कविता : थिचेजस्तै अग्ला–अग्ला पहाडले

~निर्मोही व्यास~Nirmohi Vyas

खासै प्रसन्नता दिन्नन् मलाई चाडबाडले
उल्टै, लाग्छ थिचेजस्तै अग्ला–अग्ला पहाडले
0
विधर्मी हैन, प्यारो छ मलाई निज संस्कृृति
किन्तु विकृतिले मेरो बिग्रेको छ मनःस्थिति
0
जता जाऊँ, जता हेरूँ, छ वैभव–प्रदर्शन,
श्रद्धा थोरै, बढी स्वाङ, ढोङ, देखावटीपन
0
दिनानुदिन बढ्दै छ मर्यादा–अवमूल्यन
मान फोस्रा र बोक्राको, गुदीको अपहेलना
0
म आराधक आस्थाकोे, र निष्ठाको म पूजक
शिव–सौन्दर्यको सेवी, सत्यको म उपासक
0
जे देख्तै छु यहाँ, मेरो कतै देखिन्न देवता
जे–जे भोगिरहेको छु— त्यहाँ छैन अभीष्टता
0
म के आशा गरूँ यस्तो रीतिबाट समाजको ?
सँगालूँ के म विश्वास अवस्थाबाट आजको ?
0
यही हो संस्कृति–प्रेम ! भने, मानूँ म के गरी ?
परम्परा यही नै हो ! भने, धानूँ म के गरी ?
000
(रचनाकाल र स्थान :१६ कात्तिक २०७३ (भाइटीका), इमाडोल, ललितपुर)

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *