पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर तन्त्रमन्त्रद्वारा रक्षित रहेकी कन्यालाई राक्षसले आफूखुशी हरण गर्न सकिरहेको थिएन । राजकुमारीले त्यस राक्षसलाई प्रत्यक्षरूपले हेर्न नसके पनि खोपीमा राक्षसको उपस्थितिलाई अपरोक्षरूपमा महसुस गर्दथिइन् ।

यस्तै क्रमले दिनहरू व्यतित हुँदै थियो । एक रात्रि त्यो राक्षस खोपीमा आएर एउटा कुनामा लुकेर बस्यो । उसको उपस्थितिको आभास पाएर राजकुमारीले आफ्नी सखीसित भनिन्,“हे सखी, हेर एउटा बिकाल (अत्यन्त भयानक आकृति भएको) राक्षस दिनहुँ मेरो खोपीमा आएर मलाई दिक्क पार्दछ । तिमीसित यस दुष्टलाई यहाबाट धपाउने कुनै जुक्ति छ भने मलाई भन जसको प्रयोग गरेर यस राक्षसको त्रासबाट मुक्ति पाउन सकियोस् ।”

आफ्नी सखीसित राजकुमारीको यसप्रकारको वार्तालाप सुनेर राक्षसले मनमनै विचार गर्‍यो–“जसरी म यस राजकुमारीको अपहरण गर्न चाहन्छु त्यसप्रकारले नै अन्य कुनै बिकाल नाम गरेको राक्षसले पनि राजकुमारीको अपहरण गर्न चाहिरहेको छ । बिकाल नामक राक्षस पनि यहाँ दिनहुँ आउँदो रहेछ र तन्त्रमन्त्रद्वारा अभिरक्षित यस राजकुमारीलाई त्यसले पनि अपहरण गर्न सकिरहेको छैन । म घोडाको रूप धारण गरेर घोडाहरू माझ उभिएर हेर्नेछु कि बिकाल भनेको राक्षस कति सुन्दर तथा प्रभावशाली छ ?” मनमा यसप्रकार विचार गरेर घोडाको रूप धारण गरेर त्यो राक्षस अस्तबलमा घोडाहरूमाझ गएर उभियो ।

राक्षस घोडाहरूको माझमा घोडा भएर उभिएपछि त्यस अस्तबलमा एउटा घोडा चोर्ने चोर पस्यो । त्यस चोरले जम्मै घोडाहरूलाई देखेपछि घोडा बनेको राक्षसलाई मोटोघाटो घोडाको रूपमा पाएर त्यसैलाई मन पराइ त्यस घोडामाथि सवार भयो । घोडा बनेको राक्षसले मनमनै सोच्यो– “निश्चय नै यही बिकाल नामक राक्षस हो, जो मलाई मार्नको लागि ममाथि सवार भएको छ । अब म के गरूँ ?”

राक्षसले मनमा यसप्रकारले विचार गर्दै थियो । त्यतिकैमा चोरले त्यसको मुखमा लगाम कसेर कोर्रा पो हिर्काउन थाल्यो । कोर्राको मार खप्न नसकी राक्षस बेतोडले दुगुर्न थाल्यो । हावाको गतिमा भागिरहेको घोडाको वेगलाई मत्थर पार्नको लागि चोरले लगामलाई जोडले तान्न थाल्यो । घोडाको चाल सुस्त हुनुको सट्टा उल्टो झन् वेगले दौड्न थाल्यो । घोडाको यस्तो चाला देखेर चोरले विचार गर्‍यो– “यसप्रकारको घोडा हुनै सक्दैन जसले लगामको अवरोधलाई नमानोस्, यो पक्कै पनि घोडाको रूप धारण गरेको कुनै राक्षस हुनुपर्दछ । अब कुनै बलौटे माटोको ढिस्को पाए भने घोडाबाट हाम फालेर प्राण रक्षा गर्नुपर्दछ नत्रभने यस राक्षसले मलाई सिध्याउने छ ।”

चोरले आफ्नो मनमा इष्टदेवको स्मरण गरिरहेको थियो । यतिकैमा घोडा एउटा बरको रूखमुनिबाट गुज्रिन थाल्यो, बरको लहराहरू झुण्डिएको थियो । चोर हत्तपत्त एउटा लहरा समातेर झुण्डियो । यसप्रकारले दुईजना एक अर्काबाट छुटिएर प्राण बचेको खुशियाली मनाउन थाले । त्यस बरको रूखमाथि त्यस राक्षसको बाँदर मित्र बस्दथ्यो । राक्षसलाई भयभित भएर भागिरहेको देखी उसलाई रोक्दै बाँदरले भन्यो– “मित्र, किन व्यर्थमा तर्सिएर भागिरहेका छौ । यो त तिम्रो अहारा मनुवा पो हो । यसलाई समातेर खाइदेऊ ।”

बाँदरको कुरा सुनेर राक्षसले आफ्नो वास्तविक राक्षसी रूपमा आएर विस्तारै आफ्नो गतिलाई रोक्यो र उभियो । राक्षसलाई बाँदरले बोलाएको देखेपछि चोरले रिसले त्यस बाँदरको पुच्छरलाई समातेर दाँतले टोकेर चपाउन थाल्यो । चोरको यसप्रकारको कृत्य देखेर बाँदरले उसलाई राक्षसभन्दा पनि बलवान ठानेर केही पनि नबोली चुप लागेर बसिरह्यो । राक्षसले बाँदरलाई मौन भएको देखेर निम्न श्लोक भन्न थाल्यो–

यादृशी वदनच्छाया दृश्यते तव वानर ।
बिकालेन गृहितोऽसि, य: परैति सजीवति ।।

अर्थात् जस्तो तिम्रो मुखको आकृति देखिन्छ त्यसले यो कुरा स्पष्ट छ कि तिमी बिकाल नामक राक्षसको फेला परिसकेका छौ । अत: यहाँबाट जो टाढा भागेर जान्छ, वास्तवमा उसको मात्र प्राणको रक्षा हुन सक्दछ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *