छन्द कविता : समीपता

~गौरव विडारी~

छन्द : शार्दूलविक्रीडित

पर्खेकी तिमीले मलाई कति भो निन्द्रा भुली रातको
साँचेकी कहिले मलाई भनि यो तन्ना नयाँ खाटको ।।
नाघेकी छलले डराई मनले भत्क्यो सिमा साँधको
बोलेकी जब अङ्कमाल गरदै ताला खुले बाँधको ।।१।।

कस्तो यो मधुरो प्रकाश जुनले छर्दैछ सौभाग्यको
लुट्दो हो धरती अकाश पनि ता सामीप्य आनन्दको ।।
अँगालो कसिलो बनाइ तन यो पारीदियौ सुस्तको
ती तिम्रा दुइटा कुरा शरमले साह्रा थिए मस्तको ।।२।।

औँसीमा किन चाँदनी धरतिमा छोप्छिन् कला आफनो
आँखामा छ त मोहनी किरणका ओर्ले नशा मातको ।।
यौवन्को रसले मिठास भरियो माधुर्यता बातको
हावाको अति वेगले अलग यो हाँगा जुधे सालको ।।३।।

गालाको बिचमा सुसाए मुख ती दागै बसे ओठको
खानी त्यो गहिरो मुहान वनमा देख्दा कती चोटको ।।
छानो यो घरको उजाड गरिद्यो हावाहुरी पानिले
आँसुको भल यी बगाई रसिलो पारीदिई सानिले ।।४।।

उर्लेको खहरे बगेर जसरी ढुँगा मुढा ढाल्दछे
उक्लेको तन यो असार नपुगी गर्मी भई थाक्दछे ।।
जूधे यी दुइ संगमै मिलनको सामीप्य आनन्दको
गालीयो अनि पग्लिएँ अब त लौ बाह्रै बजे रातको ।।५।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *