छन्द कविता : म मरेपछी !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

छन्द : झ्याउरे

म यदि मरे कुनैदिन् भने नरुनु पियारी ।
मनमा धैर्य गरेर तिमी बस्नु है स्याहारी ।।
त्यो बेला तिमी झक्झकाउँदै धड्कन सुन्नेछौ ।
नहुदा सास तनमा हरे धेरै नै रुँदीहौ ।।

माता र पिता पिटेर छाती बेहोस बन्नेछन् ।
निर्दयी इस उल्टो यो किन गरिस् भन्नेछन् ।।
बाल्बच्चा फेरी अनौठो मान्लान साना भएमा ।
घाँक्हाली रोलान् छोरीहरु पराइघर् गएमा ।।

त्यो दिन मेरो कन्काइ माइ(मा) समाधी हुनेछ ।
सुन्दर शरीर् खरानी भइ हावामा उड्नेछ ।।
आगोले पोल्दै जान्छ मलाइ चिच्याइरहन्छु ।(अदृष्य)
गुहारगुहार् बचाउ भन्दै रुन्छु कराउँछु ।।

ती पापी मानिस् सुन्दैन कोही मेरो त्यो गुहार ।
आमा र बाबा नाता र गोता आफन्त रुवा’र ।।
आगोको लप्का बढेर जान्छ शरीर ढाक्दछ ।
मानिस्‌को नाता मानिस्‌मा देखि धिक्कार गर्दछ ।।(आगोले)

नश्वर चोला सकिन्छ प्राण हावामा उड्दछ ।
आँखाले अब देख्दैनौँ मात्र मनले देख्दछ ।।
हराएँ यदि म कतै भने फूलमा खोजनु ।
प्रकृतिमाथि सधै हुन्छु तिमीले त्यही सोच्नु ।।

बागमा गइ फुलेको फूल तिमीले हेर्नु है ।
निरन्तर् डाली हल्लेको बेला त्यही छु जान्नु है ।।
हरिया रुखका पातहरु स्वरुप मेरै हुन् ।
धुलोका प्रत्येक् कण्‌कणहरु स्वरुप मेरै छन् ।।

सुनौला बाला झुलेका बेला धानको मेलामा ।
मंसीरे गीत घन्किन्छ कान्‌मा म हुन्छु तालमा ।।
बाँसुरीको सु-मधुर् धुनमा आवाज मेरै छ ।
डम्फु र मादल थर्काइमा हिडाइ मेरै छ ।।

आकाश पृथ्वी जल् तेज बायु यी पञ्चतत्वमा ।
नश्वर चोला बिलिन हुन्छ खोलाको किनार्‌मा ।।
आकाश भइ आशिष दिदै बस्नेछु शीरमा ।
पृथिवी भइ तिम्रा ती कदम् थाम्नेछु भीरमा ।।

जल् वायु भइ स्पर्श गर्छु आनन्द गराउछु ।
तेज भै आइ अधेरीमा उजेली बनाउँछु ।।
समीप हुन्छु सधै नै तिम्रो सँग्‌सँगै हिड्दछु ।
ठेस् लागी लड्दा ढुङ्गामा तिमी अश्रुले ढाक्दछु ।।

बतास भइ अदृष्य रुप्‌मा तिमी नै हेर्दछु ।
तिमीले अन्त नखोज्नु हेर तिमी मै म हुन्छु ।।

चारपाने , झापा ।
swapneeldiwakar@gmail.com

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *