बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ashesh-malla

उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा टेलिफोन छैन । सम्पर्क गर्ने कुनै उपाय पनि छैन । उहाँले नाटक त लेख्नुभयो, शीर्षक राख्न भ्याउनु भएन । सोधौँ भने उहाँसँग सम्पर्क नै गर्न पाएको छैन, कसरी सोधौँ ।

नेपथ्यमा केही हल्ला सुनिन्छ । हल्ला बन्द । हल्ला बन्द । हल्ला नगर्नु होला ।

(नेपथ्यबाट अझ चर्को स्वरमा हल्ला) ।

कृपया हल्ला नगर्नु होला ।

दर्शक ः (दर्शक कक्षबाट) यहाँ हामी सबै मौन छौँ । हल्ला तपाईँकै मञ्च पछाडिबाट आउँदैछ ।

उद्घोषक ः ए ! हो र ?

(नेपथ्यको हल्ला झन् चर्को)

के भो ? के भो ?….

(केही बाल-बालिका मञ्चमा देखा पर्छन् । ती प्रत्येक विभिन्न चरित्रका भेषभूषामा छन् । तिनलाई देख्दा ती सबै कुनै धार्मिक वा ऐतिहासिक नाटकका पात्र झै लाग्छन् ।)

पात्र क ः म नाटक खेल्न सक्तिन ।

ख ः म पनि खेल्दिन नाटक

ग ः म पनि खेल्दिन ।

उद्घोषण ः ए ! विस्तारै विस्तारै । पर्दा हृवाङ्गै छ । दर्शकले देख्लान् ।

(सबै दर्शकतिर हेर्छन् )

क ः देखे देखुन् । मलाई के मतलब ? मैले झन् रिहर्सलमा सबै मिलेर नाटक गर्नुपर्छ । झगडा गर्नु हुँदैन, मलाई जुन रोल दिए पनि हुन्छ भनेर, सबैभन्दा सानो रोल लिएँ । मेरो त डायलग पनि धेरै छैन । लौ भइगो भनेर…..

ख ः झूटो बोल्छौ ?

क ः मैले के झूटो बोलेँ ?

ख ः अहिले, किन त मैले लगाएको ड्रेस माग्छौ त ? अस्ति रिहर्सलमा पालेको रोल भए पनि हुन्छ भन्ने, अनि अहिले नाटक सुरु हुने बेलामा चाहिँ प्रल्हादको रोल तिमीलाई चाहिने ?

क ः ए ! झूटो नबोल है, मैले कहिले भनेँ प्रल्हादको रोल चाहिन्छ भनेर !

ख ः ल, यी, यिनीहरूले पनि सुनेको छ, हो कि, हैन !

(अन्य पात्रहरू मुखामुख गर्छन् ।)

किन बोल्दैनौ तिमीहरू? अघि यसले भनेको हो कि होइन ?

कः हो, रिसको झोँकमा भनेँ, तर मैले त्यो प्रल्हादको रोल नै खेल्छु भनेको होइन ।

गः के बेकारमा कुरा बढाउँछौ, प्रल्हादको लुगा लगाउन नपाएकोले नाटक खेल्दिन भनेको भनन ।

कः हो, मलाई त्यही लुगा चाहिन्छ ।

खः अनि, मैले चाहिँ तेरो रोल पालेको लुगा लगाएर प्रल्हाद हुनु ? कस्तो मूर्ख कुरा गर्छौ ?

कः मलाई मतलब छैन, त्यो लुगा लगाउन पाए नाटक खेल्छु नत्र खेल्दिन ।

(यतिञ्जेल उद्घोषक छेउमा बसेर टुलुटुलु हेरिरहेको छ । उनको हातमा एउटा डायरी पनि छ, डायरी हेर्छ )

उद्घोषकः (डायरी हेर्दै, विस्तारै बोल्छ)

यो नाटक, प्राचीनकालको नाटक हो । हिरण्यकशिपु नामको एक राक्षस राजा सारा विश्वमा आफ्नो राज जमाउन चाहन्थे……….प्रल्हाद भने उनको त्यो…….

(उनी डायरीमा लेखिएको अंश कन्ठ पार्दैछन् ।)

खः ए उद्घोषकज्यू ? के पाठ कण्ठ गर्नुहुन्छ ? ल भन्नोस् अब के गर्ने ! म त यो पालेको लुगा लगाएर नाटक खेल्दिन ।

कः नखेल न त, म खेल्छु, त्यो रोल ।

खः तिमीलाई प्रल्हादको डायलग कन्ठ आउँछ ? मैले रात रातभर नसुतेर कण्ठ गरेको छु । एक महिना लगाएर रिहर्सल गरेँ, त्यति मिहिनेत गरेँ, अहिले आएर म खेल्छु भन्न लाज लाग्दैन ?

कः मैले त्यो ड्रेस लगाउँदा के हुन्छ ! पहाड खस्छ ? नाटक रोकिन्छ ? कि दर्शक उठेर जान्छन् ?

उद्घोषकः (डायरी हेर्दै पढ्दै) यो नाटकमा प्रल्हाद आफ्नो महìवाकांक्षी पिता हिरण्यकशिपुका हरेक सजाय सहर्ष स्वीकार गर्छन् तर…….

(अन्य बाल पात्रहरू एक आपसमा छलफल गरेका देखिन्छन् । कसैको पनि आवाज सुनिँदैन । हाउभाउ देख्दा लाग्छ तिनीहरू गम्भीर छलफलमा छन् । उद्घोषक, डायरीका कुराहरू कण्ठ गर्दैछन्)

गः ए, उद्घोषकज्यू ! यहाँ यत्रो आपत् आइलागेको छ । नाटक नै होला कि नहोला, टुङ्गो छैन । तिमीलाई चाहिँ माइकमा के बोल्ने भन्ने कुरा कण्ठ गर्न नै फुर्सद छैन ।

उद्घोषकः के ? के रे ? अब नाटक सुरु गरे हुन्छ ? उद्घोषण गर्दिऊ ! सुरु गरे हुन्छ ? तिमीहरू सबै तैयार छौ, हैन त ?

कः (माइक खोस्दै) कसलाई के धन्धा घरज्वाइँलाई खानको धन्धा ।

उद्घोषकः के यो ! किन खोसेको माइक ? अब मैले कसरी उद्घोषण गर्ने ? कि तिमी गर्ने ? म गर्छु, खै लेऊ माइक ।

(ख, झोक्राएर बसेको छ । घ उनलाई केही सम्झाइरहेको छ । अर्को कुनामा अन्य चरित्रहरू छलफलमै व्यस्त छन्)

गः (क लाई सङ्केत गर्दै) हेर, अब तिमीले जिद्दी गर्न छोडी, खुरुक्क यो ड्रेस उसलाई देऊ ।

कः यो लुगा लगाउँदैमा के हुन्छ ? मैले अरू के नै मागेको छु ! नाटकको मूलभूत रोल तिमीहरूले लिँदा मैले केही बोलेँ ? मलाई पनि त प्रल्हाद, हिरण्यकशिपु जस्तो मुख्य रोल खेल्न मन लागेको थियो, तर लौ भैगो, साथीहरू हो, मैले लोभ गर्न हुँदैन भनेर केही बोलिन । अहिले यो प्रल्हादको ड्रेस राम्रो लागेर म लगाउँछु भन्दा तिमीहरू सबै………….

(एकाएक ऊ आवेगमा आउँछ । लगाएको लुगा फुकाल्दै खका सामु फाल्छ ।)

ल लगाऊ यही खोजेको होइन ? (प्रल्हादको लुगा उठाउँदै घ कतिर आउँछ ।)

घः यो लुगामा किन यत्रो झगडा ? यो एउटा लुगा लगाउन नपाउँदैमा तिम्रो इज्जत गुम्यो ? तिम्रो रोल सानो भयो !

कः (भावुक हुँदै) तिमीहरू सबै मलाई हेप्ने होइन ? मलाई थाहा छ, मलाई सानो रोल दिएर तिमीहरू नै ठूला बन्न खोज्ने ? तिमीहरू नै खेल यो नाटक, म खेल्दिन, जान्छु म,

(सबै उनलाई रोक्ने प्रयास गर्छन् उनी बाहिर जान खोज्छन्)

खः तिमी जान्छौ भने म पनि जान्छु, म पनि खेल्दिन यो नाटक । मैले यो लुगा मलाई मन परेर लगाउन खोजेको त थिइन नि ! मेरो प्रल्हाद भूमिकाले मागेको लुगा हो यो । मलाई यो लगाएर कसैलाई देखाउनु छैन । न यो लगाउँदैमा म ठूलो हुन्छु ।

हेर, हामीले यो नाटकसँगै मिलेर एक महिना रिहर्सल गर्‍यौ । एक महिना रिहर्सल गर्दा मैले आफूलाई बिर्सेर, आफूलाई भुलेर म प्रल्हाद नै हुँ भन्ने लागेको छ । नाटकमा त्यो हिरण्यकशिपु हुने मेरो पिताको अत्याचार शोषण र क्रुरताको विरोधमा सधैँ सत्य बोल्दा मलाई लागेको छ, अब म जीवनमा कहिल्यै असत्यको पछाडि लाग्दिन भन्ने । एक महिनाको रिहर्सलमा मैले सिकेको कुरा त्यही हो । आजको यो नाटकमा मैले खेले पनि नखेले पनि म अब असत्यको पछि कहिल्यै लाग्दिन ।

(सबै मौन)

हामीले एक महिना रिहर्सल गर्‍यौँ । सधैँ हिरण्यकशिपुको अत्याचारी भूमिका हेर्दा हेर्दा हामी सबैले भनेका थियौँ अब हाम्रो समाज, हाम्रो देश अनि विश्वमा नै यस्ता हिरण्यकशिपु जस्ता हत्यारा, हिंस्रक, अत्याचारी राक्षसहरूको अन्त्य हुनुपर्छ भनेर । लौ, भन हो कि होइन ।

ग ः हो, तिमीले ठीक भन्यौ । रिहर्सलको समयमा नै हामीले यो नाटकको कथाबाट धरै पाठ सिकिसकेका थियौँ ।

घ ः तर, एउटा लुगाको विषय झकिेर हामी झगडा गर्दैछौँ ।

ग ः यही नाटकमा म रोध-नामक पात्रको भूमिकामा छु । हिरण्यकशिपुले आफ्नै छोरा प्रल्हादलाई आगोमा जलाउन लाग्दा म रोधले प्रल्हादको त्यो लुगा लगाएर प्रल्हाद जस्तो बन्दै आगोमा जल्ने प्रण गरेको छु । मलाई साँच्चीको प्रल्हाद ठानेर जलाइन्छ । रोधले आफू मरे पनि प्रल्हाद मर्नु हुँदैन किन भन्यो थाहा छ । किन भने प्रल्हाद सत्यको पक्षमा छ………साथीका लागि उसले त्यत्रो बलिदान गर्‍यो…..तर हामी ? हामी भने एउटा लुगाका लागि ………छि…….।

क ः (भावुक हुँदै) सरी, सरी, मित्र हो, मलाई माफ गर । मसँग यही एउटा रिस र अहँ थियो, आजदेखि त्यो रहँदैन म पनि प्रल्हाद झैँ सत्यवादी बन्ने प्रयत्न गर्नेछु । सरी….सरी……. ।

उद्घोषकः ल, अब सबैको ‘मुड अन’ । ल, सबै भित्र जाऊ, आ-आफ्नो लुगा लगाई तयार होऊ, अब नाटक सुरु गर्नुपर्छ ।

(सबै खुसी हुँदै भित्र जान्छन् )

उद्घोषकः (दर्शकको नजिक जाँदै, डायरीमा लेखिएको अंश पढ्छ)

यो नाटक हिरण्यकशिपु र प्रल्हादको……(उनको आवाज मधुरो हुँदै जान्छ, सङ्गीतको धूनले आवाज होसिन्छ ।)

(अलि ठूलो स्वरमा)

लौ, अब सुरु हुन्छ, यो नाटक……..

(नाटक) अन्धकार

छुनुहुन्न पुतली !

(स्रोत : मुना २०६७ बैशाख)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in बाल नाटक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *