कथा : कोरागाउँका किरियापुत्रीहरू

~कुमार नगरकोटी~Kumar Nagarkoti

कोरागाउँको नामोत्पत्ति प्रसंगबाट कथा शुरू गर्दा गज्जब बात भइजान्छ भन्ने हाम्लाई लाइरा’छ। त्यो गाउँको नाम कसो गरी कोरागाउँ रहन गयो भन्नेबारे एउटा चाखलाग्दो घटना छ। विषय वा प्रसंगले अन्यार्थ नलागे त्यसको चर्चा गर्नु मुनासिब देखियो।
तपाईंको अनुमति छ भने त्यो कहन्छु है त!

वृद्धाजनद्वय अहेव कलापति नेपाली र हल्कारा कामुक आजाद नेपालीका कथोपकथन अनुसार विक्रम सम्वत् दुई हजार छ्यालीस– छको खुट्टा काटेकोमा माफ गर्नुस्– सालको जनआन्दोलन पश्चात् गठन भएको प्रथम निर्वाचित सरकार डङरङ्ग ढलेपछि गाउँको सतासी वर्षीय मुखिया कालमोचन पिया नेपालीले केश मुण्डन गरे, जूठो बारे।

गाउँमा उनी सबैका आदरणीय, पूजनीय एवं बन्दनीय थिए। उनको निष्ठामाथि कसैले औंला ठड्याउँदैन थे। त्यो चाहे कान्छीऔंला होस् या माझीऔंला। चोरऔंला ठड्याउने त झ्न् कुरै भएन। ठड्याउनै परे सबैले सम्मानपूर्वक ल्याप्चे औंला ठड्याउँथे।

अँ त! त्यस दिन मुखिया कालमोचन पिया एकाबिहानै गाउँको प्रतिष्ठित हजाम कीर्तनमणि नेपालीको ‘कीर्तन एण्ड सन्स केश कर्तनालय’ पुगेर भने, “कीर्तन भाइ, मेरो केश मुण्डन गर।”

कीर्तनमणि एकाएक हच्कियो। यस्तो त कहिल्यै भएको थिएन। मुखियाको केश कसरी खौरने? कसरी पापको भागी हुने? तर मुखियाको आदेश कसोगरी टार्ने? कस्तो धर्मसंकट! नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाको अनुहार, हरे फसाद! उसको मन दोमन भयो। मुखियाले पुनः एक पटक बच्चाले झैं जिद्दी गर्दै ‘कीर्तन भाइ, मेरो केश मुण्डन गर’ भनेपछि कीर्तनमणिले बूढाको एक मुठी टुप्पी च्याप्प समात्यो र कैंचीले चट् पारिदियो।

केश सफाचट भएपछि मुखिया उकालो चढेर कश्यपकान्त नेपालीको बस्त्रालय पुगे। कश्यपकान्तले टक्र्याएको तात्तातो चिया अस्वीकार्दै मुखियाले भने, “बाबुराजा, मलाई कोराको काँचो कपडा देऊ।”

“कोराको कपडा हजुरलाई किन चाहियो?”, कश्यपकान्तले सोध्यो।

“म किरियापुत्री हुँ, किरिया बस्न चाहन्छु।”

कश्यपकान्तलाई ‘बूढ्डा सठिया गया है’ जस्तो लाग्यो। कपाल खौरेका छन्, आँखीभुईं पनि खौरेका छन्। टाउकोमा पिगटेल नाइँ! ओठमाथिको मुस्टाच नाइँ! गालामा झयाप्ले बियर्ड पनि नाइँ। किरियापुत्री हुँ भन्छन्, काँचो कपडा माग्छन्। ‘बुढ्डा पक्कै पनि सठिया गया है!’

कश्यपकान्तले विस्मयका साथ बूढालाई हेर्‍यो। बूढा गुरु गम्भीर थिए। कश्यपकान्तले अन्ततः सेतो कपडा दियो।

श्वेत वस्त्र लिई मुखिया कालमोचन पिया सिधै घाट गयो। कीर्तनमणि र कश्यपकान्तले मुखियाबारे गाउँमा हल्ला पिंकजाइसकेका थिए। गाउँलेहरू के अनर्थ हुन लाग्यो भनी घाटमा जम्मा भए। अहेब र हल्कारा अघि सर्दै भने, “हजुर किन यस्तो गर्दै हुनुहुन्छ?”

मुखिया केही बोलेनन्। उनका छोराहरू, बुहारी तथा नाति नातिनाहरूले पनि सोधे, “हजुर किन यस्तो गर्दै हुनुहुन्छ?” मुखियाले त्यसपछि ग्रामवासीलाई हेर्दै मुख खोले, “सरकार मर्‍यो, त्यसैले म किरियापुत्री भएँ। अब कोरा बस्छु।”

“सरकार मर्दैमा तपाईं किन कोरा बस्ने? किन किरियापुत्री बन्ने?”, गाउँलेले सोधे। “सरकार भनेको जनताको अभिभावक हो। अभिभावक मरेपछि जनताले किरिया बस्नुपर्छ।”

त्यसपछि गाउँमा अनौठो भयो। सबै गाउँलेले मुखियाको अनुसरण गर्दै केशमुण्डन गरे, श्वेतवस्त्र धारण गरे, कोरा बसे। सम्पूर्ण ग्रामवासी किरियापुत्री बने। तेह्र दिनसम्म नून बारे। चौधौं दिनमा मुखियाले घाटमा भोजको आयोजना गरे। भोजमा सहभागी भएका गाउँलेहरू समक्ष स–सानो सम्भाषण दिंदै मुखियाले भने, “प्रिय गाउँवासीहरू! कोरा बसेको गुप्त दिनहरूमा मेरो मगजमा एउटा विचार फुर्‍यो। त्यो के त भन्दा अबदेखि यो गाउँलाई कोरागाउँ भन्ने। यो घाटलाई कोराघाट भन्ने।”

केहीबेर मुखिया चूप लागे। गाउँलेका उत्साहित आँखाहरू नियालेर सम्भाषण जारी राखे, “आदरणीय जनसमुदाय, अबदेखि यो गाउँको नाम कोरागाउँ रहनेछ। यो नाम किन पनि उपयुक्त छ भने आइन्दा देशमा पटकपटक सरकार ढल्नेछ, सरकारको असामयिक मृत्यु हुनेछ। हामी पटकपटक कोरा बस्नेछौं। सरकार भनेको जनताको अभिभावक हो। जनताको हेरविचार, संरक्षण र अभिभावकत्व प्रदान गर्नु उसको धर्म हो। तर प्रिय आदरणीय जनसमुदाय, सरकारले आफ्नो धर्म निर्र्वाह नगरे पनि हामीले आफ्नो धर्म बिर्सनुहुँदैन। जब जब सरकारको मृत्यु हुनेछ, हामी कोरा बस्नेछौं किनभने हामी कोरागाउँका किरियापुत्रीहरू हौं, यो देशका किरियापुत्री हौं।”

मुखिया कालमोचन पियाको सम्बोधनले भीडमा जादू गर्‍यो। उसको सम्भाषणलाई करतल ध्वनिका साथ स्वागत गरियो। बडो उत्साहका साथ मुखियाले घोषणा नै गर्न भ्याइदिए कि उनी एक वर्षका निम्ति बर्खी बार्नेछन्। बकाइदा श्वेतवस्त्र धारण गनर्ेेछन् र लसुन, प्याज, गोलभेडादी परहेज गर्नेछन्। निष्ठापूर्वक जूठो बार्नेछन् किनभने, उनले सगर्व भने, “म यो कोरागाउँको असली किरियापुत्री हुँ।”

उनले छुस्स यो पनि थपिहाले, “आदरणीय जनसमुदाय, मैले आरम्भ गरेको यो प्रथामा के तपाईंहरू मेरो साथ हुनुहुन्छ?”

कोराघाटमा गाउँलेहरूको गगनभेदी आवाज गुञ्जियो– “छौं। हामी तपाईंको साथमा छौं। मुखिया कालमोचन पिया कि– जय! कोराघाट की– जय! कोरागाउँ की– जय! कोरागाउँका किरियापुत्रीहरू की– जय!”

अब गाउँलेहरूको वार्षिक उत्साह हेरियोस्। उनीहरूले मुखियासित मुखाले सहमति मात्र जनाएनन् अपितु सबैले वर्ष दिन श्वेतवस्त्र धारण गरी बर्खी बारे। खानेकुरामा कसैले नून बारे, कसैले चिनी, कसैले मेथी, कसैले ज्वानो, कसैले अदुवा बारे। कोही न कोहीले केही न केही जरुर बारे।

मलाई बताइए अनुसार अहेब कलापति नेपाली र हल्कारा कामुक आजाद नेपालीले त्यो वर्ष आ–आफ्नो मनपसन्द खुराक क्रमशः च्यवनप्रास र तिलको अचार बारे।

यसरी कोरागाउँका किरियापुत्रीहरूले देश, काल, परिस्थिति अनुसार एउटा नयाँ प्रथा इजाद गरे।

छयालीस साल यता कोरागाउँको घाट हुँदै खोलामा धेरै पानी बग्यो। समयको जीर्ण औंला समाई कोरागाउँ वयस्क हुँदै गयो। सरकारी तथ्याङ्क अनुसार छयालीस सालमा जन्मेका पच्चीस सय पच्चीस बच्चाहरू अहिले लेट ट्वेन्टीजका वयस्क भए।

कोरागाउँ यो अवधिमा धेरै बदलियो। हिले सडकको विस्तारसितै गाडीमा लोड भई विकास मात्र आएन, त्योसँगै शहरका उपियाँ, उडुस र लामखुट्टेहरू पनि आउँदा भए। तिनको औपचारिक परिचय थियो– दलाल। एउटा यस्तो भयंकर जीवात् जसलाई गाउँलेहरूले त्यसअघि न कहिल्यै देखेका थिए न कहिल्यै त्यसबारे सुनेका नै थिए।

ती जीवात्ले जग्गा, हाटबजार तथा लोक संस्कृतिमाथि बलात् कब्जा जमाए। कोरागाउँ बदलियो। सबै थोक, चिज बदलिए। बदलिएन एउटै चिज– उनीहरूको परिचय। उनीहरूको थर अर्थात् नेपाली।

हो, हजुर कोरागाउँमा सबै नेपाली थिए। सबैको थर नेपाली थियो। यो अलिक अजीव बात थियो। यो भन्दा अजीव बात अर्को के थियो भन्देखिन् कोरागाउँका सम्पूर्ण बासिन्दाको नाम देवनागरी लिपिको पहिलो अक्षरबाट शुरू हुन्थ्यो। जस्तो– कलापति नेपाली, कामुक आजाद नेपाली, कालमोचन पिया नेपाली, कीर्तनमणि नेपाली, कश्यपकान्त नेपाली इत्यादि।

स्वर्गीय कालमोचन पिया नेपालीले चलाएको मौलिक प्रथा विभिन्न कालखण्डमा बदलिंदै नयाँनयाँ परिमार्जित संस्करणका साथ जारी रह्यो। बेलाबखत नियम फेर्नुपर्‍यो किनभने देशको सरकार यति शीघ्र मर्न थाल्यो कि वर्षमै दुई तीन पटकसम्म किरियापुत्री बन्ने नौवत आइलाग्यो। राजनीतिक दलहरूले सरकार गिराउन महारथ हासिल गरे। त्यसको सीधा असर कोरागाउँका किरियापुत्रीहरूमा पर्ने नै भयो।

एउटा सरकार जन्मन पाएको छैन त्यसको भ्रूणहत्या गर्न विपक्षी दलका नेताहरूको मगज चुमचुम गरिहाल्थ्यो। यो चुमचुम बडो अनिष्टकारी हुन्थ्यो। प्रतिपक्षी नेताहरूको मगज चुमचुम हुन थालेपछि मेरी बास्सै प्रधानमन्त्रीको मुहुनीमय कुर्सी चुँमुचुँमु लाग्ने कामोत्तेजक व्यथा लगिहाल्थ्यो।

कालक्रममा कोरागाउँवासीले पालना गर्नुपर्ने किरियापुत्री सम्बन्धी अलिखित आचारसंहिता परिवर्तन हुँदै गयो। श्वेतवस्त्र धारण गरी बर्खी बार्ने अवधि ६ महीना, तीन महीना, एक महीना हुँदै अन्ततः एक दिनमा सीमित भयो। तेह्र दिनको किरिया संस्कार पनि एक दिनमा झ्र्‍यो।

स्वर्गीय कामुक आजाद नेपालीका सुपुत्र कौमार्य आजाद नेपाली सुधारिएको संस्कारलाई समयानुकूल मान्छन्। मेरो एक प्रश्नको सन्दर्भमा उनले भनेका थिए, “संस्कारहरू समय अनुसार संशोधन हुनु स्वागतयोग्य कुरा हो। यो समयको माग पनि हो। यो एकदमै जायज छ। तर यो प्रथालाई जरैदेखि उन्मूलन गर्नुपर्छ भन्ने दक्षिणपन्थी दलहरूको भनाइप्रति म विमति मात्र राख्दिनँ, त्यसको घोर विरोध पनि गर्छु। तपाईं मार्फत म के जाहेर गर्न चाहन्छु भने यो हाम्रो मौलिक परम्परा हो र यसलाई जोगाउन कुनै कसर छाडिन्न किनभने हामी कोरागाउँका असली किरियापुत्री हौं।”

यो प्रथा कति समयसम्म टिक्ला त भन्ने प्रश्नको जवाफमा स्वर्गीय कलापति नेपालीका भतिज कर्मपति नेपालीले मलाई मुखभरि जवाफ दिएका थिए, “जुन दिनसम्म देशमा कुनै पनि सरकार पूर्ण अवधिसम्म नबाँची असामयिक मृत्यु मरिरहन्छ, हामी किरिया बसिरहनेछौं। जूठो बारिरहनेछौं। जुन दिन पाँच वर्ष टिक्ने भरपर्दो सरकार जन्मन्छ त्यही दिन यो प्रथा सकिनेछ। मलाई लाग्छ त्यो दिन भनेको हामी नेपालीको निम्ति केवल एक असम्भव कल्पना हो। दूरदूरसम्म त्यसको कुनै सम्भावना देखिन्न। नयाँ संविधानको व्यवस्थाले त झ्न् त्यो सुनौलो दिनको परिकल्पनासम्म गरेको छैन। त्यसैले युगौंसम्म हामी यो प्रथा चलाइरहनेछौं। सबैलाई थाहा भएकै कुरा हो कि हामी कोरागाउँका असली किरियापुत्री हौं।”

यसमा कुनै सन्देह थिएन।

केही समययता शान्त कोरागाउँमा दक्षिणी वायु चल्न थालेको थियो।

दक्षिणी वायुको प्रकोपले उथलपुथल मच्चाउँथ्यो। कोरागाउँको निम्ति यो एक अशुभ संकेत थियो। दक्षिणी वायुमा यति सूक्ष्म एवं गुप्त संक्रामक कीटाणुहरू सलबलाउने जनविश्वास थियो कि यसको छद्मभेषी प्रहारबाट देशको सरकार कुनै पनि बेला सिल्टिमुर खान सक्थ्यो। गाउँमा गाइँगुइँ चल्न थाल्यो कि सरकारको ज्यान जोगाउने हरसम्भव प्रयासहरू विफल भए, कि सरकारलाई ब्रह्मनालमा पुर्‍याइसकियो, कि राजधानीमा सरकारको शवयात्राको मूल समारोह समिति गठन भइसक्यो, कि सरकारलाई चितामा दागबत्ती चढाइसकियो, कि सरकारको दाहसंस्कार गरिनै सकियो।

कि, कि तथा थुप्रै कि! अनिष्ट सम्भावनाका प्रेतवायु कोरागाउँमा सलबलाइरहे। गाइँगुइँको भोल्युम एण्ड भेलोसिटी कति तीव्र थियो भने कोरागाउँका तमाम हजाम लगायत श्वेतवस्त्र अर्थात् बर्खी पोशाक बेचुवाहरू अस्वाभाविक रूपले चलमलाउन थाले। उनीहरूको व्यापारमा चार चाँद लाग्यो। सरकारको प्रत्येक सजा–ए–मौतमा कोरागाउँका किरियापुत्रीहरू नयाँ बर्खी पोशाक किन्न अभिशप्त थिए। यस्तो बेला वस्त्र बेचुवाहरूलाई भ्याईनभ्याई हुन्थ्यो।

वस्त्र बेचुवाहरू आ–आफ्नो पसलमा अनेक नापोका श्वेत कमिज, प्यान्ट, कट्टुहरू डोरीमा लस्करै झ्ुण्ड्याएर राख्थे। कतिपयले एक एक सेटको प्याकेट पनि बनाउँथे। महिलाका निम्ति श्वेत फरिया, ब्लाउज, पेटीकोटहरू मिलाइकन चाङमा राखिएका हुन्थे। जनाना पोशाकमा एडिसनल आइटम पनि हुन्थ्यो– सेता चुराहरू। जमाना रेडिमेडको थियो नि त हजुर! रेडिमेड पोशाकहरूलाई कडा टक्कर दिन नसकेकैले हुनुपर्छ पारम्परिक सूचीकारहरू लगभग विस्थापित झैं भइसकेका थिए।

जहाँसम्म हजामको कुरा छ, उनीहरू पनि मालामाल हुने सिजन यही हुन्थ्यो। प्रत्येक स्यालनमा केशमुण्डन गर्ने किरियापुत्रीहरूको ताँती देखिन्थे। हरेक स्यालनमा खौरिएका केश संग्रह गर्ने पार्टटाइम कर्मचारी जरूर हुन्थ्यो। ती केश कस्मेटिक कम्पनीका दलालहरूले खरीद गर्थे। समग्रमा, हजामहरूको भागमा दूधभात, घिउभात या दुवै हातमा लड्डु हुने सन्जोग जुर्थ्यो।

नभन्दै, आधिकारिक समाचार फ्याट्ट आयो– नौ महीने सरकार गर्ल्यामगुर्लुम ढल्यो। मृत सरकारको दलबारे कोरागाउँका किरियापुत्रीहरू खासखुस गर्थे, ‘यो दलको सरकार नौ महीनामै किन ढल्छ? नवग्रहको कुदृष्टि यसमा परेको हुनुपर्छ। नौ महीनामा एउटी आमाको कोख भरिन्छ। शायद यो दलको कोखमै कुनै कैफियत छ। आफ्नो सरकारको चिर आयुको निम्ति यो दलले कोखपूजा गर्नु मुनासिव हुनेछ।’

तर, सरकारको असामयिक निधन भइसकेको थियो।

देशमा नयाँ संविधान घोषणा भएको वर्ष दिन नबित्दै दोस्रो सरकारको प्राण घिटीघिटी गर्दै सेलायो। अबको सरकारलाई पनि नौ महीनाभित्रै सेलाउने राजनीतिक दलहरूको भद्र सहमति भइसकेको थियो। दलहरूलाई त सुख थियो, पालैपालो प्रधानमन्त्री हुन्थे। एउटा दलको टोली नेता त कस्तो ज्याद्रो भने ऊ चौथो पटक प्रधानमन्त्री हुने अश्लील अभिलाषा राख्थ्यो। दुःख त बरा कोरागाउँका किरियापुत्रीहरूलाई थियो। कति किरिया बस्नु? कति जूठो बार्नु?

संसारभर यही एउटा देश थियो जसको सरकार यति शीघ्र सिल्टिमुर खान्थ्यो कि गिनिज बूक अफ् वर्ल्ड रेकर्डस्का पदाधिकारीहरू समेत आश्चर्यले आफ्ना कान्छीऔंला टोक्न थाल्थे। अफ्रिकी मुलुक बोत्स्वानाकी मेरै एकजना लेखक मित्रलाई यसबारे बताउँदा उनी बडो आश्चर्यचकित भएकी थिइन्। यस्तो कसरी सम्भव हुन्छ? यो त आठौं आश्चर्य पो भयो! यो एक अविश्वसनीय मजाक पो हो कि भन्दै उनले मलाई सोधिन्, “आर यु जोकिङ मिस्टर नगरकोटी? यस्तो तीव्र गतिमा पनि सरकार फेरिन्छ र? यसरी त कुनै हद दर्जाकी वाइफालेले पनि लोग्ने फेर्दैन!”

“बट्, मिसेज अमान्दा बोत्सिना, दिस इज द रियालिटी अफ माई कन्ट्री!”

“देन, चेन्ज द रियालिटी”, आमान्दाले भनेकी थिइन्।

मैले हामी रियालिटी होइन सरकार फेर्न अभिशप्त छौं भन्नै आँट्या थिएँ तर भनिनँ। घरको कुरो बाहिरियालाई सुनाएर कतिसम्म मजाकको पात्र भइरहने? मजाकको पनि सीमा हुन्छ नि!

आज पनि कोरागाउँवासी पुनः एक पटक किरियापुत्री बन्न श्रापित त भनिनहालौं विवश चाहिं जरूर थिए। कोरागाउँ निद्राबाट जागेको थियो। पूर्वी डाँडामा अलिनो घाम अल्छी मान्दै ब्यूँझ्ेको थियो। नियमित प्रातःरमणमा निस्कने मनुवाहरूले आफ्नो समयतालिकालाई आज केही फेरबदल गर्नु परेको थियो।

केही मनुवा स्यालनमा केश मुण्डन गर्दै थिए भने केही बर्खीवस्त्र किन्न वस्त्रालयसामु लामबद्ध थिए। केही मनुवा कोराघाटको खोलामा डुबुल्की मार्दै थिए।

म अब एउटा प्रतिनिधि पात्रलाई पछ्याउँदै उसैको कथा हाल्छु है त!

करुणपुकार नेपाली ‘दरिद्र घरको तर बुद्धि कस्तो’ मिजासको मायालु मनुवा थियो। पेशाले काष्ठशिल्पी। सुन्दर तथा आकर्षक ठेकी बनाउनमा पारंगत। बनाउन त ऊ काठका करुवा, कचौरा, कमण्डलु इत्यादि पनि बनाउँथ्यो तर उसको कारपेन्ट्रीको जादू भने ठेकीमै देखिन्थ्यो।

राजधानीमा सरकारको दुःखद् निधन भएको खबर करुणपुकार नेपालीलाई उसकी जहानले राति सुनाएकी थिई। सोमबार बेसिकल्ली दम्पतीको संसर्गबार थियो। तर दुर्भाग्य, यस्तो आपतकालीन अवस्था आइलाग्यो कि सम्भोग सुख लिनुअघि स्वास्नीले फ्याट्ट लाएर सरकार मरेको कुरा सुनाइदिई। अब रुनु कि हाँस्नु! सुरुवाल घुँडासम्म झारिसकेको करुणपुकार अवाक् भयो। सम्भोगमा जूठो पर्‍यो, अब बार्नु पर्ने भयो। हत्तेरिका! स्वास्नीसित रिसायो पनि, “एकछिनपछि भन्या भे हुन्थेन? अलच्छिनी कहीं कि!”

यो त रातको कुरा भयो। अब कुनै बियाँलो नगरी दिनको कुरा गरुँ क्यारे! तीनोटा ठेकी बोकी करुणापुकार बिहानै घरबाट निस्केर उकालो लाग्यो। छोरालाई अघि लगाएर। बीच बाटो पुगेपछि समीको रूखमुनि बच्चोले सोध्यो, “पापा, हामी काँ जाने?” “नयाँ नाना किन्न”, उसले भन्यो।

छोरो प्रफुल्ल भई गद्गदावस्थामा पुग्यो र उत्साहपूर्वक लमकलमक गरी हिंड्न थाल्यो। फुच्चेलाई आज डबल खुशी प्राप्त भएको थियो। खुशी नम्बर १– सरकारको मृत्यु भएकोले शोक मनाउन स्कूल छुट्टी र खुशी नम्बर २– पापाले नयाँ नाना किनिदिने।

बच्चाको मन त्यसै त्यसै रमाएको थियो। उसका पाइलाहरू वस्त्रालय पुग्न आतुर थिए। केही क्लिशे भएर पनि बच्चोको उत्साह व्यक्त गर्न मैले यहाँ एउटा वाक्य लेख्नुपर्ने भयो। के गर्ने? कहिलेकाहीं क्लिशेले पनि काम चलाउनुपर्ने हुन्छ। क्लिशे नै सही त्यो के भने, खुशीले गर्दा बच्चोको खुट्टा भुईंमा थिएन।

बाबुछोरा वस्त्रालयसामु उभिए।

वस्त्र बेचुवा अचाक्ली व्यस्त थियो। बडो यत्नका साथ ऊ किरियापुत्रीहरूलाई बर्खी वस्त्र बेचिरहेको थियो। केही होलो भएपछि उसको नजर बाउछोरातर्फ पर्‍यो। करुणापुकारले झ्ोलाबाट तीनोटा ठेकी निकाल्यो। लोग्नेस्वास्नीका ठेकी केही ठूला थिए भने छोराको लागि सानो। करुणापुकारको बर्खीवस्त्र किनमेल गर्ने तरिका यस्तै थियो– श्वेतवस्त्रसित ठेकी साट्ने। एउटा हातले ठेकी देऊ, अर्को हातले बर्खीवस्त्र लेऊ।

करुणापुकारले पसलेलाई तीनोटा ठेकी हस्ते गर्‍यो। बदलामा पसलेले करुणापुकारलाई तीन सेट श्वेतवस्त्रको प्याकेट दियो।

आफ्नो नाना देखेर फुच्चे खिसि्रक्क पर्‍यो। उसको मन त पसलको डोरीमा झुण्डिएका बुट्टेदार रंगीन टीसर्ट र जिन्स प्यान्टले हरेको थियो। उसले भन्यो, “नाइँ, म यो लाउँदिन। अस्ति भर्खर लाको त हो नि!”

“अस्ति लाको नाना त नौ महीना भैसक्यो नि त!” पसलेले भन्यो।

फुच्चेको मन कुँडियो। कति सेतो लुगा मात्र लगाउनु! उसको मन त यसबेला रंगीन कपडासितै डोरीमा झुण्डिरहेको थियो। फुच्चे पिलपिल गर्न थाल्यो। आफूलाई डोरीमा झ्ुण्डिएकै रंगीन नाना चाहियो भनी फुच्चेले करुण विलाप गर्‍यो। छोराको आँसुदेखि करुणपुकारको मन पनि कुँडियो।

“छोराले रहर गरिहाल्यो, दिनुस् न त साहुजी!”

“पैले ठेकी ल्याऊ, त्यसपछि कपडा लैजाऊ।”

करुणपुकारले भएको ठेकी पसलेलाई हस्ते गरिसक्याथ्यो। घरमा भएका ठेकीहरू छोराको साइजका थिएनन्। दुई दिनभित्र नयाँ ठेकी बनाएर ल्याइदिन्छु भनी बिन्ती बिसाउँदा पनि पसले मानेन। कसोकसो छोरालाई फकाइफुल्याइ गर्‍यो। फर्कंदा चुइँगम र चकलेटहरू किनिदियो तर फुच्चे बाटोभरि सुँक्कसुँक्क गरिरह्यो।

घर आएपछि पति, पत्नी र पुत्र कोराघाट रवाना भए। त्यहाँ किरियापुत्रीहरूको कुम्भ मेला थियो। तीनैजनाले स्नान गरे। करुणापुकारले गहुं्रगो मन बनाई ब्लेडले छोराको कपाल खौरिदियो। यसो गर्दा उसलाई पत्तीले आफ्नै मुटु चिरेझैं लाग्थ्यो। तर, के गर्नु, उपाय नास्ति! उसको केश मुण्डन चाहिं स्वास्नीले गरिदिई।

त्यसपछि सबैले आ–आफ्नो प्याकेट खोले। स्वास्नीले सेतो पेटिकोट, सेतो धोती, सेतो चोलो र सेता चुराहरू लगाई। लोग्नेले सेतै प्यान्ट, कमिज र टोपी लगायो। छोराले चाहिं प्याकेटै खोल्न मानेन। उसको मन घरीघरी डोरीमा झ्ुण्डिएका रंगीबिरंगी नानाहरूमा गइरहेको थियो। लोग्नेस्वास्नीले बडो मुश्किलले बल्लतल्ल फुच्चेलाई असल किरियापुत्रीको अवतारमा ल्याए।

त्यो दिनभरि फुच्चेको हंश हरायो।

फुच्चेले बूढीऔंलामा थुक लगाएर च्यापुमा क्रस गरी बाबुआमासित कट्टी गर्‍यो। जूठो परेकोले दिउँसो त एक छाकै थियो फुच्चेले साँझ् पनि खाना खान मन गरेन। आमाले उसलाई मन पर्ने आलुदम बनाएकी थिई तर उसले त्यसलाई हेर्दा पनि हेरेन। नाबालक छोराको अवस्था देखी करुणपुकार व्यथित भयो।

त्यसपछि उसले छोरालाई काम गर्ने कोठामा लगेर काठ छान्न लगायो अनि बडो तनमयका साथ एउटा ठेकी बनाउन जुट्यो। छोराकै साइजको फुच्चे ठेकी।

फुच्चेको हंश त्यसपछि फर्केर आयो। शायद त्यो हंश वस्त्रालयतिर घुम्न गाथ्यो रंगीबिरंगी नाना हेर्न। ऊ बहुत खुशी भएर पापाले बनाउँदै गरेको ठेकी हेर्न थाल्यो।

“जाऊ अब खाऊ”, पापाले भन्नुभयो।

आमासित उसले क्वाप्प माम खायो। आलुदम खायो, थपीथपी खायो, अघाउँजी खायो।
सुत्न जानुअघि ऊ एक पटक पापालाई हेर्न गयो। पापा ठेकीको पिंध बनाउँदै हुनुहुन्थ्यो। उसलाई आफ्नो पापा संसारको सबभन्दा मायालु मान्छे लाग्यो। राजधानीको त्यो कुन्नि के जाति प्रधानमन्त्रीभन्दा उसलाई आफ्नो पापा कता हो कता महान लाग्यो। पापाले उसलाई रंगीचंगी नाना किनिदिनुहुन्थ्यो। प्रधानमन्त्रीले त सेतो बर्खी कपडा मात्रै दिन्थ्यो।

पापाको गालामा उसले म्वाईं खायो। फर्केर ओछ्यानमा जानुअघि फुच्चेले आङबाट सेता कपडाहरू पालैपालो निकाल्यो र जथाभावी फ्याँकिदियो।

यत्रतत्र छरिएका सेता लुगाहरू पट्याएर मिलाइवरी राख्दै आमाले मायालु भाकामा भन्नुभयो, “बाबु, नाना किन फ्याँकेको? तिमी त ज्ञानी बच्चा पो हौ त। नौ महीनापछि यो नाना फेरि चाहिन्छ। किनभने, तिमीलाई कोरागाउँको असल किरियापुत्री बन्नु छ।”

फुच्चे निदाइसकेको थियो। सपनामा ऊ वस्त्रालय पुगेको थियो। उसको हातमा पापाले रातभरिमा तयार पारिदिनुभएको फुच्चे ठेकी थियो।

ऊ डोरीमा झुण्डिएका रंगीचंगी नानाहरू हेरिरहेको थियो।

(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *