कथा : लिभिङ टुगेदर

~केडी रेम्नीसीङ~

गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले पुग्दो वा कोही आफन्त भएको खण्डमा काठमाण्डौ जाने नत्र सदरमुकाम जाने चलन नै हो । सदरमुकाम आउने पात्र मध्ये कविता पनि एक हो । उनको वाल्यकालको नाम लालजति भएपनि कक्षा पाँचतिर उनकै नेपाली शिक्षकले ‘शार्दुल विक्रिदित छन्द जस्तै राम्री देखिने मान्छेको नाम पनि लालजति रे, भएन यो त’ भनेर नयाँ न्वारान गरिदिए ‘कविता’ । कविता साँचै छन्दको कविता भन्दा नि सुन्दर रुपकै छिन् आजसम्म ।

सदरमुकामकै एक क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भएर पढ्न थालिन् कविता । उनी जस्तै गाउँ गाउँबाट आएका साथिहरु उसँगै थिए । कोही कोही बाहेक आफन्त भएका कोही थिएनन् । कविता भने गाउँकै एक जना डिप्लोमा पढ्ने दिदीसँग बस्न थाली । विहान क्याम्पस जाने र बाँकी समय सदरमुकाम घुम्ने दिनचर्याका बिच वित्ने ‘जीवन रमाइलै हुँदो रहेछ ।’ कविताको नौलो अनुभव थियो ।

यसैबिच उनीहरुको कोठामा साथी बन्न एकजना युवक आइपुगे । ‘दिपेन्द्र, भित्रै आऊ’ भन्दै कविताको गाउँले दिदीले कोठा प्रवेश गराको त्यो केटो को हो? कवितालाई थाहा भएन । त्यो केटा उनको गाउँले होइन भन्नेमा पक्का थिई कविता । ऊ को हो भन्ने थाहा पाउन उनलाई केही गर्नै परेन किनभने उनलाई थाहा पाउनु नै थिएन । उनले नचाहे पनि थाहा पाइसकेको थियो उनको नाम, दिपेन्द्र हो । साथमा उसको घर पनि थाहा भयो, चोङखिदो । उनी कविताकै दौँतरी मात्र नभई सहपाठी पनि थिए । अनि केही दिनमै थप दुई कुरा थाहा भो, ऊ दिदीको हुनेवाला देवर हो, दाई विदेशमा छन्, ऊ पनि अव सँगै बस्ने हो । दिपेन्द्र, दिदी अनि कविता सँगै कलेज जाने आउने अनि खाने, खाएपछि दिपेन्द्र पढ्ने र कोठा सफा गर्ने, दुई बहिनी भने भाँडा माझ्ने, घुम्न जाने, घुमेर आएपछि पढाई गर्ने । रमाइलो भयो सदरमुकामको बसाईं । समय समयमा घरबाट भट्मासको गोयाङ, भुटेको मकै र भट्मास, सागको गुन्द्रुक, कोदोको पिठो देखि गाई भैँसीको शुद्ध घिउसम्म आइराख्ने हुनाले झन् रमाइलो हुने नै भयो । खर्चको व्यवस्थापन गर्न सहज हुने नै भयो । त्यसमाथि दिपेन्द्रको दाई र दिदिको ब्वाईफ्रेन्ड विदेशबाट घरि घरि खर्च पठाउँछन् । कवितालाई दिपेन्द्र आईदिएकोमा पनि खुशी नै लाग्यो ।

‘जाऊँ बजारतिर काम छ’ एकदिन कविता र दिपेन्द्रलाई दिदीले भनी । कविताले जाने मन गरिनन्, ‘मेरो त आज होमवर्क गर्नु छ, आजको अलि गाह्रो लाग्ने रहेछ । ’दिपेन्द्रले भने, ‘आजको मलाई आउँछ, म एक छिनमै बुझाइ दिन्छु ।’

तीनै जना बजार गए, दिदीले गोजीबाट एउटा कागज झिके र ‘आईएमई’ को मान्छेलाई देखाए । ‘आईएमई’ को मान्छेले नागरिकता हेरेर केही पैसा हातमा थमाइ दियो । उनीहरु चलेको चटपटे पसलतिर गए । वेलुका दिदीले खाना पकाई, दुईजना पढ्न बसे ।

‘एयरपोर्टतिर घुम्न जाम आज’ दिदीको आज्ञा र सल्लाहले मात्र चल्ने दुईलाई यो प्रस्ताव लामो प्रतिक्षा पछि सुन्न पाएकोमा खुशी लाग्यो । एयरपोर्ट क्षेत्र लामो रहेछ, एयपोर्टको सुरु छेउमै पुगेपछि एक होटलतिर देखाउँदै दिदीले भनिन्, ‘तिमीहरु चाहेजति घुमेर आओ, म यहाँबाट कुर्छु ।’ दुई जना एयरपोर्टतिर लागे, दिदी होटलतिर लागिन् । मिठा कुराकानी सँगै एक फन्का घुमेर आउँदा पनि दिदी होटलभित्रै रहेकाले उनीहरु पनि होटलतिरै लागे । दिदी एकजना ‘दाई’ सँग बसिरहेकी थिइन्, गफ गर्दै, दिदीको आँखा रसाएका जस्ता देखिन्थे । ती ‘दाई’ अलि असहज मान्दै बाहिरिए । दिपेन्द्रतिर नफर्की दिदीले बोली, ‘कति छिटै घुमेर आयौ?’

वेलुका दिपेन्द्र एक्लै बाहिर निस्किए ‘साथिलाई भेट्न’ भन्दै । फर्केर आएपछि कविताले सुटुक्क सोधिन्, ‘कोसँग भेट्न?’ ‘दिदीलाई नभन है’ भनेर ‘हस्’ भनाए पछि दिपेन्द्रले भने, ‘दाईसँग फोनमा कुरा गर्न हौ । ’वेलुका खाना खाएर पढ्न बस्न लाग्दा दिदीलाई विदेशबाट फोन आयो । उनीहरुको कुराकानी अनुसार यो पाली डिप्लोमा सकिएपछि विहे गर्ने, गाउँमा खुलेको जागिरमा आवेदन दिने आदि कुरा हँुदै थिए । दिदीको ‘अलि चाँडो पो होला कि?’ को शंकालाई पनि सम्झाउने कोशिस हुँदे गरेको थाहा पाए उनीहरुले ।

दिपेन्द्र र कविता पढ्नमा मस्त ध्यान दिन थाले ।

डिप्लोमा सकेपछि दिदी दुईलाई छोडेर गाउँतिर लागिन् । गाउँ गएकी दिदी करिव पन्ध्र दिनपछि मात्र फकिई, ‘जागिर मिलेको’ कुरा सुनाउँदै ‘दिपेन्द्रलाई पनि बधाई छ’ भनिन् । यो कुरा सुनेर दिपेन्द्र अलमलिए, सोधे, ‘किन र?’ हाँस्दै ‘तिम्रो भाउजु हुँदैछु’ भनेपछि तीनै जना हाँसे, खुशी भए । सुत्ने वेला दिदी गीत सुन्दै थिइन्, ‘माया एउटासँग…..’

दिपेन्द्र र कविता कक्षा १२ पढिसक्ने वेलासम्म कोठामा दुई जना मात्रै परे । ‘परिक्षा दिएपछि वास हेर्न जाम, हाम्रो गाउँ…’ कविताको प्रस्ताव दिपेन्द्रलाई राम्रो लाग्यो । ‘सुनेको मात्र देखेको थिईनँ, यो पाली देखिने भो । आफू किराँति नभए पनि किराति गाउँमा जन्मिएँ, रमाइलो लाग्छ किराति चलन ।’

दिपेन्द्रलाई वास मन प¥यो । उसले वास नाच्न पनि सिक्यो, वासमा स्याउला हल्लाउन पनि सिक्यो, फेंगा लगाउन पनि मजा लाग्यो । कविताको घरमा गए, आमा बा लाई ‘फलानोको देवर हो, हामी साथी हौँ ।’ भनेपछि पाहुना बनाएर राखे । फर्किदाँ उसले कवितालाई भन्यो, ‘साँचै मन प¥यो, तिम्रो गाउँ तिमीजस्तै ।’ कविताले भनी, ‘मलाई तिमी पनि’ । दिपेन्द्रले कविताको आँखामा आँखा जुधाउँदैभने, ‘म तिमीलाई राम्रो लाग्छ र?’शिर निहुराएर वोली, ‘मलाई तिमी मन पर्छ ।’हल्का मुस्कानसाथ वोले, ‘आज अप्रिल फूल त होइन नि?’ यता उता गर्दागर्दै रिजल्ट आयो, सोचेजस्तै गरी दुवैले राम्रै नम्बर ल्याएर पास गरे । डिप्लोमा पढ्नलाई दुवै पुरानै कोठामा जुरे । ‘आज म खाना वनाउँछु, तिमी पसल गएर आऊ’ कविताको प्रस्तावमा ‘सँधै यस्तै गरी साथै रहन पाए हुने, तिमी खाना बनाउँथ्यो, म सघाउथें’भनेर दिपेन्द्र बाहिर निस्किए ।

वेलुका खानापछिसुत्ने वेला दिपेन्द्रले भने, ‘कविता!तिमी पनि मलाई राम्री लाग्छ, पहिलो भेटदेखि नै, तर के सोच्ली भनेर चुप लागेँ, किनकी तिमी धेरै राम्री…’ कविता दिपेन्द्रको नजिक आई, ‘राम्री, नराम्री अनुहार जस्तो भएपनि मन त मन हो नि, होइन र? फेरी तिम्रो ट्यालेन्ट र मेहनत देखेर कसले तिमीलाई मन नपराईरहन सक्छ र?’ दिपेन्द्रले कवितालाई विस्तारै अंगालोमा वेरे, कविताले अंगालोलाई कसी । ‘अव तीन वर्षसम्म राम्रो पढ्ने अनि जागिर खोजेर विहे गर्ने ल!’ कवितालाई सुम्सुम्याउदै दिपेन्द्र वोले ।

दिपेन्द्रलाई छातिबाट धकेल्दै कविता वोली, ‘अनि विहे गर्नु कहिले कहिले, कामकाज अहिल्यै? यो त हुँदैन ।’ कवितालाई आफ्नो गोजीमा छाम्न लगाउँदै दिपेन्द्र वोले, ‘डाँडामा घर छ, के को डर छ ।’गोजीबाट हात निकाल्दै कवितावोलिन्, ‘प्याकेट वाला स्याम्पु ल्याइदिएको मलाई!’

विहानैको क्याम्पस जानु थियो, दुवैको छुट्यो । दिपेन्द्र विहान अवेर मात्र व्यूँझिए, त्यो पनि कविताले चिया खान उठाएपछि । ‘किन विहान चाँडो नउठाको? क्यापस चाँडो जानुपथ्र्यो ।’ कविता हाँस्दै वोलिन्, ‘होस् आज क्याम्पस पनि, तिमी थाक्यो होला भनेर नउठाको, ल चिया लेऊ ।’ चिया हातमा लिदैँ दिपेन्द्र वोले, ‘पहाडमा काम गर्ने, उकाली ओराली गर्ने वानी परेकोलाई के को थकाई, सामान्य हो ।’कविता, ‘ए, वानी परेको नै पो…’ भन्दै छेउनेरै बसिन् ।

दिपेन्द्र दिनभरी हरायो, वेलुकी मात्र कोठा फर्किदाँ कविता पनि क्याम्पसको कितावहरु किनेर फर्किसकेकी थिइन्, भित्र पस्दै‘सानो खुशीको कुरा’ सुनाए दिपेन्द्रले ।सानो अफिसमा सानो जागिर पाए अव दिपेन्द्रले, कविता पनि अलि वढी नै खुशी भइन् । वेलुका खानापछि दुवै पढ्न बसे, दिपेन्द्रले अचानक प्रश्न सोधे, ‘कस्तो लाग्यो?’ कविता वोलिन्, ‘कस्तो न कस्तो नि, आखिर पढ्नै पर्ने, किताव त्यस्तै हुन् ।’ मुसुमुसु हाँस्दै दिपेन्द्र वोले, ‘ए, मलाई त कस्तो नौलो खालको पो अनुभव भयो ।’ वल्ल कविताले अघिको प्रश्नको आशय बुझी, तर चुप लागि, पढ्न तिर ध्यान दिई । सुत्ने वेला कविताले आफ्नो ओछ्यान बनाउन तिर लागिन्, तर दिपेन्द्रले रोके, ‘पर्दैन, यतै सुतुम् ।’ ‘किन? आज पनि प्याकेटवाला स्याम्पु ल्यायौ?’‘होइन, अर्कै तरिका छ, नौ कक्षामा पढेको ।’

एकदिन अफिसबाट वेलुका आउँदा दिपेन्द्रले कविताको हातमा एउटा पत्रिका थमाइदिए, पत्रिकामा एउटा लेख थियो, लेखको शिर्षक थियो, ‘लिभिङ टुगेदर’ । जसमा लेखिएको थियो, ‘पश्चिमा देशमा युवामाझ एउटा संस्कृतिकै रुपमा मौलाउँदै आएको छ….. युवा युवती चाहेजति सँगै बस्न सक्छन्, मन मिले विहे गरेर बस्छन् नत्र छुटिएर जान्छन्……’

आजभोली, दिन र रात हुँदै वित्न लाग्यो दुई वर्ष ।एकदिन कविताले दिपेन्द्रलाई भनी, ‘तिम्रो नौ कक्षामा पढेको तरिकाले फेल खाएछ,के गर्ने अव?’तर्सिए दिपेन्द्र, लामो सास फेरे । ‘राख्नलाई पाल्न पनि सक्नु प¥यो नि । विहेको कुरा मिलाउनलाई पनि गाह्रो पर्छ, हाम्रो जातमा यस्तो चलन छैन, र हामी दुईको भविष्य पनि बनिसकेको कहाँ छ र?’दुवैको लामो सल्लाह भयो ।वेलुका कोठा फर्किदा एउटा विज्ञापन भएको पत्रिका ल्याएर कविताको हातमा राखिदिए, जसमा लेखिएको थियो, ‘सुरक्षित गर्भपतन सेवा’। अन्तमा उनीहरु
केही दिन हराए, काठमाण्डौ जाने गाडी चढेर ।केही दिनपछि फर्केर आउँदा कविता आफ्नो शरिर साह्रै कमजोर भएको महशुस गर्दै थिइन् ।

डिप्लोमाको अन्तिम वर्ष पार नहुँदै दिपेन्द्रलाई अफिसले काठमाण्डौको आफ्नो केन्द्रीय कार्यालयमा लाने भयो । पढाई राम्रो भएको र मेहनत मन पराइएको कारण दिइएको थियो उसलाई । कविता पनि अन्तिम वर्षको परिक्षा पछि ‘म पनि तिमीसँगै काठमाण्डौ जान्छु, अव त औपचारिक विहे मात्र त बाँकी छ’ भनेर कसिइन् । तर ‘एकैचोटी दुईजना गएर बस्न सहज नहुने’ भनेरदिपेन्द्रले काठमाण्डौ गएपछि सारा वन्दोवस्त गर्ने र चालचलन अनुरुपको सामान्य विहे गरी लैजाने सर्तमा दुवै आ–आफ्नो बाटो लागे । कविताको बाटो गाउँतिर सोझियो ।

दिपेन्द्रले डिप्लोमा पास गरे, तर कविताले गरिनन् ।गाउँ बस्न मन नलागिराखेको बेलाएकदिनगाउँकै एउटा विद्यालयमा पढाउने जागिर पाइन्, कविताले । जागिर सुरु गर्नु अधि दिपेन्द्रलाई फोन गरेर सोधी ‘पढाउन थालुम् कि काठमाण्डौ आम्?’ भनेर । ‘पढेपछि जागिर खानु राम्रो हो, सँगै खुशीसाथ बस्ने दिन पनि कुनै दिन आउँछ ।’ कवितालाई जागिर खाने सहमति मिल्यो ।

कविताले निरन्तर सम्पर्क गरिराख्दा पनि दिपेन्द्रले कामको व्यस्तताले गर्दा राम्रो समय दिन सकिराखेको थिएन ।उनीहरुको सम्पर्क पातलिदैँ गएको जस्तो महशुस गर्दै थिइन् कविता । डिप्लोमाको ब्याकपेपर दिनलाई सदरमुकाम आउँदा परिक्षापछि दिपेन्द्रलाई भेट्न जाने सोची र म्यासेज गरिन् । ‘अव सोचिराखेको छु कि तिमीलाई भेट्न आऊँ भनेर, फेरी लामो समय नभेट्दा त तिमीले आफ्नो काम पनि विर्सन्छौ घरिघरि सम्झिराख्नु प¥यो नि त….।’वेलुका अफिस छुट्टी भएपछि दिपेन्द्रले फोन नै गरे । कवितालाई काठमाण्डौ नआउन र पछि आँफै लिन आउने भनेर अनेक सम्झायो तर कविता मानिन, ‘किरातिको छोरी हुँ, मन दिएपछि ज्यान दिइन्छ ।’ अन्तमा ‘ल त्यसो भए फोन राख म्यासेज गर्छु’ भनेर दिपेन्द्रले नै फोन राखे ।

कविताको व्यग्र प्रतिक्षा अन्त गर्दै म्यासेज आयो, र लेखिएको थियो, ‘माफ गर कविता म अव तिमीलाई अपनाउन असमर्थ भएँ, मेरो विहे हुँदैछ, हुँदैछ भन्दा पनि गराइदैँछ । घरबाट आएको आदेश पछि मैले भविष्य सोच्नै प¥यो । मेरो विहेको लागि घरबाट तयारी भैसकेको छ…’

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.