लघुकथा : भूमिका

~महेन्द्र महक~

ऊ क्रान्तिकारी शिक्षक हो । आफ्ना हकअधिकारका बारेमा ऊ सचेत छ । ऊ एउटा निजी विद्यालयमा कार्यरत छ । निजी विद्यालयहरुमा शिक्षकलाई रैतीसरह दलाउने र थोरै मात्रै पारिश्रमिक दिने गरेको कुराले उसलाई आन्दोलन गर्न बाध्य पारेको छ । ऊ यतिखेर शिक्षक हकअधिकारका लागि आन्दोलनरत छ ।

ऊ विद्यार्थी पनि हो । क्याम्पसमा ऊ विद्यार्थी नेताको रुपमा परिचित छ । निजी विद्यालयहरुले शुल्कबृद्धि गरेपछि उसको विद्यार्थी संगठन त्यसको विरोधमा उत्रिएको छ । अचेल ऊ निजी विद्यालयहरुले अभिभावकका ढाड भाँच्ने गरी असुल्ने गरेको चर्को मूल्यबृद्धिको विरोधमा छ ।

सहरमा उसले एउटा निजी विद्यालयमा सेयर लगानी गरेको छ । हिजो त्यस विद्यालयमा बसेको बैठकले ‘महङ्गी बढेकाले र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि’ भनेर पच्चीस प्रतिशत शुल्कबृद्धि गर्ने निर्णय गरेको छ । सो बैठकको अध्यक्षता उसले नै गरेको थियो । आफ्ना विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरुले तलब सुविधा बढाउनु पर्ने माग गरेपछि ऊ ‘गर्नुहुन्छ भने खाइपिई आएको तलबमा गर्नुहोस्, नत्र भने विद्यालयले अर्को शिक्षकको व्यवस्था गर्छ’ भन्दै बाहिरियो ।

आपूmले पढाइरहेको विद्यालयले उसको तलब सुविधामा बृद्धि नगरे ऊ विद्यालयमा ताल्चा लगाउने योजनामा छ ।

अब उसको भूमिकाको निरुपण गर्ने जिम्मा पाठक वर्गको !

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.