कथा : एउटा अपूरो कथा

~विक्रम तिमिल्सिना~Bikram Timilsina

‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’

‘किन र नानु ?’

‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’

‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’

‘अहँ छैनन्, अझ तपाईजस्ता त छँदै छैनन् । त्यसैले त कर गरेकी । कोशिस गर्छु त भन्नुस् ।’

‘हुन्छ बाबा, म सकेसम्म यहीँ, तिम्रै घरमा बस्ने छु ।‘

‘तर दादा, यो घरलाई ‘तिम्रो घर’ नभन्नुस् न, प्लीज ।’

आज सम्झँदैछु । चार वर्ष पुगिसकेछ सोफियासँग यो कुराकानी भएको पनि । तर भर्खरैजस्तो लाग्छ मलाई । ओजले भरिएको उसको चमकपूर्ण मुहार मेरा आँखाअघि अझै ताजा छ । यद्यपी उसलाई नदेखेको पनि पुरै एक वर्ष भैसकेछ ।

बेलाबेलामा उसको झझल्को आइरहन्छ । मेरो बेडरुमबाहिरबाट घर पछाडिको बगैँचामा जाँदाआउँदा उसले बोलेको मीठो उच्चारण ‘विमल दादा’ मेरो मनमा ठोक्किइरहन्छ पटकपटक । ऊ टाढिएपछिका कयौँ रात्रीकालीन् क्षणहरु मैले उसका त्यसपछिका सम्भावित दैनिकीहरुमा कल्पँदै बिताएको छु ।

सोफिया । करिब १६÷१७ बर्षकी चञ्चल केटी । कालो वर्णकी, निकै सुन्दर थिई ऊ । ऊ हाँस्दा उसको मुहारले बोक्ने चमक पूर्णिमाको जून बिर्साउनेखालको थियो । ठिक्क उचाईकी ऊ नहाँसी बोल्न जान्दिनथिई । तर परेश अंकलको अघि कसैसँग बोल्न र बोलिहाले पनि मुस्काउन पाउन्नथिई ऊ ।

मधेसबाट कमाउन भनी काठमाडौँ झरेकी थिई सोफिया । अझ भनौँ, झारिएकी । उसलाई उसकै बाबाले यहाँ परेश अंकलकहाँ ल्याइदिनु भएछ । उनी यो घरमा आइपुग्दा नाम्खान मात्र डेढ बर्षको थियो । त्यो सानो शिशुको हेरचाहदेखि घरको लगभग सबै काम उसले नै गर्नुपथ्र्यो । त्यही कामको बोझ हो वा अरु कुनै पीडा, बेलाबेलामा उसको मुहारमा सजिलै पढ्न सकिन्थ्यो ।

परेश गुरुङ्ग काठमाडौँकै कुनै नीजि कलेजका शेयरहोल्डर हुन् । उनकी श्रीमतिको नाम म अझै जान्दिन । उनी आवश्यक नपरी खासै बोल्दिनन् । त्यस्ता स्वभावका मान्छेलाई म पनि कामै नपरि बोलाई हाल्दिन । यतिसम्म थाहा छ, उनी कुनै ट्राभल एजेन्सीमा काम गर्छिन् ।

म यो घरमा सरेको एक साता भएको हुँदो हो । सनिबार थियो त्यो दिन । फागुनको दोस्रो साता भए पनि चिसो–चिसै लागेकोले म बाहिर घाममा बसेर भारतीय लेखक मुल्कराज आनन्दको कूली उपन्यास पढ्दैथिएँ । एक्कासी माथिल्लो तलामा घरै थर्किनेगरी हिन्दी गीत घन्किन थाल्यो । मैले सम्झिएँ, सोफियाबाहेक तीनैजना कतै घुम्न निस्केका थिए बिहानै । सोचेँ, भोल्युम घट्ला एकैछिनमा । तर ठ्याक्कै डेढ घण्टापछिमात्र त्यो उग्र ध्वनी रोकियो । मैले धेरै केही सोचिन, बरु अलि शान्ति महशुस गर्नथालेँ ।

‘विमल दादा !’ एक्कासी बोली सोफिया । घरेलु कामदारको रुपमा कूली मुनूको शामनगर बसाइ र उसले त्यहाँ बिताउनु परेका कष्टपूर्ण क्षणहरुमा हराएको थिएँ म, झसङ्ग भएँ । ऊ अँगालोभरि धुने लुगा बोकेर ओर्लिएकी थिई ।

‘अघि घरै थर्किनेगरी के गरेकी हँ सोफिया ?’ मैले सोधिहालेँ ।

‘रमाइलो गरेकी नि दादा,’ उसको जवाफ थियो ।

‘त्यस्तो ढाङ्ढाङ्ढुङ्ढुङ् गरेर पनि रमाइलो हुन्छ त !’ मैले थपेँ ।

‘अरु बेलामा मनलागेजस्तो बोल्न पनि पाइन्न । बल्लबल्ल चान्स पा’थेँ ।’ उसले हाँस्दै भनी ।

‘अनि के गरेकी त ? भनन ।’

‘हिन्दी गीत लगाएर डान्स गरेकी ।’

‘तिमीलाई नाँच्न आउँछ र ?’

‘नाँच्न, गाउन कत्ति मन लाग्छ,’ दुःखी हुँदै बोली ऊ, ‘तर के गर्ने दादा ? यहाँ बोल्न त डराउनु पर्छ । म घरमा निलिमासँग कत्ति नाच्ने, गाउने गर्थेँ । नभेटेको पनि पाँच छ वर्ष भैसक्यो अब त । म कत्ति सम्झन्छु उसलाई । उसले पो बिर्सी होली ।’

‘अनि को हो नि निलिमा ?’

‘मेरो स्कूल फ्रेन्ड क्या । हामी कत्ति रमाइलो गथ्र्यौँ घर अनि स्कूलमा ।’

‘अनि तिम्रो नामचाहिँ कसले राखिदिएको, याद छ तिमीलाई ?’ उसको घरायसी पृष्ठभूमी र उसको नामबीचको दूरी कोट्याउने कोशिस गरेँ मैले ।

‘मैले सानैमा पढेको स्कूलको इङ्गलिस् टिचरले ।’

‘सोफिया, तिमीले कति कक्षासम्म पढेकी छौ ?’

‘पढेकै छैन दादा,’ लजाउँदै बोली ऊ ।

‘मलाई सबै नढाँटी भनन,’ उसको व्यवहार, चालचलन र उसले भोगेको पारिवारीक पृष्ठभूमीबीच तादात्म्य नभेटेर सोधेँ मैले ।

‘ढाँट्नुपर्ने नै के छ र मसँग ?’ सोफियाले निराशामा जिज्ञाशा थपेर बोली, ‘तर दादा, तपाई मेरोबारे किन सोध्नुहुन्छ ? म अर्काकी घरमा काम गर्ने मान्छे । तपाई राम्रो काम गर्ने ठूलो मान्छे ।’

‘हैन, ठूलो र सानो मान्छे भन्ने कसले सिकायो हँ तिमीलाई ?’

‘परेश अंकलले ।’

‘अँ साँच्ची, तिमी आफूभन्दा सानो नाम्खानलाई किन ‘हजुर–तपाई’ भन्छौ ?’

‘मजस्तो काम गर्नेले सानो ठूलो सबैलाई रेसपेक्ट गर्नुपर्छ रे , परेश अंकलले भन्नुभा ।’ थोरै हाँसी ऊ, मैले व्यङ्ग बुझेँ ।

‘अनि नाम्खानले तिमीलाई चाहिँ ‘तँ’ भनेपनि हुन्छ रे !’

ऊ केहि बोलिन, मात्र टोलाइरही ।

सोफिया धेरै वसन्त खाएकी केटी थिइन । तर पनि उसले कुरा गर्ने तरिका, उसको शब्दचयन, अनि अनुहारको हाउभाउ देखेर म पटकपटक छक्क पर्थेँ । मधेसमा जन्मेकी केटी, उसले उताको धेरै बिर्सीसकेकी थिई । लवज पूरै नेपाली आउँथ्यो । म छक्क त तब पर्थेँ, जब ऊ फूर्तिका साथ अँग्रेजी शब्द मिसाई–मिसाई बोल्ने गर्थी । नाम्खानले राम्रो भनिने अँग्रेजी स्कूलमा पढेको प्रभाव उसमा पनि परेको रहेछ, मैले पछि थाहा पाएँ ।

अनि किन, नाँच्न पुग्यो र ओर्लेकी ? मैले उसलाई बुझ्नु थियो, त्यसैले थपेँ ।

‘पुरै एक हप्ताको प्यास कहाँ मेटिनु ? तर के गर्नु, दादा ? अंकलहरु आउने बेला भैसक्यो । घरको सबै काम बाँकी छ ।’

ऊ धेरै बोल्न चाहन्थी मसँग । म बुझ्थेँ । म यो पनि बुझ्थेँ कि उसलाई सबैबाट डर थियो । अगाडि घरको पसलेले अंकललाई भन्देलाकी भन्ने डर थियो । वरिपरि घरमा अन्य मान्छे देखिए पनि उसका बोली बन्द हुन्थे । साँच्चै भनौँ भने उसलाई मान्छेसँग डर थियो । हर मान्छेसँग, ऊ आफैँ बाहेक । अनि थोरै अपवाद म पनि थिएँ कि !

ऊ लुगा धुन थाली । म उपन्यासमै केन्द्रित भएँ । तर उपन्यासभरी मैले उसलाई भेटिरहेँ । भारतमा उपनिवेशको अन्त्य र औधोगिकीकरण सुरु भएपछिको पृष्ठभूमीमा श्रमिकवर्गले भोगेको कष्टकर जीवनलाई बोल्ने प्रतिनिधिपात्र मुनुमा मैले सोफियाको धेरै अंश पाएँ । म उपन्यासभरी सोफिया पढ्दैगएँ । तर त्यसबेलासम्म उसको जिन्दगी, मैले बुझेसम्म, त्यति कारुणिक थिएन जति मुनुको थियो ।

समय बित्दैगयो । म प्रायः बिहान घरबाट निस्केपछि बेलुकी ढिलामात्रै फर्कन्थेँ । म घर आइपुग्दा सोफिया नै हुन्थी गेट खोल्ने धेरैजसो । त्यसैबेला म सोध्ने गर्थेँ, ‘ठिक छौ सोफिया ?’ तौलिएर मुस्काउँदै उसले ‘ठीकै छ, दादा’ भन्दा उसका नजर माथिल्लो तलातिर हुत्तिन्थे प्रायः । कहिलेकाहीँ मौका मिलिहाले ऊ मसँग कुनै न कुनै पिडाको पोको खोलिहाल्थी । म ध्यान दिएर सुनिदिन्थेँ, र सकेसम्म राम्रो सुझाव दिन्थेँ पनि । यसैगरी दिन, महिनाहुँदै बर्ष पनि बित्दै गए ।

झन्डै पाँच बर्ष बितेको हुँदो हो, एक दिन बिहानै मेरो कोठा बाहिरबाट ढोकाको ढ्याकढ्याकसँगै मिसिएको ‘विमल दादा’ बोल्ने एउटा दुखेको आवाज सुनेँ । मैले आऊ सोफिया, भित्रै आऊ भनेँ । ऊ बर्षिनै लागेको आकासजस्तै मुख लिएर भित्र पसी । म झस्किएँ ।
‘दादा……।’ मैले केही सोध्न नपाउँदै ऊ रोदनमा व्यथा बोल्न थाली । मैले सोचेँ, यौटी दुःखी छोरी उसको बाबाको अघि सदियौँदेखि दबाएर राखेको पीडाको पोको खोल्न खोज्दैछे । मानौँ पराइघरमा उसले जमाएर राखेको आँशुका हिमचुलीहरु माइतीसामू पग्लिँदैछन् र बग्दैछन् बर्षेभेलझैँ ।

सधैँ आउनैबित्तिकै, डरले सायद, जान हतारिने सोफिया आज आफ्नो पीडाबाहेक सबै बिर्सिएझैँ मअघि उपस्थित थिई । भुइँमा बसेर मेरो बेडमा टाउको ठड्याएकी थिई उसले । मैले पनि सबै बिर्सिएछु, उसका परेलीहुँदै गालाबाट गुडीरहेका आँशुका ढिक्काहरुसँगै । मेरा आँखाबाट पनि बगिसकेछन् पीडाका संकेतहरु । सोफियाले भनेपछि थाहा पाएँ ।

‘हैन, के भयो ? किन रुन्छ्यौमात्रै ? भन न । आखिर भन्नै त आएकी हौ ।’ मैले उसको आँसुको अर्थ बुझ्न खोजेँ ।

‘दादा, अब म यो घरमा नबस्ने भएँ,’ सुँक्कसुँक्क गर्दै बोली ऊ ।

‘किन घरै छोड्ने निर्णय गरेकी ?’

‘मैले जे गरेपनि अंकल रिसाउनुमात्रै हुन्छ ।’

‘अनि, उहाँ रिसाएरमात्रै हो त, तिमीले घर छोड्न लागेकी ?’

‘दादा ……!’

ऊ केहि बोलिन, रोइरही मात्रै ।

‘बोल न सोफिया, बोल । मान कि म तिम्रो आफ्नै दाजु हुँ ।’

‘दादा ……!’

आँशु रोकिएनन् । रुन छोडिन ऊ । शब्द निस्किएनन् कुनै । सायद आफ्नो पीडालायक कुनै शब्द भेटिरहेकी थिइन ऊ । त्यसो त ऊ नबोलेरै धेरै बोलिरहेकी थिई । मलाई थाहा छ, सबै कुरा कहाँ शब्दमा अटाउँछ र ! उसका आँसुका भाव केहि बुझेँ मैले, र केहि बुझिन पनि ।

‘अंकल कहिलेदेखि रिसाउनु भएको भन त ?’ केहि बेर उसका आँशुहरुमा हराईसकेपछि मैले सोधेँ ।

रुदै बोली ऊ, ‘एक वर्षअघि, जब मैले उहाँले भनेको मानिन ।’

‘अनि अंकलले भनेको मान्नु पर्छ नि त ,’ मेरो सोझो जवाफ थियो ।

शब्द फेरि भेटिएनन् सायद, ऊ पुनः आँशुका भाका बोल्न थाली । ऊ यति पीडामा थिई कि उसका आँशुले मेरो ओछ्यान भिजेको उसलाई पत्तै थिएन ।

‘भन न सोफिया भन, किन अंकलले भनेको नमानेकी ?’

‘त्यो अंकल होइन दादा, त्यसको नाममात्रै अंकल हो । त्यो त राक्षस हो ।’

ऊ झनै भक्कानो छाडेर रुन थाली । मैले बुझेँ । मलाई उसका हर आँशुको गहन पीडाबोध भएको महशुस गरेँ मैले । अब फेरि एकपटक मैले कुल्लीपात्र मुनुलाई सम्झेँ जो श्रीमती मेनओएरिङ्बाट शोषित थियो, ठीक सोफियाजस्तै । फरक यत्ति कि मुनु केटा थियो, सोफिया केटी । शोषणको प्रकृति उहि, पीडा उस्तै । अब सोफियाको पीडा मुनुको भन्दा कम लाग्न छोड्यो मलाई ।

‘यो कुरा किन यत्ति पछि मात्रै भन्यौ मलाई ?’ मैले केहिबेरको शून्यता भङ्ग गर्दै सोधेँ ।

‘हिजो पनि पिटाइ खाएँ बेसरी । आन्टिले पनि केहि बोलिन । दुख पोख्ने मेरो कोहि भएन । पीडा थाम्न नसकेर म यहाँ ओर्लेकी, दादा । त्यो अंकल कलेज गयो । आन्टि सुत्दैछे । यहाँ तपाईबाहेक सबै बाहिरिएको देखेर ओर्लेकी ।’

‘अरुले जे गरे पनि आफुभन्दा ठूलालाई त्यस्तो बोल्नु हुँदैन सोफिया ।’

‘अनुहारमा मात्रै मान्छे त्यो साँढेलाई म कसरि रेस्पेक्ट गरुँ दादा ? रेस्पेक्ट त दिलैबाट आएको पो राम्रो ।’

मसँग जवाफ थिएन, ठीक भनेकी थिई उसले ।

‘हिजो किन पिटेका नि ?’ मैले सन्दर्भ मोडेँ ।

‘साथीलाई फोन गरेँ भनेर ।’

‘को साथी ?’

‘विकल्प ।’

‘कस्तो साथी हो ऊ ?’

‘ऊ भक्तपुरमा बस्छ । बीबीएस पढ्दै छ रे । दादा, उसले मसँग बिहे गर्छु भनेको छ ।’

‘कसरि चिनजान भएको ?’

ऊ बोल्दै गई, म बुझ्दै गएँ । सोफिया लाउँलाउँ खाउँखाउँ उमेरकी केटी । आधा दशकदेखि अर्काको घरमा काम गर्दैगरेकी यौटी चिडिया । उसका रहर इच्छा पानीमा उठ्ने फोकाझैँ उठ्दै बिलाउँदै गरेको धेरै भैसकेछ । सकेसम्म त उसलाई पनि रहर पूरा गर्न मन लाग्दो हो नि ! कहाँ ऊ फलामको मान्छे हो र !

यसैक्रममा एक दिन उसलाई कोही नभएको बेलामा अरुले झैँ फोनमा कुरा गर्ने रहर चलेछ । फोन गर्न न उसका कोहि मान्छे थिए, न कसैको फोन नंबर नै । जे होस् उसलाई रहर पूरा गर्नुथियो । पहिला ‘९८४१’ थिचेर त्यसपछि विचारै नगरी केहि नंबर थिचीछ उसले । संयोगबस्, कुनै विकल्प नामको केटो बोलेछ उताबाट । धेरै समयदेखि दबाएर राखेका रहर अनि पीडाका भावहरु कति पोख्न भ्याई उसले त्यो दिन ? त्यस दिनदेखि घरमा कोहि नहुने बेला पारेर विकल्पले नियमित फोन गर्नथालेछ । ऊ पनि विकल्पमा हराउन थाली । पालैपालो फोन गर्ने गर्दा रहेछन् उनीहरु ।

त्यो दिन त ठ्याक्कै डेढ घण्टा कुराकानी भएछ । फोन गरेकी रै’छ सोफियाले । फोन रेकर्डबाट अंकलले थाहा पाएर उसलाई सोधीखोजी गर्दै पिटेका रहेछन् । सोफियाले मेरो सामू सासै नरोकेझैँ सबै कुरा खोलेकी थिई, त्यो बिहान । एक बर्ष बितिसक्यो अब त । जिन्दगीका बाटाहरुमा कति मान्छे भेटिन्छन् । सबै कहाँ स्मरणमा उत्तिकै ताजा रहन्छन् र ? तर सोफिया आजसम्म पनि मेरो विगत बनेकी छैन । ऊ र उसका पीडाका भावहरु मेरा अघि कहिल्यै नभत्किने बिम्बझैँ उदाइरहन्छन् । त्यसैले त भनिन्छ सायद, नभेटेर पनि भेट्न सकिन्छ ।

म फेरि बर्षदिन अघिकै घटनाक्रममै घुम्दैछु । सोफियाको र मेरो भेट, उसका पिडा पोखिनका लागि, सायद त्यत्ति हुनु थियो । उसले मसँग उसका मनका बह पोखेको लगभग महिनादिन भएको हुँदो हो । मेरा लागि गोधुली साँझमा आफू घरै भएको दिन आँगनमा एक्लै कताकता हराउनुको मजा कत्ति हो कत्ति, म बर्णन नै गर्न सक्दिन । त्यस्तै मजा लिँदै थिएँ म त्यो साँझ । त्यसैबेला सोफियाका परेश अंकलले मलाई उहाँको माथिल्लो फ्ल्याटमा आउन अनुरोध गरे । म छक्क परेँ किनकि त्यो घरमा बसेको पाँच बर्षपछि एक्कासी माथि बोलाइएको थिएँ म । केहि जरुरी अवश्य छ भन्ने सोचेर माथि उक्लिएँ ।

‘विमलजी, हेर्नुस् न त्यो काम गर्ने केटीले सा¥है दुःख दिई ।’

‘के भो र परेश सर ?’

‘आज पाँच दिन भयो उसको अत्तोपत्तो छैन ।’

म झसङ्ग भएँ । र सम्झिएँ, घर छाड्ने दिन बिहानै उसले मेरो कोठाको झ्याल बाहिरबाट आधा हाँसो अनि आधा पीडामा मिसिएर भनेकी थिई, ‘दादा, आज म यो घर छाडेर जाँदैछु ।’ मैले हाँस्दै थपेथेँ, ‘ल जाऊ सोफिया, राम्ररी जाऊ ।’

मैले सोध्नुपथ्र्यो, ‘सोफिया तिमी कहाँ जान्छौ ? तिम्रा को नै छन् र यहाँ जानका लागि ? नजाऊ बाबा, यो भन्दा पनि नरक यही सहरमा छ । तिमी कहिल्यै निस्कन नसकिने धापमा पर्न सक्छौ । नजाऊ सोफिया, धेरै विचार नगरी, धेरै नबुझी, कतै नजाऊ ।’

तर मैले उसको बिदाइका गम्भिर शब्दलाई ठट्टा ठानेँ । त्यो किनभने मसँग उसले त्यसअघि नै घर छाड्ने कुरा पटकपटक गरेकी थिई । गल्ती कसको थियो थाहा छैन, तर मैले उसको त्यो दिनको भाव पढ्न नसकेकोमा मलाई सधैँ पीडा हुनेछ ।

‘के गर्ने होला, विमलजी ?’

परेश सर बोलेपछि म फेरि झसङ्ग भएँ ।

पुलिसमा रिपोर्ट गरेको, अनि कता कता खोज्न गएको कुरा गर्दैथे उनी । म भनेँ हराएको थिएँ विगतका घटना–बिम्बहरुमा । सोफियालाई नै सम्झिरहेको थिएँ । उसले बिदा मागेको क्षण मेरा आँखाअघि नाचिरहेको थियो । कहाँ गईहोली, के गर्दैहोली ? यस्तै सोच्न थालेछु ।

‘ल, ठिकै छ, विमलजी,’ मलाई फेरि सोचमग्न देखेर परेश बोले, ‘अब सकेसम्म खोजौँ क्यारे । भेटिए ठिकै छ, नभेटिए के गर्ने ? उमेर पुगेकी केटी पोइल गइहोली । ऊ कता मोज गर्दैछे, टेन्सनचाहिँ हामीलाई ।’

म केहि बोलिनँ । तिनै परेशका आँखामा हेरेँ एकपटक । उनकै करतुतका बारेमा कुनै दिन सोफियाले भनेका शब्द सम्झिएँ । सोफियाका आँशुका ढिक्काहरु याद आए । तिनै यादहरुसँगै म ओर्लिएँ त्यहाँबाट । अनि आफ्नै बेडरुममा आएर सोफियाका सम्भावित नारकीय दिनहरुमा डुबिरहेँ म । पटकपटक मेरा दृष्टि मेरो विछ्यौनाको त्यही भागमा परिरहेको हुन्थ्यो, जहाँ कुनै दिन सोफियाले मेरैअघि आँशुको नदी बगाएकी थिई । संयोग हुनुपर्छ, त्यो दिन विछ्यौनामा त्यही तन्ना ओछ्याइएको थियो, जसमा लागेको सोफियाको आँशुको ठूलो धब्बा मेरो स्मृतिमा अझै ताजा छ ।

असारको पहिलो साता । सनिबारको यो बिहान, म सबेरै ब्यूँझिएछु । सिमसिम पानी परिरहेको देख्छु बाहिर । ओछ्यानमा पल्टिरहेकै बेला एक्कासी सोफियालाई सम्झन पुग्छु म । उसको सम्झनासँगै उसँग भएका कुराकानीका कतिपय अंशहरु आँखाअघि नाचिरहेछन् यतिखेर । एक बर्षअघि असारकै पहिलो सनिबार थियो त्यो । बिहान यसैगरि सिमसिम पानी पर्दैगर्दा सोफियाले झ्यालबाहिरबाट मसँग घर छाडेर जाने कुरा गरेकी थिई । र छाडेकी थिई पनि । यिनै बिम्बहरु आँखाभरि लिएर म पल्टेको शरीर उठाउँछु । झ्यालबाहिर हेर्छु, सानासाना पानीका थोपाहरु झरिरहेछन् निरन्तर । तिनै थोपाहरुको पृष्ठभूमीमा अचानक सोफियाको चित्र देख्छु म । अब ती पानीका थोपाहरु आँशु बन्छन् मेरालागि । पानीका थोपा हुन् या आँशुहरु, मेरा गालाहुँदै सिरानीमा पनि खस्छन् एक्कासी । म सम्हालिन्छु ।

म झनै सोचमग्न हुन्छु । लागिरहेछ, कहाँ गईहोली सोफिया ? म सम्झिरहेछु, ‘एउटा राम्रो घर पाएँ भने यहाँ बस्दिन’ भन्थी ऊ । मेरो मन त्यही बेलादेखि नै सोधिरहेछ, कहाँ छ घर, सोफियाको ? के उसले ‘घर’ भेटी होला त ? कि फेरि कुनै ‘राम्रो घर’को नयाँ सपनामा टोलाईरहेकी छे ऊ ?

उसले एकपटक भनेकी थिई, ‘विकल्पले मलाई बिहे गरेपछि म मेरै घरमा बस्नेछु । आफ्नै खाना पकाउनेछु । आफ्नै कपडा धुनेछु । मैले सफा गर्ने घर मेरै हुनेछ । म कति प्यारले फूलहरु हुर्काउँला घर वरिपरि । अनि नाम्खानजस्तो त मेरै छोरो हुनेछ । आहा त्यो दिन !’

हो, मेरो उपस्थितीमा यस्तैयस्तै शब्दहरुमा हराएकी थिई सोफिया कुनै समयविन्दुमा । आज म उसले सजाएको त्यो सुन्दर सपनामै हराइरहेको छु । थाहा छैन, उसको त्यो सपनालाई कस्तो विपनाले पछ्याइरहेको छ आज । हुनसक्छ, आफ्नै खाना पकाएर आफ्नै नानी हेर्दैहोली सोफिया । यो पनि हुनसक्छ कि उसले उसको ‘प्रिय विकल्प’लाई फेरि पनि उनै परेश अंकलकै अर्को स्वरुपमा भोग्नु परेको होस् ।

मलाई सोफियासँग केहि भन्नु थियो । तर अब मेरोतर्फबाट उसको र मेरोबीचमा सम्पर्कको कुनै माध्यम रहेन । त्यसैले यहिँ भन्छु, सोफिया, यो तिम्रो कथा, तिम्रो व्यथा तिमीसम्म पुगेमा अवश्य मलाई एकपटक फोन गर्नु है ? नत्र तिम्रो यो अपुरो कथाले मलाई सधैँ दुखाइरहने छ । सताइरहने छ । हो, त्यो जीवन त तिमीले भोग्यौ । सिङ्गो कथा त तिमी हौ । मैले त जति देखेँ, उति लेखेँ । यो तिम्रो अपूरो कथाको लागि, मेरो लागि, तिम्रो बाँकी कथा यहि कलमलाई देऊ है, सोफिया ?!?

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.