पुस्तक समीक्षा : श्रेष्ठ ललित निबन्ध ‘मैले नदेखेका हिप्पी’

~राजेन्द्र पराजुली~book cover - Shekhar Kharel - Maile Nadekheko Hippi - nibandha

केही वर्षअघिदेखि नेपाली पुस्तकबजारमा निबन्ध टाक्सिंदो र उपन्यास फस्टाउँदो अवस्थामा छ। पठनसंस्कृतिले फड्को मारेको भनिएको समयमा निबन्ध निम्छरो बन्न पुगेको छ। यसको मूल कारण सङ्ख्यात्मक मात्रै होइन गुणात्मक निबन्धको अभाव हो। यस्तो अवस्थामा आएको शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’ ले नेपाली निबन्धलाई एक तह माथि उकास्ने क्षमता देखाएको छ। १३ वटा निबन्धको यो सङ्ग्रहले लामो खडेरीलाई ओसिलो बनाएको मान्न सकिन्छ।

लेखकले निबन्ध भनेका संस्मरणात्मक शैलीका यी रचना वास्तवमा ‘रम्य रचना’ हुन्। आत्मपरकतामा उनिएका हरेक रचनाले उन्मुक्त उडान भरेका छन्। शेखरले स्व–अनुशासनमा रहेर व्यक्तिगत स्वाधीनताको चिन्ता र वकालत गरेका छन्। उनका ललित निबन्धहरू चित्रकारिताको पनि नजिक छन्। कुनै न कुनै घटना बताउने निबन्धहरूले केही न केही सन्देश प्रवाहित गर्छ। एकल सन्देशभित्र अनेक विचार तरङ्गित हुन पुगेका छन्, मानौं लेखक चित्रलाई शब्दमा वर्णन गरिरहेछन्। त्यो चित्रमा प्रयुक्त स्थान वा घटनामा पाठक थाहै नपाई सहभागी हुन पुग्छन्।

यसरी पाठकलाई आफूसँगै यात्रा गराउन सिपालु देखिएका छन्, शेखर। ‘मैले नदेखेका हिप्पी’ हातमा लिएका पाठक घरी महात्मा गान्धीको त कहिले जिम मरिसनको समाधिस्थलमा पुग्छन्। कहिले नाङ्गा बाबाहरूको चर्तिकला हेर्छन् त कहिले सुन्दरीहरूका बीचमा पुग्छन्। शेखरले निबन्ध लेख्दा फोटोग्राफीमा जस्तै सुन्दर फ्रेम तयार पारेको प्रतीत हुन्छ। फ्रेमभित्र अड्कलेर शब्द प्रयोग गरेको हुनाले हरेक निबन्ध छरिता लाग्छन्। आकारमा छोटा भए पनि निबन्धले विचार र रुचिको गहिराइ छोएका छन्।

आफ्नो थातथलो बानेश्वरबारेको निबन्ध ‘बदलियो बानेश्वर’ मा निकै ‘नोस्टाल्जिक’ बनेका छन् शेखर। उनी धोबीखोला र वागमतीमा माछा पौडिरहेको कल्पना गर्छन्। कङ्क्रिटको घनाजङ्गलमा रूपान्तरण भइसकेको र अधिकांशले भरपुर गाली गर्ने काठमाडौं बानेश्वरमा उनी परम्परागत वास्तुका फाट्टफुट्ट मात्रै घरहरू देख्छन्। आफ्नो कलिलो मस्तिष्कमा गहिरो प्रभाव पारेका केही पात्रलाई सम्झन्छन् र सांस्कृतिक र पर्यावरणीय सङ्क्रमणको अलिकति अपुग बयान गर्छन्। उनी आफूलाई शिक्षा दिने गुरुहरूप्रति अनुगृहीत देखिन्छन्। डीपी भण्डारी, अभि सुवेदी लगायतका शिक्षक उनलाई प्रेरणापुञ्ज लाग्छन्, तिनका लेखनशैलीबाट प्रभावित छन्।

विशेषगरी व्यक्तिचित्रलाई महत्व दिएको संग्रहको ‘ट्रान्जिटमा तन्नेरीका कुरा’ निबन्धमा उनले मुलुकको भविष्य, शान्ति तथा राजनीतिक सङ्क्रमणको यथार्थ प्रस्तुत गर्दै पढ्ने लगायतका निहुँमा विदेश भासिन लागेका युवाको मनोदशा उतारेका छन्। वृत्तचित्र बनाउने क्रममा लेखकले भेटेका चित्रकार लक्ष्मण श्रेष्ठ, सङ्गीतकारद्वय मनोहरि सिंह र लुइ ब्याङ्क्समाथिको आलेख निकै प्रभावित पार्ने खालका छन्। मधु नामका आफ्ना तन्नेरीकालका मित्रबारेको निबन्ध ‘ठेगाना छुटेको चिट्ठी’ ले पाठकलाई भावुक बनाउँछ। यो निबन्ध संग्रह रूपी ग्यालरीमा वेग्लावेग्लै मूल्य र महत्वका शब्दचित्रहरू छन्, जसले नेपाली ललित निबन्धको दुनियाँमा दीर्घकालसम्म महत्व राख्ने विश्वास गर्न सकिन्छ।

मैले नदेखेका हिप्पी
लेखकः शेखर खरेल
प्रकाशकः साङ्ग्रिला पुस्तक प्रालि
पृष्ठः १०४+१६,मूल्यः रु.१७५

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.