लोक कथा : पुन र वनमान्छेको कथा

~जसबहादुर महतरा~

धेरै-धेरै पहिले बाजे-बराजुका पालामा हालको रिप गा.वि.स.मा पुनहरुको ठूलो बस्ती थियो । त्यस बस्तीमा रानी पुन, खानी पुन र गौ पुन नामका तीन व्यक्तिहरु विशेष प्रसिद्ध थिए । तिनीहरु सहोदर दाजुभाइ नै थिए । तीमध्ये रानी पुन मांसाहारी थियो । उसले भोक लागेको बेलामा गाई पनि खान्थ्यो । एकपटक ऊ बिरामी परेर बेस्सरी दुब्लाएको थियो तैपनि घरमा विभिन्न थरि काम भएकाले अरुले घरको काम गर्नुपर्ने हुँदा रानी पुनलाई नै गाई चराउनका निमित्त वनमा पठाइयो । उसले भुगाडेका वनमा गाई चराउन लग्यो ।

मध्यान्हको समय थियो । घाम टण्टलापुर रुपमा लागिरहेका थिए । गाईहरु हरियो घाँसमा आनन्दले चरिरहेका थिए । अकस्मात त्यहाँ एउटा डरलाग्दो वनमान्छे आयो र रानी पुनलाई समातेर आफ्नो ओढारमा लग्यो । त्यो ओढार बाक्लो वनको माझ र डरलाग्दो पहराको बीचमा थियो । ओढारमा पुरयाएपछि त्यसले रानी पुनलाई मारेर खाने विचार गरयो । यस्तो कुराले उ भित्रभित्रै बेस्सरी डरायो तापनि डरले मात्र केही हुनेवाला थिएन । उसले नम्र भएर त्यस वनमान्छेलाई भन्यो- “ठीकै छ, म तपाईंको आहार हुन्छु, तर यति बेला म साह्रै दुब्लो छु । मेरो शरीमा हाडछालाबाहेक केही छैन । त्यसैले अहिले नै मलाई मारेर खाँदा मान्छेको स्वादिलो मासु खाने तपाईंको चाहाना पूरा हुन सक्तैन । तपाईंलाई थाहै छ, यस्तो साह्रै अप्ठ्यारो पहरोबाट म भागेर जान सक्तिन । अतः मलाई केही दिन यहीं ओढारमा पालेर राख्नुस् र म मोटाएपछि आफ्नो इच्छाअनुसार धितमरुञ्जेल मेरो मासु खाएर रमाउन पाउनुहुन्छ ।”

आफ्नो ओढारमा परेको र उम्कन नसक्ने भएको रानी पुनको कुरा वनमान्छेलाई चित्त बुझ्यो । त्यसपछि मोटो मान्छेको स्वादिलो मासु खान पाउने लोभमा वन मान्छेले आफूलाई धेरै राँफा(रौं) भएको मन पर्छ भनी त्यस्तै शिकार ल्याउन भन्थ्यो र वनमान्छेले पनि त्यस्तै ल्याउने गथ्र्यो । रानी पुन मीठोखमीठो मासु खाएर केही मोटाउन थाल्यो र त्यसलाई देखेर वनमान्छे पनि खुशी हुँदै झन् बढी भुवावाला शिकार ल्याउन थाल्यो । रानी पुनले जनावरको मासु खान्थ्यो र रौंको डोरी बाटेर दिनभर ओढारमा बस्थ्यो अनि वनमान्छे आउने वेलामा त्यसलाई कुनामा लुकाउँथ्यो । वनमान्छे पनि छिटो आउनुभन्दा ढिलो आउँथ्यो र ढिलो आउनुभन्दा छिटो आउँथ्यो । यस्तो बुझेको रानी पुनले पनि सोहीअनुसार अनुरोध गथ्र्यो । यस किसिमले चतुरयाइँपूर्वक वनमान्छेलाई छक्याउँदै र उसैले ल्याएको शिकारमा रौंबाट डोरी बाट्दै त्यस पहराको फेदसम्म पुग्ने डोरी बाट्यो र त्यसको भोलिपल्ट रानी पुनले वनमान्छेलाई छिटै आउन भनेर अनुरोध गरयो ।

अर्को दिन सधैंझैं शिकारका निमित्त वनमान्छे सबेरै ओढारबाट निस्किएपछि रानी पुनले आफूले बाटेको डोरीलाई बलियो गरी ओढारका किलामा बाँध्यो र सोही डोरी समाउँदै पहराको तल मैदानमा झरयो । ठीक त्यसैबेला वनमान्छे ओढारमा आइपुग्यो र रानी पुन तल भाग्दै गरेको देख्यो । ऊ पनि सोही डोरीबाट छिटो तल ओर्लिएर रानी पुनलाई पक्डन पछि-पछि दगुर्न थाल्यो । वनमान्छे आफ्ना पछि-पछि आउँदै गरेको चाल पाएपछि चलाख रानी पुनले गाउँको एउटा कुकुर फुकाएर छोड्यो । त्यो कुकुर भुक्न लाग्यो । अरु कुकुर पनि भुक्न लागे । रानी पुनले पनि “वनमान्छे आयो ।।।वन मान्छे आयो “भनी चिच्याउँदै गाउँतिर दगुर्न थाल्यो । उसको चिच्याइ सुनेका गाउँलेहरुले आ-आफ्ना कुकुरका डोरी फुकाइदिए । यसरी गाउँका कुकुरहरु फुकेर वनमान्छेका बाटामा जोडखजोडले भुक्न थाले अनि सबैले घेरेर टोकी उसलाई मारे ।

वनमान्छेका बन्धनबाट बडो चलाखी साथ फुत्किएर रानी पुन घर आयो । घरमा भने गाई चराउन गएको नफर्किएपछि अवस्य मरे होला भनी उसको मृत्यु संस्कार गरिसकेका थिए । क्रिया, कर्म र दानदक्षिणासमेत गरिसकेको मान्छे घर आएर सबै कुरा भन्दा पनि उसलाई सँगै राख्न घरकाले स्वीकार गरेनन् । घर पस्न र सँगै बस्न नदिएपछि रानी पुनले आफूले खाने थाल माग्यो । घरकाले त्यो थाल पनि उसैका नाममा पुरोहितलाई दान दिइसकेको बताए । अब भने रानी पुनलाई साह्रै नराम्रो लाग्यो । आफू भने कस्तो विपत सहेर पनि बुद्धिका सहाराले फुत्केर आउने, घरकाले भने मरयो भन्ने भएपछि ऊ पिरले त्यहीं मूर्छा परयो र मरयो । यस्तो अवस्था भएपछि बल्ल सबै पछुताए तर अब पछुताएर के गर्नू ?

-2008-06-21

(स्रोत : Freenepal)

This entry was posted in लोक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *