कथा : कमैया

~सोमना थारु~

“यो निबुवा खान अलि कति नुन पाउँथ्यो कि हजुर ? ” राम प्रसाद भण्डारीले निबुवा देखाउँदै थारु गाऊँको एक घरमा आफ्नो टोपी थाप्यो । घाँटीमा हसुलि । पाखुरामा मठ लगाएकी ।  हात पाखुरा, पिडौलामा खोपेकी (टट्टू ) एक जना महिला निस्की भित्रबाट । मौनी (थारु महिलाहरुले बनाउने एक प्रकारको डालो) मा भरिएको नुन लिएर ।

“यत्रो धेरै नुन किन हजुर ? ” राम प्रसादले सोध्यो ।

“लैजा लैजा ।” महिलाको उत्तर आयो

टोपीमा नुन नअटेर राम प्रसादले आफ्नो धोतीमा पोको पार्‍यो । आफ्नो स्याउलाले छाएको झोपडी फर्केर श्रीमतीलाई सुनायो “हेर बुढी यो गाऊँका थारुहरु बडा दयालु रहेछन । जाबो एउटा निबुवा खान पुग्ने नुन मागेको त गाऊँभरिकाले यत्रो नुन दिएर पठाए ।”

श्रीमतीले खुसी हुदै थपी “ठिकै त भा छ नि हजुर । अब त वर्ष दिनलाई नुन किन्नु पर्दैन   ।”

राम प्रसादले श्रीमतीलाई एउटा उपाय सुनायो “होइन बुढी यो नुन यति धेरै छ । हामीलाई वर्ष दिन त त्यसै पुगी हाल्छ । अलि कति बजारमा लगेर बेच्ने पो हो कि ? हामीसंग दुइ चार रुपियाँ पनि भैहाल्छ । फेरी हामीलाई नुन नपुग भए फेरी कुनै बहानामा थारुहरुसंग मागौला हुन्न ? ” राम प्रसादकी पत्नीले मुन्टो हल्लाएर सहमति जनाई । राम प्रसादकी बुढीले मन मनै भनि “यी बुढाले आफ्नै बुहारी माथि त्यस्तो काम नगरेका भा यस्तो हालत त हुँदैनथ्यो होला । यी बुढाको मन कति पापी छ ! कति अधर्मी ! मन कति कालो । हरे शिव !”

“ए बुढी किन टोलाइस ?”

“हैन, हैन क्यै भा छैन । तपाइँ बजारतिर जाने भा म मकै भुटी हालें” राम प्रसादकी बुढीले कुरो ठिक्क पारि

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

“एक कान दुइ कान मैदान अनि राजाको कान” भने झैँ गाऊँको नजिकै एक जना पर्वते आएर खोयार (झोपडी) हालेको कुरा गाऊँको महतौवां (थारु गाऊँको इन्चार्ज) को कानमा पुग्यो ।  महतौवां ले आफ्नो अगुवालाइ डाक्यो “अगुवा साहेब, कता कता सुन्दैछु पुर्व पट्टि नदीको तिरमा एउटा पर्वते आएर खोयार हालेको छ अरे । खबर बुझेर आउनु हुन्थ्यो कि ?” महतौवांले अगुवालाइ अनुरोध गरयो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

भोलि पल्ट बिहानै अगुवा त्यो झोपडीमा पुग्यो । अगुवाले आफ्नै भाषामा राम प्रसादलाई अभिवादन गरयो । धेरै कुरा नगरिकन आफु त्यहाँ पुग्नुको कारणबारे राम प्रसादलाई छोटकरीमा जानकारी गरायो । राम प्रसादले मनमनै गुन्यो “त्यो जमिन्दार (महतौवां) ले किन बोलाएको होला ? मलाइ यहाँ बस्न पो नदिने हो कि ? “आफैले आफैलाई प्रश्न तेर्सायो  “यहाँ बस्न नदिए डोको दाम्लो बोकेर फेरी कुन दिशातिर लाग्ने होला ?” राम प्रसादले मन मनै खुब कुरा खेलायो । आफुले आफैंलाई धिक्कार्‍यो पनि । मैले आफु जन्मे हुर्केको गाऊँ ठाउँका दाजुभाई, इस्टमित्रलाइ जाल साज नगरेको भा, आफनै भाइ बुहारीलाई कुदृस्टी नलाको भा यस्तो जोगी जस्तो भएर भौतारिनु पर्दैनथ्यो । हरे शिव ! दया गर प्रभु !”

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

अगुवाले राम प्रसादलाई महतौंवा कहाँ हाजिर गरायो । राम प्रसाद महतौंवा कहाँ आउँदा  पाहुना सरि स्वागत पायो । थारु चलन अनुसार पाहुना आउने बितिकै बस्नको लागि खटियामा दरि बिछ्याइयो । पानी पिउन दिएर सुर्ती खान अनुरोध गर्दै स्वागत गरियो । यी सबै कुरा पाउँदा राम प्रसादले सोचेको नकारात्मक सोचको घडीको सुइरोले उल्टो फन्को मारिरहेको थियो । महतौंवाले राम प्रसादसँग सोधपुछ गरयो । छलकपट कहिल्यै नगरेको  त्यस्तो अनुभव पनि नभएको महतौंवाले राम प्रसादले बनाएका अनेकौ बनावटी कुराहरु विश्वास गरयो । राम प्रसादलाई निकै दुख परेर जोगी जस्तो भएको कुरापनि महतौंवाले विश्वास गरयो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

“ए राम प्रसाद जी, तपाइँलाइ अप्ठ्यारो नलागे केहि समयको लागि हाम्रै नजिक आएर बस्नुस । यै हाम्रै बारीको दक्षिण पट्टिको कुनामा झोपडी हाल्नुस । त्यो बारीसँग जोडिएको एक टुक्रा खेत छ । त्योपनि कमाए हुन्छ हजुर । दुख सुख पर्दा हामी सबैलाई सजिलो पर्छ ।” महतौंवाले दया भाव देखायो ।

महतौंवाको यो प्रस्ताव सुनेर राम प्रसादले आफ्नै अगाडी भगवान शिव पाए झैं गर्‍यो ।

‘यी त भगवानै रहेछन बाबा ! राम प्रसादले मनमा गुनगुनायो ।’

केहि दिनमै राम प्रसादको घर थारु गाऊँमै निर्माण भयो । घर बनाउन महतौंवाले गाऊँ भरिका मानिसलाई सहयोग गर्न आव्हान गरेको थियो । राम प्रसादले आफ्नो घरवार शुरुवात गर्न सजिलो होस् भनेर गाऊँभरिकाले आफु सक्दो सामान राम प्रसादलाइ दिए । राम प्रसादका श्रीमती र नाबालक छोरा केहि दिनमै त्यहाँ बस्न थाले । राहतको जिन्दगीका साथ ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

राम प्रसादका पुर्खा पढे लेखेका थिए । उनीहरु वनारस गएर संस्कृत पढेका थिए । कोहि भएका थिए पण्डित । कोहि मालपोत कार्यालयमा खरिदार । राम प्रसादले भने आफ्नो पढाइ बिचैमा रोकेको थियो । उसले गाऊँमै सामाजिक काम गर्ने गर्दथ्यो । सामाजिक काम सँगसँगै उसले आफ्नो पहाडको गाऊँमा अनगिन्ती जनविरोधी, असामाजिक कामपनि गरेको थियो । त्यसैले गाऊँलेहरुले उसलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर गाऊँमा सामाजिक तिरस्कार गरेका थिए । गाऊँमा बस्न खान नभएर उ रातारात भागेको थियो ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

एक दिन राम प्रसादले मालिक (महतौंवा) सँग बिन्ति बिसायो “मालिक हजुरले मलाइ यतिका दया गर्नुभयो । घर घडेरी दिनुभयो । खेतपनि दिनु भा छ । तर मालिक तपाईलाई थाहा छँदैछ, म उपाध्याय बाहुन हुँ । मैले हलो जोत्नु त कता कता हलोको अनौ पनि छोयो भने पाप लाग्छ हजुर । मैले त्यो खेत के गर्ने मालिक ? ”

“तिमीले कुनै कुराको पनि धन्दा नमान राम प्रसाद । म सबै कुराको चाँजो पाँजो मिलाई दिन्छु” महतौंवाले आश्वासन दियो ।

राम प्रसादको जीवनमा आईपरेका दुखका दिनहरु विस्तारै सुखमा परिणत हुँदै गए । उसले गाह्रो काम पनि गर्न नपर्ने भयो । राम प्रसादकी बुढीले मनमनै फेरी सोची “हैन बुढाले बुहारी माथि जवर्जस्ती गरेर राम्रैगरे कि कसो ? त्यतिका नगरेका भए हामी यहाँ आउने थिएनौं ।  यहाँ आए पछी त मलाई भैसीको गोबर पनि सोहोर्न पर्या छैन । सधै भातै खान पाइया छ । मलाइ त स्वर्ग आए जस्तो भा छ । भाग्याँ लेखेपछी कसको के पो लाग्छ र ? यी यो ज्यान पनि पहिला यस्तो कहाँ थियो र ? स्याकुटी थिएँ म त । कस्तो कमजोर र सुकेको ज्यान थियो मेरो । अहिले त शहर कि हाकिम्नी जस्तो पो भा छु । धन्य होस् प्रभु !

“यो गाऊँमा पनि राम्री राम्री थरुनी केटीहरु छन् । तिनीहरु माथि यो बुढाले आँखा गाडने पो  हुन् कि ? ‘लागेको बानी कहिँ नजानी’ भन्छन । बुढाले फेरी कान्छी बुहारीलाई जस्तै यहाँका थरुनी केटीहरुलाई गरे भने त ?”

“राम प्रसाद ! ए प्रसाद ! ” यहि बेला राम प्रसाद लाइ खोज्दै अगुवा आइपुग्यो । अगुवा अलि अत्तालिएको भावमा देखिन्थ्यो । “राम प्रसाद खोइ ? ” अगुवाले बज्यै लाइ सोध्यो ।

“घरमा हुनुहुन्न वहाँ त हजुर । ल घर आयो भने मालिकले बोलाछ भनेर भन्दे है हजुर ।”  अगुवा यति भनेर फर्की हाल्यो । राम प्रसादकी बुढीको मुटुमा ढ्यांग्रो ठोक्यो “लौ बुढाले कतै

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

भोलि पल्ट बिहानै राम प्रसाद महतौंवा कहाँ हाजिर भयो । “राम प्रसाद तिमीलाई चिठी पढन आउँछ ? ” महतौंवाले सोध्यो ।

“अलि अलि आउँछ हजुर ।”

“ल त्यसो भए यो चिठी पढ त ।”

“हजुर मालिक तपाइहरुले आफ्नो जग्गा जमिनको २ वर्षको पोत तिर्नु भएको रहेनछ । त्यहि पोत तिर्न भनेर ‘बाटोको म्याद बाहेक ७ दिनमा अड्डामा हाजिर हुनु’ भनेर बडा हाकिमले हुकुम आदेश गरेको छ हजुर ।”

“हजुर मालिक तपाइहरुले २ वर्षको मालपोत तिर्नु भएको रहेनछ । त्यहि मालपोत तिर्न भनेर जिल्ला मालपोतबाट आएको चिठ्ठी हो हजुर ।” रामप्रसादले पत्रमा लेखिएको कुरो महतौवालाइ अर्थ्यायो ।

महतौवा एक छिन चुपचाप बस्यो । मनमा कुरा खेलाउँदै । त्यसपछि सोच्यो,

“जान त मालपोत तिर्न म पहिला पटक पटक अड्डा अदालत नगएको होइन । तर त्यहाँ जादाँ बाटा खर्च आफैले भारमा बोकेर लैजानुपर्ने । बाटोमा बास बस्दै ३, ४ दिन लगाएर जानु  पर्ने । अड्डाका हाकिमहरुलाई घिउ, तेल, चामल बोकेर लगीदिनुपर्ने । यो खुट्टा कम्ता त  दुख्दैन । हुन त भारी बोक्न एक जना भरिया (भर बोक्का) पनि साथैमा लिएर जाने गर्छु । यी विभिन्न झन्झट र अप्ठ्याराहरु त छँदै छन् । त्यहाँ गइसकेपछि मलाइ भाषाको पनि ठुलो समस्या पर्छ । मैले बोल्यो कि त्यो अड्डाको पुन्टे खरदार कस्तो हाँस्छ । हैन यिनीहरुले हाम्रै भाषा बोले हुँदैनथ्योर ? के गर्ने सरकारी कानुन मान्नै परो । हैन यसपाली यै राम प्रसादलाई गइ दिन भन्नु पर्यो । यो पनि जान मन गर्छ कि गर्दैन ।”

“रामप्रसाद ल सुन । अगुटा बात भन्छ मैले । यस पाली यो पोत तिर्न तिमि नै जानु परो । तिमीलाई अलि अलि पढनपनि आउँदो रहेछ । बरु तिमि गइदिएवापतको गुन हामीले पनि तिर्छ ।”

“हस मालिक ।” राम प्रसादले महतौवाको आदेश स्विकार्‍यो । बरु उसको गुलामी गर्ने अवसर पाएकोमा मन मनै हाँस्यो ।

महतौवाले चक्दार चलायो अर्थात सभा डाक्यो । गाउँका प्रत्येक घरका घर मुली उपस्थित भए । उसले यसपाली रामप्रसादलाई अड्डामा पठाउन लागेको कुरा सबैलाई जानकारी गरायो । उसको प्रस्ताव माथि कसैको विरोध रहेन । सर्वसहमति भयो । भोलिनै रामप्रसाद अड्डा जाने  निधो भयो । सबैले राम प्रसादको लागी खर्च भनेर घिउ, चामल, नुन तेल खुर्सानी, बेसार  लसुन आदि दिए । एक जना भरिया समेत खटाइयो ।

भोलि पल्ट कुखुरा बास्दा नबास्दा रामप्रसाद र भरिया हिँडे जिल्लातिर । बाटामा बास बस्दै ३, ४ दिनको पैदल हिँडाईपछि बल्ल रामप्रसाद जिल्लाको मालपोत अड्डामा पुग्यो । त्यहाँका कर्मचारी हाकिम सबैलाई उसले राजा महाराजालाइ झैं अभिवादन टकरायो ।

वडा हाकिमको कार्यकक्षमा पसेर रामप्रसादले भन्यो “हाकिम साप, म रामप्रसाद भण्डारी । बेलवा गाउँबाट पोत तिर्न आएको हजुर ।”

बेलवा गाउँ भनेपछि हाकिम एक छिन अल्लमल्ल परे । बडा हाकिमले सोचे “हैन बेलवा  गा गाउँमा सबै थारु छन् । त्यहाँबाट सधैजसो त्यहाँका जिम्दार दुलारी महतोनै आउने गर्थे । यो छट्टु जस्तो लाग्ने बाहुन कहाँ बाट आयो ?”

हाकिमको मनमा चिसो पस्यो । “तपाइँ बेलवाबाटै आएको हो ?” हाकिमले प्रश्न तेर्साए ।

“हो हजुर, मैले असत्य बोलेको भए सुर्यले भस्म गरुन हजुर” राम प्रसाद बिनम्रसाथ प्रस्तुत भयो ।

“हुनत म पनि पहाडिया बाहुन नै हुँ तर धेरै पहाडिया फटाहाहरुले सोझा साझा इमान्दार थारुहरुको जग्गाजमिन जालझेल गरेर हडपेका छन् । थारुहरुमाथि अन्याय अत्याचार भएको छ । यो रोकिनु पर्छ भन्ने मेरो मान्यता छ । नेपालीले नेपालीलाईनै शोषण गरेर, अन्याय अत्याचार गरेर यो देशको उन्नति कहिले हुने ?” हाकिमले प्रस्ट्यायो ।

हाकिमको यो कडा भनाइले कार्यकक्षमा एक छिन सन्नाटा छायो । रामप्रसाद फेरी बोल्यो स्पष्टिकरणको शैलीमा “हैन हजुर, म यहाँ आउनुमा त्यस्तो कुनै जालझेल छैन हजुर । महतो मालिकलेनै पठाएर म यहाँ आएको हुँ हजुर । हजुरलाई पत्यार नलागे मसँग एक जना भरिया पनि आएको छ हजुर । तपाइँ उसँग पनि वयान लिनसक्नुहुन्छ हजुर ।”

भरियासँग बयान लिएपछि मात्र हाकिमलाई विश्वास भयो कि राम प्रसादलाई दुलारी महतोले नै पठाएको रहेछ । “ल ठिकै छ रामप्रसाद जी । तपाइँ आज हाम्रो पिउनको घरमा रात बस्नोस । अरु काम कुरो भोलि गरौंला” हाकिमले आदेश दियो ।

  • बेल्जियम
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.