नियात्रा : एउटा अविस्मरणीय यात्रा

~पुष्पलता आचार्य~

२०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत गतिमा कुदाएँ ।आफ्नो माइती गाउँबाट ज्यामिरे खोलासम्म पुग्दा झमक्कै साँझ परिसकेको थियो । त्यस जङ्गलमा चराचुरूङ्गीहरू कराइरहेका थिए । त्यहाँ बाघ पनि आउन सक्थ्यो किनकी जङ्गल निकै घना थियो । अघिपछि त्यस जङ्गलको बाटो हिँड्न दिउँसै डर लाग्थ्यो । आज मलाई भूत प्रेतको डर छैन । न त बाघ भालुको नै । मनमा चिन्ता बढेपछि कसैको केही डरलाग्दो रहेनछ । बरू आफ्नै सन्तापले मनलाई डढाइरहन्थ्यो । उडाइरहेको यो मनको सन्तापलाई कम गर्ने प्रयासमा एउटा क्यासेट एल्बम झिकेर बजाएँ । मरूँ कि के गरू ? भइरहन्थ्यो । गीत बज्नथाल्यो ।

म त मर्छु क्यारे ….
तिमी धेरै वर्ष बाँच…
तर नभुल्नु मलाई …
राखिदिनु मलाई कतै …
तिम्रो मनको माझमा … ।

गीतका शब्दहरूले पहिल्यैदेखि घरिघरी रोइरहेको मनलाई झन् रूवाउन थाल्यो । हे शिरडीबाबा । मलाई किन यस्तो विपत्तिले घेर्दै छ ? मेरा आफ्ना भन्नेहरू पनि किन यसरी पराइको व्यवहार देखाउँदैछन् । मैले खेलेर हुर्केको आँगन आज मेरै लागि विरानो भयो । बाबा र हजुरआमाले फूलको थुँगासरी जतनले हुर्काएको त्यो मीठो बाल्यपन … तर आज मेरो जीवन यस्तो कट्मिरो टर्रो किन हुँदैछ बाबा ? सबैको भलो गरेर जीवन यापन गर्दा पनि मलाई किन तितो फल मात्र भोग्नुपर्छ ? अब यो गाउँमा म फर्केर आउन्न बाबा । फर्केर आउन्न । अब यतातिरको यात्रा नै अन्तिम हो बाबा । अँध्यारोमा नदेखिएको माइतीघरको धुरीलाई वाईवाई गरेर म सधैँका लागि त्यहाँबाट हिडेँ । शिशेखोलो दिउँसै डरलाग्दो झन् अँध्यारो थियो । गाडीको उज्यालोमा गाडीले आफ्नो बाटो नापिरहेको थियो । खोलाको जम्पिङको गाडी उफ्र्यो । गाडी उप|mँदा पछाडिको सिटमा मैले राखेको तस्विरका सिसाका प|mेमहरू छन्द्रङ्ग आवाज आयो । ती मेरी स्वर्गीय हजुर आमा र बाबाका पुराना तस्विरहरू थिए । एउटा तस्विर म र मेरा श्रीमान्को पनि थियो । ती तस्विरहरू मैले रूँदै रूँदै भित्ताबाट सबै एकैचोटि उखेलेर आफ्नो सुटकेसमाथि राखेको थिएँ । मैले त्यतिबेला सोचेँ मलाई माया गर्ने यिनै हुन् । जब मेरो घरमा स्थान छैन भने मैले यी तस्विरहरूलाई यहाँ किन छोड्नु पर्यो ? धमाधम ती तस्विरहरू त्यो विरानो बनिसकेको भित्ताबाट उखेलेको हुँ ।

योभन्दा पहिला म यसरी रातीमा रूँदै हिँडेको थिएँ न त अब फेरि कहिल्यै हिँड्नु पर्नेछ । पराइको डोलीमा बाबाले राखेर पठाइदिँदा यसैगरी रोएको थिएँ । आज आफ्नै डोलीमा बाबा हजुरआमा र पतिलाई एकैसाथ राखेर रूँदै रूँदै बाटो काट्दै छु । आज मेरा निम्ति दुई थोपा आँसु बगाइदिने कोही नभए पनि यी मेरा मरिसकेका अभिभावकहरूका तस्विर साथमा लिएर हिँड्न मात्र पाएकोमा पनि आफूलाई भाग्यमानी ठानेको छु ।

बाटो कठिनपूर्ण लाग्थ्यो सधैँ । ढुङ्गाका कापहरूमा गएर पटक पटक गाडी बज्रन्थ्यो । बाटोको रूपरेखा हेरेर बिस्तारै दायाँ र बायाँको बनौट मिलाई मिलाई चलाउनुपर्थ्यो कहिले खोलो तर्नुपर्थ्यो । कहिले ढुङ्गैढुङ्गाको चुलि चढाउनुपर्थ्यो त कहिले हिलो र खाल्डो जोगाएर हरेक मोडहरूमा हर्न बजाइरहुन पर्थ्यो तर यस रातको यात्रामा मलाई ती कुराहरूले कतै पनि बाधा पुर्याएका थिएनन् । न त ढुङ्गाहरूले अल्झाइरहेथ्यो न त उकालोले छेकिरहेथ्यो ।

सुभाष गौतमको रचना राजेश पायल राईको स्वरमा लिपिबद्ध गरिएका सुगन्ध एल्बमका गीतहरु यसरी बोल्दै थिए
‘दैव तैले दुनियाँबाट मलाई एक्लो पारी हालिस् नि
कस्तो जीवन दिइस्, जिउँदै मारी हालिस नि

यी गीतहरू सुनेर मेरो मन झन् धेरै मडारियो । आँखाबाट आँसु अझै थामिएका थिएनन् । गीतहरू नै छानी छानी बजाइरहेको थिएँ । सुभाष गौतमको सुगन्ध एल्बमकै अर्को गीत सुरेश अधिकारीको आवाजमा फेरि उस्तै बज्न थाल्यो । आफैँलाई मिल्ने ।
कस्तो होला म मर्ने दिन
मान्छेहरू होलान् कि नहोलान्
छाति पिटी भुईंमा लडेर
आफ्नाहरू रोलान् कि नरोलान्

गीतका हरेक शब्द र लाइनहरूले मलाई नै घोचिरहेका थिए । म झन्झन् भक्कानिँदै रोइरहेकी थिएँ । प्रमोद खरेलले मेरो मुटु नै छेड्ने गरी स्वर तानेर भाषा फिराई फिराई गाएका यी गीतहरूले मलाई फेरि पनि उही परिवेशमा अल्झाइरहृयो ।

त्यही पीडासँग खुसी साट्दा साट्दै मैले पनि कैयन दशक पार गरिसकेँ । जीवनसँग धेरै सम्झौता गरेको हुँ तर मेरो सम्झौतालाई कसैले न देखे न त पत्याउन नै सकेँ । सबैका सामु झुट्टा कहलिएँ म ।
‘जमाना छ झुटो साँचो कसले बोल्छ
यस्तै परे बाँच्नलाई ढाँट्न पनि सक्नुपर्छ

मैले न त झुठो बोलेरै बाँच्न सकेँ न त कसैलाई ढाँटेर नै हाँस्न सकेँ । त्यसैको भुल आज भोगिरहेछु । मैले ढाँट्न सकेको भए सबैका सामु राम्रो हुन्थेँ होला । झुठा बोली बोली मपाईंत्व प्रदर्शन गरेको भए सबैले मलाई माया गर्थे होलान् । मैले त्यसो गर्न नसकेकाले आज झम्के साँझमा आफ्नै माइतीको आँगनबाट चम्धारा रूँदै बाटो लागेको छु ।

“मैले भनेँ माइती माइती, मेरा भाइ बुहारीले भने किन आइथी ?”

माइती भनेको बाउ आमा भइन्जेल मात्र त हो भन्थे । साँच्चै रहेछ । मलाई जन्म दिने आमा त त्यहीँ हुनुहुन्थ्यो तर भएर के गर्नु ? आमाको बाध्यता र पीडालाई मैले राम्ररी बुझेकी थिएँ । उहाँ मौन र किंकर्तव्यविमुढ मुद्रामा त्यो स्थितिलाई पचाइरहनु भएको थियो । आमाको ममतालाई बुझ्दा-बुझ्दै पनि मैले आफ्नो जन्मथलोबाट बाहिरिनुपर्यो । मैले छोडेर आएकी ती मेरी आमाका गहभरि आँसुले बाटो छेक्लाझैँ गरी मनलाई एकतमास हुँडली रहृयो । मेरा बाबा र हजुर आमा बितेपछि मलाई त्यो आँगन सधैँका लागि विरानो भयो । तैपनि मैले त्यस माइती घर परिवारको सेवा गरिरहेँ सधैँ । आफ्ना छोरा छोरीको गाँस काटेर भाइ बहिनीलाई पोसेँ । आफ्नो घरको भत्केको छानो नटालेर भाइलाई नयाँ घर ठड्याइदिएँ तर आज खै मैले के पाएँ । आफँैले बिहे गरेर भित्र्याइदिएकी बुहारीले आज मलाई चिनिन् । यस्तो दिन पनि आउला भन्ने कहिल्यै सोचेको थिइन मैले । मुखियाकी छोरीको सान कत्रो थियो । आँगनमा छोरी खेल्दा गोडामा ठेसलाग्ला भनेर बिहानभरि आमाले आँगनको डिलसम्म गोबर माटोले सधैँ लिपिरहनुहुन्थ्यो । छोरलाई खेल्दा गोडामा ठेसलाग्ला भनेर बाबाले सानो ढुङ्गो देखेपछि “त्यो ढुङ्गो उक्काएर फाल । नानुलाई गोडामा लाग्छ ।” भनेर उक्काएर फाल्न लगाउनुहुन्थ्यो । आज मेरो मुटुमा यसरी चोटलाग्दासम्म मलाई बुझिदिने कोही छैन ।

कहिले गाडी अन्धकार व्याप्त बाटोको किनारा लगाएर केही बेर सुस्ताउँथे । कहीँ जाने हतार थिएन । छिट्टो पुग्नलाई आत्तिएर कुद्नुपर्ने थिएन । “कहिले पुगौँला र कहिले भेटौँला ?” भनेर हतारिँदै गएको ठाउँबाट त यसरी निरास भएर र्फकनुपरेको छ भने अब केको आसा अनि के भरोसामा कसको जाउँ ?’

अलिकति भिरको बाटो आयो कि गाडी त्यतै मोडेर गाडीसँगै तल फ्याक्किउँ जस्तो लाग्थ्यो । त्यस्तो निर्णय गरेको बेला फेरि त्यही अघिको गतिले त्यसो नगर्न भने झैँ लाग्थ्यो ।
‘जीवन हो सङ्घर्ष बाँच्न सक्नुपर्छ
पीडासँग खुसी साट्न सक्नुपर्छ ।’

त्यो गीतका पङ्क्तिहरूले पनि त्यतिबेला मलाई बाँच्न प्रेरणा दिएकै हुन् ।
‘चोटहरू सबलाई उस्तै उस्तै पर्छन् ।
कोही हाँसेर बाँच्छन्, कोही रोएर मर्छन् ।’

यस गीतका हरफहरूमा जीवन दर्शन देखेँ मैले आफूलाई निडर, निर्भय भएर बाँच्ने प्रेरणा भेटेँ । रोएर किन मर्नु ? हारेर किन बाँच्नु ? मर्नु छ भने हाँसेरै मर्नु, बाँच्नु छ भने जितेरै बाँच्नु । यी विचारहरू पलाएर आए तर मन न हो । एकैछिन बुझेको मन फेरि आकाशको कालो बादलसरी मडारिएर आइदिन्छ ।

“अब यो बाटो कहिले हिँड्छु होला र म ? यो बाटो हिँडनु अब यत्तिकै हो । पहिला पहिला गाडीको बाटो नखुल्दासम्म छ घण्टासम्म लगाएर पनि महिनै पिच्छे घर र माइती गरिरहेँ । कहिले काखभरी छोराछोरी च्यापेर कहिले झोला र पोका पुन्तुरा बोकेर । पछि मोटर बाटो खुल्यो । कहिले हल्लिँदै र मच्चिँदै ट्याक्टरमा खाँदाखादा गरेर ज्यानै थिलथिलो हुने गरी हिँडियो । त्यसरी हिँड्न पनि ठाउँ नपाएर मान्छेहरु ठेलमठेल गर्दै थरीथरी काम्दै हातै हालुलाझै गरी झगडा गरेका हुन्थे । पछि जिप र अन्य गाडी हिँड्न थाले, अलि सजिलो भयो । अहिले त बस चल्छन् । कति सजिलो छ कति । अझै त्यतिमात्र सुविधा नभएर यो बाटो पक्की सडक पो हुँदैछ । कति सजिलो होला पक्की भएपछि ।पिच भएपछि त सलल बगेर माइत पुगिन्थ्यो तर कठै यी त मेरा कल्पना मात्र हुनेभयो । बाटो त पिच सडक हुने भयो तर मेरो माइतीघर नै भत्किएपछि अब म यो पिचैपिचका बाटो कहाँ जानु ।

आफ्नै रगत आफ्नै वंशले पनि यतिविघ्न पराइ सम्झनु ।

गाडी गुडिनै रहेछ । गीतहरु बजिनै रहेछ । म गीतको एल्बम अर्कै फेर्छ र आफूलाई मनपर्ने अर्को गीत लगाउँछु जुन गीतले मेरो जीवनलाई आँकलन गरिरहेछ ।
‘मलाई यो जिन्दगीले चोट दियो गनिगनि’
यसरी कहिले कुनै चोट कहिले कुनै चोट पालैपालो भोगिरहेछु
मैले मलाई माया गर्नेहरुले पनि मलाई पालैपालो छोडेर गए ।

बाँकी रहेका आफन्तहरुका नजरमा म सधैं दोषनै देखिरहें यो कस्तो भाग्य हो ? यो कस्तो नियति हो । पीडाको भार यो व्यर्थ जिन्दगी चाहेर मात्र पनि बिसाउन सकिरहेको छैन । राति भइसकेको थियो । बाटो वारिपारिमा धेरैजसो घरहरुमा बत्ती निभिसकेका थिए । म सोच्दै थिएँ म आज कहाँ जाने होला । काठमाडौँ घर फर्कौँ कि अन्त कतै जाउँ ? चितवन, पोखरा यस्तो राति ? यस्तो तनावमा आदि इत्यादि कुराहरु मनमा जति खेल्न थाले । त्यतिनै गाडीको गतिलाई बढाउँदै गएँ । एकपटक मनमनले पुकारें । हे साइबाबा मलाई रक्षा गर्नुहोस् । गाडी झन् बत्तियो र एकैछिनमा मेरो गाडी एउटा सुनसान ठाउँको भड्खालोमा दुर्घटनाग्रस्त हुनपुग्यो ।

(स्रोत : शनिबार, गोरखापत्र – जेठ १५, २०६७)

This entry was posted in नियात्रा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *