पुस्तक समीक्षा : द्वन्द्वकालको एकाङ्गी नालीबेली

~रामेश्वर बोहरा~book-cover-dipendra-rokaya-nafa-ko-jindagi-ekanki

माओवादीको हिंसात्मक विद्रोहका बेला त्यही पार्टीसँग सम्बद्ध पत्रकारहरुले भोगेको नियतिको शब्दचित्र हो, दीपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दगी। पुस्तकमा प्रहरी हिरासतमा उनले पाएको यातनाको बेलिबिस्तार छ।

हुम्लाको विकट गाउँमा बिरामी बाबुलाई भेट्न काठमाडौंबाट नेपालगञ्ज हुँदै कोल्टी (बाजुरा) विमानस्थल पुगेका उनलाई माओवादी नेता नेत्रविक्रम चन्द (विप्लव) भएको आरोपमा विमानस्थलमै समातियो। त्यसपछि उनले भोग्नुपर्‍यो, आङ नै सिरिङ्ग पार्ने यातना। पुस्तक मूल रूपमा यसैमा केन्द्रित छ।

पत्रकार भए पनि लेखकले सबै ठाउँमा आफूलाई माओवादी कार्यकर्ताको रूपमा मात्र प्रस्तुत गरेका छन्। माओवादीकै ‘सञ्चार व्यूरो’ मा रहेकाले त्यसो गर्नु स्वाभाविक पनि होला। तर, यसबाट उनको पुस्तकको ओज भने घटेको छ। पुस्तकमा आफूलाई पत्रकारका रूपमा प्रस्तुत गरेको भए उनको दर्दनाक डायरी प्रभावकारी त हुन्थ्यो नै, पुस्तकमा भएका द्वन्द्वकालका विस्तृत र विविधतापूर्ण विवरण सबै पाठकलाई विश्वसनीय पनि लाग्थे। र, निहत्थाहरुले विद्रोहीको आरोपमा राज्यबाट भोगेको यातना नयाँ रूपमा लिपिबद्ध पनि हुनेथियो।

शान्ति प्रक्रियामा आएपछि माओवादीको नेतृत्वदेखि कार्यकर्तासम्म मौलाएको सांस्कृतिक–आर्थिक अराजकता, त्यसले निम्त्याएको विचलन र भोलिका दिनमा नेतृत्वले व्यहोर्नुपर्ने संकटबारे रोकायाले पुस्तकमा गरेको आकलन भने मर्मस्पर्शी छ। फुटपाथमा सुनिएको बहस भन्दै पुष्पकमल दाहालबारे रोकायाले गरेको भविष्यवाणी “एक– उनी संसदीय नेता मात्र हुन्छन्, दुई– हेग पुर्‍याइने डरले बौद्ध भिक्षु बन्न सक्छन्, तीन– आफ्नो काममा आत्मग्लानि भएर स्वयम् आत्महत्या गर्न सक्छन्, चार– क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन्, पाँच– पुनः रूपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिलाई अघि बढाउन सक्छन्” पढ्दा रमाइलो लागे पनि, यसबाट उनी मोहन वैद्य नेतृत्वको नेकपा―माओवादीको कार्यकर्ता बनेको नयाँ परिचयभन्दा बढी केही खुल्दैन।

नाफाको जिन्दगी
लेखकः दीपेन्द्र रोकाया
प्रकाशकः सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठान, हुम्ला
मूल्यः रु.३५०,
पृष्ठः ३४०+

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.