छन्द कविता : साथी

~सोम खनाल~som-khanal

छन्द : शार्दूलविक्रीडित

साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन्
धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन्
ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन्
सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् ।

साथी हुन्न कदापी दुष्ट कहिलै न दिन्छ कष्ट कतै
स्वार्थी हुन्न कदापी इष्ट कहिलै उ हुन्छ प्रष्ट सधै
साथी सुन्छ सधैं अदृष्य मनका कुरा छिपेका सबै
राखिदिन्छ तर बडो जतनले विश्वासघाती नभै ।

साथी जस्तो अरू नजिक जगमा साईनो मरू निर्मल
जस्ले छुन्छ सधै बेहाल मनमा एक्लो हुदाका पल
साथीका संगमा रमेर रंगमा जीबन हुने रंगीन
ब्यर्थै खल्लो, उजाड, जर्जर जुनी दयालु साथी बिना ।

दृढ-स्थिर भैकन भर दिने, पासा: हुन पायियोस्
आफ्नै दु:ख समेत् भुलेर सखिको ब्यथा धुन पायियोस्
जस्तै टाढा हुदापनि सखीहरू सम्झिदिदा हर्षले
छाती ढक्क फुलोस् हृदय भरियोस् साथीत्वको गर्बले ।

लुङ्गा-लुङ्गा मिली उदार मनका संजाल शृष्टी गरौं
सत्य क्षीण हुदै गयो जगतका आखामा दृष्टी भरौ
सक्छौं बन्न अझै शसक्त दरिला साथी समायौं भने
हुन्नौं कहिले पनि गरीब गतिला साथी कमायौं भने ।

अक्टोबर १८, २०१६ (९०९ चीलडांडा, म्याडिसन, विस्कनसीन)
महाकवि देवकोटाको १०७औ जन्मजयन्तीका दिन आयोजित साहित्य-सांझमा बाचन गरिएको कविता

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *