नेपाली लघु-उपन्यास :भड्किरहेका मान्छेहरू

~लक्ष्मण श्रेष्ठ ~Laxman Shrestha

सहरमा बर्खा लागेको छ। रोपाइँ त हुन्न तर सहर गाउँ र गाउँलेहरूले नै भरिएको छ। मेरा क्यान्टिन गफी मित्रहरू पनि अहिले आ–आफ्ना गाउँ गएका छन्। मुना पहाडकी हो। पहाडको बेसीमा उसको सानो टुक्रा खेत छ। त्यही खेत रोप्न प्रत्येक वर्ष नछुटाई जान्छे ऊ। तुफान बुटवल बजारको नजिकको गाउँको केटो हो। ऊ नगई घरमा रोपाइँ त झन् हुँदै हुन्न। सुगत पनि पहाडकै हो। खासै खेतीपाती छैन उसको। तर ‘बर्खामा त पहाड नै राम्रो’ भन्छ ऊ। नस्मा बुटवलकी नै हो। तर ऊसँग मेरो खासै भेटघाट हुँदैन। क्यान्टिन चर्या त मलाई सुगत नै सुनाउँछ। त्यसैले उसकै भाषामा पस्किन्छु म। सुगत छैन त्यसैले क्यान्टिन चर्याका नयाँ ताजा जानकारी छैनन् मसँग। यो मेसोमा म पाठक मित्रहरूसमक्ष मैले भेट्ने गरेका, कतै देखेका र कतै भोगेका मान्छेहरूबारे लेख्ने प्रयास गर्दैछु। तिनका जीवन अनुभव, तिनका अनिश्चित भविष्य सबैलाई विचारेर मैले शृङ्खला छुट्टाएको छु र नाम दिएको छु– ‘भड्किरहेका मान्छेहरू’।

श्यामश्वेत जिन्दगी

“बुझ्नुभो सर” चुरोटको पहिलो सर्को तानेर बुङ धुँवा फाल्दै बोल्छ ऊ, “यो असारमा त म जसरी भए पनि बिहे गर्छु”। फिस्स हाँसिदिन्छु म, नपत्याएर।

“पत्याउनुभएन?” तुरुन्तै प्रतिक्रिया जनाउँछ उसले, “असारमा बाजा बजाउँदै जन्ती जाँदा बल्ल चाल पाउनुहोला”।

“असारमा बिहे हुँदैन बुझ्नुभो” उसलाई चिढाउन जोत हानिदिन्छु मैले।

“किन नहुनु? हुन्छ। नपत्याए यहाँ हेर्नुस्।” होटलको भित्तामा झुण्डाइरहेको क्यालेण्डर टेबलमा ठटाउँदै पुष्टि गर्छ उसले। “यी यत्तिका साइत छ। एउटामा मेरो बिहे छ।” अनि फिस्स हाँसिदिन्छ ऊ।

टेबलमा पछारिएको क्यालेण्डर। पहंेलो रङ्गको ठूलो फ्रेम भएको चस्माभित्र चिमचिम गरिरहेका उसका चिम्सा आँखाहरू। होटलको एक कुना। अगाडि मेनरोडमा हुँइँकिरहेका गाडीहरू। अनि उसका उडिरहेका सपनाहरू। क्यानभासमा पोतिएको चित्रजस्तै लाग्छ मलाई। उसले चुरोट सक्काउँदासम्म मौन रहन्छ हामी दुवैजना।

चियाको गिलास उठाउँदै गम्भीर हुँदै बोल्छु म, “हरिजी, तपार्इं यसरी आफैलाई कहिलेसम्म ढाँट्नुहुन्छ?”

हरि उसको नाम। एसएलसी दोस्रो वर्षमा पास गरेपछि एकाएक उसलाई लाग्यो– यो नाममै समस्या छ। पुराणकालीन नाम। नाम त आधुनिक पो हुनुपर्छ। ठिस् नाम। अनि नाम फेर्ने मुड पलायो उसलाई। धेरै दिन सोच्यो उसले अनि फेसनको किताबबाटै नाम जुर्‍यायो– ह्यारी। नाम जुराउने क्षण उसले आफैलाई निकै गाली गर्‍यो, “थुक्क बुद्धि”। टाउको ठटायो त्यत्रो चर्चित किताब हुँदाहुँदै पनि?’ किताब हैन बुक। बुक हुँदाहुँदै पनि? आफ्नो नामसँग पनि मिल्ने। आखिरीमा उसको पुनःन्वारान भयो– ह्यारी। त्यो क्षणदेखि उसलाई सबैले ह्यारी नै भन्छन्। अपवाद केवल दुई छौं, उसकी आमा र म। बुबा मरिहाले हैन भने तीन त पक्का हुन्थ्यो।

अँ हरि, हिंडिरहेछ ऊ उडिरहेका सपनाहरू बोकेर। कि आफै उडिरहेछ ऊ आफै जिन्दगीको धूमिल संसारमा? सयमा नब्बे झूट बोल्छ ऊ। सयमा नब्बे आश्वासन दिन्छ आफैलाई। सयमा नब्बे उसका योजनाहरू कहिल्यै सुरु हुँदैनन्। त्यसैले त बारम्बार उसका साथीहरू जिस्काउँछन् उसलाई।

सम्झाइदिन्छु म। अस्ति पनि ऊ यस्तै भन्दै थियो। अनि आकासले उसलाई कसरी चुनौती दिएको थियो?

“ह्यारी तैले जे भन्छस् नी” आकाशले ठाडो चुनौती दिएको थियो, “त्यसमध्ये एउटामात्र पनि पूरा गरिस् भने नि। म यो देश छोडेर हिंडिदिन्छु।”

आकासको धम्कीपूर्ण चुनौतीले चकित बनेको थिएँ म। तर, ह्यारी उर्फ हरि………..। ऊ त सधंैजस्तै फिस्स हाँसेर मौन बसिदिएको थियो। अहिले पनि त ऊ त्यस्तै गरिरहेछ। म प्रश्न गरिरहेछु ऊ फिस्स हाँसोको जवाफ दिएर चुप बस्छ। मसिना उसका ओठहरूबाट त्यस्तै हाँसोको लहर बतासिएर जान्छ।

राजमार्गको आडैमा बसेको निम्नस्तरको होटल। म बसेको छु हरिसँगै। त्यति पुरानो होइन हाम्रो चिनजान। तर प्रशस्त जानकारी छ उसको जीवनबारे मलाई। भन्छ नि त ऊ। जबजब जिन्दगीका मोडहरूले चिमोट्छन्जबजब जिन्दगीका मोडहरू पार लगाइनसक्नु दिक्दारीहरू बोकेर आउँछन् अनि ऊ जिन्दगीको पुरानो एल्बम पल्टाउन थाल्छ। रिल हाल्नुपर्ने पुराना क्यामेराले खिचेजस्ता उसको जिन्दगीको श्यामश्वेत तस्विरमा रङ्गीन दृश्य कतै पनि छैन। कत्तै पनि।

“जिन्दगीमा तपार्इंले आफैलाई कत्ति पटक ढाँट्नुभो सम्झना छ?” कुन्नि के झोंक चल्छ मलाई पनि। एकाएक उसलाई कोट्याउन थाल्छु। ऊ भने चुरोटको अर्को खिल्ली सल्काउँछ। मोबाइलको स्क्रीनमा औंला घुमाउँछ। मोबाइलको सानो स्पिकरबाट राहत फतेह अलि खानको पुरानो सुफी गुञ्जिन थाल्छ। सम्भवतः मेरो प्रश्नको जवाफ सुफीका तिनै पङ्क्तिहरूमा छ:

खुदको सजायँ दे रहे है
फिर भी दुवाएँ दे रहे है

श्यामश्वेत फिल्मका चित्रहरूजस्तै छ उसको जिन्दगी। सानैमा बा संसार छोडेर हिंडे। बाउको माया कस्तो हुन्छ, उसले कहिल्यै थाहा पाएन। ‘त्यो नहुनु र हुन केही फरक थिएन’ कहिलेकाहीं आमाले सम्झिन्थिन्, सम्झनैनपर्ने गरी। ‘रक्सी खाएर दिनहुँ झगडा गर्थ्यो’। पुराना दिनका तीता भोगाइ पोख्थिन्। पुराना दिनका सम्झनाहरू श्यामश्वेत तस्विरजस्तै दगुर्थे, आमाको मनभरि सायद। रेडियो बजेजस्तै एक्लै फतफताउँथिन् उनी। अनि एक्कासी भक्कानिन्थिन् उनी। धेरै–धेरै सपनाहरू थिए जिन्दगीका उनीसँग। फुल्न नपाउँदै ओइलाइ गए। त्यसैले त आँसुको लहरले झोंक पोख्थिन्, सायद। आमाका तिनै दुखेसो भरिएका वर्णन सुनेर उसले आफ्नो बाउको एउटा तस्विर बनाएको थियो मनैमनमा। अचम्म बा कल्पिंदा उसको मनमा पनि ‘ब्ल्याक एण्ड ह्वाइट’ चित्र नै बन्थ्यो।

उसको बाउ पुरानो हिन्दी फिल्मको भिलेनजस्तै थियो। तर ऊसँग कुनै बल थिएन। न त एक्सनहरू थिए। बिहानै थोक पसलमा जान्थ्यो। किराना पसलका सामानहरू प्याक गर्थ्यो। तिनैलाई साइकलमा राखेर खुद्रा पसल–पसलमा धाउँथ्यो। जति नाफा हुन्थ्यो, बेलुका भट्टीमा बसेर उडाउँथ्यो। हरेक रात सडकको चौडाइ नाप्थ्यो। रातभरि झगडा गर्थ्यो। दिन बिराएर आमालाई कुट्थ्यो पनि। हरेक हप्ताजस्तो बिहानपख साइकल खोज्न गाउँ चहार्नुपर्थ्यो। अँ गाउँ त थियो उसको टोल। बटौली बजारको पश्चिम कुनामा। खोलापारि न पुल, न बाटो। सहरभित्रको गाउँमा उसका बाको चर्तिकला मञ्चन हुन्थ्यो। पुल बनेको साल कल्भर्टबाट साइकलसितै खसेर उसको बाउले संसार छोडेको थियो। त्यतिबेला ऊ भर्खर जिन्दगीको बाह्रौं महिना टेक्दै थियो रे। ‘आमा’ त उसले प्रस्टै भन्थ्यो रे। ‘बा’ पनि भन्थ्यो होला सायद। तर बाउले कहिल्यै उसलाई अँगालोमा राखेनन्, काखमा बसाएनन् रे। मायाले गालामा चुम्मा खाएनन् रे।

“हाम्रो बा त अमरिशपुरीजस्तै थियो रे क्या सर”, बाउबारे वर्णन गर्दा यस्तै भनेको थियो उसले मलाई। त्यसरी भन्दा आजजस्तै उसका आँखा चम्केका थिए। निधार थोरै खुम्च्याएको थियो। तर पहिलोपटक उसको भनाइमा सतप्रतिशत विश्वास गरेको थिएँ मैले। किनभने उसका आँखामा आँसु डम्म भरिएका थिए। शुष्क आवाजमा भनेको थियो, “जिन्दगीमा साह्रै दुःख पाइन् मेरी आमाले।”

“आमा पनि दिनरात कराउँछिन्” चियाको घुट्को घाँटीभित्र पठाउँदै बोल्छ ऊ, “बिहे गर भनेर”।

फिस्स हाँसिदिन्छु म फेरि पनि।

“फेरि पत्याउनुभएन?” उसका मसिना ओठहरूबाट हाँसोका धर्साहरू दौडिन्छन् फेरि पनि।

“साँच्चै भन्नुस् त। कत्तिपटक आफैसँग झूट बोल्नुभो तपाईं।” म फेरि कोट्याउन थाल्छु।

ठुटो भइसकेको चुरोटको अन्तिम सर्को तान्छ ऊ। एष्ट्रेमा निभाइदिन्छ। सिलिंगतिर फर्केर धुँवा छोडिदिन्छ। अलि गम्भिर अनुहार बनाउँछ। अनि भन्छ, “थाहा छ सर, मेरो जिन्दगी यही उडिजाने धुँवा जस्तै छ।”

उसको अनुहारमा एकाएक छाएको गम्भिरता नियाल्दै सोध्छु म, “कसरी?”

“बा सानैमा हिंडे। भए पनि उनीबाट कुनै आशा थिएन। आमा न पढेकी थिइन्। न पहुँच भएकी। पुल बनेपछि हाम्रो जीवनले बाटो समात्यो। पुलको मुखैमा थियो हाम्रो घर। ब्लकले बारेको, टिनले छाएको घर। त्यसैमा आमाले पसल थापिन्। रिन गर्न पनि गाह्रो सर। म त के जान्थें र? आमाले कति हण्डर खाइन्, कतिको तितो खपिन् तर मेरो मुख हेरेर सबै खपिन्।”

उसको अनुहारको रङ्ग फेरियो। गतिलो कलाकारले कोरेको जस्तो बन्यो उसको मुहार। मान्छे त ऊ कालो नै हो। त्यसमा उदासी र पछुतोको रङ्गले अर्कै पोट्रेट बनाइदियो।

“तर म बिग्रें सर। म बिग्रें। गतिलरी पढिनँ।” बोल्दाबोल्दै रोकियो ऊ। किन? कसरी? कोट्याउन सक्थें म। तर कोट्याइन। टेबलमा आइपुगेको चियाको अर्को कप रित्याउनेतिरै लागें म।

“छिमेकका, टोलका सप्पै केटा बोर्डिङ स्कुल पढ्थे। म मात्रै सरकारी। तिनका घाँटीमा टाई हुन्थ्यो। पुल कटेपछि बस चढेर जान्थे। म मात्रै चप्पल पड्काउँदै स्कुल जानुपर्थ्यो। तिनलाई देखेर मेरो मनमा डाह जाग्थ्यो। म पनि त्यस्तै गरी बस चढेर स्कुल जान चाहन्थें। टाई लगाएर अङ्गे्रजीमा दुईचार शब्द बोल्न चाहन्थें। आमासँग खुब झगडा गरें म। तर बिचरी आमासँग के नै पो थियो र? बल्लबल्ल घरखर्च चलाउँथिन्। मलाई कसरी बोर्डिङ स्कुलमा पढाउँथिन् र? तर म बिग्रें सर। म बिग्रें।”

रेडियोजस्तै भट्भटाउन थाल्यो ऊ। के भन्ने, के नभन्ने? दोधारमा म केही नबोली बसिरहें। चियाको कप अघि नै रित्तिइसकेको थियो।

“बोर्डिङ स्कुल जान नपाएको झोंकमा म स्कुलमा हेलचेत्र्याँइ गर्न थालें। कक्षाबाट भागेर पौडी खेल्न जान थालें। आमा मेरो कान उखेल्थिन्। कुट्थिन। सम्झाउँथिन्। रुन्थिन्। केही सीप नलागेपछि मलाई केही भन्नै छोडिन्। बल्लबल्ल एसएलसी पास गरें। त्यो पनि दोस्रो वर्षमा। साथीहरू त्यस्तै थिए। म पनि उस्तै भएँ। धनी बाउका बिग्रेका छोरा थिए ति। म तिनकै सिको गर्न थालें। अनि त के र सर? बिग्रीनु विधि बिग्रीयो नि ! तर म त्यतिसाह्रो बिग्रन पाइनँ सर। चुरोट खान्थें, गाँजा खान्थें। एकदिन रक्सी खाएर घर पुगें। बान्ता गरेछु। बिहानपख आमा रोइन्। ‘बाउले पनि रक्सि खाएर मलाई रुवाएर मर्‍यो। छोरोको पनि ताल उस्तै छ। तँ मेरो मुटु, कलेजो चुँडालेर किन खान्नस्?’ आमाले यस्तो तालले प्रश्न गरिन् त्यस दिनबाट मेरा सारा कुलत छुटे। तर सर चुरोट छोड्न सकिन। सुधार्न त आफूलाई खुब प्रयास गरेको हुँ के रे सर। खै के मिलेन, के मिलेन। तर सर अब म सुधि्रन्छु के। बुझ्नुभो? बिहे गर्छु। विदेश जान्छु। दुईचार पैसा कमाउँछु। आएर केही गर्छु।”
उसले फेरी योजना पस्किन थाल्यो। म फेरी हाँसिदिएँ।

“फेरी पत्याउनुभएन हैन?”

म कसरी पत्याउँथे? गन्ने नै हो भने पनि उसका पचास योजना त मैले यसैगरी सुनें हुँला पनि। कहिले गायक बन्ने, कहिले डान्सर बन्ने। कहिले कफी पसल खोल्ने, कहिले हाटबजारमा तरकारी बेच्ने। यो उसको नयाँ योजना थियो।

बिहान त हो, उसले आफ्ना नयाँ योजना पेश गरेको। भनेको थियो– यही असारमा बिहे गर्नेछ। उसले ‘चक्कर’ चलाइरहेकी केटीसँग। राम्री छ ऊ, बिछट्टै राम्री, उसैले भनेको। “उसलाई देख्नुभयो भने नी सर तपाई आफै बिहे गर्न तयार हुनुहुन्छ के बुझ्नुभो?”
उसले भनेको सुनेर म खुब हाँसेको पनि थिएँ।

बाउ–आमाकी एक्ली छोरी हो ऊ। उसका बा–आमासँग पैसा पनि छ। बिहेपछि उनीहरूले आफ्नो ज्वाइँलाई पैसा दिनेछन्। त्यहीं पैसा लिएर ऊ विदेश जानेछ। ऐरेगैरे देश होइन। कि अमेरिका कि बेलायत नभए अष्ट्रेलिया पक्का।

“त्यसपछि त सर चार–पाँच वर्षमा छोरो कार चढेर हिंड्छ बुझ्नुभो।” मनको लड्डु खाएको थियो उसले।“ठिकै छ। मलाई लिफ्ट त दिनुहोला नि।” मैले जिस्काएको थिएँ। मैले जिस्काएको बुझेर उसले मुख चाउरी पारेको थियो।
अहिले फेरि दोहोराउँदै थियो उसका सपनाहरू। योजनाहरू।

“ल म निस्कन्छु” उसका अन्त्यहीन योजनाहरू सुनेपछि म निस्किएँ।

“साँच्चै हो के सर। यो असारमा त म बिहे गर्छु गर्छु।” चियापसलको गेटनेर पुग्दै गर्दा उसको ठोकुवा सुनें मैले। पछाडि फर्केर भन्ने मन थियो– ‘फेरि झूट’। तर भनिनँ।

 नाटक नगर्नुस्

मेरो नाम सोध्नुभएको? भो नसोध्नोस्। नाममा के छ र? हुन त नाम नै परिचय हो भन्नुहुन्छ भने हामीजस्ताको परिचय नै के हुन्छ र? गाउँका केटीहरूको नाम लिनुस्। सुन्तली, गीता, कमला, फूलमाया, पवित्रा, जमुना जे पनि। त्यसमध्ये एक नाम मेरो हो।

नाममात्र होइन जिन्दगी पनि त्यस्तै छ मेरो। हामीजस्ताको जीवनमा केही पनि नयाँ हुँदैन बुझ्नुभो? केही पनि नयाँ हुँदैन। तपार्इंको कोठामा रहेको टिभी बिग्रँदा जसरी केरमेर धर्काहरू आउँछन् त्यस्तै हो हाम्रो जिन्दगी। कसैले खाली पानामा यत्तिकै कोरि छोडेको धर्कोजस्तो जसको न सुरु हुन्छ, न त अन्त्य नै। न कुनै सङ्केत हुन्छ न त कसैको प्रतिविम्ब नै। न कसैको आँखाको नानीमै रहिरहने सुन्दर तस्विर नै हौं हामी। तर पनि हरेक रेखाहरूको आफ्नै अर्थ हुँदोरहेछ। तपार्इं हामीलाई रेखा नसम्झनुहोला। ठीकै छ, हामी विन्दु नै सही। तर जीवन त विन्दुको पनि त हुन्छ। तपार्इंले लेख्ने अक्षरहरूको माथि कतै–कतै अटाउने विन्दु नै हौं हामी। यत्ति नै सम्झनुहोस्।

र, म पनि यस्तै एउटा विन्दु हुँ। त के तपाईं पत्याउनुहुन्छ एउटा विन्दुभित्र पनि अथाह महासागर हुन्छ? सम्भवतः पत्याउनुहुन्न। तर दुःखको कुनै स्केल हुँदैन महाशय। दुःख तपार्इंको मिटरटेपले नापिन्न। न त तपार्इंको आयतन नाप्ने सोलीमा दुःख अटाउन सक्छ। तर पनि महाशय, दुःख अथाह हुन्छ र यो सानो विन्दुमा पनि अटाउन सक्छ। राम्रै हुन्थ्यो नि विन्दुमा दुःख नअट्ने भए। तर के गर्नु अस्तित्वको आयाममा विन्दु बनेका हामीसँग नै छन् असङ्ख्य दुःखहरू। दुःखको हिमाल, दुःखकै पहाड, दुःखकै नदी, दुःखको सागर। महाशय, हामी दुःखको प्रतिविम्व बनेका छौं।

तपार्इंलाई सायद झ्याउ लागिसक्यो होला। रिस पनि उठ्योहोला। तपार्इं त कथा पो जान्न चाहनुहुन्छ होइन? ठिकै छ, म तपाईंलाई मेरो दुःखको कथा सुनाउँछु। हुन त यो मेरै कथा हो। म चाहन्छु यो मेरोमात्रै होस्। तर अफसोच् यो हाम्रो हुन पुगिदिन्छ। विद्यालयमा मास्टरहरूले पढाउने व्यक्तिवाचक नाम किन जातिवाचक सर्वनाम बनिदिन्छ? जिन्दगीमा नबुझेका थुपै्र पहेलीहरूमध्ये यो पनि एउटा जटिल पहेली हो महाशय।

अँ, कथा पो सुनाउँदै थिएँ म त।

जिन्दगीको क्षितिज त्यति फराकिलो हुँदैन सुरुमा। मेरो जिन्दगीको क्षितिज पनि सानै थियो। आम गाउँले जिन्दगीजस्तै चल्दै थियो मेरो जिन्दगी पनि। गरिब त्यो पनि निम्न तहमा जन्मिएको थिएँ म। तपाईलाई थाहै छ नी मान्छे जन्मिनुभन्दा पहिले नै उसको पहिचान निर्धारण गरिदिएको हुन्छ हाम्रो समाजले। त्यहीं अनुसारका आफ्नै नियमहरू छन् यो समाजमा। नियमका अनेकन् घेराहरूले बाँधिदिएका छन् मानिसलाई। अनि तिनै नियमहरूले मान्छेहरू जन्मिनुभन्दा पहिले नै उसको स्थिति निर्धारण हुनपुग्छ। अनि त्यहीं नै मान्छेको नियति बन्नपुग्छ।

त्यहीं नियतिको साँघुरो घेरामा बाँधिएको थियो जिन्दगी मेरो। समाजका सबै केटाकेटी मेरा साथी हुँदैनथे। सबैजना मसँग बोल्दैनथे। तर पनि आफ्नै छुट्टै सानो संसार थियो मेरो पनि।

गाउँमा पढाइको लहर राम्रै चलिसकेको बेला थियो। कत्ति ठूला सपना देखेका थिए मेरा बा–आमाले थाहा छैन मलाई। जेहोस् स्कुल जान्थें म। कक्षा पाँचसम्म टोलकै विद्यालय। त्यसपछि त्यस्तै एक घण्टा परको विद्यालय। छ कक्षामा पहिलोपटक स्कुल जाँदा मेरा आँखा तिरमिराएका थिए। बाफरेबाफ त्यति धेरै साथीहरू ! तर हामीजस्ताको स्थान जहाँ पनि पहिले नै टुङ्गो लगाइएको हुन्थ्यो। पछाडिबाट बस्न सुरु गर्थ्यौं हामी। साथी पनि पहिले नै टुङ्गो लागिसकेका थिए। विद्यालयका मास्टर पनि नयाा थिए। सुरुका दिनहरूमा हामी निकै अलमलमा पर्‍यौं। मास्टरहरू सबै नेपाली बोल्थे हामी जनजाति समाजबाट आएका। मेरा सबै साथी तामाङ बोल्थे र म पनि। पाँच कक्षासम्म हामीलाई पढाउने मास्टरहरू हामीलाई हाम्रै भाषामा पढाउँथे तर यहाँको चलन फरक थियो। तर जेहोस् हामीले आफैलाई सहज बनाउँदै गयौं।

बिस्तारै घडीको सुई घुम्दै गयो। त्यो भन्दा चाँडो त जिन्दगीको सुई पो घुम्दोरै छ। शरीर पनि आफैले पत्याउनै नसक्ने गरी फेरियो। मनभित्र त झन् आँधीबेहरी पो चल्न थाल्यो। तरै पनि जिन्दगीका दुःखहरू त्यतिसाह्रो बढिसकेका थिएनन्। कि सधंै भोग्ने नियति दुःख नलागेको हो? थाहा भएन। जिन्दगीका उकाली–ओराली, घुम्टी र मोडहरू पनि सहजै लाग्थे। हो, गरिबीको जाँतोले पिल्सिएको थियो जिन्दगी। रहर त थियो नि। स्कुलको पहिलो बेञ्चमा बस्नेहरू जस्तै सफा र नयाा ड्रेस लगाएर स्कुल जाने रहर मेरो पनि थियो। तर त्यस्तो कहिल्यै भएन। तीन वर्षदेखि म एउटै ड्रेस लगाएर स्कुल जान्थें। मेरा साथीहरू पनि। बालाई के भन्नु।

आमाको त झन् पाँच वर्षदेखि मजेत्रो फेरिएको थिएन। गाउँमा कुनै पनि मेला छुटाउाथिएनौं हामीले। महाशय, यो मेला भनेर नझुक्किनुहोला। तपाईंहरूको मेला रङ्ग, रमाइलो गर्ने ठाउँ हो। धेरै मान्छे जम्मा हुने अनेक किनमेल गर्ने। तर हाम्रो शब्दकोशमा मेलाको अर्थ फरक छ। काममा जानेलाई नै हामी मेला भन्छौं। किनभने त्यहीं नै हुन्छन् हाम्रा रहरका आँकुराहरू। आखिर जहाँ खुशीका मसिना भएपनि लहराहरू टुसाइरहेका हुन्छन् तिनलाई मेला नभनेर के भन्नु?

गाउँका ठूलाबडाका खेत रोप्ने हात हाम्रै थिए। दाउरा बोकिदिने पिँठ्यु हाम्रै थिए। मेलाबाट पाएको दुईचार आम्दानीले रहर पुरा गर्थ्यौं हामी। तर, जिन्दगीले वर्षैपिच्छे नयाँ रहरहरू बोकेर आउँदोरैेे’छ। रहरका शृङ्खलाहरू बढ्दै थिए। रहर थिएनन् वास्तवमा ती। ती त आवश्यकता पो थिए। केटीमान्छेको जिन्दगीमा उमेरले नयाँ नयाँ आवश्यकता पनि बोकी आउँदो रहेछ।

तिनै दिन। तिनै समय। मेरो जिन्दगीमा ऊ आई निकै नजिकको साथी बनेर। मेरो दुःखमा रुने साथी बनी ऊ। कहिलेकाहीं बाटो बिराएर आउने सुखमा सँगै मुस्काउन थाली। एउटै टोलकी थिई। बाटोमाथि उसको घर थियो। बाटो तल मेरो। सँधै सँगै हुन्थ्यौं। बिहान पँधेरामा। दिउँसो स्कुलमा। हरेक शनिबारको मेलामा। रातीमा हाम्रा बिछ्यौना पनि एउटै हुन्थे। कहिले उसको घरको मझेरीमा कहिले मेरोमा। आकाशका तारा हेरेर हामी सपनाका नयाँ–नयाँ शृङ्खला जोड्थ्यौं। बुझ्नुभो? के तपाईले कहिल्यै आकाशका तारा हेरेर सपना बुन्नुभएको छ?

डाँडाको सल्लाजस्तै हर्लक्कै हुर्कियो जोवन। प्रकृतिलाई कसैले रोक्न नसक्दोरैछ। जोवनसँगै घरमा चिन्ताका नयाँ लहरहरू पनि हुर्किए। आमालाई छोरी ठूली भएकोमा चिन्ता लाग्नथाल्यो। हाम्रोजस्तो सामाजिक स्थिति भएको घर–परिवारमा यस्तै हुँदोरैछ। छोरी हुर्किदै जाँदा बाको निधारमा चिन्ताका नयाा गाँठाहरू पर्दैजाँदा रहेछन्। त्यस्तै थियो उसको घरमा पनि। तर हाम्रा सपना बेग्लै थिए। रात–रातभर हामी गफिइरहन्थ्यौं।

“तँ के सोच्छेस्?”

“म त बिहे गर्दिन। वाक्क भइसकेछु सबैको जिन्दगी देखेर।”

“किन?”

“हेर न बिहे गरेर कसको के भ’छ र?”

“कसको के हुनुपर्छ र?”

“त्यही लोग्नेको दिनरातको गाली खान, सासुको कचकच सुन्न र अहिलेजस्तै जिन्दगी बिताउन किन बिहे गर्नु? तँ नै भन् न के हाम्रो जिन्दगी फेरिनुपर्दैन?”

कुन्नि कहाँबाट यस्तो सोच्न थालेकी थिई ऊ? उसको प्रश्नले म अवाक् भएको थिएँ त्यो दिन। ए, हैनहैन त्यो रात। मैले उसको अनुहार हेर्न खोजेको थिएँ। तर अँधेरो थियो। फेरी त्यही दिन हाम्रो घरमा मट्टितेल सकिएको थियो। पारी डाँडामा बल्ने बिजुली बत्ती हाम्रोमा आएको थिएन। मैले उसको अनुहार छामें। उसको चिउँडो, ओंठ, नाक हुँदै मेरा हत्केला उसका आँखामा पुगे। उफ् ! ती त लुछुप्पै भिजेका पो थिए। प्रश्न गरें मैले –
“तँ किन रोइरहिछेस्?”

“मलाई यो जिन्दगीदेखि वाक्क भइसकें बुझिस्?”

“अनि के गर्ने त?”

“यस्तै बाँच्ने त? यस्तै अभाव, उत्पीडन सहेर?”

“तैंले यस्तो भन्न कहिले सिकिस्?”

“भन् त तँलाई यो जिन्दगी बाँच्ने रहर छ?”

“हामी कहिले पो रहरले बाँचेका छौं र?”

त्यसपछि साँच्ची नै आँधीबेहरी आयो। मनमा मात्र होइन। जीवनमै पनि।

बिस्तारै विद्यालयमा नयाँ अनुहारहरू आउन थालेका थिए। चर्को चर्को भाषण गर्थे। नयाँ जिन्दगीका कुरा गर्थे। परिवर्तनको कुरा गर्थे। कताकता तिनका भाषणमा जिन्दगीका नयाँ क्षितिज देखिन्थे। साँच्ची सपना पनि बेग्लै देखिन थालेका थिए। मनभित्र खाटो परेर बसेको रहर उप्किन थालेको थियो। जिन्दगीको परिवर्तित चित्र बनाउने उत्साह जाग्न थालेको थियो। त्यस्तैमा एकदिन………..

साँझपख ऊ आई। हस्याङ्फस्याङ् गर्दै। मेरो हात समाएर बाहिर लगी। आमा अचम्म मानेर हेर्दै थिइन्।

“हिंड् जाम्” उसले भनी।

“नाई” मैले जवाफ दिएँ।

“मैले अठोट गरिसकेकी छु। बुझिस् जिन्दगी त्यसै फेरिंदैन। लडेर फेर्नुपर्छ।” उसले भनी।

म निरुत्तर रहें। आमा, बा, दिदी, भाइ सबैका अनुहार आँखामा आइरहे।

“तँ मसँग जानैपर्छ। होइनभने म रोइदिन्छु।” ऊ रुनथाली। उसको आँसु मलाई कहिल्यै मन पर्थेन। त्यसैले हुन्छ भनिदिएँ। शब्दले होइन टाउको हल्लाएर। तपाईलाई थाहै होला, जिन्दगीको जटिल क्षणमा शब्दहरू सार्‍है गह्रुंगा बन्छन्। बरु टाउको हलुँगो बन्छ।
अनि अर्कोदिन स्कुल हिंडेका हामीहरू जिन्दगीको नयाँ क्षितिज खोज्न हिंड्यौं। हातमा जिन्दगीको नयाँ हतियार थमाइयो। नयाँ नयाँ शब्द ओंठमा झुन्डिन थाले। तर, क्षितिज भ्रम नै हुँदोरैछ। भ्रम त भयो आखिर।

उफ् !…………….

भैगो छोडिदिनुस्। एउटा झुटो सपना बनिदियो आखिर। घरमा आउँदा हात समाएर आमा रोएकी थिइन्। तर मैले फर्किन मानिन। जिन्दगी बदलेरै छोड्छु। आशा पनि देखाएकी थिएँ मैले। त्यहीं सपनाले लडियो। भोकभोकै हिंडियो। कति दुःख खपियो। तर जब परिणाम आयो के भयो?

परिवर्तन भयो भनेर समाचारमा आयो। हामीलाई पनि आशा थियो। मनमनमा दुःख पनि थियो। किनभने परिवर्तनको यो दिन उसले देख्न पाइन। किनभने ऊ सहिद भइसकेकी थिई। जिन्दगीको खुशी पहिलोपटक भोग्नुपर्दा दुखी पनि थिएँ म। तर त्यो खुशी पनि पानीको फोका भइदियो। जब अयोग्यको बिल्ला भिरेर निकालिएँ त्यतिबेला बल्ल बुझें मैले परिवर्तनका सारा घोषणाहरू मजाकमात्र रहेछन्। मात्र मजाक। हाम्रो जिन्दगी नै आखिर मजाक बनाइएको रै’छ।
हामीजस्ता निम्छराहरूले क्षितिज छुने भ्रम नपाल्नुपर्ने हो?

उफ्……….

तपाई मलाई योजनाहरू नसोध्नोस् त। जसको जिन्दगी नै व्यवस्थाको भद्दा मजाक हुन्छ त्यसका योजनाहरू के नै हुन्छन् र?

म विदेश जानसक्छु।

म कोठीमा बेचिनसक्छु।

मालिकको बलजफ्तीको चिनो बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा म बेवारिसे बनी आउनसक्छु।

वा, तपार्इंको मनोरञ्जनको निम्ति डान्स बारमा नाङ्गै नाच्न पनि सक्छु। तपाईंको राजधानीमा। गणतन्त्र आएको राजधानीमा।

म जे पनि हुनसक्छु। तर तपाईंकी स्वास्नी होइन।

हो जे पनि हुनसक्छु। तर सभासद् होइन।

हो, हो जे पनि तर तपार्इंले नाम लिने मान्छे होइन।

के नै फेरिएको छ र हाम्रो जिन्दगी?

इतिहासको पानामा हामी केवल मजाक त हौं महाशय। टिठाउनुभो? भो, नाटक नगर्नुस्।

(थुप्रै बसाईंहरूमा मैले थाहा पाएको उसको कथा यस्तै हो। यसरी नै भनेकी थिई उसले। सिसा फुटेसरी फुटेको थियो उसको सपना। त्यसैगरी टुक्रा–टुक्रा कथा भनेकी थिई उसले। कत्ति त पूरै पनि भनेकी थिई। तर उसको आँसुले सबै छेकिदियो। मैले सुन्नै सकिनँ। कत्तिपटक नरोइ भनेकी पनि थिई आँसु लुकाएर। तर मैले लुकाउन सकिनँ। जे जत्ति सुनें र बुझें मैले पस्किएा। अब तपाईंको जिम्मामा। अँ, एउटा अर्को भन्छु। एउटा बसाईंमा उसको हातमा भएको पुरानो डायरी मेरो हातमा साटियो। डायरी भरी उसकी दिवंगत साथीको नाममा कोरिएका पत्रहरू थिए। तर ती सबै फरक नाम थिए। संयोगले उसले एकठाउँमा आफ्नो नाम लेखेकी थिई। तर म त्यो तपाईंलाई भन्दिन। आखिर नाममा के नै छ र?)

सभामुख शेम

“लियो टोल्सटोय? बाफ रे बाफ ! भाम राइटर हो यार। ५०० जना पात्र ! त्यति ठूलो उपन्यास ! थाहा छ तपाईलाई?” प्रश्नलाई बीचमै रोकेर उसले आफ्नो दाह्री मुसार्‍यो। उपस्थित हामीमध्ये सबैभन्दा लाम्चो उसको चिउँडोमा सधैजस्तै आज पनि दाह्रीका ठुटाहरू थिए। आफ्ना ठूला आँखाहरू चिमिक्क पारेपछि फेरि बोल्यो, “’युद्ध र शान्ति’ लेखेपछि टोल्सटोय बहुला नै भयो। चौपारीमा जान्थ्यो र किसानहरूलाई पैसा बाँड्थ्यो। हुँदाहुँदा घर नै छोडेर हिंड्यो। जुत्ता सिलाउँदै हिंड्थ्यो। पछि त रेल स्टेशनमा मरेको भेटियो।”
ऊ बोलिरहन्थ्यो। हामी सुनिरहन्थ्यौं। मात्र सुन्दैनथ्यौं, हेर्थ्यौं पनि। उसका भाव भंगिमा युक्त गफले माहौल चुट्थ्यो। कहाँमात्र चुट्दैनथ्यो गफ? क्याम्पसको चौपारी उसको कब्जा। चौरमा पनि उसकै राज। चोकको चिया पसलमा पनि उसकै गफ।

आज पनि सँधैजस्तै गफ चुटिरहेथ्यो ऊ। पुस्तक पसलको टुलमा बसेर। चोकभित्रको पुस्तक पसललाई हामीले गफ सेन्टर बनाएका छौं। बोर्डमात्र टाँग्न बाँकी छ। ‘पर्दैन’ ऊ भने कुरा उठायो कि अस्वीकार गरिहाल्छ। ‘बोर्ड राखेपनि गफ चुट्ने हामी नै हौं नराखे पनि हामी’। मुसुक्क मुस्काउँदै तर्क दिन्छ ऊ। पुस्तक पसलका दाइ मुसुक्क हाँस्छन्। सहमतिको हाँसो। ढुक्क भए होलान् उनी। हैनभने त जात्रै हुन्थ्यो। पुस्तक पसलमा गफ सेन्टरको बोर्ड !
श्याम उसको नाम। तर सबै शेम भन्छन्। म पनि। एकपटक उसले कविता लेखेको थियो। कविको नाममा शेम थियो। जानेर होइन। प्रीन्ट मिस्टेक भएको। तर त्यतिबेलादेखि नै उसको दोस्रो न्वारान भएको थियो। शुरुमा अस्वीकार गरे पनि पछि स्वीकार्‍यो उसले। त्यसबेलादेखि बुटवलको गल्ली–गल्लीमा हिँडिरहनेमा शेम पनि सहभागी छ। हाम्रो गफ अड्डाको त हिरो नै हो।

अँ, झण्डै बिर्सेको। त्यसपछि उसले कविता चाहिं लेखेकै छैन। “नाम बिगारिदिन्छ भनेर डराएको?” बेलाबेला जिस्काउँदै भन्छु म, “नडरा नाम भनेको एकपटकमात्र संशोधन हुन्छ। किनभने यो संविधान होइन।”

मेरो व्यङ्ग्यको जवाफमा मात्र मुस्काउँछ ऊ। भन्छ, “कविता भनेको मुडमा हुन्छ बुझिस्। त्यो मुड मलाई कहिल्यै फुर्दैन।”

यो सहरको उत्पादन हो शेम। शहरसँगै हुर्किएको हो ऊ। तर गजब छ। आफ्नो स्टोरी झट्ट कसैलाई भन्दैन ऊ।
स्टोरीमा दम हुनुपर्छ। दम नभएको स्टोरी पनि स्टोरी हुन्छ ? उसको सधैंको प्रश्न। सधैंको तर्क।

र, हाम्रो गफ सेन्टर? के बारे मात्र गफ हुँदैन यहाा? युरोपको क्लासिकल साहित्य। अमेरिकाको पछिल्लो नीति। मध्यपूर्वको राजनीतिक उतारचढाव। छिमेकी भारतको पछिल्लो घटनाक्रम। हाम्रै देशको अनेक क्याटेगोरीको टिप्पणी। र सबै गफको अघोषित सभामुख उही नै हो। अर्थात् शेम नै। अँ, सभामुख।

रुसका नेता लेनिनले भनेका थिए रे ‘संसद गफ गर्ने अखडा हो’। त्यसो भए हाम्रो गफ गर्ने अखडा किन संसद होइन? दावी छ हाम्रो गफ नै गर्ने भए हाम्रो अखडा सबैभन्दा उत्कृष्ट संसद हो। र हाम्रो संसदको सभामुख हो शेम। सभामुख शेम।

हो, यहाँ सत्ता ढलाउने खेल चल्दैन। संसद क्रय–बिक्रयको गन्दा झेल चल्दैन। किनभने यो संसदका सदस्य हामी नै हो। र हामी बिक्रीमा छैनौं। हाम्रो संसदमा कुनै पनि विषयमा छलफल हुनसक्छ। कुनै रुलिङ छैन। कुनै नियमापति पनि हुँदैन। र सबै नाटकहरू उपर अघोषित प्रतिबन्ध छ।

आज पनि संसद चलिरहेछ।

संसदको विषय के हो? कसैलाई थाहा छैन। स्वयं सभामुखलाई पनि। गफले आफै विषयहरूको निर्माण गर्छ।

थाहा छैन कहाँबाट शुरु भएको हो यो विषय। तर शुरु भइसकेको थियो। र सभामुख शेम बोल्दैथियो, “साथी हो ! यो जिन्दगी मेरो विचारमा अस्थिरताको शृङ्खला हो।”

“होइन गुरु तिमी अस्थिर हुँदैमा जिन्दगी आफैमा अस्थिर हुँदैन।” कसैले सभामुखको विचार खण्डन गर्‍यो।

“अस्थिरताको कारण हुन्छ, मित्र कारण हुन्छ।” ऊ भने आफ्नो विचारमा उस्तै अडान राख्छ।

“कसरी?” कसैले प्रश्न राख्छ।

“कसरी भने उहाँको जीवनजसरी” पुस्तक पसलका दाइ मुसुक्क हाँस्छन्। अनि सन्नाटा छाउँछ। सन्नाटाभित्र सबै शेमको जिन्दगी खोतल्छन् मनैमनमा।

शेमका बा आएका थिए थोरै रहरको कुम्लो कुटुरो पारेर। रहरको खाँबो अड्याएर उनले जिन्दगी शुरु गरे। त्यही खाँबोभित्र हुर्किएको हो शेम।

कुन्नि कहाँबाट झोंक चलेको थियो उसलाई? सानैदेखि साहित्य पढ्न थाल्यो। के मात्रै पढेन? मोपाँसा, दोस्तोवस्की, गोर्की, चेखव, टोल्सटोय, बाल्जाक, चार्ल्स डिकेन्स त्यसपछिको नाम उसैलाई थाहा छ। बेला–बेलामा पुकारिरहन्छ ऊ। तर सबै सम्झोस् कसले?

“दोस्तोवस्कीको लेखाइ नै बेग्लै !” टिप्पणी गर्छ ऊ। “सानो भन्दा पनि सानो चरभित्र छिर्छ। ‘क्राइम एण्ड पनिसमेण्ट’ पढ्नुभएको छ?”

“हाम्रो अङ्ग्रेजीले भेटोस् र पढ्नु?”

“बडो गजव किताब छ यार” ऊ भन्छ। घमण्ड त पटक्कै छैन उसमा फुँई पनि लगाउँदैन। मात्र भन्छ। सुनाउँछ। हामी सुन्छौं।

“गोर्की त खाते थियो यार” बेला–बेलामा सुनाउँछ पनि। “उसको बा सानैमा मरे। आमा पोइल गईन्। हड्डीको टुक्रा बटुल्दै हिँड्थ्यो ऊ। त्यही लाइफमा उसले संसार चिन्यो। दुःखले मान्छे बनाउँछ यार।”

हामी सर्वसम्मत हुन्छौं। ऊ मौन रहन्छ।

शेम अजिवको आदमी हो। बेला–बेलामा यस्तै सोच्छु म। शहरको सानो पुस्तकालयमा पहिलोपटक भेटेको थिएँ मैले उसलाई। हातमा अन्ना केरेनिनाको भोल्युम समाएर बसेको थियो ऊ। लाइब्रेरियन ऊ नै हो भन्ने थाहा पाएपछि चकित भएको थिएँ म।

“टोल्सटोय अजिब प्रतिभा हो” उसैले मलाई टोल्सटोय चिनाएको थियो। त्यसपछि मैले उसकै सिफारिसमा पढको थिएँ टोल्सटोयको – क्रुजर सनेट।

पढेको एक हप्ता म बहुलाइरहें। त्योभन्दा ठूलो बहुला ऊ थियो। युद्ध र शान्ति पढिभ्याएको थियो नि त।

सहर अचम्म हुन्छ उसलाई देखेर। अङ्ग्रेजीमा डिग्री भ्याएको ऊ लखरलखर हिँडिरहन्छ। डुलिरहन्छ।

“आखिर किन ऊ केही पनि गर्दैन?” साथीहरू प्रश्न सोधिरहन्छन्।

“कसरी गर्ने त?” झोंक चलेको एकदिन मनको ढोका खोल्यो उसले। “सबैले भेट्दा भन्छन्, ‘तिमी जिनियस हौ यार साँच्चैको जिनियस’। तर जब काम खोज्न जान्छु तब कोही पनि काम दिन तयार हुँदैन।”

“किन?”

“किन दिन्छ? यहाँका संस्थाहरूले मान्छे होइन गधा खोज्छन् बुझ्नुभो गधा। म गधा होइन मान्छे हुँ। एउटा मान्छेलाई कसले काम दिन्छ यार?”

उसको जवाफले हामी सबै मौन हुन्छौं। तितो यथार्थले मुटु सम्म घोंचिदिन्छ। अस्ति भर्खर त हो उसले पढाउँदा पढाउँदैको बोर्डिङ्ग छोडिदिएको। सबैले भनेका थिए– शेम बहुलायो। ‘कहिले पो बहुलाएन र?’ कसैले त यस्तो पनि टिप्पणी गरेका थिए।

“शेम तैंले किन पढाउन छोडिस् यार?” एकदिन सोधेको थिएा मैले। धेरैबेरसम्म बोलेको थिएन ऊ। मैले सम्झें– हल्लिँदा हल्लिँदै हल्लिनुको विकल्प नरहेपछि एकदिन उसले पत्रिकामा लेखेको थियो एउटा निबन्ध–बेरोजगार मनोदशा। लेखेको अर्को दिन नै उसले जागिर पाएको थियो। र छ महिनामै छोडेको थियो। आखिर किन?

“म गधा हुन सकिनँ त्यसैले।” उसले पुरानै जवाफ दियो। र हामी चुप भयौं।

काँडाको आँसु

‘कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन् भनिएका कुरा बरु झूटा–झूटा–झूटा लाग्छन्’ “उही गीत !” ढोकाबाट छिर्दै गर्दा कमेन्ट गरिहालें मैले। उनी फिस्स हाँसिन्। स्वाभाविक हाँसो। केही बोलिनन्। सरासर गएर एउटा कुर्सीमा बसें म। होटल रित्तो थियो। बाहिर सिमसिम पानी पर्दै थियो। वुफरमा प्रेमनारायण प्रधानको गीत बजिरहेथ्यो –मान्छेको मन पानी होइन, पोखाउँदैमा पोखिदैन………….

यो होटलकी दिदीलाई थाहा छ, म चिया खानमात्र आउँछु यहाँ। त्यसैले बोल्न नपाउँदै चियाको कप वाफ उडाउँदै आइपुग्छ। टेबलमा थपक्क बस्छ। कुन्नि के भएको छ दिदीलाई आज? सधंै प्रसन्न भावमा गफिने आज उनी मौन छिन्। यो मौनता मलाई पटक्कै मन पर्दैन। सोधिहाल्छु– “के भयो दिदी आज मौन, मौन हुनुहुन्छ?”

“कति कुरा नभनेरै मीठा हुन्छन्” गीतको अघिल्लो पङ्क्ति टिप्दै जवाफ दिन्छिन् उनी। मैले के भन्ने? केही मेसो नपाएर म पनि चुप लाग्छु। चियाको कप रित्तिदै जान्छ। वुफरमा गीत बजिरहन्छ।

“रिसाउनु भयो कि क्या हो?” म पनि मौन बसेपछि उनी सोध्छिन्। “होइन” छोटो जवाफ दिन्छु म। अनि फेरि उनी पनि मौन रहन्छिन्।

सिमसिम पानी परिरहेको वातावरण। काला बादलले ढाकिएको आकास। डुम्म गुम्सिएको सिङ्गो सहर। के उनको मन पनि गुम्सिएको छ??? अचानक मेरो मनमा प्रश्न जन्मिन्छ। तर पनि सोध्दिन म। मनलाई के र? जतिबेला जे पनि हुनसक्छ। मन न हो ……………

“मलार्इं देख्दा तपाई अचम्म मान्नुहुन्छ होला है?” कन्दराको गुफाबाट आएको आवाजसरि आउँछ उनको आवाज। चियाको अन्तिम चुस्की लिंदै बस्छु म। आज के भएको हो यस्तो? “बेलाबेलामा जिन्दगीका पुराना दृश्यहरू मनमा दोहोरिन्छन्। मन अरठ्ठिन्छ। बौलाउँछु कि जस्तो हुन्छ।” पँधेराको पानी जस्तो एकनास उनी बग्छिन्।

……….

हो त, उनको जिन्दगी कहाँ सिधा बाटो हिंडेको छ र? पहाडको बाटोजस्तै घुम्ती र अनेक घुम्तीहरूले भरिएको छ उनको जिन्दगीको बाटो। हरेक घुम्तीहरूमा बिर्सन पनि नसकिने सम्झन पनि गाह्रो हुने तीखा काँडाहरू बसिदिएका छन्। तिनै काँडाहरूमा उनका आँसुका थोपाहरू अडिएका छन्। देख्नेले शीतका थोपा भनिदिन्छन्।

पहाडको गाउँमा जन्मिइन् उनी। हात हेर्ने पण्डितले भनेको थियो रे– छोरा नै हुन्छ। उनीभन्दा अगाडि तीनजना दिदी थिए। तर ‘तर्पण’ दिने छोरा नभए चिन्तित थिए बा। समाजको अगाडि मुख देखाउन पनि लाज मर्नु भइसकेकेा थियो रे उनलाई। पन्नितको भविष्यवाणीमा प्रसन्न थिए। छोराको न्वारानमा खसी काट्न खोजिसकेका पनि थिए। तर छोरी बनेर जन्मिन पुगिन् उनी। त्यसैको झोंकमा बाले छोराको न्वारानको लागि खोजेको खसीले अर्को बिहे भोज खुवाइदिए।

गाउँको पल्लो टुप्पोमा स्कूल थियो। वल्लो टुप्पोमा उनको घर। दौडियो भने पन्ध्र मिनेटमा पुगिन्थ्यो। विस्तारै हिंडे आधा घण्टा लाग्थ्यो। तर बिचैमा एउटा डोहो थियो – वन जाने डोहो। त्यहीं डोहोले उनको र भाईको बाटो छुट्याउँथ्यो। भाइ स्कूल जान्थ्यो। उनी वन। संयोग हो कि के हो उनकी आमा र बाँकी नयाा श्रीमतीले एक महिनाको फरकमा छोरा पाए। छोरो नपाएर दुखी उनका बाको ओठमा मुस्कानको भारी थपियो।

डोहोनेर अलग्गिन थालेको एक महिनापछि तोते बोलीमा एकदिन भाईले सोध्यो– ‘दिदी तिमी किन स्कूल जान्नौ?’

उनको मुखमा जवाफ थिएन। तर मनैमनमा पहिरो गयो। पहिलोपटक उनले आफैसँग प्रश्न गरिन्– “साँच्ची किन जान्न म स्कूल?”

त्यो दिन। वनमा एक्लै धेरैबेर रोइन। तर मनको दुःख आँसुले मात्र कहाँ पखाल्दोरै’छ र? दुःखले घर गर्दै गयो। सायद दुःखले अठोट पनि निर्माण गरिदिन्छ कि क्या हो? एक हप्तापछि एकदिन खाना खानेबेला बालाई उनले भनिन्– “बा म पनि स्कूल जान्छु !”
सायद भूकम्प गयो। ए, होइन–होइन ज्वालामुखी पड्कियो। खाँदाखाँदैको गाँस छोडे बाले। मेघ त्यति के गर्जिन्छ होला र? उनी नै बढी गर्जिए। “छोरी भएर पढेर के हुन्छ?”

पढ्दै नपढेकी उनलाई पढेर के हुन्छ के थाहा? यत्ति चाहिं थाहा पाइन्। पढ्यो भने बा रिसाउँछन्। तर कस्तो अचम्म? त्यही दिनबाट उनमा पढ्ने इच्छा उर्लिन थाल्यो। भाइहरू बिहान पढ्थे। बार्दलीमा बसेर। उनी छेवैमा बसेर सुनिरहन्गथो। भाइको तोते आवाजले कविता गाएको सुन्दा उनको मनमा पनि कुन्नि केको हो करेण्ट बग्न थाल्यो। धेरै पछि थाहा पाइन् त्यो त रहरको लहर पो रै’छ। त्यही रहरले उनलाई एकदिन डोहोमा कुराइरह्यो। स्कूलका मास्टर त्यहीं बाटो आउँथे। एकजना थिए भर्खरै जुँघा उम्रेका। चिटिक्क कपडा लगाएर आउँथे। देख्दा नै गाउँका मान्छेभन्दा भिन्नै थिए। सबैले साह्रै गतिला भन्थे। हुँदाहुँदा गाउँमा नाउँ नै बनेको थियो उनको ‘गतिला सर’। तिनै गतिला सरको बाटो कुरेर बसिन् उनी डोहोको मुखैमा। जब आइपुगे उनको हातबाट डोको र नाम्लो खस्यो। दुई हात जोरेर नमस्ते गरिन्। नमस्कार फर्काउँदै सर लम्किए। उनलाई सिङ्गै भविष्य आफूलाई छोडेर हिंडेजस्तो लाग्यो। बल गरेर बोलाइन् उनले – ‘सर……….’

कुन्नि धेरै नै चिच्याइन् कि क्या हो? फनक्कै फर्किए सर। सोधिहाले, “किन नानी?”

उनका आँखाबाट नुनका ढिक्का झरे। बर्बरी रुँदै बोलिन् उनी– “सर म पढ्न चाहन्छु”। भक्कानिइन् उनी, “मलाई पनि कपुरी क लेख्ने मन छ।”

जिन्दगीका मोडहरू यस्तै गरी रहर र हिम्मतले नै मोडिदा रैछन्। त्यहींबाट उनको बाटो पनि मोडियो। तिनै शिक्षकले उनको बासँग कुरा गरे। सम्झाए। बुझाए। बा भित्ताजस्तै थिए। तर ‘गतिला सर’ पनि त बज्रजस्तै थिए। आखिरीमा उनको बाटो मोडियो। वनको डोहोतिर मोडिने पाइलाहरू सिधै स्कूलतिर जान थाले।

दस कक्षासम्म सङ्घर्षले नै पढिन् उनले। बाले कापी किन्दिंदैनथे। दसैंमा मावलीले दिएको दक्षिणाले रिवन किनिनन् उनले चुराधागो, नङ्गपालिस, लिपिस्टिक केही पनि किनिनन्। कुन्नि के झोंक चलेको थियो पढिन् र पढिरहिन्।

एसएलसी पास गरेपछि भविष्यको अन्योल राक्षससरि उभियो सम्मुखमै। अब के गर्ने? मनभरि नर्स बन्ने रहर थियो। बातिर फर्केर हेरिन्। अहँ त्यहाँ सहाराको सानो पनि त्यान्द्रो थिएन। दुईवटा भाइलाई पढाएर मान्छे बनाउन चाहन्थे उनी। छोरीमान्छे पनि मान्छे हो र? उनको मनमा सायद यस्तै थियो।

तर लाहुरेसँग बिहे गरेकी दिदीको साथ पाइन्। दुखजिलो गरेर पढिन्। अनमी पास गरिन्। जब सर्टिफिकेट हातमा बोकेर जागिर खान हिंडिन्। बल्ल जिन्दगीको सबैभन्दा ठूलो विडम्बना अगाडि उभियो। उनको बाको कोही नातागोता थिएन कतै पनि। गाउँको सामान्य किसान न थिए उनी। लिखितमा नाम निस्कन्थ्यो कहिले एक नम्बरमा सधैं कहिले पाँच नम्बरमा दसभन्दा तल कहिल्यै झरेन। तर मौखिकमा सधैं किन फालिन्छिन्? कहिल्यै नबुझ्ने रहस्य यही बन्न पुग्यो। जीवनका बाटाहरू बन्द हुन थालेपछि उनले पनि बिहे गरिन्।

बिहे पनि रहरले होइन बाध्यताले। जीवनबाट हारी थाकेपछि फुुपूले खोजेको केटालाई हुन्छ भनेकी थिइन् उनले। रहर थियो राम्रो पढेको जीवनसाथी बनाउने। तर भाग्यले हो कि केले हो खै आफू जत्तिको पनि नपढेको सँग जोडिदियो उनलाई। लोग्नेको इमानदारी र सोझोपनाले मात्रै बाँधेको रे उनलाई। अहिले उनी यसरी यहाँ शहरमा होटल थापिरहिछिन्। लोग्ने राजमार्गमा गाडी हाँक्छन्। तर पनि सपनाहरू नमर्दा रै’छन्।

लोकसेवाको परीक्षाको तयारीमा व्यस्त छिन् अहिले उनी। नाम निकाल्ने ठूलो सपना छ उनको। आफ्नो योग्यताको जागिर खाने, एउटा सानो घर बनाउने। सानो परिवार बनाउने उनका ठूला सपनाहरूसँगै सायद समयका सुईहरू भड्किरहेछन्। प्रश्न त यत्ति हो किन उनी बेला बेलामा टोलाउँछिन्?

जिन्दगीको खोजीमा…..

बिहानै हिंड्दै थिएँ बाटोमा। आँखा अचानक चौराहाको मुर्तिको भित्तामा टाँसिएको ब्यानरमा पर्‍यो। ए ! आज त ईद। झट्ट सम्झिएँ नस्मालाई। आज ऊ कत्ति खुशी होली ! एक महिना लामो रोजा सकिएपछि उनीहरू आज मिठा–मिठा परिकार खाएर/खुवाएर ईद पर्व मनाउँछन्। कुनै बेला बटौली भनिने आजको पारी बुटवलमा मुस्लिम समुदायको राम्रै बस्ती छ। त्यहाँ बौद्धधर्मालम्बीहरू पनि छन्। अनि हिन्दूहरू पनि। हरेक ईद मुस्लिमहरू मात्र होइन बौद्धहरू र हिन्दूहरू पनि मनाउँछन्। पहिला देखिनै पश्चिम पहाडमा विशेषतः अर्घाखाँची, गुल्मी र बुटवलमा मुस्लिम समुदायको बसोबास छ। कपिलवस्तुमा पनि मुस्लिमहरूको उल्लेखनीय बसोबास छ। यो समुदाय अरु समुदायसँग घलमिल भएर बसेको छ। त्यसैले त हरेक दसैंमा नस्माले पनि टिका लगाएकी हुन्छिन्। अनि हरेक रोजा सकिंदा नस्माकोमा ईद मनाउन पुगेका हुन्छन् उसका साथीहरू। आज पनि ईद हो। तर, अफसोच ! साथीहरू बुटवलमा छैनन्। ईद पोहोरभन्दा एक महिना पहिला सरेको छ। नस्माले सँधैजस्तै मिठा–मिठा परिकारहरू बनाइहोलिन्। तिनको मनमा पनि थुप्रै–थुप्रै रहरहरू फक्रिरहेछन् होलान्। मनको त पखेटा हुन्छ नि उड्यो होला। खोज्योहोला सुगतलाई। तर यसपालीको ईद मनाउन सुगत बुटवलमा भइदिएन। बर्खाको चिसो बतास खान ऊ पहाड उक्लेको छ। मुना र तुफान पनि आ–आफ्नै घर गएका छन्। मलाई एकाएक नस्माको सम्झना आउँछ। विचरी नस्मा ! यो पर्वमा आज उसका साथीहरू सँगै छैनन्। कत्ति एक्लोपना महसुस भयो होला तिनलाई? मोबाइल निकाल्छु। एकपटक सुगतसँगबाट मैले हाम्रा क्यान्टिन गफीका मित्रहरूको नम्बर लिएको थिएँ। त्यहीदिनबाट मोबाइलको मस्तिष्कमा बसेको र कहिल्यै प्रयोगमा नआएको नस्माको नम्बर थिच्छु। हावामा भएका तरङ्गहरूले नस्माको मोबाइलमा पनि कम्पन उत्पन्न गरिदिन्छन् सायद। घण्टी जानासाथ फोन उठिहाल्छ।

“ईद मुबारक नस्मा” म बोल्छु। किन कुन्नि मेरा शब्दहरू काम्छन्।

“तपाईंलाई पनि” जवाफ दिंदै ऊ मेरो परिचय माग्छिन्। म बताउँछु आफ्नो नाम, कर्म।

“ए ! तपार्इं?” ऊ अचम्म मान्छे। “हामीलाई पनि सम्झनुहुँदोरहेछ” ऊ भन्छे।

“तिम्रा साथीहरू कोही छैनन् आज सहरमा” म भन्छु, “सोचें, तिमीलाई एक्लो महसुस भयोहोला। त्यसैले कहिल्यै नथिचेको नम्बर आज थिचें।”

“धन्यवाद” यसपाली स्वर काम्ने पालो उसको। सायद लजाइहोलिन्। उनको कालो–कालो हिस्सी परेको अनुहारमा लज्जाको लाली पोतियोहोला। मौन भइ। म पनि। अनि फेरी भनिन्, “आउनोस् न ईद मनाउन”। “आउन नभ्याएरै त फोनबाट शुभकामना दिएको” म स्पष्टीकरण दिन्छु।

“किन? भड्किरहेका मान्छेहरू खोज्दैहुनुहुन्छ?” सोध्छन् तिनी। “कि आफै भड्किदै हुनुहुन्छ?” बोलिहाल्छिन्।

“खै !” उत्तरविहीन जवाफ दिन्छु म।

हो त, म भड्किरहेका मान्छेहरूसँगै त छु। भड्किरहेका मान्छेहरू खोजिरहेछु। आज उसले भेटौं भनेको छ। त्यतै त हिंडेको छु। उसले भेटौं भनेकै होटलमा।

………

“हाँस्नलाई त हाँसेकै छु
तर ओंठ यो सिएको कसलाई थाहा छ र?
बाँच्नलाई त बाँचेकै छु
तर मरेर जिएको कसलाई थाहा छ र?”

होटलको सटरबाट भित्र छिर्दै गर्दा चियाको गन्धभन्दा पहिला नै यम बरालको आवाज कानमा ठोकिन्छ। यो उसैको सेेलेक्सन हो। म अनुमान गर्छु। अगाडि भित्तामा टाँसिएको ऐनामा आफैलाई हेर्दै चिया पिइरहेछ ऊ।

“के छ गुरु” हात मिलाउँदै सोध्छु म।

“जिउँदै छु” रुखो जवाफ दिन्छ ऊ।

“कसले मरेको भनेको छ र?” ठाडो प्रतिक्रिया दिन्छु म पनि।

“मरेर जिएको कसलाई थाहा छ र?” गीतको पङ्क्ति टिपेर जवाफ बनाइदिन्छ ऊ।

“फेरी त्यही निराशा? त्यही उदासी?” म प्रश्न गर्छु।

“जिन्दगी नै आखिर त्यस्तै बनिदिएको छ” ऊ फेरी आफ्नै तालले जवाफ दिन्छ।

होटलकी दिदी चियाका कपहरू लिएर आउँछिन्। बाफ उड्दै गरेका कपहरू टेबलमा बस्छन्। चियाको सुगन्ध फोक्सोसम्मै पुग्छ। मुसुक्क मुस्कानका मसिना धर्काहरू छोड्दै जान्छिन् उनी। कत्ति मिठो मुस्कान ! यी दिदी चिया बेच्छिन् कि मुस्कान? मेरो दिमागमा अचानक उट्पट्याङ प्रश्न जागिदिन्छ।

“के एक्लै–एक्लै मुस्काउनुभ’छ?” हकार्ने तालले सोध्छ ऊ। थाहा छैन कतिबेला मुस्काइ पनि सकेछु।

“यी दिदीको मुस्कान खुब मिठो छ। चिया बेच्छिन् कि मुस्कान?” मनको खुलदुली टेबलमा राखिदिन्छु।

“केही होइन जिन्दगी बेच्छिन्” त्यस्तै रुखो जवाफ दिन्छ ऊ।

“तपार्इंसँग त के कुरा गर्नु?” म झर्किन्छु। अनि चुप लाग्छु। ऊ पनि केही बोल्दैन। सित्तैमा मौनता होटलमा छिर्छ। चियाको वाफ सुँघ्छ। कतिखेर जान्छ?

“म मौनतामा अल्झिरहेको एउटा जीवन…” ओम विक्रम विष्टको पप आवाज होटलको थ्री पिसबाट वायुमण्डलमा प्रवाहित हुन्छ।

“रिसाउनुभो क्या हो?” सोध्छ ऊ।

“होइन” टाउको हल्लाएर जवाफ दिन्छु म।

“जिन्दगी यस्तै छ हेर्नोस्। हामीजस्ता साधारण मान्छेहरू जिन्दगी बेचेर बाँच्छौं बुझ्नुभो? अनि फेरी जिन्दगी खोज्दै भड्किरहन्छौं” चियाको चुस्की लिंदै एकोहोरो बोल्छ ऊ।

“मेरै जीवन हेर्नोस्। आखिर उही त हो। के के न पाइन्छ भनेर जिन्दगी बन्धकीमा राखेर विदेश गएँ। के पाएँ? सबैले भन्थे जिन्दगी त परदेशमा छ। होइन गुरु होइन। हो, केही पैसा छ। केही रहरहरू छन्। तर त्यहाँ जिन्दगी छैन। जिन्दगी भनेको पैसा होइन बुझ्नुभो। जिन्दगी भनेको नयाँ भर्सनको मोबाइल पनि होइन। जिन्दगी भनेको नयाँ घडेरी, नयाँ घर पनि होइन। जिन्दगी के हो त्यही त थाहा छैन। तर, जिन्दगी भनेको यो भौतिक सुखसुविधा होइन के। अहँ हुँदैहोइन।”

चियाको कप उठाउँछ। त्यो अघि नै रित्तिइसकेको छ। टेबलमै राख्छ। यसो सोच्छ, फेरी बोल्छ, “जिन्दगीको खोजमा हामी थुप्रै–थुप्रै सपनाहरू देख्छौं। राम्रो ठाउँमा नोकरी गरौंला। थोरै समयमा धेरै कमाउँला। आमाको इच्छा पूरा गरौंला। बाको हातमा केही पैसा राखिदिउँला। बहिनीका सबै रहरहरू पूरा गरौंला। अनि गाउँकी सबैभन्दा राम्री केटी बिहे गरौंला। त्यो छे नि…….. सपना चोरेर लैजान्छे नि……..त्यसलाई विपना बनाउँला। विना कुनै सङ्कट, विना कुनै व्यवधान बाँचौंला। त्यो गीतमा भन्छ नी– ‘झिलमिल ताराहरूमुनि एउटा घर बनाउँला’। हुन्न गुरु केही पनि हुन्न। तपार्इं जिन्दगी बन्धकी राखेर जानुहुन्छ। तर जिन्दगी लिलाम भइसकेको हुन्छ बुझ्नुभो? तपाईंले कहिल्यै आमाको रहर पूरा गर्न सक्नुहुन्न। बाको हातमा दुई पैसा राखिदिन सक्नुहुन्न। बहिनीलाई एकजोर नयाँ कपडा किनिदिनुपर्‍यो भने सातपटक सोच्नुपर्छ। अनि त्यो सपना छ नि तपाईंको त्यो त पानीको फोकाभन्दा पनि चाँडै फुटिसकेको हुन्छ। सपना नै फुटिसकेपछि जिन्दगी कहाँ रहन्छ भन्नुस त? तर पनि तपाई जिन्दगी खोज्नुहुन्छ। खोजिरहनुहुन्छ……….”

चियाको गिलास नचाउँदै चुप लाग्छ ऊ। यस्तै हो। सँधै यस्तै भनिरहन्छ।

ऊ……….। गाउँको होनहार केटो थियो। सपनाहरू प्रशस्त थिए उसँग। सपनादेख्न पैसा लाग्दैन नि त। त्यसैले सपना देखिरहन्थ्यो ऊ। तर उसको सपना पूरा हुने कुनै छन्दबन्द थिएन। घरको एक्लो छोरो। उ मुनि एउटी बहिनी। परिवार नियोजनको पम्पलेटमा बनाएको चित्रजस्तै एक छोरा, एक छोरी। सानो उसको परिवार। तर सुखी थिएन। झुट परिवार नियोजन।

सुख खुब खोज्यो उसले तर भेट्टाएन। स्कुलमा कविता सुनाउँथ्यो–

सुख भन्छन्, खै कहाँ छ खोजिरहेछु
सुखको प्यासमा थाहा छैन कुन बाटो छोडिरहेछु……

कसैले भनिदियो सुख समुद्रपारी छ। तर उसका सपनाहरू प्रशस्त थिए। डाक्टर बन्नेछु। कसम खाएको थियो नी। कक्षाको तगडा केटो थियो। अप्सनल म्याधको सप्पै हिसाब कण्ठै थियो। विज्ञानका सबै सिद्धान्त जिब्रोको टुप्पोमै थियो। तर डाक्टर बन्न पढ्न जानेर मात्र हुन्थेन। रकम चाहिन्थ्यो। त्यो उसँग थिएन। उसका बासँग पनि। बिचरा बा। जिन्दगीभर आसामको कोइलाखानीमा काम गर्दागर्दै आफै कोइलाजस्तै भइसकेका थिए उनी। कहाँबाट होस् छोरोलाई डाक्टर बनाउने पैसा। त्यसैले सुखको खोजीमा समुद्रपारी पुग्यो ऊ। सुखकै खोजमा दुःख पायो। तर फर्किदा पनि सुख ऊसँग थिएन। एयरपोर्टमा विमान ओर्लिंदै गर्दा निष्कर्ष निकाल्यो उसले–सुख र जिन्दगी एउटै हो।

आउँदा केही पनि थिएन उसँग। हो, विदेश जाँदा लागेको ऋण तिरिएको थियो। भत्किन लागेको घर पक्की भएको थियो। तर उसकी सपना अर्कैकी विपना भइसकेकी थिई। सर्टिफिकेटमा पोको परेर बसेको उसको अर्को सपनामा ढुसी लागिसकेको थियो।

त्यो दिनदेखि अचेल ऊ सहरमा छ। खोजिरहेछ। कुन्नि के खोजिरहेछ? बेलाबेलामा भन्छ–जिन्दगी खोजिरहेछु। कहिले भन्छ– अब फेरी विदेश जान्छु र अर्को जिन्दगी लिएर आउँछु। कहिले भन्छ– होइन, यहीं केही गर्छु र नयाँ जिन्दगी बनाउँछु। उफ् ! कति ठूलो खोज हो उसको? केही पनि भेट्टाउँदैन।

“थाहा छ तपार्इंलाई?” अघिदेखि मौन मलाई कोट्याउँछ ऊ। म इशाराले सोध्छु – के?

“मलाई अचेल लाग्न थालेको छ हाम्रो जिन्दगी त शासकहरूको खल्तीमा पो रै’छ” बोल्छ ऊ।

“कसरी?” म कोट्याउँछु।

“यो देशमा म जस्तै जिन्दगी खोज्ने युवाहरू कत्ति छन् थाहा छ तपाईलाई? लाखौं छन्। जिन्दगीकै खोजमा कत्ति युवाहरू विदेशिएका छन्। कत्ति विदेशी जेलमा सडिरहेछन्। कत्ति दलालले ठगेर विदेशी भूमिमा कहिले कता कहिले कता भाग्दै हिंडिरहेछन्। कत्ति युद्धमा गए मारिए। मेरा हजुरबा विश्वयुद्धमा गएका थिए रे। जिन्दगी खोज्नै त गएका थिए। फर्किएनन्। मेरा बाले आसामको कोइलाखानीमा खुब खोजे तर कोइलामात्रै पाए। जिन्दगी पाएनन्। अनि म………। जिन्दगी खोज्दै भड्किइरहेछु। के मैले कुनै अपराध गरेको थिएँ? गुरु बाँच्नु नै यदि अपराध हो भने त के भनौं र? अरु अपराध गरेजस्तो लाग्दैन। पढ्न पनि टाठै थिएँ। मेहनती छु। अहिले पनि तपार्इं मलाई आराम गरेर बसेको देख्नुहुन्न। तर शासकहरू सधै फाइदामा छन्। तिनीहरूको टाउको दुख्नुहुन्न विदेश जान्छन्। तिनको घरमा कहिल्यै अभाव हुँदैन। तिनीहरूको सधंै उन्नति हुँदै जान्छ। तर हाम्रो हुँदैन किन? किनभने हाम्रो जिन्दगी पनि उनीहरूले लिलाम गरेर लगेका छन् र हामीलाई बेचिरहेछन्। बुझ्नुभो?”

मैले के बुझ्ने? म त मात्र सहमत थिएा। मौनताले सहमति जनाइरहें। चियाको खाली गिलास टेबलमा फिनिन्न नचाउँदै बोल्यो ऊ, “बेला–बेलामा त यस्तो लाग्छ। यो शरीर हाडमासुको नभएर, बारुदको हुनुपर्ने। ग्रिनेड फुटेजस्तो डुम्म पड्किन त हुन्थ्यो।”

(२०७० साउन २५)

को हुँ म?

हिंड्दा हिंड्दै रोकिन्छु म। टक्क अडिन्छु। सोध्छु आफैलाई, “को हुँ म?”

चौबाटोमा एकाएक अस्तित्वचेत खडा भइदिन्छ।

……….

बर्टौली बजारको मिलनचोकमा छु म। पुरानो हो यो बस्ती। इतिहासको किताबमा महत्वको पद बोकेको छ यो बस्तीले। यहीं त हो अङ्ग्रेजहरूले पहिलोपल्ट आँखा गाडेको। यहीं त हो वीर उजिरसिंहले बेलायती साम्राज्यवादलाई धूलो चटाएको। यहीं त हो नेपाल–अङ्ग्रेज युद्धमा विजयको शिलालेख कोरिएको। तर त्यो तिनाऊपारिको बजार हो। साँचो बर्टाैली त त्यो पो हो। अहिले जहााछु म, त्यो खस्यौली हो। समयले बर्टौलीलाई बुटवल बनाइदिएको छ। बटौली बजार– पारि बुटवल भएको छ। खस्यौली– वारी बुटवल।

बर्टाैलीको बजारमा पहिले नून लिन आउँथे रे हाम्रा बाजेहरू। चुरेटाको दोकानमा विश्वयुद्धबाट बाँचेर फर्केका लाहुरेहरू चुरा र धागो किन्थे रे आफ्ना कान्छीहरूको निम्ति। पहाडका गाउँहरूबाट घ्यु बटुलेर यहीं ल्याई जम्मा गर्थे रे घ्यु व्यापारीहरू। यहीं थियो भट्टी र भूपि शेरचनले भनेको ‘मांसाहारी प्यार’। थाहा छैन, कति इमान र कति धेरै बेइमानको जगमा बनेको छ यो सहर?

थाहा त केबल तिनाऊलाई छ। कति तन्नेरी गएका थिए यही बाटो गरेर विश्वयुद्धको धावैमा? कति फर्किएनन् मलायाको धावाबाट? तिनाऊलाई थाहा छ। हो, उसैलाई थाहा छ, कति कान्छाहरूले कान्छीहरूलाई दिएको वचन पूरा नगरी यो संसार छोडे। कति गल्लावालहरूले झुक्काए र फसाए गाउँका तन्नेरीहरूलाई। अनि कति कान्छीहरूको सिउँदो पखालेर बग्यो तिनाऊ? उसैलाई थाहा छ। इतिहासको कथा, व्यथा, आँसु र सायद केही हाँसो बोकेर बगिरहेछ तिनाउ। त्यसैको छेउमा उभिएको छ सहर। सहरमा अहिले म छु। सोधिरहेछु आफैलाई– को हुँ म?

हजारौं वर्ष पहिले यहींको जङ्गलमा हिंडेका थिए रे अहिलेका मान्छेका पुर्खा रामापिथेकसहरू। सिद्धबाबाको पहाडमा भेटियो तीमध्ये कसैको बंगारा। तिनीहरूको अस्तित्व प्रमाण। के कुनै रामापिथेकसले सोध्यो होला आफैलाई– को हुँ म?

……..

केही वर्ष पहिला म ओर्लिएको थिएँ यो सहरमा। केही सपनाहरू झोलामा बोकेर। दुईचार किताबहरू थिए मसँग, पढ्दापढ्दै आँसु चुहाएको। केही थिए पढ्दापढ्दै मनभित्र मसाल सल्किएको। एउटा डायरी थियो, सपनाको अभिलेख राखेको। दुईचार रङ्गीन कलमहरू थिए, साथीहरूले उपहार दिएको। मनभरी महक थियो गाउँको, जुन अझै पनि भित्रभित्रै सुवासित भइरहन्छर आफैसँग थियो छट्पटिरहने, बुर्कुसी मारिरहने मन।

सहिद देवीलालको आलो बलिदानमा उम्लिरहेको समय थियो त्यो। उम्लिएको माटोमा मन अडाएको थिएँ मैले। भनेका थिए आफन्तहरूले– “दायाँ, बायाँ नगर्नु, फेरी देवीलालजस्तै होलास्।” धम्की थियो त्यो उपदेशभित्र। देवीलालको बलिदान तिरेर परिचय पत्रको छुट पाउन सबै तयार छन्। तर देवीलाल बन्न किन कोही पनि तयार छैन? मनभित्रभित्रै प्रश्नको करेण्ट बग्थ्यो। र, सायद कताकता देवीलाल बन्ने अर्को सपना अङ्, कुराउँथ्यो। होइनभने किन हरेकपल्ट मूल्यवृद्धिको समाचार सुन्दा मनभित्र ज्वालामुखी फुट्थ्यो?

क्याम्पसको ड्रेसमा गाडीका सिसाका टुक्राहरू कति छन्? एकदिन समय निकालेर हिसाब गर्नुछ। हिसाब गर्नुछ, प्रहरीको अश्रुग्याँसले कति लिटर बगाएको थियो आँसु? हिसाब गर्नुछ, ढाडमा, खुट्टामा, टाउकोमा भाग्दाभाग्दै पनि कतिपटक बर्सिएको थियो प्रहरीको लाठी? हिसाब गर्नुछ, कतिपटक प्रहरीको भाग दौडबाट बच्न छिरेकोबेला कुकुर लगाइदिएका थिए मान्छेहरूले। अनि दिनुछ धन्यवाद जसले खनाएका थिए बाल्टीका बाल्टी पानी अश्रुग्यास समाउन दौडिंदा ध्वस्त भएको केटालाई। एकपटक बसेर सोच्नुछ, पत्रिका बेच्दा कति पैसा जम्मा भएको थियो? अनि खोज्नुछ टुक्राटाक्री कागजमा लेखेको आन्दोलनको कविता। ओहो ! गाउँबाट बोकेर ल्याएको सपना त झोलाबाट ननिकाल्दै सडिसकेछ। समयको मैदानमा मान्छेका सपनाहरू खेलाडीको हात परेको भकुण्डोजस्तै दिशा फेरि रहँदारैछन्।

केही सम्झनाहरू छन्, मनको भित्री तहमा चप्किएर बसेका छन्। जति तान्यो निस्कँदै निस्किदैनन्। झोंक चल्छ र त लेखिदिन्छु– ‘सम्झना फिल्महलको कुर्सीमा कुनै मूर्खले टाँसिदिएको आलो चुइंङ्गजस्तै हो। जति तान्यो निस्कँदै निस्कन्न, मात्र तन्किरहन्छ।’

सम्भवतः तिनै सम्झनाहरू छन् र त म छु। तिनै सम्झनाहरू छन् र त भावनाका लहरहरू समुद्रको छालजस्तै मनमा बहिरहन्छन्। तिनै सम्झनाहरू छन् र त शब्द–शब्दमा पोखिने गर्छन्।

गाउँमा पुरानो अग्लोे घर थियो हाम्रो। ढुङ्गा माटोले बनेको, टिनले छाएको। बाजेको पालामै छाएको टिन खियाले रातो भइसकेको थियो। माथिल्लो तला हाम्रो पढ्ने र सुत्ने कोठा। दुईवटा खाट एउटा पढ्न, एउटा सुत्न। झ्याल खोल्यो कि आँखा पारी डाँडामा जान्थ्यो। डाँडामा चौकी थियो। चौकीमा सेना र प्रहरीहरू। त्यो चौकीमा एउटा बुढो लप्टेन थियो। त्यसको हरेक गफमा हाँसोको फोहरा छुट्थ्यो। सङ्कटकाल लागेको समय चौकीको वरिपरि बम गाडिएको थियो। त्यहीं बममा एकदिन एउटा स्याल बलिदान भयो। बम पड्किएको आवाज सुनेर दौडिएका थियौं हामी सबै केटाहरू। चौकी अगाडि उभिएर बुढो लप्टनले भनेको थियो, “तिमीहरू भाग्यमानी हौ केटाहरू। यो उमेरमै बम पड्केको सुन्न पायौ।” अहिले कहाँ होला त्यो लेप्टेन? जीवनको मजा लुट्दैहोला कि उहिले नै उसको छातिमा चढाइसकियो एक धर्को सिन्दुर र एकजोर चुरा? सोध्नुछ, खोज्नुछ। तर पो सोध्ने कसलाई? कुनैदिन त्यो लप्टनबारे लेख्नुछ।

झ्यालबाट एउटा सानो घरमा आँखा जान्थ्यो। खरले छाएको घर। पानी पर्दा त्यो छानामा फोहोरा छुट्थ्यो। खरको रंग बोकेर बलेसी बग्थ्यो पहेंलै भएर। त्यो घरमा बस्थिन् एउटी बुढी सुनार्नी आमा। अगेनामाथि पुरानो घिरम्लाको खोक्रो थियो। खोक्रोमा नुन राख्थिन्– ढिक्को नुन। एउटा माटोको सानो मटुलो थियो पानी भर्न। हरेक नागपञ्चमीमा हामी उनको घरमा नाग टाँसिदिन्थ्यौ। बाजेले हामीलाई नागको चित्र बनाउन सिकाइदिएका थिए। पाँच दिन अघिबाटै नाग बनाउन सुरु गर्थ्यौं हामी। टोलभरीको घरमा टाँस्न। ती सुनार्नी आमा हरेक नागपञ्चमीमा हामीलाई दुई/चार रुपैयाँको ढ्याक दिन्थिन् अरुले सुका पनि दिंदैनथे। ग्यास्ट्रिक नामक राष्ट्रिय रोग बोकेर उनले संसार छोडिन्। नमस्कार भन्दा दुईहात जुम्ली पारेर निधारमा पुर्‍याउने तिनलाई अहिले कसैले सम्झिन्छ होला कि नाइँ? एकदिन चित्र बनाउनु छ तिनको र टाँगिदिनु छ प्रतिक्षालयमा। भन्नुछ यो समाजमा एउटी यस्ती आइमाई थिइन्। तिनको मनमा करुणाको मूल्य नै थियो।

झ्यालबाट मूल सडक देखिन्थ्यो। सडक मोडिएको मोडमै ठूलो पिपलको बोट थियो। बुढो र पुरानो पिपल। मान्छेहरू भन्थे– हरेक मङ्गलबार राती बाह्र बजे त्यहाँ भूतले डराउन गर्छ। एउटा मङ्गलबार राती एक बजेसम्म हामी एक हुल केटाहरू भूत पर्खेर बसेका थियौं। तर भूत गायब। किन आएन? सोध्ने कसलाई?

बग्रेल्ती सम्झनाका थाकहरू छन्। निकालेर फाल्न खोज्यो निस्कँदै निस्कन्न। तिनै सम्झना बोकेर म हिंडिरहेछु सहरको सडकमा। ठिकै भनेका थिए क्वान्टम वैज्ञानिक इड्रिन स्रोडिङ्गरले– ‘मान्छेको जीवन सम्झनाको कुञ्जी हो।’ यदि मान्छेसँग सम्झिने मन हुँदैनथ्यो भने?

सहर सपनाहरूले बनेको छ। जिन्दगी च्याँखे थापेर मान्छेहरू सपना खोज्न आउँछन्। म तिनैको सपना पढ्न खोज्छु। लेख्न खोज्छु। ती भड्किन्छन् म लेख्छु। त्यसै भड्किएका होइनन्। जिन्दगीको सुख खोज्न तिनीहरूले अनेक दुःख गर्छन्तर भेट्टाउँदैनन्। सुख त कसैले चोरेर लगिसकेको छ। नखोस्दासम्म पाईंदैन।

सुखको खोजीमा भड्किरहेका ती मान्छेहरूले मनभित्र हजारौं भोल्टको करेण्ट दौडाइदिन्छन्। बाध्य हुन्छु अनि लेख्नबस्छु। तिनका कथाहरू।

दशैंको समय थियो। सहर गाउँ गइसकेको थियो। बुटवल, मिलनचोक, तिनकुनेनेर एउटी आइमाई तीनवटा आफ्ना सन्तान पछि लगाएर हिंडिरहिथी। घाम उसको निधारबाट पग्लेर चिउँडोबाट टप्किरहेथ्यो।

“भाइ, यो बाटो सिधै शंकरनगर जान्छ?” दक्षिणतिर औंल्याउँदै सोधीन् उनले।

“जान्छ” जवाफ दिएँ मैले।

“कति समय लाग्छ?”

गाडी पाउने राजमार्ग छोडेर भित्री बाटो छिरेकी उनलाई झण्डै १२ किलोमिटर बाटोको अन्दाज गर्दै भनें, “हिंडेरै जाँदा त दुई/अढाई घण्टा लाग्छ।”

“ए !” लामो सास फेरी उनले।

“गाडीमा जानोस् न” मैले सुझाएा, “मेनरोडमा पाइन्छन्।”

“पैसै छैन” उनी फुस्फुसाइन्।

“एकजनाको बीस रुप्पे त हो।”

“त्यहीं पनि छैन” उनको अनुहार निचोरियो।

उनको निचोरिएको अनुहारले मेरो कलमबाट मसी तप्काइदिन्छ। हुनसक्छ घरमा लोग्नेसँग झगडा परेर चाडपर्वको बेला माइत आएकी हुन् उनी। हुनसक्छ अनेक टोकसो र दुःख खप्न नसकेर हिंडेकी हन् आफ्ना सन्तान बोकेर। उफ् ! मान्छेको भविष्य कति अन्यौलग्रस्त छ। र तिनका सपनाहरू कसरी बिचल्ली परेका छन्। के दशैंको समय, चाडबाड हर्षले मनाउने रहर थिएन होला र तिनलाई?

……..

त्यस्तै एकदिन पसलमा थिएँ म, किनमेल गर्दै। शरीरमा पुरानो, खुइलिएको टीसर्ट–पाइन्ट भिरेको एकजना मानिस आए । उमेर त्यस्तै २८/३०को देखिन्थ्यो। भनै – “साहुजी, सहयोग गर्नुपर्‍यो। मेरो घर गुल्मी हो। गोरखपुरतिर हिंडेको। ‘तन्दुरी’ मिस्त्री हुा। बसमा पैसा खसेछ। एक रुप्पे पनि छैन। यसो सहयोग गर्नुपर्‍यो।”

“कति दिने त?” साहुजी च्याँठ्ठियो।

“२०/४० जतिसक्दो सहयोग गर्नुस् न। मान्छे बेला–बेला कस्तो मजबुर हुन्छ !” माग्दै हिंड्नुको पीडा उसको मुहारमा स्पष्ट झल्किरहेथ्यो।

“राती कति ठूलो पानी परेको?” मेरो अनुहारमा हेर्दै बोल्यो ऊ, “बन्द पसलको पेटीमा टाँसिएर बसे।”

शासकहरूले त्यो मान्छेको भविष्य लुटेर लगेका छन्। विदेशी होटलमा तन्दुरी पड्काउन बाध्य बनाएका छन्। आफ्नै देशमा पसिना बगाउन दिएका छैनन्। र उनी यसरी अनिश्चित भविष्य बोकेर भड्किरहेछन्। उनीबारे मैले किन नलेख्नु? किन नझक्झकाउनु मान्छेहरूलाई?

………

यस्तै त्यस्तै दृश्य देखिन्छन् सहरभरि। मनभरि आँधीहुरी चल्छ। युवाहरू देश छोडेर परदेशिन्छन् मुटु अरठ्ठिन्छ। शासकहरू अनेकथरि झुटा आश्वासन दिन्छन्, अनि मोजमज्जा गर्छन्। आक्रोशको आगो सल्किन्छ। अनि सोध्छु आफैसँगको हुँ म? यो सबै देखेर पनि चुप बस्न सक्छु। के म मरिसकें? होइन, म मर्न चाहन्न। म जीवित रहेको प्रमाण दिन चाहन्छु। मसँग एउटै हतियार छ र त्यो म राम्रैसँग उपयोग गर्ने प्रयास गर्छु। मेरो मनमा सल्किएको आगो तपाईंको मनमा पनि बाल्न चाहन्छु। हो म चाहन्छु हामी सबैको मनमा आगो सल्कियोस् र यो आगोले असमानताको/दासताको लङ्का जलाओस्। अनि फेरी कोही मान्छे पनि नभड्किउन। कोही पनि। म त वास्तवमा जीवनको सौन्दर्य लेख्न चाहन्छु। त्यसैले त जिन्दगीको कुरुप पक्ष जलाउन चाहन्छु। खरानी बनाउन चाहन्छु।

र त सोध्छु आफैसँग– को हुँ म? यो सब देख्दादेख्दै पनि मौन बस्ने? भोग्दाभोग्दै सहेर बस्ने? यो प्रश्न तपाई स्वयंलाई पनि।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *