कथा : जेलातो

~रजित ओझा~Rajit Ojha

मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै छन् । ठाउँ नै त्यस्तै– रोम सहर । आँखामा अटाउन्जेल भीड अनि ट्रेभी फाउन्टेन ।

एकजना वृद्धालाई केही समयदेखि नियालेर बसेको छु । वृद्ध भएकैले नियालिराखेँ । युवती भएको भए त क्वारक्वार्ती हेरिरहन गाह्रो हुन्थ्यो । उनीहरूलाई हामी मन नपर्नुको एउटा कारण त्यो पनि हो । राम्रो देख्नेबित्तिकै घुरिदिन्छौँ । असहजै हुने गरी । तिनलाई भने नियालेर बसेको छु । फाउन्टेन पछिल्तिर फर्किएर पानीमा सिक्का खसाल्दै गर्दा भने मसँग आँखा जुधे । हत्तपत्त अर्कोतिर हेरेँ । गल्ती नै गरेको हुँ, ग्लानि पनि भयो । अर्कोतिर फर्के पनि मानसपटलमा उनी घुमी नै रहिन् । दुबै हातमा वैशाखी अनि थोरै लर्बराए पनि चल्न सक्नेसम्मका पाइला । सिक्का खसाल्नुको मतलब उनलाई फेरि रोम आउने रहर छ । आउनुभन्दा अघि ‘ट्रिप एड्भाइजर’को कुनै वेबपेजमा पढेको थिएँ अनि बिहानै एउटा सिद्ध गाइडजस्तै रितुलाई बुझाएको थिएँ ।

“यहाँ सिक्का खसाले फेरि रोम आउन पाइन्छ रे ! मैले पढेको,” रितुको अघि केही जानेको छु भनेर देखाउनु रमाइलो र अनौठो हुन्छ । भगवान्का अघि भजन नबिर्सी गाएजस्तो ।

“किन आउनु नि फेरि, एकचोटि घुमेपछि पुगिहाल्यो नि !” उसले उजाड जवाफ दिएकी थिई ।

सिक्का खसाल्न उठेका पाइलाहरू उसको उजाड जवाफले पछाडि सरेका थिए । कस्तो शिशिर ऋतुजस्तो रित्तो उत्तर । त्यसपछि सिक्का पनि खसालिनँ । रितुको रहर थियो, पेरिस वा प्राग जाने । मलाई भने पेरिस घुमिसकेको, प्रागभन्दा पहिले रोम हेर्न मन लागेको । यसपालि मैले नै जितेको थिएँ । सामान्यतया म हारिदिन्छु । हारेरै रमाउँछु । तर, यसपालि थोरै अड्डी कसेर जितेँ । त्यही भएर होला, रोम आइपुगेपछि भने खासै रमाइलो भएन । उसलाई जित्न नदिँदा जितको रमाइलो हुन्न । हुन त माया जितहारको हिसाब होइन तर पनि सम्बन्ध जोखिने तराजुका अलग्गै कुरा । कहिलेकाहीँ जानी–जानी हारिदिनु कति रमाइलो ! कहिलेकाहीँ भने जित पनि बेस्वादे ।

दिनभर रितु खासै बोलिन । मुख्य–मुख्य ठाउँमा ऊ ठिंग उभिई । थोरै आवरणमा मुस्कान पोती । मैले भरखरै किनेका एसएलआरका फोटाहरूमा उसलाई राम्री पनि देखिनु छ । पछिलाई फेसबुकमा प्रोफाइल पिक्चर चाहिन्छ । त्यसमा ऊ रिसाउन सक्दिन तर त्योबाहेक सम्पूर्ण मौन । हुन त नबोलेरै मैले बुझेँ । नबोलेरै उसले बुझाई । नबोलेरै उसले मलाई हराई । नबोलेरै म जितेर पनि हारेँ ।

दिनभरिको घुमाइपछि भने ऊ थाकेजस्तो गरी ।

“म एकछिन सुत्छु अनिमात्र खाना खान निस्किम् है ?” पछिल्ला शब्दहरू यिनै थिए, उसको मुखबाट निस्केका । मैले टाउको हल्लाएँ । अरू उपाय पनि त थिएन ।

साथ नपाएपछि म एक्लै निस्किएँ बरालिन । अनि ट्रेभी फाउन्टेनअघि ती वृद्ध महिला देखिइन्, जसलाई म नियालिरहेको थिएँ, करिब दुई–तीन मिनेट अघिसम्म ।

कसैले कोट्यायो । मैले पुलुक्क हेरेँ । उनै वृद्ध महिला । अहो नगर्नु गरिएछ । के भन्ने हुन् कुन्नि ?

“इटालियन ?”

“नेपाली !” घुम्री परेको थोरै लामो कपाल पालेको छु, डेल पियेरोजस्तो । ती वृद्धा झुक्किइन् ।

“योगा गर्ने ठाउँ, मैले डक्टर स्ट्रेन्ज हेरेकी छु !” उनले अंग्रेजीमा उत्तर फर्काइन् ।

मनमनै हाँसो उठ्यो । मैले त्यो फिल्म हेरेको छैन । मलाई सुपरहिरो मुभी मन पर्दैन । रितुले भने नेपालका केही सिन छन् भनेर जान मन गरेकी थिई तर हामी गएनौँ । रितुलाई बेनेडिक्ट मन पर्छ । उसको शरलक होम्स !!!

“तपाईंलाई योगा गर्न मन पर्छ ?”

उनी चुप भइन् । वैशाखी नियालेँ । शायद गलत सोधेँ ।

“अघि धेरै बेर नियाल्यौ मलाई !” उनले अचानक प्रश्न राखिन् ।

“मेरी आमासँग अलिअलि अनुहार मिल्छ तपाईंको !” ढाँटिदिएँ । सबैभन्दा सजिलो उत्तर !

“ल्याटिन अनुहार, साउथ एसियनसँग मिल्छ !”

“तपाईं इटलियन हैन ?”

“हैन, कोलम्बियन तर भेनिसमा बस्छु, ३० वर्ष भयो !”

“हामी भोलि भेनिस जाँदैछौँ ! केही सुझाव दिनुहुन्छ ?” मैले खुसी भएर सुनाएँ ।

“भेनिसमा गर्नुपर्ने सबैभन्दा रमाइलो, बाटो हराइदिनु हो, सहर नै संग्रहालयजस्तो छ, फनफनी घुमे पुग्छ !! तर हामी ?”

“मेरी श्रीमतीसँग छु !”

“यहाँ किन नआएकी त तिम्री श्रीमती ?”

“बिहान आएका थियौँ !” आवाज घाँटीमा थोरै अड्कियो ।

“एकपटक मात्रै सँगै आउनु पर्छ र ?” उनी हाँसिन् !

“सँगै भएको भए तपाईंसँग भेट हुन्नथ्यो !” मैले थोरै जिस्क्याएँ ।

“आफ्नी उमेरकी श्रीमतीसँगको साथलाई म ७० वर्षकी बूढीसँगको भेटसित दाँज्नु कत्तिको ठीक हो ?” ठूलो आवाजमा हाँस्दै भनिन् !

“सबै भेट विशेष हुन्छन् ! मेरो नाम अशेष ।”

“मेरो मलेना !”

“मलेना, कस्तो राम्रो नाम !”

“अनि अशेष कस्तो गाह्रो !”

“खासै गाह्रो हैन ! हाम्रा लागि त अशेष सजिलो नै नाम हो ।”

“अघि चुरोट सल्काएजस्तो थियो ! तिम्रै देशको चुरोट हो ?” मैले पुलुक्क हेरेँ ।

“मलाई भिन्न–भिन्न देशको धूवाँ लिन मन पर्छ !” उनले अझै रहर गरिन् ।

“सरी, युरोपकै फ्लेवर हो,” बट्टा झिक्दै तेस्र्याएँ !

“अब के गर्छौ ?” उनले धूवाँ फुक्दै मलाई प्रश्न राखिन् ।

“केही सोचेको छैन । एक घण्टा जस्तो खाली नै छु !” मैले घडी हेर्दै भनेँ ।

“यहाँभन्दा १० मिनट टाढा ठूलो आइसक्रिम फ्याक्ट्री छ । म त्यहीँ हिँडेकी ! जान्छौ ?”

मलाई यो साथ रमाइलो लाग्दैछ । एकछिन रोमका ठूला चौडा सडकहरूमा भौतारिने वृद्ध पाइलाहरू भेटेको छु । नितान्त फरक अनुभव बटुल्दैछु ।

“तपाईं यहाँ कोसँग हुनुहुन्छ त ?” हिँड्दै गर्दा प्रश्न राखेँ ।

“तिमीजस्तै, मेरो पनि ट्रेभीसँग दिक्क मानेर कोठामा पल्टिने छ । उसैसँग छु !” उनी फेरि हाँसिन् । उन्मुक्त हाँसो । यो उमेरसम्म हाँसोमा ठूलो आवाज आउनु पृथक् थियो । नत्र उमेर, अनुभवले हाँसोको स्वच्छन्दता खोस्छ । त्यसमाथि संघर्ष त हाँसोका लागि कफ्र्यु हो । उनी वैशाखीमा थिइन् । तर कफ्र्यु तोडिरहन्थिन् । हो, उनी भिन्न थिइन् ।

“मेरी उनी त रिसाएकी छन् !” बाटोमा रहेको सानो ढुंगाको टुक्रोलाई खुट्टाले थोरै हुत्याउँदै जवाफ फर्काएँ । स्ट्रिट ल्याम्पहरू कुनै कुनै ठाउँमा मधुरो बल्न थालेका थिए । समयको त्यो प्रकाशको समायोजन, निराशाजनक हो वा आशाको सुरुवात, म छुट्याउन सक्दिनँ कहिलेकाहीँ !

“मायामा को रिसाउँदैनन् र !”

“तपाईंको उहाँ पनि रिसाउनुहुन्छ !”

“मेरी पनि उनी नै हुन् ! तिम्रीजस्तै रिसाउँछिन् । राचेल नाम हो उनको !”

अचम्म मान्दै हेरेँ । हुन त संसारभरि कानुनी मान्यता पाइराखेको मायाको यो पाटो अनौठो होइन । तर, यो समयमा अपेक्षा नगरेको अवश्य थियो ।

“३० वर्षअघि घरमा सुनाएपछि परिवारले मेरो रहर बुझेन अनि हामी यता आयौं !” मतिर हेर्दै जवाफ फर्काइन् । बिस्तारै हिँड्दै पनि थिइन् । तर, हिँड्दा जुत्ता थोरै घस्रिन्थे । म दुई कदम अघि बढिसकेपछि पर्खिन्थेँ । मलाई भेटेर फेरि हाँस्थिन् । बल्लतल्ल हामी आइसक्रिम पार्लर आइपुग्यौं । लामो लाइनको पछिल्तिर लाग्यौँ ।

“कत्तिको गाह्रो हुन्छ घरपरिवार छोडेर बाँच्न ?” मैले फेरि सोधेँ ।

“एउटा प्रश्न सोधूँ ?”

“सोध्नुस् न !”

“जीवन सजिलो केले बनाउँछ ?”

“केले ?” मैले प्रतिप्रश्न गरेँ ।

“मायाले, मैले त्यो पाएकी छु, कहिलेकाहीँ राचेलले बिर्सिन्छे र मात्रै !!” उनी फेरि खित्का छोडेर हाँसिन् ।

“राचेलले किन बिर्सिन्छिन् र ?”

“मिन्ट फ्लेवरको एउटा अनि रेस्पबेरी फ्लेवरको एउटा !” अर्डरमा अल्झेर होला, उनले मेरो प्रश्न सुनिनन् । म चुप लागेँ !

“आज तिमीलाई मेरो ट्रिट ! मलाई मन पर्ने यी दुइटा फ्लेवर ! कुन लिन्छौ ?” उनले काम्दै दुइटै आइसक्रिम मतिर लम्काइन् ! तर, उनका आँखा चम्किला, कतै नथर्थराएका, अडिग । मैले बिस्तारै मिन्ट फ्लेवरको आइसक्रिम लिएँ ।

“जाने बेलामा राचेललाई र … साँच्चि तिमीले तिम्री श्रीमतीको नाम नै भनेनौ !”

“रितु !!”

“रितुलाई नि लगिदिनुपर्छ !”

“अहिले किन नकिनेको र !”

“आइसक्रिम नि जीवनका पलहरू जस्तै …. पग्लिन्छ …. तिमी अहिलेको समय रितुसँग पनि बाँच्न सक्छौ र ? यो पल त कोठा पुगेपछि हराउँछ । नयाँ साथ, नयाँ पल । त्यस्तै हो आइसक्रिम पनि !” उनी मुस्कुराइन् । मैले पनि हाँसेर साथ दिएँ ।

प्रत्येक मिनेटमा पग्लिँदै गरेको आइसक्रिमलाई हेरिरहेँ । सुस्तसुस्त कोनभित्र हराइरहेको भान हुन्थ्यो । म रितुसँग बेक्कारमै रिसाएँ । कहिलेकाहीँ मेरो इगोले मेरो मायालाई हराउँछ । हैन हैन, धेरैचोटि मेरो इगोले मेरो मायालाई हराउँछ ।

आइसक्रिम सिद्धियो । हामी फेरि लाइनमा बस्यौँ ।

“अघि तिमी राचेलका बारेमा सोध्दै थियौ नि !”

“हजुर !”

“ऊ मायामात्र हैन, कहिलेकाहीँ मलाई नि बिर्सिन्छे, अल्जाइमर्स छ ! ल म अब छुट्टिन्छु ! रिसाउनेलाई फकाऊ, फकाउनुको रमाइलो नै बेग्लै,” छुट्टिने बेला उनले भनेका यिनै अन्तिम शब्दहरू कोठा आउन्जेलसम्म बजिरहे ।

० ० ०

ढोका खोलेँ । दुइटा आइसक्रिमका कप देखाउँदै रितुलाई सोधेँ–

“आज तिमीलाई मेरो ट्रिट ! कुन लिन्छ्यौ ?”

“कुन फ्लेवर ?”

“एउटा मिन्ट अनि अर्को रेस्पबेरी जेलातो !”

(जेलातोः इटालियन भाषामा आइसक्रिम)

२०७४ जेठ १३

(स्रोत : बाह्रखरी डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *