लघुकथा : ल्याप्चे

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

सायद …..त्यो दिन उनले घरपेटीले भाडा मागेका छन् भनेर छोरालाई नसुनाई दिएकी भए ……!

छोरा घरमा नआएको तीन दिन भैसकेको थियो | आमाको मन भतभती पोलिरहेको थियो |उनी कहिले कौसीमा जान्थिन, कहिले झ्यालबाट हेर्थीन| उनलाई न भोक थियो न प्यास थियो |उनी कहिले आफ्नो भाग्यलाई धिकार्थिन त कहिले आफ्नो बुद्दिलाई | कहिले लामो सुस्केरा छोडदै पश्चतापमा डुब्थिन |

+’बाबु ,कहा गएका थियौ यतिका दिन सम्म ?’-बाटो हेरिरहेकी आमा अचानक तेस्रो दिनको साँझ छोरा घर आएको देखेर खुशी हुदै सोधिन् |

-‘म बा ‘को घर गएको थिएँ |’-कोठाको भित्तातिर आँखा लगाउदै छोराले भन्यो |

+’बा ‘को घरमा ?’-

-‘बा ‘को घर त कति ठुलो रहेछ !मलाई जाने बित्तिकै बा ‘ले अँगालो हाल्नु भयो |अनि ढाडमा सुम्सुमाउदै भन्नु भयो -‘अब देखि यही बस है भनेर |’

-‘आमा ,बा ‘को त्यति ठुलो घर हुदाहुदै किन यहाँ भाडामा बस्ने ?’

आमाको मनमा आशा उम्रियो | उनलाई आफुलाई पनि बोलाएका छन् कि त भनेर छोरासंग सोधुँ जस्तो लाग्यो |

-‘ बा ‘ले यो कागज दिएर पठाएका छन् |’- छोराले खल्तीबाट एउटा कागज निकाल्दै आमालाई दिदै भन्यो |

+’कागज ? खै आफुले पढेको भए पो !’-आमाले यताउता पल्टाउदै हेरिन् |

-‘यसमा तपाईले ल्याप्चे लगाई दिनु पर्छ |’

+’ल्याप्चे ?’-

आमाले केही बुझिनन् |

+’यसमा के लेखिएको छ त बाबु ?’

-‘ म ,बा ‘को घरमा बस्ने हो भने तपाईसंग सम्बन्ध तोड्नु पर्छ रे !!’

आमा झरेको पात जस्तो भईन |

‘+अनि तिमीले के बिचार गरेयौ त ?’

‘- म भाडा तिर्न सक्दिन आमा !’

उनले छोराको आसय बुझिन् अनि

छोराले भनेको ठाउँमा ल्याप्चे लगाईदिदै भनिन्-

‘ आमा र सन्तानको नाता कागजको ल्याप्चेमा हुदैन रगतको रंगमा हुञ्छ! तिम्रो बा ‘लाई यति कुरा भनिदेउ है !’

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *