यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~bhuwanhari-sigdel

मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण फोक्सो लैताकको उकालो सम्झिँदैमा काम्न थाल्नु अनौठो कुरो हुँदैनथ्यो तर मानिसलाई अवस्था र बाध्यताले नै हो लैताकको उकालो चढाउने पनि ।

अघिल्लो दिन योजना बन्छ-भोलि हात्तीवाङ् जाने । राति चार मिनेट निद्रा बिग्रन्छ-भोलिको अत्यास सुरु भएको हुनाले । करङतिर उपियाँजस्ता सगसगाउँछ । त्यहाँ उपियाँ छैन मलाई थाहा हुन्छ । त्यो सगबग हात्तीवाङ्को हो, करङ भित्रपट्टिको । थाकेको शरीरलाई निदाउन करैलाग्ने हुनाले मलाई थाहै नदिई निदाइसक्छ-एउटा अन्तरालमा ।

बिहान ६ बजे नै बाटो लागिसक्नु पर्ने अवस्था किन हो भने मन्थली, लैताक, जैपुरीहुँदै महाभारत -कोटडाँडा) काटेपछि चितवनतर्फको पानीढलो सुरु हुन्छ । तेर्पे, उकालो, सल्लेभीर नाघेर गएपछि बल्ल हात्तीवाङ् गाउँ देखिन्छ, परैबाट । यो कुरो मलाई गोपे चेपाङले अघिल्लै दिन भनिसकेको कारणले दिमागमा बाटोको चित्र बनाउन सजिलो भएको हो तर आज ता गोपे चेपाङ मसँग छैन । गोपेका गोडाले मेरो उकालो हिँडिदैन पनि ।

गोपेले जुत्ता नभएर लगाउँदैन । मसँग जुत्ता भएकाले सजिलोखाले छान्दछु, कपडाको, हलुका । मनले त भन्छ-‘गोपे जहाँ हिँड्नसक्छ म किन नसक्ने ?’ वास्तवमा त्यसो हुन्न तुलनात्मक कारणले । मैले हाफ पैन्ट र पातलो कमिज लगाएँ । गोपेको जस्तो नभएर होइन, उकालोमा भारी हुन्छ भनेर मात्रै । हिजो मानबहादुर लौरो टेकेर उकालोतिर लागेको थियो । ऊ बूढो थियो, गोडाका भर थिएनन् । आज म पनि लौरो टेकेरै उकालो चढ्दैछु, गोडाको भरमाथि विश्वास नभएर ।

मन्थली छिचोल्दै मेरो कमिज भिजिसकेको हुन्छ पसिनाले । नाकमै ठेस लाग्लाजस्तो राक्षस उकालो मेरा अगाडि सोझै ठडिएको छ । मलाई थाहा छ गोपे भए ५० किलोको भारी बोकेर फटाफट उकालो चढ्थ्यो । गजब के भने ऊ नै ५० किलो हुनसक्तैन तर म भने झण्डै सय किलो हुनसक्छु । त्यसैले गोपे र गोपेको भारीभन्दा वजनदार छु । ऊसँग थोरै भए पनि रगत छ । मसँग थोरै रगत र धेरै बोसो छ । बोसो पग्लिएको हुनसक्छ पसिना । अहँ गोपे पग्लिन सक्तैन । गोपेलाई उसको फोक्सो पर्याप्त छ । हुने भए म ऊसँग फोक्सो सापट लिन्थेँ, उसका मुठीभरिका पिँडौला सापट लिन्थेँ तर किमार्थ उसका पिँडौला भिरेर काठमाडौँ फर्किन सक्तिनँ । भीमसेन थानको उकालोलाई मेरै पिँडौला काफी छन् । धपेडी नसहने खाले मेरै फोक्सो यथेष्ट छ ।

कोट पुग्दा मध्याहृन भइसकेको हुन्छ । मलाई बल्ल जानकारी हुन्छ, मसँग पनि यति धेरै भोक हुन्छ भन्ने कुरो । कोटका डाँडा चाहार्ने भएरै हुनुपर्छ गोपेसँग ठूलो भोक छ । भनूँ भोकका बस्ती हुन् कोटका झुप्राहरू । दृष्टिअगाडि एउटा छाप्रो उपस्थित भयो । थाहा हुनुपर्छ दिमागलाई त्यहाँ मेरा भन्दा ठूला भोक छन् । गएको चुनावमा ती छाप्राले पनि भोक निवारण अभियानमा सामेल भएर भोट हाले । तिनले हालेको भोटलाई कदर गर्न म त्यही छाप्रो सामुन्ने पुग्छु । राज्यले संविधानको राय मागेझैँ म पनि भोक निवारणका विकल्प खोज्छु । खामा गाढेर कटुसका स्याउलाले छाएको छाप्रो सुखद ओत हो । झुसी डोकाभरको सम्पत्ति जसलाई परैबाट देखिन्छ । बारबेरको आवश्यक किन नहोला भने त्यति सम्पत्ति वरपरका सबै छाप्रामा छन् । सबैका सबैसँग छन् । एक अर्काले चोरी गर्ने सम्भावनै नहोला । आस नभएपछि मुसा पनि त्यो क्षेत्रमा नहोलान् शायद ।

म जे खोज्दैछु, त्यो त्यहाँ छैन । तैपनि चिसो हावा त छ केही शीतल दिने । छाप्रो अगाडि घोप्ट्याएर राखेको डोकोमाथि थच्च बस्छु म । म अभ्यस्त मानिस हुँ नि मेचमा बस्ने, त्यसैले ।

नेपथ्यमा केही कल्याङमल्याङ छ । म त्यतै गर्धन घुमाउँछु । सानो र दुब्लो काली गाई धपाउँदै एक षोडशी छाप्रोतिरै आउँदैछिन् । उनका पछाडि दुई जना प्राकृत बालक पनि छन् । तिनलाई षोडशी किन भनियो भने ती १५-१६ की होलिन् त्यसैले । त्यो कुरा उनको शरीरले बताउँथे, सोधिरहन नपर्ने । उनले लुङ्गी र टाँकवाला ब्लाउज लगाएकी थिइन् । जम्माजम्मी त्यसमा एउटा टाँक बचेको थियो, प्रमाण स्वरूप । गन्ने नै हो भने ४० ठाउँमा लुङ्गी फाटेको थियो । कपाल आफैँ खुजमुजिएको थियो लीसोमा । हातगोडा पटपटी फुटेका र त्यसमाथि पतरी मयलको लेप जमेको थियो । मलाई देखेर तिनी लजाइनन् । हुन सक्छ, लजाएर के गर्ने ? जहाँ लाज नै हारेको हुन्छ । तिनले नजिकैको किलामा गाईलाई बाँध्न खोजिन ।

बाँधिनुको पीडा थाहा भएर होला एकैछिन विरोध गर्‍यो गाईले । बाँधिनु नियति नभए पनि विवश बाँधियो । त्यसैबखत मेरो दृष्टि ती दुई बालकमाथि पर्‍यो, जो निर्वाङ्ग नाङ्गा थिए । सुकेका नलीहाडले अस्वाभाविक काया उचालेकाजस्ता लाग्ने । जीउ धुुस्रो थियो, फुस्रो । प्राकृतिक लिङ्गबाटै ठम्याउन सकिने ठूलो खाले पुरुष र सानी भने स्त्री लिङ्गी भनेर । ती भने मेरो आँखा छलिछली मतिरै हेरिरहेका थिए ।

मैले के भुलिसकेको थिएँ भने म यहाँ किन आएर बसेँ भन्ने कुरो । म भित्र बेग्लै ग्लानिको आक्रमण थियो -पाँच- सात प्याकेट चाउचाउ ता बोकेर ल्याउन सकिन्थ्यो नि ! दुई पुरिया बिस्कुट ता च्यापेर आउन सकिन्थ्यो नि ! मलाई कसैले पनि भनिदिएन-‘हात्तीवाङ् जाँदा खाली हात नजानोस् ग्लानि हुन्छ !’

गाई बाँधेपछि तिनले मलाई पुलुक्क हेरिन् मात्रै । त्यहाँ उनको लाचारीले घाँटी थुनेको छ । मैले बुझेँ- । सोधेँ-‘नानी हात्तीवाङ् पुग्न अब कति बेर लाग्छ यहाँबाट ?’
‘खोइ, हामी ता छिटै पुग्छौँ ।’
‘छिटो भनेको कति ? एक घण्टा ?’
‘त्यस्तै होला, खोइ, घण्टा ता ……!’

‘किन र ? घण्टा थाहा छैन ?’
‘खोइ, हामी बिहान भात खान पुग्छ ।’
‘अनि, नानी तिम्रा बाआमा ?’
‘आमा बोनी गर्न गइन्, बा काममा ।’
‘बा के काम गर्छन् ?’
‘ तल ढुङ्गा खानीमा ।’
‘ए, कतापट्टि ? जवाङखोलापट्टि हो ?’
‘ हो त्यहीँ ।’

मेरो वाक्य फुटेन । म कसरी भनूँ तिनलाई ? ‘ म त्यही ढुङ्गाखानीको हाकिम हुँ’ भनेर । फेरि फाइदा पनि के ? त्यसैले केही बोलिनँ – यस बारेमा’ । तर यसो भनेँ-‘ ए, तिमी, तिम्रो बाबुआमा अनि यी भाइबैनी, सबै बस्ने घर यही हो ?’

‘हो त, यही हो । अँ अर्का दुई जना भाइ पनि छन् । उनीहरू आमासँगै जान्छन्, खाजा खान पाइन्छ भनेर । आज पनि सँगै गए ।’
‘अनि, तिम्रो बाबुको नाम के हो त ?’
‘गोपे प्रजा ।’
‘प्रजा हो कि चेपाङ !’
‘खोइ, प्रजा भन्छन्….।’ उनी हाँस्न खोजिन्, सकिनन् ।

‘म हात्तीवाङ् पुगेर तल जोगीमारा फर्किन सक्छु होला ?’
‘किन नसक्नु ! भर्खर ता घाम टाउका माथि छ ।’
‘यत्रो परिवारलाई खान पुग्छ त ?’

‘पुग्छ, बाबुले कमाई ल्याउँछ, भरेलाई । आमाले ल्याउँछ, भोलि बिहानलाई । पुगिहाल्छ नि !’
‘तिम्रो नाम के हो त ?’
‘खोइ, ठूली भन्छ ।’

‘ए ! ठूली ! त्यसो भए म तिमीलाई लाऊ यो पाँच सय दिन्छु । तिमी भोलि नै तल पसलमा गएर यी दुईजना भाइबैनीलाई कपडा किनेर लगाइदिनु । एउटा साबुन पनि ल्याएर नुहाइदिने गर्नु ।’

‘दान दिएको लुगा कति दिन लाउने ? एक डल्लो साबुनले कसले मात्र नुहाउने ?’

उनको भनाइले मेरो दिमाग रोटेपिङजस्तै घुम्यो । यो ता उही गोपे चेपाङको घर पो परेछ जसले मलाई हात्तीवाङ्को बाटो बताएको थियो । त्यसले किञ्चित काम गर्‍यो भनूँ तर अहिले उसैकी छोरी ठूलीले दिएको प्रतिक्रियाको उत्तर त्यो पनि चित्त बुझ्ने गरी दिनुपर्ने भयो । सकुँला म ? जुन उत्तर राज्यले दिन सकेन । ठूलीलाई म के

भनूँ ? अर्को मनले भन्यो-‘म गोपेको ज्याला -रोजगारी) बढाइदिन्छु । म सक्छु नि ! यसरी परिवारलाई भोकभोकै र नाङ्गैभुतुङ्गै राख्न ता मिलेन नि ! तर तल काम गर्ने ता धेरै गोपे छन् । सबैलाई …..! म सक्छु र ? मलाई अङ्ग्रेजी उखानको याद भयो- तिमी सक्छौं एकपटक एक जनालाई खुसी पार्न, सक्छौं धेरै जनालाई धेरैपटक खुसी पार्न तर सक्तैनौं सबैलाई सधैँ खुसी पार्न । ए ! हो कि क्या हो ?

मलाई तिर्खा लागेको थियो तर पानी माग्ने आँट भएन । किन भने त्यहाँ पानी नहुने सम्भावना ठूलो छ । त्यो सुख्खा डाँडोबाट पानी लिन कति तल झर्नुपर्ने हो । छाप्रोभित्र माटोको गाग्रोसम्म देखिनँ मैले । के हुनसक्छ भने बिहान काममा तल झर्दा गाग्रो पनि लिएरै आमा गएकी । त्यसो हो भने भरे उनीसँगै आउँछ रासन-पानी पनि । यदि पानी भए नै पनि केमा राखेर पिउने ? मैले देखिसकेको हुन्छु-गाई बाँधेको किलोभन्दा अल्लिपर चारवटा सिलेवरका कचौरा, तीनवटा सिलेवरकै थाल सुकेका छन्, सायद बिहानको जूठोसहितै ।

एउटा कालो कराई निराकार अनन्तको ध्यानमा मग्न छ, उत्तानो परेर । झिँगा भन्किका हुन सक्थे अघिसम्म । तिनको भोज पनि उठिसकेको अबस्था हुन्छ ।

मेरा आँखा निस्तेज हुन खोजेकै हुन्, अनिमेष कतै हेरेको हुनाले । पहेँलोखाले पर्दा आँखाका सामुन्ने टाँगिएको भनूँ भने त्यो होइन । शरीरमा कम्पजस्तो हलचल उत्पन्न भएपछि आँखा पीरा भएका हुनुपर्छ । दिमागमा ठूलै हथौडाको प्रहार भएकोले कानतिर प्रतिध्वनि हुन्छ- ‘कहिले ? कसरी ? किन ? सोच्नु पर्छ हुँ !’ तर सोचभन्दा समय कहिल्यै लामो नहोस् ! कहिल्यै लामो नहोस् समय ! गोपेहरूले धेरैपटक गुलिया सपना खाए तर विपनामा छट्पटाए । कठै ठूली ! उमेरमा पनि तरुनी बन्न सकिन । कोटडाँडामा गुराँस फुल्छ बखतमा । ठूली पनि झुप्पाझुप्पा गुराँस टिप्छे र चपाउँछे । खोइ त त्यो गुराँसको तागत अनुहारमा ? तागतिलो बन्नसकेन गुराँस पनि ।

कतै ठेस लाग्यो सामुन्ने । म झल्याँस्स हुन्छु । कान बजेको सुन्छु । खोइ त ठूली ? खोइ उसको छाप्रो ? म ता लरलर हिँडिरहेको हुन्छु- हात्तीवाङ्को तेर्पे उकालो । तिर्खाले तिर्खा पिएर थाकेजस्तो अनुभव, भोक, भोकले टन्न अघाएकोजस्तो स्थिति छ ।
उद्देश्यले चलाउने भएर मात्रै गोडा चलेका छन्- हात्तीवाङतर्फ…।

(स्रोत : मधुपर्क मंसिर, २०६७)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *