पुस्तक समीक्षा : मञ्जुलको आत्मवृत्तान्त

~सञ्जीव शर्मा~book-cover-manjul-pahad-jasto-bato-jasto-ma-biography

मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान् । राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझ्ै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ । कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको लम्बेतान पारपाचुके मुद्दाबाट पनि मञ्जुल टीकाटिप्पणी र चर्चाको पात्र नै बने । तिनै मञ्जुलले आफ्नो आधा आत्मवृत्तान्त ‘पहाडजस्तो–बाटोजस्तो म’ सार्वजनिक गरेका छन् । यस कारण आधा आत्मवृत्तान्त कि यसमा कवि, कविता र सौन्दर्य चेतले पूर्ण युवकको अनुभूतिहरू मात्र समेटिएको छ, मञ्जुलको पछिल्लो जीवनबारे केही छैन ।

भोजपुरको एउटा पण्डित परिवारका मेघराज उपाध्याय अर्थात् मञ्जुलले पुस्तकको प्रारम्भ आफू जन्मे–हुर्केको गोगने गाउँको सम्झ्नाबाट गरेका छन् । आफूमा पहाड पनि जन्मेको ठान्ने लेखक धरानमा पढ्दै किशोरकाल बिताएपछि उच्च शिक्षाका लागि काठमाडौं आउँछन् र राल्फाली समूहमा लागेर प्रगतिशील गीत गाउँदै अनेक जिल्लाका गाउँ–गाउँ पुग्छन् । पारिवारिक अवस्था, संस्कार र पहाडे जीवनका उतारचढाव तथा आमा–छोराबीचको अगाध स्नेहले भरिएको लेखकको बाल्य जीवन सरस छ । मञ्जुलले ‘पहाडजस्तो–बाटोजस्तो म’ को धेरै ठाउँमा आफूलाई खुला रूपमा प्रस्तुत गरेजस्तो पनि लाग्छ । धरानमा पढ्दै गर्दा उमेरसँगै उदायको सौन्दर्य चेत, क्रान्तिकारी भावना र काठमाडौंमा रामेश, रायन, अरिमहरूसँग शुरु गरेको राल्फा आन्दोलन र तत्कालीन नेपाली गीत–सङ्गीत र साहित्यको अवस्थाबारे पुस्तकले राम्रो जानकारी दिन्छ ।

च्याल्सामा गीत गाउँदा भेटभएकी तिब्बती युवतीलाई विवाहको प्रस्ताव राखेको कुरासम्म खुलाएका लेखकले कुन्तासँगको विवाह र त्यसपछिको जीवनबारे भने केही उल्लेख नगरेर लेखकीय इमानदारी देखाएका छैनन् । बरु उनले पुस्तकमा दुई ठाउँमा कुनै महिलाले गर्दा आफूले ‘कुम्भीपाक नर्क’ व्यहोर्नु परेको लेखेर एकपक्षीय रिस साँध्न खोजेका छन् । दैनन्दिनका भेटवार्ताहरूमा मञ्जुलको मुखबाट प्रायः निस्किरहने ‘मेरा सारै प्रिय’, ‘माया गर्ने’ लगायतका शब्दहरूको प्रयोग किताबमा पनि धेरै छ । कतिपय सन्दर्भहरूको बयान गर्दै जाँदा एकोहोरिएका लेखकले पाठकहरूलाई बिर्सिएको जस्तो लाग्छ ।

मञ्जुललाई चिनेकाहरूका लागि निकै रोचक यो पुस्तक आम पाठकका लागि भने ठाउँ ठाउँमा अलि खट्किन सक्छ । कतिपय ठाउँमा धेरै घतलाग्दा अनुभूतिहरू छन् भने कतै लेखिसकेपछि लेखकले दोहो¥याएर नपढे जस्तो लाग्छ । आत्मसंस्मरणहरू यस्तै हुनुपर्छ भन्ने मानक नभए पनि सम्पादनमा थप ध्यान दिएको भए ‘पहाडजस्तो–बाटोजस्तो म’ झनै रोचक हुन सक्थ्यो ।

पहाडजस्तो–बाटोजस्तो म
मञ्जुल
प्रकाशकः रत्न पुस्तक भण्डार
मूल्यः रु.३५०, पृष्ठः ३००

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.