बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~kartikeya ghimire

जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’

उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं के भयो ?’ अबचाहिँ उनी केही बोल्न खोज्दै थिए, तर बाबाले बोलाइहाल्नुभो, ‘ल राम दाइ, छिटो गाडी निकाल, धुलिखेलतिर जानुपर्ने भयो ।’

गाडी बाहिर निस्कियो । म ड्राइभर अंकललाई हेरेको हेर्‍यै भएँ । बाबाले ‘बाई छोरी’ भन्दा पो झसंग भएँ ।

मलाई झन् छटपटी भयो– किन रोएका होलान् त ड्राइभर अंकल † छततिर दौडिएँ, मामु कर्लेसमा गफ मार्न मस्त हुनुहुन्थ्यो । पन्ध्र मिनेट कुर्दा पनि उहाँको गफ सकिएन । दिक्क लागेर बैठक कोठामा आएर बसँे । बत्ती गएको थियो, टिभी हेर्ने चान्स नै थिएन । बैठकबाट अलि पर थुप्रै झुपडी भएको बस्ती देखिन्थ्यो ।

झ्यालछेउमै गएर एकछिन खोलाछेउमा लस्करै बनाइएका ती घर हेरेँ । आज किन–किन ती घर भएतिर जान मन लाग्यो । तर, साथीचाहिँ कसलाई लैजानु ? एकछिन घोत्लिएँ । बाबाले भन्नुभएको सम्झेँ, ‘मेरी छोरी ९ वर्षकी भइसकी, अब स–साना काम आफँै गर्नुपर्छ नि †’

एक्लै जाने विचार गरेँ । सम्झिएँ– ड्राइभर अंकलको घर पनि त्यतै हो । उनको घर खोज्दै जाने योजना बनाएँ । फटाफट बाहिर निस्किएँ । मामुले देखेर नजा भन्नुहोला भन्ने डर थियो । तर, देख्नुभएन । एउटा भत्केको पुलछेउमा पुगेँ । बाग्मतीको ढल ठस्स गन्हाएको थियो । नाक थुन्दै फेरि दौडिएर झुप्रा घर भएको त्यो बस्तीभित्र छिरेँ । सानो गल्लीको बाटो हुँदै हिँडिरहेकी थिएँ । बाटो अलि–अलि अँध्यारो थियो । थुप्रै घरमा राता र सेता सुँगुर पालिएका थिए । अलि पर एउटा कुनामा चारजना केटाले गुच्चा खेलिरहेको देखेँ, एकदमै फोहोर लुगा लगाएका थिए । म छेउमा पुगेपछि उनीहरू गुच्चा त्यहीँ छाडेर घरतिर भागे । छक्क परेँ । त्यही छेउमा एउटी बूढी आमै सुतिरहेकी थिइन् । उनी सुतेको घरमाथि प्लास्टिकको छानो थियो । वरिपरि बार थिएन, खुला थियो । उनलाई ‘नमस्ते’ भनेँ, केही बोलिनन् । फेरि अलि ठूलो स्वरमा रामहरि ड्राइभर बस्ने ठाउँ थाहा छ भनेर सोधेँ । उनले औँलाले इसारा गरेर चार घर परको एउटा टिनले छाएको माटाको घर देखाइन् ।

त्यहाँ पुगेपछि मैले ध्यान दिएर त्यो घर हेरेँ, एकदमै पुरानो थियो । वरिपरि भित्ता चर्केर भत्किन लागेका थिए । उत्तरतिरको भित्ता त खसिसकेको थियो । छाना पनि आधा मात्र थियो आधा भागमा प्लास्टिक लगाइएको थियो । ढकढक गरेर ढोका ढकढक्याएँ र अलिकति ठेलेँ । ढोका गल्र्याम्म ढल्यो । म डरले थुर्थुर भएँ, भित्रबाट एउटी आइमाई मान्छे ‘कोहो’ भनेर कराउँदै आइन् । मलाई देखेपछि चुप लागिन्, अचम्म मानेर हेरिरहिन् । सोधेँ– मलाई चिन्नुहन्छ ? उनले टाउको हल्लाएर चिन्छु भनिन् । हतार–हतार एउटा गुन्द्री ल्याएर ओछ्याइन्, मलाई बस्न आग्रह गरिन् । म त्यहाँ बस्न सकिनँ । मलाई त ड्राइभर अंकल रुनुको रहस्य थाहा पाउनु थियो । कुरा खोतल्ने विचारले सोधेँ– यहाँ तपाईं र ड्राइभर अंकल मात्र बस्ने हो ? मेरो बोली सुनेर भित्रबाट एउटी सानी बहिनी म पनि यहीँ बस्ने हो भन्दै आइन् । ती बहिनीको अनुहार हेरेँ, आँखाभरि आँसु सुकेको दाग थियो । उनलाई आफूछेउ डाकेर माया गर्दै सोधेँ– ‘नानु रोएकी हो ? किन रोएकी मेरी प्यारी बहिनी ?’ मेरो बोली सुनेर उसले आँखाभरि आँसु पार्दै मलाई हेरिरही । मेरो हात च्याप्प समाती र ऊ घुँक्क–घुँक्क रुन थाली । केही डराएजस्तै गरी ‘दिदी…आमा…’ भनेर चोर आँैलाले आमा भएतिर देखाई । मैले ड्राइभरनी अन्टीलाई पुलुक्क हेरेँ । उनी पनि रिसाएकी थिइन् । बच्ची अहिले मेरो काखमा बसेकी थिई । ऊ मलाई केही भन्न खोज्दै थिई । घरी–घरी ऊ कहिले आमालाई र कहिले मलाई हेर्थी । उसको आँखाबाट आँसु भने बगिरहेको थियो । मैले विस्तारै उसको टाउको मुसार्दै सोधेँ– भन, बहिनी तिमीलाई के भयो ?

बच्चीले फेरि मेरो हात च्याप्प समाती । जुरुक्क उठेर मेरो पछाडि उभिई । हिक्क–हिक्क आवाज निकाल्दै भनी– दिदी, म पढ्न जानेँ । म… ।

बिचरी उसले यति मात्र भन्न भ्याएकी थिई । उसकी आमा दौडेर आइन् । उसलाई समातेर दुई झापड हानिन् । बच्ची ‘दिदी…दिदी’ भन्दै पिटाइबाट बच्न मतिर टाँस्सिई । मलाई खपिनसक्नु भयो । म पनि बाबा भनेर रुन थालेछु । म रोएपछि ड्राइभरनी अन्टी अलि डराइन् । उनी चुप लागिन् । मैले त्यो बच्चीलाई च्याप्प अँगालोमा कसेँ । ऊ अझ पनि घुँक्क–घुँक्क रुँदै थिई । अब मैले ड्राइभर अंकल रुनुको कारण सम्झेँ । उनी फिस तिर्ने पैसा नहुँदा छोरीलाई स्कुल पठाउन नपाएकाले रोएका रहेछन् ।

ठीक त्यतिबेला मैले आफ्नो खुत्रुके सम्झेँ । त्यसभित्र भएको पैसा पनि सम्झेँ । आँट गरेर भनेँ– बहिनी अब तिमी भोलिदेखि दिदीसँगै स्कुल पढ्न जाने है †

बहिनी मुसुक्क हाँसी । उसका नरम गालामा म्वाइँ खाँदै भनेँ– ‘आज तिमी मेरो घर जाने है †’ बहिनीलाई लिएर हतार–हतार घर गएँ । घर पुगेपछि मामुले मलाई अँगालो मार्नुभयो । सबै कुरा बताएँ । मैले खुत्रुकेमा जम्मा गरेको पैसाको धक्कु लगाएपछि बल्ल मामुले हाँस्दै मेरो कुरा टेर्नुभयो ।

बेलुकी ७ बजे बाबाको गाडी हुइँय आएर आँगनमा रोकियो । म बहिनीलाई लिएर आँगनमै पुगेँ । बाबाले छक्क परेर हेर्नुभयो । अलि रिसाएझैँ गर्नुभयो– ‘को हो छोरी यो नानु ? जसलाई पायो त्यसलाई घर ल्याउनुहुन्न ।’

म पनि के कम, कड्किँदै भनेँ, ‘बाबा, यो ड्राइभर अंकलको छोरी हो, पढ्न नपाएर दु:खी छे, तपाईंले पैसा दिनुभएन भने म मेरो खुत्रुकेको पैसा खर्चेर भए पनि यसलाई सँगै स्कुल लैजान्छु ।’ ड्राइभर अंकल गाडी पुछ्नै छाडेर दौडेर आइपुगे । बहिनी दौडँदै गएर अंकलको अँगालोमा बाँधिई । बाबाले मलाई हेर्नुभयो अनि हाँसिरहेका ड्राइभर अंकललाई । त्यसपछि मैले सोचेजस्तै भयो । मेरी बहिनी मसँगै स्कुल जान पाउने भई । आहा, क्या मज्जा †

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *