छन्द कविता : को दोषी ?

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : शार्दूलविक्रीडित

को दोषी भन हे सुधी भुवनका नेपालका खातिर
के पुग्दैन यहाँ सदैव किचलो दोषी छ को आखिर
के धर्ती वसुधा धरा भुवन यी छैनन् कि वा ऊर्वरा…
के आभा रविचन्द्रको दिनदिनै पर्दैन बाँझा गरा ! ।।

बग्दैनन् कि त मूल निर्झर नदी फोरी पहाडी गुफा
पानी सिञ्चन योग्य छैन अथवा पीयूषझैँ झन् सफा
लागे रोग महौषधी कि त यहाँ पाइन्न सञ्जीवनी
को दोषी किन छैन उन्नति यहाँ के हो रहस्यै अनि ! ।।

जोत्दैनन् कि त ती कडा परिश्रमी जो खेतमै बाँच्दछन्
रोप्दैनन् कि त अन्न नै कृषक ती जो बीज नै साँच्दछन्
पालेनन् कि त देशभित्र पशु या पन्छी कसैले पनि
के हो दोष कहाँ रहस्य यसको नेपाल उस्तै छ नि ! ।।

होलान् प्राकृत सम्पदा कति यहाँ जो गर्भमै लुप्त छन्
होलान् कर्मठ वीर साधकहरू जो कर्ममै व्यस्त छन्
आआफ्ना कतिका बगेर पसिना या रक्त नै दिन्दिन
धर्ती घन्य बनिन् तथापि भन लौ यो राष्ट्र उस्तै किन ! ।।

के मान्छे जसभित्र छैन ममता जो देशमै बस्दछन्
के मान्छे जहिलै निजी विषयमै सोचेर नै फस्दछन्
मान्छेका यतिविघ््न जन्मपछि जो मर्ने र बाँच्ने क्रम
चल्दै छन् तर छैन उन्नति यहाँ उस्तै सदाको भ्रम ।।

दोषी छन् कि त नित्य कर्मठहरू यद्वा सबै सम्पदा
दोषी ती जहिलै खुला हृदयका जो सत्यवादी सदा
जे गर्छन् अथवा नबोल्नु जसको के दोष हो जीवन
मिथ्या भाषण कर्महीन नहुनु दोषी भयो हो ? भन ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *