ञात भएर पनि झल्झली आँखामा आइरहने-आइरहने, सुन्तलाकेस्रे ओठमा जादुगरीको मोहक मुस्कान खेलाएर, मुहारभरि ढकमक्क सौन्दर्यको सयपत्री र लाजको लालुपाते फुलाएर, आँखामा सुहागरातको स्वर्णीम स्वप्न सजाएर र सर्वाङ्गभरि सुगन्धी बैँसको मादकता छचल्काएर … ।”

(स्रोत : पल्लव साहित्यिक पत्रिका–१८औँ अङ्कको पेज नं २३–२६ बाट साभार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *