संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~

तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए र राजनीतिक पार्टीहरू पनि साप्ताहिक अखबारहरूमा पार्टीहरूको नाम अघिल्तिर पु. लेखेर आफ्नो अस्तित्व देखाउन सक्ने हैसियतमा पुगेका थिए । पु.नेपाली काँग्रेस, पु. नेपाल कम्युनिस्ट पार्टी भनेर लेखिन्थे साप्ताहिक छापाहरूमा । जनमतसङ्ग्रह अगाडिको गाउँफर्के आतङ्कको दाँजोमा यो पर्याप्त फराकिलो दायरा लाग्थ्यो त्यतिबेला ।

राष्ट्रिय राजनीति जति खुकुलो थियो – मेची अञ्चलभित्रको त्रासदी त्यत्ति नै कस्सिएको थियो । विद्यार्थी आन्दोलनको बीचमै, २०३५ सालको चैत्र २७ गते पश्चिम इलामको इभाङ्ग गाउँमा मारिनु भएको थियो मेची अञ्चलका सचिव तथा पार्टी केन्द्रीय कमिटीका सदस्य रत्नकुमार वान्तवा । उहाँको हत्याको महिना दिन बित्दा नबित्दै इलाम जिल्ला कमिटीका सदस्य बमप्रसाद वान्तवा पनि राज्यद्वारै मारिनु भएको थियो । चिताइनसक्नुको दमनकै बीचमा क्षेत्रीय कमिटीका अर्का सदस्य हरि नेपाल पनि मारिनु भएको थियो – २०३६ सालको पौष १४ गते बिहान ।

आतङ्कपूर्ण अवस्था थियो सिँगो मेची अञ्चलको र म पठाइएको थिएँ त्यो आतङ्कलाई चिरेर पार्टीको पुनःनिर्माण गर्ने अभिभारा सहित ।

०३६ सालको दसैँ मैले बाटोमा बिताएको थिएँ । लुम्बिनी अञ्चलको जिम्मेवारीबाट मुक्त भएर म मेची अञ्चलमा सरूवा गरिएको थिएँ । लुम्बिनीमा साढे दुई वर्षको कार्यकाल बिताएको थिएँ मैले । त्यता मलाई चिन्नेजान्ने मानिस पनि थिएनन् । रूपन्देहीको छपियादेखि पश्चिम कपिलवस्तुको गोगौलीसम्म म दिउँसै पनि हिँड्न सक्थेँ । तर पूर्वमा मलाई त्यसरी हिँडडुल गर्न पनि सकस पथ्र्यो । कोशीमा त दिउँसो मैले हिँड्ने कुरो सोच्नसम्म सकिँदैनथ्यो । मेचीमै पनि भोजपुरबाट बसैँ सरेर गएका आफन्तहरूकै ठूलो जमातको बसोबास थियो – दमकदेखि चन्द्रगढीसम्म । त्यसैले दिवायात्रा अप्ठ्यारो हुने भएको थियो मेरा लागि ।

हाम्रो यात्रामार्ग प्रायः भारतीय रेल नै हुन्थ्यो लामो यात्रापथमा । लुम्बिनीबाट भारततिर लाग्दा दसैँ लागिसकेको थियो । सुनौलीमा उज्यालो नखस्दै म बस समाउन पुगेको थिएँ । सुनौलीबाट नौतनवा हुँदै गोरखपुर अनि गोरखपुरबाट मुजफ्फरपुर जाने योजना थियो मेरो । प्रायः हिँडिरहने बाटो भएको हुनाले म एक्लै मुजफ्फरपुर पुगेको थिएँ । विराटनगरको आश्रयका बारेमा राम्रो जानकारी राख्ने साथी हुनुहुन्थ्यो मलाई पूर्वतिर लैजाने । उहाँसँग मुजफ्फरपुरमै भेट्ने, एउटा प्रकाशनको काम सक्याएर पूर्व लाग्ने हाम्रो योजना थियो । त्यहाँ दुई दिन अलमलिएपछि हामी लाग्यौँ कटिहारतिर । कटिहार, पूणिर्याँ र फारबीसगञ्ज भारतीय बजार भए पनि विराटनगरका मानिसहरू छ्याप्छ्याप्ती भेटिने ठाउँहरू थिए । कटिहार र पूणिर्यालाई मैले हृयाकुलैले मिच्ने आँटगरेँ । कोही चिनारू भेटिइहाले पनि भारततिरै कुद्दै छु भन्न सकिने तर फारबीसगञ्ज भनेको त नेपालीहरूको ठूलै बजार थियो । त्यहाँबाट जोगबनीसम्म रेलमा जाँदा अनावश्यक खतरा मोल्न खोजेको जस्तो हुन्थ्यो । त्यसैले हामीले फारबसिगञ्जमा रेल छाड्यौँ र सन्ध्याकालीन बसको प्रतीक्षा गर्न थाल्यौँ । किनभने दिउँसोको उज्यालोमा रानी भन्सार कट्ने भनेको मेरा लागि असम्भव दुस्साहस मात्रै थियो ।

बसमा सुरक्षित यात्रा भयो । जोगबनीमा ओर्लँदा बजारमा साँझ झरिसकेको थियो । हामीलाई विराटनगरबाट आएका कमरेडहरूले जोगबनीको एउटा होटेलमा भेट्ने समझदारी बनेको थियो लुम्बिनीबाट हिँड्दा नै । तोकिएको ठाउँमा हामी साढे छ बजे पुग्यौँ । एक घण्टासम्म कुरियो । अहँ साथीको चालचूल केही भेटिएन । म त पाहुनाजस्तो थिएँ । सँगै जानुभएको साथीले आफू नेपाल भित्रिने र भोलि मलाई पनि भित्र्याउने योजना बनाउनु भयो । विराटनगरको चिनजानमा उहाँले मलाई जथाभावी लिएर हिँड्ने आँट गर्नुभएन ।

साथी हिँड्नु भयो म त्यही होटेलमा बसेँ । होटलवालासँग पहिले नै कुरो मिलाई सकिएको थियो । म रात बिताउने गरी नै बस्ने भएको थिएँ । जोगबनीतिर नेपाली जासुसको विगविगी पनि हुन्थ्यो नै । त्यसैले बेलुका दुइटा रोटी र दाल तरकारी खाएर म सुत्ने कोठातिर लागेँ । त्यतिबेला नौ पनि बजेको थिएन ।

एक घण्टा अन्यौलको सन्त्रासमै बित्यो तर पछि लामो रेलयात्रामा थाकेर होला म बिहानको पाँच बजेसम्म मस्तै निदाएछु ।

बिहान पूर्वनिर्धारित स्थानमा बसेर म चिया पिउँदै थिएँ, बाहिरबाट चित्र निरौलाले चियाएजस्तो लाग्यो । उहाँ पनि पार्टीमै हुनुहुन्छ भन्नेसम्म थाहा थियो, तर मलाई लिन आउनु भएको हो वा जोगबनी घुम्न आउनु भएको हो भन्ने ठेगान नलागी मैले सम्पर्कको चासो देखाउनु राम्रो हुन्नथ्यो ।

पहल उहाँले नै गर्नुभयो । ईशारा पनि गर्नुभयो । म आफ्नो सानो भ्यागुते झोला बोकेर बाहिर निस्किएँ ।

तीन जना साथीहरू आउनु भएको रहेछ मलाई लिन । हामी बजारबाट पश्चिमतिर लाग्यौँ । नेपाल-भारत सीमाना काट्दा मूलबाटोबाट हिँडिदैन भन्ने ज्ञान मैले रूपन्देहीमै पाएको थिएँ । प्रायः हामी गाउँवस्तीबाट वारपार गथ्र्यौँ भित्र बाहिर गर्दा ।

जोगवनी नाका सजिलो लाग्यो भित्रबाहिर गर्न । धेरै हिँड्नु नपर्ने । विराटनगर सुगर मिलमा जाने श्रमीकजस्तो भएर हामी मिल परिसरमा पस्यौँ । त्यहाँबाट विराटनगर जुट मिल हुँदै हामी नहरको किनारै किनार उत्तर लाग्यौँ । अलिक परको सडकमा रिक्सा र थोत्रा गाडीहरू गुडिरहेका थिए । हामीहरू निश्चिन्त भएर सुतेको नहरको डीलडीलै हिँडिरहेका थियाँै ।

सहर नआइपुग्दै एउटा सानो घरमा छिराएर साथीहरू आआफ्नो गन्तब्यतिर लाग्नुभयो । नयाँ नयाँ आश्रयहरू प्रयोग गर्ने बानीमा अभ्यस्त भैसकेको मैले आजको दिन र सम्भवत रातको बसानी यहीँ होला भन्ने निष्कर्ष निकालेँ ।

शायद मेरो मन डराएको पनि थियो होला । विराटनगरमा मैले धेरै कार्यक्रमहरूमा भाग लिएको थिएँ र मेरा बन्धुवान्धव पनि धेरै थिए । त्यसमाथि जुन घरमा म छिरेको थिएँ उहाँले नै मलाई, “यतातिर त तपाईँलाई चिन्नेहरू आइहाल्दैनन्, तर पनि कमरेडले विशेष होसियार हुनुपर्छ” भनेपछि उहाँले पनि मलाई चिन्नु भएछ भनेर जान्नै पर्‍यो ।

कोठाभित्रै स्वेच्छिक थुनामा बसेँ म दिनभरि । राती मदन भण्डारीसँग भेट भयो । उहाँले नै भोलिपल्टको यात्रा मार्गको रेखा कोरिदिनु भयो ।

पार्टीसँग सम्पर्क भएपछि डर लाग्दैनथ्यो त्यतिबेला । हातहातै पातपातै एक ठाउँबाट अर्को ठाउँ पुगिन्थ्यो । म पनि त्यसैगरी इलामको सीमानामा पुगेको थिएँ ०३६ सालको दसैँको अष्टमीको दिन बिहान ७ बजे ।

भयाक्रान्त थियो इलाम तर पनि म छिरिसकेको थिएँ युद्ध मैदानमा । झण्डै एक महिनासम्म मैले उज्यालोको अनुहार देख्न पाइन तर त्यतिबेलाको ईलामको रात पनि सुरक्षित थिएन । प्रहरीहरू पनि गजबकै थिए । उनीहरू पनि दिन भन्दा रातमा बढी हिँडडुल गर्थे । सुनेको थिएँ भरत चुडाललाई इलाममा झापाली विनासको जिम्मेवारी दिएर पठाइएको थियो रे र उहाँ आफ्ना केटाहरूलाई रात्रीगस्तीमा लिएर हिँड्नु हुन्थ्यो रे ।

तैपनि हामी थियौँ सज्जन निशाचर । हामीले जनतालाई कुट्ने, मार्ने, जबरजस्ती गर्ने, लुटेर खाने, धम्क्याउने कुनै काम गरेका थिएनौँ । त्यस्तो गर्नेहरूलाई पार्टीले कडै कारबाही गर्ने, साह्रै अटेर गरे देश बाहिरै पठाइदिनेसम्मको कारबाही गर्दै आएको थियो । त्यसैले हामी समर्थकको घरमा छिरेपछि सपक्कै बिलाउथ्यौँ ।

फागुनको महिना थियो । त्यो दिन बाहिर झलमल्ला घाम लागेको थियो । म थिएँ सिरिसे गाउँमा । सिरिसे त्यतिबेला हाम्रेा पार्टीको सुरक्षित आधार भएको लेकाली गाउँ थियो । म सिँहवीर राईको खोल्मामा पल्टिएर पढिरहेको थिएँ । खोल्मा भनेको तल बस्तुभाउ बाँध्ने र माथि मकैको खोसेला या पराल राख्ने सानो गोठ हो । त्यसको भित्ता पनि बाँसको टाट्नाबाट बनेको हुन्छ ।

खोल्मा र घरको बीचमा एउटा फराकिलो आँगन थियो । आँगनको पूर्वतिर मान्छे बस्ने घर थियो तर घरमा कोही नभएको हुनाले त्यसको ढोका लगाइएको थियो । घरमा कोही नभएको हुनाले खोल्मा, घर र आँगन सबै सन्नाटाभित्र डुबेका थिए । आँगनमा चारो टिपिरहेका कुखुराहरूले त्यो सन्नाटालाई बिथोल्न सकिरहेका थिएनन् ।

त्यसैबेला आँगनमा मान्छे बोलेको सुनियो ।

“यही होइन सिँहबीरको घर ?”

अलिकति पनि हलचल नगरी मैले टाट्नाको प्वालबाट चियाएँ । मेरो जिउ लल्याक् लुलुक् भयो । थाहै नपाइ मेरो शरीर चिसो पसिनाले भिज्यो । मान्छेको शरीर थाहै नपाई कत्ति चाँडै डराउँदो रहेछ । मैले डराउँदै गरेका आँखाले आँगन नियालेँ । त्यहाँ राइफल बोकेका पुलिसहरूको हुल थियो । मैले मान्छेको अनुहार त देखिन तर तिनीहरूको हुल ठूलै थियो ।

“हो साप ।”

“घरमा त कोही छैन, दैलामा ताल्चा लाएको छ । यै घरमा कम्निस्टेहरू आउने जाने गर्छन् भन्या होइन ?”

“खै त्यसै भन्थ्यो ।”

“घर हेर्दा त लुक्ने ठाउँ पनि छैन जस्तो छ,” एउटाले चित्राले बारेको त्यो भुइँतले घरलाई ओरिपरिबाट नियालेर हेरेपछि भन्यो ।

पुलिसहरू तीन चार मिनेटसम्म गफ गरेर उभिइरहे । त्यो चार मिनेट मेरा लागि चार वर्ष लामो अन्तराल बोकेको पीडादायी समय भएको थियो । मेरो शरीरका रौँहरू ठाडा ठाडा भएका थिए र शरीर चिसो भएको थियो ।

“एई, त्यो खोल्मातिर पनि यसो हेर् । मोरा कम्निस्टेलाई त बस्न राम्रो र खान मीठो पनि चाहिँदैन ।”

हाकिमको आदेशसँगै मभित्रको डर स्वात्तै मरेर गयो । मेरो दिमाग पहिले कहिल्यै भन्दा बढी बेगले चल्न थाल्यो । मेरो शरीरको पसिना हरायो । म भित्रको कम्पन समाप्त भयो । पुलिसले पक्रिएपछि कस्तो बयान दिनुपर्ला भनेर आफ्नो दिमागमा खाका खिच्न थालेँ । त्यसैबेला मेरो स्मृतिमा केही महिना अगाडि मारिनु भएको कमरेड हरि नेपालको अनुहार नाच्यो । एकैछिनमा मृत्युको बतासले मेरो शरीरलाई सुमसुम्यायो । मैले आफ्ना आफन्तको अनुहार सरररर सम्भिmएँ । नजानिदो मनले सबैसँग विदा मागेँ । पिताजी, काका, काकी, ठूलीआमा, सानीआमा, दिदीहरू, दाजुहरू, सानो भाइ, भतिजा भतिजी, भान्जा भान्जी … … ।

सम्झनाको तरेलीमा सबै अनुहारहरू एक एक गर्दै नाचेर गए । नेपाल आमाको सेवामा यत्तिकै दिन रहेछन् भन्ने मलाई लाग्यो । मैले झलक्क आफ्नो उमेर सँझिएँ । त्यतिबेला त्यो छब्बीस वर्ष लागेको मात्र रहेछ ।

एउटा पुलिस खोल्मातिर फर्कियो र हरायो । आँगनको मान्छे खोल्मामा चढेको देखिँदैनथ्यो । खोल्ला हल्लियो । अर्थात् पुलिस खोल्मामा चढ्यो । मैले खोल्माको सिँढी सम्भिmए । चढ्न र ओर्लिन त्यो निकै अप्ठ्यारो थियो र जानी जानी नै त्यसलाई अप्ठ्यारो बनाइएको थियो । एउटा डुँडजस्तो रूखको लाथ्रोलाई ठाउँ ठाउँमा कपेर खुट्टा टेक्ने ठाउँ बनाइएको थियो । पुलिस शायद त्यो अप्ठ्यारो डुँडको एकाध सिँढी मात्रै चढ्यो होला । फेरि एकपल्ट खोल्मा कर्‍याक कुरूक गरेर हल्लियो । मैले आफ्नो सास रोकेँ । अब अन्तिम अवस्था आइसकेको थियो ।

अकस्मात मैले एउटा धोद्रे स्वर सुनेँ, “साप, खोल्मामा त मकैको खोस्टा र परालको उरूङ मात्रै छ छानासम्मै ।” सापले कुनै प्रतिकृया देखाएन । पुलिस बुद्रुक्क हाम फालेर भुइर्ँमा ओर्लियो तर मैले ढुक्कको सास फेर्न पनि सकिन । ठूलो सास फेर्दा खोल्मा कर्‍याक् कुरूक होला जस्तो लाग्यो ।

“नमस्ते साप,” आँगनमा आएको नयाँ स्वर सुनेर मैले आफ्ना आँखालाई आँगनतिरै घुमाएँ । आफूले चिनेका चार जना युवाहरू आँगनको किनारमा सापको अघिल्तिर उभिएका थिए ।

“नमस्ते,” अररिएको स्वरमा सापले सोध्यो, “सिँहबीर खै केटा हो ?” “बारीमा होला,” एकजनाले एकछिन अड्किएर भन्यो, “कि पर मूलघरमा पो छ कि! उतै जाउँ साप, चिया पनि खाउँ ।”

“लौ हिँड,” सापले एकपल्ट ओरिपरि दोहोर्‍याएर हेरेपछि भन्यो । त्यतिबेला साथीहरूले मेरो बासस्थानतिर पुलुक्क चियाउन भ्याउनु भयो । पुलिसहरू हिँडिसकेपछि मात्रै दुई जना साथीहरू आँगनबाट बाहिरिए ।

खोल्माको तल मूलघरबाट देखिने ठाउँतिर बार लगाइएको थियो । त्यसैले पुलिसहरू सिँहबीरको मूलघरमा गएर दलानमा बसेपछि मैले ढुक्कको सास तानेँ । अब उनीहरू मलाई देख्न नसक्ने ठाउँमा थिए । खोल्माको सिँढी त्यहाँबाट देखिँदैनथ्यो । झण्डै खोल्मासँगै जोडिएको इस्कुसको झाङ्गको आडमा पूर्वपश्चिम फिँजारिएको दाउराको अग्लो चाङ थियो । त्यसैले सिँढीबाट सुस्तरी ओर्लिएर इस्कुसको झाङ्ग र दाउराको चाङको आडबाट घरको कुइनेटोमा पुगिन्थ्यो । घरबाट खोल्सी झर्ने बाटो पनि अेझेलमा पथ्र्यो । पुलिसहरू सिँहबीरको खोजीमा आएका थिए र सिँहबीर आएपछि तिनीहरू फेरि त्यही घरमा आउन र घरको खानतलासीमा लाग्न सक्थे । घरमा पार्टीका कुनै सामग्रीहरू थिएनन् । त्यस्तो स्थितिमा मै सिँहबीरको गिरˆतारीको कारण बन्न सक्थेँ तर त्यहाँबाट निस्किएर खोल्सीको अलैँची बगानमा छिर्न पाए त मलाई कसैले भेट्टाउन सक्ने कुरै हुँदैनथ्यो ।

मैले खोल्माबाट बाहिर निस्किने मन बनाएँ ।

साह्रै हलुङ्गा हातले मैले खोसेला चलाएँ र आफ्नो ज्यान छिर्नसक्ने प्वाल बनाएँ । म भित्रबाट बाहिर निस्किएँ । खोल्मा अगाडिको स्कुसको झ्याङ देखेपछि मेरो मन ढुक्क भयो । झ्याङको छेउमै मान्छेभन्दा अग्लो दाउराको उरूङ थियो । मैले त्यही झ्याङ र दाउराको उरूङ्गलाई आड बनाएर घरको कुनासम्म बिरालाका चालमा पाइला चालेँ । त्यसपछि त आफूले समेत थाहा नपाउँदै म अलैँची बगान भित्र छिरिसकेको थिएँ ।

पुलिसहरू चिया खाएर ओरालो लागेको दृष्य मैले झण्डै दुई सय मिटर माथिको भागीमान राईको घरबाट हेरिरहेँ ।

(स्रोत : गोरखापत्र, शनिवार)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.