एकाङ्की : एकता

~नन्दलाल आचार्य~

पात्रहरू
आमा : अढाई शताब्दी पचाएकीले र नाना भाँतीका पीडा झेलेकीले मलिन मुद्रामा
हिरण्य : असाध्य अग्लो भौतिक स्वरूप भएको
पर्वत : मध्यम उचाइको तर फर्याकफुरुक गर्ने
तमोर : सामान्य उचाइको

(रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा उदास लाग्दा हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू देखिन्छन् । हिरण्य, पर्वत र तमोर आआफ्नै धुनमा क्रमश: हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू एकटकले ओल्टाइपल्टाई हेर्दछन् । उनीहरू कहिले घोरिन्छन्, कहिले रिसले बटारिन्छन् । आमा एउटा कुनामा झोक्रिरहेकी छिन् ।

रङ्गमञ्चको छानोमा बत्ती बल्नासाथ नेपाली राष्ट्रिय गानको धुन बज्न थाल्छ । आमा केही चनाखो हुन्छिन् । उनको मुहारमा खुसी नाचिरहेको आभास हुन्छ । अरू तीनजना जर्याकजुरुक उठ्छन् र सतर्क हुन्छन् । राष्ट्रिय गान समाप्त नहुँदै उनीहरू बस्न हतारिन्छन् तर अरूलाई सतर्क मुद्रामै रहेको देखेर सचेत हुन्छन् । राष्ट्रिय गानको समाप्तिसँगै तीनैजना आआफ्ना ठाउँमा बस्छन् । तमोर जुरुक्क उठेर केही कदम अघि बढ्छ ।)

तमोर : (पर्वततर्फ नजर घुमाउँदै रिसले मुर्मुरिएर) ए पर्वते ! तँ आफृ्लाई के ठान्छस् हँ ? म तमोर हुँ, तमोर । सधैँ ऊर्जा लिएर ऊर्जा दिएर हिँड्छु । तेरो सास मेरो दयामा अडेको छ । म महान् छु । तँ तुच्छ छस् । म जे भन्छु, त्यही मान । तेरो कल्याण गर्छु । तँजस्तो भाइमारा होइन म, कुरो बुझिस् ?

पर्वत : (रिसाउँदै र पाखुरा सुर्केर) के भनिस् ए तमोरे ! तँ उराठलाग्दो बगरले मसँग जोरी खोज्ने ? मैले पानी दिइनँ भने तेरो सास अवरुद्ध हुन्छ । मैले मेरो गर्भको फल तँलाई दिइनँ भने तेरो शरीर हृष्टपुष्ट हुँदैन । म जल र मल दिन्छु र पो तँ धनी हुन्छस् । तैँले गर्व गर्ने हरेक कुरा मेरो कृपाको फल हो । गुनीलेमात्र गुन सम्झिने रहेछ । यस्ता बैगुनीलाई जति गुन लगाए पनि के हुँदो रहेछ र ! जे भए पनि मैले भनेको मान् । चुपचाप आफ्नो ठाउँमा बसिराख् । मसँग झगडा गर्न नखोज् ।

तमोर : एइ, के भनिस् ? तँ मल दे कि नदे, तँ जल दे कि नदे; मलाई के मतलब ? पेटभरि खाएपछि नसकेको कि राख्नुपर्छ कि फाल्नुपर्छ । तैँले मेरा लागि केही पनि छुट्ट्याएको छैनस् । हेर्, साक्खै दाजु भएर पनि तैँले ठगिस् । तेरो ठगाहा प्रवृत्तिका विरुद्ध मैले आगो ओकल्ने हिम्मत गरेँ । जे पर्ला–पर्ला । तँ रिसाए रिसा, त्यसको परवाह म गर्दिनँ । अब भने तेरो पुरातनवादी तानाशाही औँलो ममाथि घुमाउन पाउँदिनस्, बुझिस् ?

पर्वत : के भनिस् ए तमोरे ! ए काले ! आफ्नो अनुहार ऐनामा हेर् । कोलझैँ कालो छस् । बाहिर त कालो छस् भित्र पनि कालै रहिछस् । यस्तो काले भाइ जन्माएर हुर्काएर हाम्री आमाले ठृ्लो भुल गरिछन् जस्तो लागिरहेछ ।

तमोर : ए गोरे ! ए पर्वते ! तेरो यही हेपाहा प्रवृत्तिबाट म रुष्ट छु । तँ गोरे नै होस् । मैले काले भनेको छैनँ । अहङ्कारी औँलो ममाथि घुमाउने तँ जस्तो पाखण्डीलाई जन्माएरचाहिँ हाम्री आमाले ठृ्लो भुल गरिछन् भन्ने मलाई पो लागिरहेछ । जति पाखण्ड मच्चाउनुथियो मच्चाइस् । त्यो विगत भइसक्यो । अब त्यसो गर्न कदापि पाउँदिनस् । खै ! ठृ्ल्दाजु हिरण्य तैँले जस्तो गालीगलौज गर्दैनन् त ? तँ जस्तो छुच्चो र लुच्चो पनि छैनन् । तेरो जस्तो हुकुमी व्यवहार पनि देखाउँदैनन् बरु ठूल्दाजुले तँमार्फत मलाई जल र मल पठाएका हुन् । बाह्रै मासका लागि भने तँ पनि ठूल्दाजुको भर पर्नुपर्छ । मलाई धम्की दिन्छस् ? मलाई टेकेर दाजुको केस लुच्छस् । मलाई रक्ताम्मे पार्छस् । सधैँ मुर्छित भइरहोस् भन्ठान्छस् । बिचरा ! दाजुलाई पनि मलाई झैँ तैँले ठगेको छस् । उनी त कङ्गाल छन् । मचाहिँ धनी छु । जे भए पनि मेरो धनले तँ पेट भर्ने ?

पर्वत : एइ, के भनिस् ? मैले दाजुको केस लुछेँ रे । तँ भ्रममा छस् । हिरण्य दाजु तँलाईभन्दा मलाई माया गर्छन् । तँलाईभन्दा मलाई विश्वास गर्छन् । दाजु तेरोभन्दा मेरो छहारीमा बस्न रुचाउँछन् । बढ्ता नकरा । मेरा विरुद्ध दाजुलाई भड्काउने काम गर्लास् । बढी बकबक गरिस् भने तेरा काला दाँत बगरमा छरिदिउँला ।

(आमा तमोर र पर्वतबीचको बाझाबाझ हेरिरहन्छिन् । हिरण्य दुवैको अनुहारमा बराबर हेरिरहन्छन् । ऊ दुब्लो र कमजोर छ । यसैले खुइय्य, खुइय्य गरिरहन्छ ।)

हिरण्य : (बोल्न खोज्छ) ए–ए, भो–भो ।

तमोर : भो–भो दाइ ! पर्वत र मबीचको झगडामा अचानो बन्न नआऊ । यसले मेरा दाँत बगरमा छर्छ रे । मैले यससँग त्यसै झगडा गरेको हैन । यसको यही हेपाहा प्रवृत्ति सहन नसकेर विद्रोह गरेको हुँ । हेर पर्वते ! मलाई मेरो वास्तविक हक चाहिएको छ । मेरो वास्तविक हक मलाई दिन तँलाई केको टाउको दुखाइ ? तँसँग म सधैँ बाझ्न सक्तिनँ । तँसँग सधैँ झगडा गरिरहनुको औचित्य पनि छैन तसर्थ ममाथि हुकुम चलाउन छाडिदे । मलाई मेरो स्वतन्त्र अस्तित्वमा रमाउन दे ।

पर्वत : अनि के गर्छस् त ? मैले तँलाई कहिल्यै टेकेको छैन र पनि टेकिस् भन्छस् भने ठीकै छ । म तँलाई नटेकुँला । तँ चुपचाप आफ्नो बाटो हिँड्ने काम गर् । ठृ्ल्दाजु हिरण्य कमजोर छन् । उनलाई सहयोग गर् । कान्छो भाइको दायित्व पूरा गर् ।

तमोर : (रिसाउँदै) काम गर्ने कालु मकै खाने भालु ! म मरीमरी काम गर्छु, तँ घुमीघुमी खाने ? उल्टै मलाई दायित्व पृ्रा गर् भन्दै पुन: अरू अढाई शताब्दी थाङ्नामा सुताउन चाहन्छस् । भो, तेरो यो उच्च स्वर र निरङ्कुशतन्त्र पटक्कै स्वीकार्य छैन ।

पर्वत : अनि के गर्छस् त ? दिएको सल्लाहलाई किन विष ठान्छस् ? (एकक्षण सन्नाटा छाउँछ ।)

तमोर : –आँखाको आँसु पुछ्दै मलिन स्वरमा) हेर् माल्दाजु ! तँलाई म सम्मान गर्छु तर तेरो कर्मलाई घृणा गर्छु । तँ शासक बनेर मकहाँ नआइज् । साक्खै माल्दाजु बनेर आइज् । हामी मिलेर आमालाई सुख र सन्तोष दिऊँ ।

पर्वत : बल्ल टुङ्गोमा आइस् । भाइ भएर दाइसँग जोरी खोज्नु हुन्न भन्ने कुरो बल्ल बुझिस् । जे भए पनि मैले निकै भोटा फटाएको छु । तँलाई स्नेह दिने काम मेरो हो । त्यो दिएकै थिएँ, दिँदै आएको छु र दिइराख्ने पनि छु । तँ धन्दा नमान् । तँ मसँग आइन्दा नच्याँट्ठी ।

तमोर : हो, बल्ल तैँले आफ्नो मनको कालो कर्तुत छताछुल्ल पारिस् । एउटा कुरा राम्ररी बुझ् । म तेरो मायाको भोको छैन । म तँभन्दा कुनै पनि हालतमा अबुझ र अज्ञानी छैन । म स्वावलम्बी छु । तँजस्तो परावलम्बी हैन । फेरि घरिघरि सानाले ठूलासँग जोरी खोज्नु हुन्न भन्छस् । साना र ठृ्लाको अर्थ के हो ? के भौतिक रूपले ठृ्लो हुँदैमा सानोलाई होच्याउनै पर्छ ?

पर्वत : अनि के गर्छस् त ? के सोचेको छस् ? तँलाई सानो भाइ नभनेर के भनूँ त ?

तमोर : भन्–भन् । के–के भन्नुछ, भन् । तैँले कहिले पो नभनेको होस् र ? तर एउटा कुरा याद राख् पर्वते ! तँलाई मेरी आमाले जन्माएकी हुन् । तँ मेरी आमाको छोरा होस् तर मेरो दाजु होस् या हैनस् । यसको निर्णय गर्ने छुट ममा अन्तर्निहित छ । तँ मलाई भाइ सम्झन्छस् भने आफूलाई परिवर्तन गर् । म तेरो व्यवहारबाट सन्तुष्ट छैन । मैले आफ्नो दाइबाट व्यवहार परिवर्तनको अपेक्षा राखेको छु । भाइ भएर दाइसँग यति गुनासो पोखेँ । के गल्ती गरेँ ?

पर्वत : तेरा सबै कुरा गलत छन् भन्ने पक्षमा म छैन तर तँ अविश्वासी छस् । छिमेकीसँग मिलेर मेरो र ठूल्दाइका विरुद्ध षडयन्त्र रच्लास् कि भन्ने भय छ । यसो गरिस् भने आमा भक्कानिनेछिन् । आमाले धिक्कारिन् भने त्यसको पहिलो भागिदार म हुनुपर्छ । यतिखेर डाडुपन्यु अलपत्र परेझैँ छ । सबैको आशा र भरोसा ममाथि छ । मैले सबैलाई मिलाएर लग्नुपर्छ ।

तमोर : तेरो कुरो बुझिनँ । अहिलेसम्म के–के गरेँ र तँ मलाई विश्वास गर्न सक्दिनस् ?

पर्वत : हेर् तमोर ! दाजु हिरण्यका धेरै छोराछोरी छन् । मेरा पनि दर्जनौँ छन् । तेरा पनि छन् । तँ कोही छोराछोरीलाई काखमा राख्छस् भने कोहीलाई पाखा पार्छस् । तैँले खोजेको हक तँलाई दिने हो भने सबैभन्दा पहिले तेरै छोराछोरी तेरो घाँटी रेट्न तम्सिन्छन् । मलाई पनि माइलोबाउ भनेर छाड्ने छैनन् । तैँले झगडा गरेको देखेर यी र ती छोराछोरीहरू ममाथि जाइ लागिरहेका छन् । मलाई सतर्क पारिरहेका छन् । तसर्थ म तेरा हर कुरा मान्न सक्दिनँ । मेरो विवशता बुझिदे । म तँलाई सम्मानका साथ आसनमा बसाउँछु । तेरो दु:ख मैले बुझेको छु । म पनि अढाई शताब्दीको लामो युगलाई निरन्तरता दिने पक्षमा छैन । म सुधार्छु । सुधृने ठाउँमा म स्वय म सुधृन्छु । तँ पनि जिद्दी गर्ने बानी त्याग् । म दाजुको आसनमा बस्छु । तँ भाइको आसनमा बस् । अब मेरा नजिक कुनै किसिमका काम, क्रोध, लोभ, मोह छैनन् ।

हिरण्य : (खुसी हुँदै) हो, भाइ तमोर ! म पनि माइलो भाइका कुरामा सहमति जनाउँछु । तेरा सबै कुरा ठिक छैनन् । तेरा केही कुरा असाध्य पवित्र छन् । ती कुराले तेरा, माइलाका र मेरा पनि छोराछोरीहरू खुसी हुन्छन् । हाम्री आमा पनि खुसी देखिनुहुन्छ ।

तमोर : (केही सम्झेजस्तो गरेर) हो, म स्वीकार्छु । मेरो मागले मेरा केही छोराछोरीले मलिन मुहार पारेका छन् । मैले पनि बाबु भएर म तिमरूकै हितमा काम गर्छु भनेको थिएँ । उनीहरू मलाई नै आफ्नो छहारीमा बसाउन खोज्दै थिए । मैले मानिनँ । जे भए पनि म बाबु हुँ । छोराछोरी भनेका छोराछोरी नै हुन् ।

पर्वत : आफूलाई पर्दा कस्तो हुँदो रहेछ त तमोर ! तँलाई आफ्नै छोराछोरीलाई समेट्न गाह्रो भयो । मलाई कति गाह्रो छ ? सबैलाई समेट्नु चानचुने कुरा हैन । घरभित्रका सारा झगडा मिलाउनुपर्छ । छिमेकीहरूको कुरो पनि सुन्नुपर्छ र बुझ्नुपर्छ । हेर तमोर ! अँझै पनि अधिकारको वकालत गर्दै तेरा केही छोराछोरी हतियार लिएर जङ्गल पसेका छन् । हामी र हाम्री आमाकै करङ सोझ्याउन लागिपरेका छन् । उनीहरूको असन्तोषबाट तँ स्वय म पनि कहाँ सुरक्षित छस् र ? चारैतिर असुरक्षाको साम्राज्य छ । हाम्री आमा पनि भयभित देखिनुहुन्छ । उहाँ आफ्नै नातिनातिनाहरूले मेरो शिरको टोपी जलाए भन्दै हुनुहुन्थ्यो ।

तमोर : मेरा छोराछोरीको मात्र के कुरा गर्छस् ? तेरा र ठूल्दाजुका छोराछोरी पनि तेरै विरुद्ध खनिएको देख्दैनस् ? बडो मलाई मात्र देख्छ ! कि आफ्नो आङको हात्ती पनि देख्न छाडिस् ? अर्काको आङको जुम्रो देख्नेले आफ्नो आङको हात्ती पनि देख्नुपर्ने हो ।

पर्वत : हो, ठिक भनिस् । धेरै छोराछोरी असन्तुष्ट छन् । सबै छोराछोरीलाई एउटा महायज्ञमा बसाउनुपर्थ्यो । त्यसका लागि धेरै प्रयास गरेँ । अँझ गर्दै छु । आगामी दिनमा पनि वार्ता र संवादको ढोका खुलै राख्ने कसम खाएको छु । एकदिन अवश्य हाम्रा छोराछोरीले यो महायज्ञको महŒव बुझ्नेछन् । मूलधारमा आएर डाडुपन्यु आफ्नो हातमा लिन सक्नेछन् । अबका दिनमा तैँले यी विद्रोहमा निस्किएका छोराछोरीलाई आफूमा समाहित गर्न सकिस् र जनकल्याणको बाटो अख्तियार गरिस् भने अवश्य डाडुपन्युको हकदार हुनेछस् । त्यो दिन आउन धेरै छैन । त्यसका लागि जनता नै सर्वेसर्वा छन् । जनताको मत लिन र ढोका कुर्न सबै तयार हुनुपर्छ ।

आमा : (केही उत्साहित हुँदै) हो, मेरा छोराछोरीहरू तथा नातिनातिनाहरू ! त्यो दिन आउन धेरै छैन । इतिहास साक्षी छ । मैले अढाई शताब्दीमा सुखभन्दा कैयौँ गुणा बढी दु:खका दिन बिताएँ । तिमेरूले नै मलाई खेलायौ । छिमेकी र विदेशीले मलाई नचाए । म धेरै दिनसम्म कठपुतली भएँ । इतिहासका सबै पाटा सम्झेर साध्य छैन । मेरा कोही छोराछोरी र नातिनातिना सेवक भए, कोही भने मेरै अङ्गप्रत्यङ्गमा खोट देख्दै अङ्गभङ्ग गर्न तम्सिए । छिमेकीहरूले पनि गिद्दे दृष्टि लगाए । कतै कालापानीको नाममा, कतै सुस्ताको बहानामा, कतै दशगजाको नाममा मेरा अङ्गप्रत्यङ्ग छिमेकीले लुछेर लगे र लगिरहेछन् । तिमीहरूचाहिँ आपसमै झगडा गरेर बसिरहेका छौ । हेर, निदाएकालाई ब्यूँझाउन सजिलो हुन्छ तर निदाएको बहाना गर्ने तिमीहरू जस्तोलाई ब्यूँझाउन गाह्रो भयो । तिमीहरू आफ्नै घरमा चोरी भएको टुलुटुलु हेरिरहेका छौ । अब झगडा बन्द गर र जाग । जाग मेरा छोराछोरीहरू, नातिनातिनाहरू हो ! जाग । ढिलो नगर । जाग मेरा छोराछोरीहरू, नातिनातिनाहरू हो ! जाग । जाग ।

(हिरण्य, पर्वत र तमोर तीनैजना छोराहरू हात जोड्दै आमानजिक उभिन्छन् ।)

(खुसी हुँदै) धन्य मेरा प्यारा छोराहरू ! तिमीहरूको मेलबाट म असाध्य खुसी छु । म धन्य भएँ । रिस, राग, ईष्र्या, द्वेष आदि छाडेर आओ । नातिनातिनाहरूलाई पनि मिलाएर आओ । मेरो छहारीमा सधैँसँगै रमाएर बस । म तिमीहरूको आदर र सेवाकी भोकी छु । तिमीहरू पनि मेरो माया र सहानुभूतिको भोको भइरहनुपर्छ । कुरो बुझ्यौ ? (स्वीकारोक्तिस्वरूप सबैले मुन्टो हल्लाउँछन् ।)

तमोर : आमा ! मेरा लागि तपाईंको सन्देश के छ ?

आमा : धन्य मेरो प्यारो छोरो तमोर ! सबै छोराछोरी र नातिनातिनाभन्दा तिमी बलिया र ऐश्वर्यशाली छौ । तिमीले दाजुहरूलाई सहयोग गर्नुपर्छ । दाजुहरूको राम्रो विचार ग्रहण गर्दै जाऊ तर दबिएरचाहिँ नबस । ठिक कुरालाई ठिक समयमा उठाऊ । सहयोग गर र लिने पनि गर । कसैलाई कमजोर छ भनेर नहेप । (स्वीकारोक्तिस्वरूप तमोर मुन्टो हल्लाउँछ ।)

पर्वत : मेरा लागि तपाईंको सन्देश के छ ? आमा ।

आमा : धन्य मेरो प्यारो छोरो पर्वत ! सबै छोराछोरी र नातिनातिनाभन्दा तिमी अलिक बाठा छौ तर त्यति ऐश्वर्यशाली छैनौ । मेरा अरू सन्तानसँग मिल्ने र सबैलाई मिलाउने काम तिम्रो हो । भाइ तमोर र नातिनातिनाको भावना बुझेर जायज हकअधिकार दिन कन्जुस्याइँ नगर । कमजोर छ भनेर कसैलाई हेप्ने कामचाहिँ तिमी पनि कदापि नगर । (स्वीकारोक्तिस्वरूप पर्वत पनि मुन्टो हल्लाउँछ ।)

हिरण्य : आमा ! भाइहरूले त पाए । अब मेरा लागि तपाईंको सन्देश के छ ?

आमा : धन्य मेरो प्यारो छोरो हिरण्य ! सबै छोराछोरी र नातिनातिनाभन्दा तिमी अलिक बढी कमजोर छौ र भौतिक रूपले त्यति ऐश्वर्यशाली पनि छैनौ तर प्राकृतिक रूपले शक्तिशाली छौ । मेरा अरू सन्तानसँग मिल्ने र सबैलाई मिलाउने काममा तिम्रो पनि योगदान हुनुपर्छ । अरूको भावना बुझेर जायज हकअधिकार दिन र लिन कन्जुस्याइँ नहोस् । छोराछोरी र नातिनातिनाहरू तिमीलाई सक्तो सहयोग गर्न तत्पर छन् । आफूलाई कमजोर छु भन्ठानेर पछुताउने कामचाहिँ कदापि नगर । अँ सुन, विश्वकै ताज भएर सगरमाथाले अस्तित्व राखेझैँ तिमीले पनि गर्नृू । एकले थुकी सुकी सयले थुकी नदी भन्ने कुरा बुझेर काम गर । मेरातर्फबाट तिमीहरूलाई भन्नुपर्ने यति नै हो । (स्वीकारोक्तिस्वरूप सबैले मुन्टो हल्लाउँछन् । तीनैजना हात जोड्दै आमा नजिक उभिन्छन् ।)
ल–ल म गएँ । सधैँ यस्तै मेल देखिरहन पाऊँ ।

(आमा बिस्तारै पछिपछि सर्दै अलप हुन्छिन् । उतैतिर हेर्दै तीनैजना छोराहरू एकआपसमा अङ्कमाल गरिरहन्छन् । पर्दा खस्छ ।)

(स्रोत : रचनाकारको नाटक/एकाङ्की सङ्ग्रह “युग उचाल्ने अक्षरकर्मीको अवसान” बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *