लघुकथा : अभिनय

~कात्यायन~dhanwantari-mishra-katyayan

– केही दिनदेखि सारंगीकोभन्दा पनि मीठो धून बजिरहेकोथियो मेरो पेटमा | तर यो धूनको पीडालाई चपाएर भोक मार्ने गर्थें |

– ‘ खाना खाएउ ‘ भन्ने आफन्तहरूको प्रश्नले न कसैलाई तृप्त गराउँछ; न त ‘ के गर्दैछौ ‘ भन्ने सवालले नै कसैमा रोजगारी सिर्जना गराउँदो रहेछ | औपचारिकताको भोकिलाई औपचारिकता नै खुवाउनु पर्ने, तेसै गर्न सिकें |

– स्वदेशमा रोजगारी सदाकोलागि निर्मूल भएको सगौरव घोषणा नै भैसकेको थियो, तर म विदेशको रोजगारीकोलागि योग्य पनि थिएन |

– बिचरा नानीहरूले खोतलिरहेका फोहरका ढिस्काहरू नजिक पुग्छु र कुहिएको पाउरोटिलाई पेटमा बजिरहेको सारंगीको धूनमा लय-बध्द गर्नखोज्छु, संगीतको अलापको भन्दा विलापको त्रासले छोप्छ र भाग्छु |

– दन्त्य-कथाका राक्षसहरूले झैं बगरमा गएर वालुवा र गिट्टीहरू चपाउने प्रयास गर्छु, सक्दिन | आदिमकालीन मानवहरूले झैं तृप्तिको लालचमा रूखका बोक्रा र पातहरूको खोजीमा केही दिन भौंतारिन पुग्छु, बिर्सिएछु कि स्वदेश त हरियालीरहित घोषणा भैसकेको कुरालाई !

– आहा ! देखें अलिपर भोजनको महल थियो कपडाभरि, थुप्रै रुपैयाहरू पनि | आँखामा कालो-पट्टि बाँधिएका अजंगका महा-पुरुष झैं देखिने व्यक्तिहरूका नजिकै राखिएको स्पिकर चिच्याइरहेको थियो कि,- हामीहरू बोल्न जान्दनौं, आँखा देख्दैनौं, लंगडा पनि छौँ सहयोग गरिदिनुहोस् … आदि-आदि | उनीहरू अन्त:राष्ट्रियस्तरको भिख माग्दै थिए !

– नजिकै पुग्छु, वरिपरि हेर्छु, पर-परसम्म हेर्छु, आँटलाई अझ बलियो पार्छु र भिखारीहरूका आँखाहरू नजिकै लगेर हात हल्लाउंछु | विचरा अन्धाहरूले के देख्न सक्थ्ये र !

– पकवान्नको वासनाले पेटभित्रको धून अझ बेस्सरी बज्न थाल्छ ! र, मलाई उचाल्न सुरुगर्छ, – हेर ! तिनीहरूले आँखा पनि देख्दैनन्, बोल्न सक्दैनन् र दौड्न पनि … हो हो तँभित्रको धून शान्त पार्ने मौका यहि हो !!!…

– झ्याप्प एउटा पोको समाउंछु खानेकुराको, बुर्कुच्चा ठोक्न नपाउंदै भिखारीहरूका बलिष्ठ हातहरूले मलाई च्याप्प अँठ्याउंछन् र जुरुक्क उठेर मलाई तीन कोशपर बजार्दै फलाक्छन्, – तँलाई कामचोर ! काम गरेर खान सक्दैनस् ???…

२०७३/०२/०२
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.