पौराणिक नैतिक कथा : ब्राह्मण, चोर र ब्रह्मपिशाच

~उमाशङ्कर द्विवेदी~

कुनै शहरमा द्रोण नाम गरेको एउटा अत्यन्त निर्धन ब्राह्मण वास गर्दथे । जजमानी तथा समाजमा भिक्षा मागेर उनी आफ्नो जीविका चलाउँथे । आफ्नो जीवनमा उनले कहिल्यैपनि सफा–सुकिलो लुगा, कपाल र जीउमा तेल, सुगन्धित द्रव्य, माला, आभूषण तथा पानजस्ता विलासी सामग्रीको उपभोग गर्न पाएका थिएनन् । उनका दार्‍ही, जुँगा, कपाल तथा नङ सधैं बढेका हुन्थे । गर्मी, वर्षात् तथा जाडोको प्रचण्ड मारले उनको शरीर सुकेर हाडको ढाँचाजस्तो देखिन्थ्यो । ब्राह्मणको यस प्रकारको दीनता देखेर उनका कुनै दयालु जजमानले ठूलो कृपा गरेर दुईटा बाच्छा दान दिएक ा थिए । ब्राह्मणले ठूलो मनोयोग तथा परिश्रमका साथ घाँस, पिना, दाना आदि सामग्रीहरू ख्वाएर बाच्छाहरूलाई सानै उमेरदेखि पालेर हृष्टपुष्ट पारेका थिए । अब बाच्छाहरू मूल्यवान बलिष्ठ गोरु बनिसकेका थिए । व्यापारीलाई महँगो मोलमा बेचेर राम्रो पैसा पाउने आशमा ब्राह्मणदेव पर्खिबसेका थिए ।

ब्राह्मणदेवका दुवै गोरुलाई देखेर एउटा चोर दुवै गोरु चोर्ने दाउमा बसेको थियो । एक दिन रात्रिकालमा गोरुहरू चोर्ने उद्देश्यले त्यो चोर लौरो, दाम्लो लिएर विस्तारै ब्राह्मणको घरतिर जाँदै थियो । आधी बाटोमा गयो होला, फाटफुट विरल दन्तपङ्ङ्कि, बीभत्स रूपले माथि तानिएको लामो नाक, राताराता भयड्ढर देखिने आँखा, बाहिरबाटै देखिने नीलो नसा भएको शरीर, शुष्क कपोल तथा हवनले प्रदीप्त अग्निशिखाझैं पि·लवर्णको अत्यन्त डरलाग्दो मान्छेमाथि उसको दृष्टि पर्‍यो । उसलाई देखेर चोर सार्‍है तर्सियो तैपनि हिम्मत गरेर उसले सोध्यो–“यस्तो अद्भूत रूप भएका तिमी को हौ र यतिबेला कता हिंडेका छौ ?”

त्यस मानिसले भन्यो–“म सत्यवचन नाम गरेको ब्रह्मपिशाच हुँ तथा म आज हप्ता दिनदेखि भोकै छु अत: त्यस ब्राह्मणलाई खान जान लागेको छु । कृपया तपाईं पनि आफ्नो परिचय तथा यति बेला कता हिंड्नुभएको हो, खुलाइदिनुस् ।”

ब्रह्मपिशाचको कुरा सुनेर चोरले भन्यो–“म क्रूरकर्मा नामक चोर हुँ तथा त्यै ब्राह्मणको दुइटा गोरु चोर्न भनेर हिंडेको छु ।”

चोरको कुरा सुनेर ब्रह्मपिशाचले भन्यो–“यो त राम्रो साइत भयो, किनकि हामी दुवैजना समान उद्देश्य (चोरी गर्ने) र समान स्थान (ब्राह्मणको घरमा)मा एकैसाथ जाँदैछौं ।”

यति कुरा गर्दागर्दै ब्राह्मणको घर आइपुग्यो । चोर र ब्रह्मपिशाच अवसर कुरेर एक ठाउँमा लुकेर बसिरहे । ब्राह्मण सुतिसकेको चाल पाएर उसलाई खानका लागि पिशाच उद्यत भएको देखेर चोरले भन्यो–“महाशय, तपाईंको यो काम उचित छैन । मैले गोरुहरू चोरेर लगिसकेपछि मात्र यस ब्राह्मणलाई खानुहोला ।”

ब्रह्मपिशाचले चोरको कुरा सुनेर भन्यो–“गोरु फुकाउने बेला अपरिचित मान्छेलाई देखेर गोरुहरू कराए भने त मेरो यहाँ आउने प्रयोजन नै निष्फल हुन्छ । अत: मैले ब्राह्मणलाई खाइसकेपछि मात्र गोरुको दाम्लो फुकाउनुहोला ।”

चोरले फेरि भन्यो–“ब्राह्मणलाई खाने बेलामा कुनै विघ्न आइपर्‍यो भने मैले गोरु चोर्नै भ्याउँदिनँ, अत: मैले गोरुहरू लगिसकेपछि मात्र ब्राह्मणलाई मारी खानुहोला ।”

यही कुरामा दुवैजनाबीच ठूलो विवाद उत्पन्न हुन पुग्यो, पहिले म, पहिले मको विवादमा भएको चर्काचर्कीले खैलाबैला मच्चियो र ब्राह्मणको निद्रा खुल्यो । विवादको विषय सुनेर भयको कारण एक छिन त ब्राह्मणको हंसले ठाउँ छोडेजस्तो भयो तर संयमित भएर ब्राह्मण आफ्नो ठाउँमा उभिएर सावधान भई आफ्नो इष्टदेवताको स्मरण गर्न थाले ।

ब्राह्मण ब्युँझेर उभिएको देखेर चोर उनको नजिक गई भन्यो–“हे ब्राह्मण देवता, यो ब्रह्मपिशाच तपाईंलाई खान आएको छ ।” चोरको यस्तो कुरा सुनेर ब्रह्मपिशाचले पनि भन्यो–“हे ब्राह्मण देवता, यो चोर तपाईंका दुइटै गोरु चोर्न आएको छ ।”

ती दुवैको आफूकहाँ आउने अभिप्राय थाहा पाई बह्मणले इष्टदेवको स्मरण, ध्यान तथा मन्त्रजाप गरेर अग्निकवच उत्पन्न गरी ब्रहमपिशाचलाई जलाइदिए तथा लट्ठीको प्रहारले चोरलाई धपाई आफ्नो ज्यान तथा दुवै गोरु जोगाउन सफल भए । त्यसैले भनिएको छ:

शत्रवोऽपि हितायैव विवदन्त: परस्परम् ।
चौरेण जीवितं दत्तं राक्षसेन तु गोयुगम् ।।

अर्थात् शत्रु पनि कहिलेकाहीं हितकारक हुन्छ । चोरीका लागि आएका चोर तथा ब्रह्मपिशाचले आपसमा विवाद गरेर ब्रह्मपिशाचले ब्राह्मणको गोरु तथा चोरले ब्राहमणको ज्यान जोगाइ दिए ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नैतिक कथा, पौराणिक कथा | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *