संस्कृति परिचय : गुंला पर्व र यसको महत्व

~राम प्रधान~

नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको वास्तविक पहिचान हो । नेपाललाई धार्मिक दृष्टिकोणले हेर्दा नेपालको आदिवासी जनजातिहरु मध्येका एक जाति नेवार जाति हो । नेवार जाति परम्परा रितिरीवाज, चालचलन, धर्म संंस्कार संस्कृतिमा विशेष चाख र महत्व राख्ने जाति हो । अन्य जनजातिहरुको जस्तै नेवारहरुको पनि सम्वत् अथवा समय वा साल परिवर्तनको गणना गर्ने बैज्ञानिक आधारमा नयाँ वर्ष मानिन्छ । चन्द्रमास परिवर्तनको आधारमा गणना हुने नेपाल संवत कार्तिक शुक्ल प्रतिपदा (परेवा वा पारु) दिन नयाँ वर्षको प्रारम्भ मानिन्छ । अर्थात् प्रत्येक शुक्ल प्रतिपदाको दिन नयाँ महिना शुरु हुने गर्दछ । यो श्रावण शुक्ल प्रतिपदाबाट शुरु हुने ‘गुंला’ महिना पर्दछ । गुंला महिना वर्षको १० औँ महिना हो ।

गुंला महिना नेवार जातिको मात्र नभइ चन्द्रमास परिवर्तनको आधारमा चाड पर्व रितिरीवाज मान्ने सबै जातजातिहरुको महत्वपूर्ण महिना हो । यो प्रारम्भ भएको पाचौँ दिन नागपंचमी मनाइन्छ । जुन दिन प्राय सबै जातजातिहरुले नागहरुको पूजा गर्दै हरेक घरघरमा नागहरुको चित्र टाँस्ने प्रचलन छ । काठमाडौं, ललितपुर, हानघाट, धापाखेल नागदह लगायत विभिन्न धारा, कुवा, मूल पोखरीहरुमा पुगी नागहरुको पूजा गरी नागपंचमी सम्पन्न गरिन्छ । क्वाँटीपूर्णिमा, रक्षाबन्धन, जनैपूर्णिमा, राखी पूर्णिमा जस्ता महत्वपूर्ण दिन पनि यस महिनाको पूर्णिमाको दिन पर्दछ । अर्थात् चन्द्रमास पूर्ण भएको दिन ४÷५ ओटा नामले एकै दिनलाई जनाउँछ । नेवार समुदायमा क्वाँटीपूर्णिमा, ब्राह्मण तथा क्षेत्री समुदायमा जनै परिवर्तन गरी नयाँ र सफा लगाउने, रक्षाबन्धनको रुपमा डोरी नाडीमा बाँध्ने र तराईवासी समुदायमा चेलीहरुले माइतीहरुको रक्षार्थ राखी बाँधेर मनाउने चलन छ ।

पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण कृष्णप्रतिपदाको दिन शहर बजारमा चालु वर्ष भरी स्वर्गवास हुनुभएका पूर्खा वा आफन्तहरुको स्मृतिमा स्वर्गीय व्यक्तित्वहरुको प्रतिविम्ब बनाई आफन्तजनहरुले बजारमा प्रदर्शनगरी स्वर्गीय व्यक्तिप्रति सामूहिकरुपले श्रद्धा व्यक्त गर्ने वर्षको रुपमा मनाइन्छ । यस दिनलाई गाइजात्रा वा सापारु भनेर नेपाली समाजको मनभित्र जिवित छ । त्यसपछि चालुवर्षको धान रापाई गरिसकेको सन्दर्भमा रोपाई जात्रा मनाइन्छ । रोपाई जात्रामा धानको विरुवा रोपेको अभिनय गर्दै सडकमा रोपाई जात्रा हुन्छ । त्यसपछि कृष्णअष्टमी लगायत धेरै पर्वहरु यस महिनामा भने पितृको वा बुवाको मुख हेर्ने पर्व पनि यसै महिनामा पर्दछ ।

यसै महिनामा सोमबार ब्रत वा शिवप्रति भक्ति प्रदर्शन गर्ने, बाबा धाम दर्शन गर्न जाने । चाड पर्वहरुको प्रारम्भ हुने खेतीपातीहरुको समाप्त तथा महिजारोको छेउछाउ वा हिउँद मौसम यसै महिनादेखि शुरु हुन्छ भन्ने धार्मिक मान्यताहरु छन् । धार्मिक किम्वदन्ती अनुसार गुंला महिनाको कृष्ण प्रतिपदा वा कृष्णपक्ष परेवाको दिन स्वर्गद्वार खुल्ला रहने र स्वर्गीय व्यक्तित्वहरुको नाममा सापारु (गाइजात्रा) को व्यवस्थापन गर्दा स्वर्गमा बास हुन्छ भन्ने मान्यता छ । अर्को पक्ष भनेको यस महिनामा कृष्णअष्टमी पर्व केवल नेवार जाति मात्र नभएर कृष्ण भगवानप्रति श्रद्धा गरी कृष्णलाई मान्ने सबै प्रकारको जातजाति । जनजातिहरुले पनि कृष्ण जन्मअष्टमी धुमधामसँग मनाइन्छ । यो महिनामा काठमाडौं उपत्यका बाहेक नेवारहरुको बाक्लो बसोबास भएको शहरहरुमा करिब एक महिनासम्म लगातार रुपममा दैनिक लाखे नाच प्रदर्शन गरिन्छ । गुंला महिनाको ३ दिन अगाडि शिल्ला महिनाको घण्टा कर्ण चतुर्दशीका दिन ‘गथांमुग चन्हेपुजा गरेपछि उपत्यका बाहिरका भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, धरान, बिराटनगर, दमक, उर्लाबारी, इलाम, इटहरी लगायतका शहरहरुमा लाखे नाच दैनिक जसो देख्न पाइन्छ । कृष्ण जन्मअष्टमीमा कृष्णको जन्म भएको अभिनयपछि माथि उल्लेखित शहरहरुमा लाखे नाच सम्बन्धीको कार्यक्रमहरु चालु वर्षको लागि सम्पन्न भएको मानिन्छ । त्यसपछि गुंला वर्षको अन्तिम दिन अथवा गुंला महिनाको मसान्तको दिन कुसे औसी तथा बुवाको मुख हेर्ने तथा पितृ दर्शन गरेपछि यो महिना समाप्त हुन्छ । यसै महिनामा ‘बोलबम’ जाने विभिन्न जलासयबाट पानी ल्याई शिव मन्दिरहरुमा पानी चढाउने ब्रत बस्ने लगायतका थुप्रै धार्मिक मान्यताहरु बोकेको महिना हो ।

गुंला महिनाभरी नै धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणहरुले सबैजसो जातजाति, जनजातिहरु कुनै न कुनै ढंगल जानेर वा नजानी भएपनि यस महिनाभित्र विभिन्न धार्मिक कार्यहरुमा संलग्न रहन्छन् । महिलाहरुको सन्दर्भमा पनि यो महिना महत्वपूर्ण छ। महिलाहरुले हरियो चुरा लगाउने सोमबारको दिन ब्रत बस्ने शिवजी मन्दिरहरुमा पानी चढाउने गर्छन् भने घरघरमा नागको पूजा गर्ने, नाग टाँस्ने गर्दछन् । ब्राह्मण तथा क्षेत्री अथवा जनै लगाउने समुदायले नयाँ जनै लगाउने गर्छन् । तराईवासी समुदायमा राखी चेलीहरुले माइतीहरुलाई लगाइदिन्छन् । पुह्रेतहरुले, पण्डितहरुले रक्षाबन्धन लगाई दिने देखि नेवार समुदायमा ९ प्रकारका प्रोटिन युक्त गेडागुडीहरु पकाएर आफन्तहरुलाई खुवाउने चलन छ। त्यस्तै मुख्य शहरहरुमा बाजा बजाउँदै लाखे नाच प्रदर्शन गर्ने पर्वहरु मनाउने, हिलो खेल्ने, रंगीविरङ्गी कपडाहरु लगाउने, साहित्यकार, व्यंग्यकारहरु सामाजिक विकृति, विसंगतीहरुको विरुद्धमा हाँस्य ब्यंग्य सृजनाहरु समेत प्रस्फुटन गर्ने महिना भएको हुँदा एक प्रकारले रमाइलो महिना पनि हो । त्यसैगरी महिनाको अन्तिम दिन आफ्नो जन्मदाता बुवाप्रति सम्मान, भक्तिभाव प्रदर्शन गर्दै आ–आफ्नो औकात, गच्छ्य अनुसार उपहार, मीठो मसिनो बुवालाई दिएर सम्मान गर्ने महिना भएकोले गुंला महिनाको पर्वहरुको महत्व बढ्दै गइरहेको छ ।

(स्रोत : पिपुल्स टाइम्स दैनिक )

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.