एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~

पात्रहरू
प्रभु : पति
प्रभा : प्रभुकी पत्नी
प्रमोद : प्रभा र प्रभुको छोरो
प्रमिला : प्रभा र प्रभुकी छोरी
प्रकाश : प्रभा र प्रभुको छिमेकी
प्रणिता : प्रकाशकी पत्नी
प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस
प्रकृति : प्रपन्नाचार्यकी पत्नी
अन्य : मञ्चमा भौतिक उपस्थिति देखाउने तर अमुक व्यक्तिहरू

स्थान : पीपलको चौतारी
समय : दिनको नौ बजे

(हातमा घण्टी लिएको, निधारमा चन्दन घसेको, गेरुवस्त्र धारण गरेको प्रभु चौतारीमा बसेको छ । नजिकै कमण्डलु छ । छेउमै तुल टाँगिएको छ जसमा लेखिएको छ, पत्नी पीडित महासङ्घको दोबाटे कार्यालय)
पत्नी पीडितहरू — एक हौँ
पीडाको कहिरन — लेखौँ/लेखाऔँ
पीडाको पोखरी — ठूलो पारौँ ।

प्रभु : (माइक्रोफोनमा बोलेको जस्तो गरेर) हेलो, हेलो, हेलो । आउने जति आउनुस् । जाने जति जानुस् । जोजो जानुहुन्छ, जानुस् तर पीडा बोकेर फेरि आउनुस् । पीडा अरूले दिएको हुनु हुन्नm मात्र पत्नीले दिएको हुनुपर्छ । आजकी एक्काइसौँ शताब्दीकी पत्नीले दिएको पीडा हुनुपर्छ । पेट नभरिउन्जेल पीडा खानुस् । भरिएपछि यहाँ आउनुस् । पीडा जति यहीँ खन्याउनुस् । रित्तो पेट पार्नुस् । यो पत्नी पीडित पतिहरूको पीडा जम्मा हुने पोखरी हो । (यतिभन्दा नभन्दै त्यहाँ मान्छेहरू जम्मा हुन्छन् ।)

प्रकाश : (नमस्कार गर्दै) प्रभु, पीडाको पोखरीमा के फुल्छ ? के कमल फुल्छ ?

प्रभु : (नमस्कार फर्काउँदै) हैन–हैन । कमल फुल्दैन । यहाँ फुलेकी कमली अन्त्य भएको इतिहास छ । हुर्केकी मखमली ओइलाएको प्रमाण छ । तिनै मखमलीहरू बाइसौँ शताब्दीमा पनि पतिहरूलाई पीडा दिन सक्षम हुन्छन् । तिनीहरू आजै ओइलाउनु आवश्यक छ । तिनीहरूलाई पाठ पढाउन पनि पोखरी निर्माण हुनुपर्छ ।

प्रणिता : (अघि सर्दै) उसो भए यो नाङ्गो नाच यहाँ किन ? मान्छे बहकाउन कत्रो नाटक !

प्रभु : (तथास्तुभन्दा हात उठाएझैं गरेर) शान्त, शान्त बालिके । मसँग पीडाको सानो कुवा छ । त्यस्तै कुवाहरूको मेल र योगबाट पोखरी निर्माण गर्न चाहन्छु । त्यस पोखरीमा कमलीहरूको इतिहास फुलाइरहेको हुन्छु । हुर्किरहेका भविष्यका मखमलीलाई पाठ सिकाइरहेको हुन्छु ।

प्रणिता : (रिसाउँदै) धत्, म यत्री स्वास्नी मान्छेलाई पनि बालिके भन्छ । नारीको तागत नूनभन्दा चर्को छ । नारीको आवाज खुनभन्दा महँगो छ । नारीको नसा खोर्सानीभन्दा खरो छ । हाम्रो एक चुड्कीमा सारा पतिहरू पत्नीकै वरिपरि (जाँतो घुमेझैं हात घुमाउँदै) र्याइँर्याइँ घुम्छन् र सुख जति धूलोपिठो पार्छन् । हाम्रो सुख तिमेरूको दु:ख हुन्छ । हाम्रो एक चुड्की तिमेरूको फुर्ती हुन्छ । पहिले पत्नीलाई दु:ख पतिलाई सुख, अहिले पत्नीलाई सुख पतिलाई दु:ख । नारी–पुरुष बराबरी । सारा पतिका पीडक पत्नीहरू— जिन्दावाद ! सारा पत्नीका पीडक पतिहरू— मुर्दावाद ! (ऊ पति प्रकाशलाई कठालोमा समातेर मञ्चमा ल्याउँछे ।)

प्रभु : देख्नुभो त, महानुभावहरू ! पत्नी राज्यमा पतिको कस्तो हालत हुँदो रहेछ । महानुभावहरू ! (आफ्नो घर देखाउँदै) ऊ त्यो घर छ नि । हो, त्यस घरमा एक पत्नी महारानीको खोपी छ । मौसुफ त्यहीँ विराजमान होइबक्सन्छ । बिहान सबेरै चिया–नास्ता ज्युनार गरिबक्सिन्छ । बिहान आठ बजे मर्निङ वाकका लागि सवारी होइबक्सिन्छ । नौ बजेसम्म पतिले खाना तयार पारिसकेको हुनुपर्छ । पत्नी महारानीका निमित्त पतिले बाहिरीदेखि भित्री लुगा बाथरुममा टक्र्याइसकेको हुनुपर्छ । मनतातो पानीले ट्याङ्की भर्दिसकेको हुनुपर्छ । स्नानपछि मौसुफको डिनर ज्युनार हुन्छ र अफिसतिर सवारी हुन्छ । त्यसपछि भने सन्चोको सास फेर्न पाइन्छ । साँझमा फेरि उही ड्युटी गर्नै पर्छ । मौसुफ सरकारका आदेशहरू अक्षरश: पालना नगरे के–के भोग्नुपर्छ, पर्छ ।

प्रपन्नाचार्य : के–के भोग्नुपर्छ ? हामी पनि सुनौँ न ।

प्रभु : के भन्नूँ ! भन्न पनि लाज हुन्छ ।

प्रपन्नाचार्य : भएको कुरा भन्नलाई केको लाज । लाज मान्ने मान्छे भए यत्रा नाराहरू लेखेर किन मान्छे भेला पार्थ्यौ ?

प्रभु : लौ त भन्छु । यसको नालीबेली छैन । लेखाजोखा छैन । (रुन्चे स्वरमा) गल्ती गरेमा मुर्गा बन्नुपर्छ । आधा घण्टा डान्स गरेर पत्नी महारानीलाई खुसी तुल्याउनुपर्छ । के गर्नु बाचामा बाँधिएपछि निल्नु न ओकल्नु हुँदो रहेछ । अति भएपछि होस खुल्यो । होस खुलेको छ र म यहाँ तपाईंसामु छु नत्र गुलामी गरिरहेको हुनेथिएँ ।

प्रकृति : महिलालाई मैला बनाउन खोज्दा यस्तै हुन्छ ।

प्रपन्नाचार्य : अनि यस चौतारीमा किन आएको त ? किन यो सङ्गठन खोल्यौ ?

प्रभु : किन भन्नूँ । आफूलाई परेको भए चाल पाउनुहुन्थ्यो । आजसम्म दशपटक मुर्गा बनिसकेँ । पन्ध्रपटक महारानीलाई डान्स देखाइसकेँ । हिजो बेलुका खै कहाँ सानो त्रुटि भएछ । आज बिहानै सजाय भोग्नुपर्ने फैसला सुनाइयो । पहिलेकै दरमा भए त ठीकै थियो । चारैतिर महँगीले आकाश छोयो रे । हरेक कुराको भाउ बढे जस्तै सजायको पनि भाउ बढ्यो रे । अब मैले दुई घण्टाको बदलामा तीन घण्टा मुर्गा बन्नु पर्ने भो रे । आधा घण्टाको सट्टामा एक घण्टा डान्स गर्नुपर्ने भो रे । जब सजाय बढाइएको ज्ञात भो, ममा विद्रोह जाग्यो । बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर । सन्यास जीवन धारण गरियो । बस् लण्ठा साफ !

प्रकृति : कुरा त ठीकै हो । बाचामा जो बाँधिन्छ, त्यसअनुसार काम फत्ते गर्नै पर्छ । तिमी उम्कन पाउन्नौ ।

प्रभु : नियमलाई गोली मार्दिएँ । म अब घर फर्किन्नँ । पूर्णरूपेण सन्याश्रम लिएँ । म पीडा खाएर प्राण बचाउँदिनँ । म साधुको भेषमा सोझा पतिहरूलाई उकास्छु र पत्नीहरूलाई पीडित बनाउँदै जान्छु । (केही कडा स्वरमा) अनि सबैले भेट्नुहुनेछ प्रत्येक घरमा पीडा सहेर बाँचेका पत्नीहरू ।

प्रपन्नाचार्य : एउटाले बिराउने सारा पिराउने । यो त जायज काम भएन नि ।

प्रभु : जायज र नाजायजको तुलना अब सिद्धान्तमा हुन्छ । मेरो सिद्धान्तले भन्छ— जति पति पीडामा बाँच्ने पत्नीहरूको सङ्ख्या बढी हुन्छ त्यति नै पत्नी पीडामा बाँच्ने पतिहरूको सङ्ख्या कम हुन्छ । यो नियम माँग र पूर्तिको नियमसँग मिल्छ । अर्थात् पत्नीको मूल्य घट्दा पतिको मूल्य बढ्छ भने पत्नीको मूल्य बढ्दा पतिको मूल्य घट्छ । मेरो उद्देश्य सारा पत्नीहरूको सम्मान क्षय गराउनुछ । तसर्थ महानुभावहरू ! आउनुस् पतिहरूको सम्मानमा वृद्धि गराऔँ ।

प्रकृति : उसो भए तिमी पत्नीलाई खेलौना नै सम्झन्छौ, हैन ?

प्रभु : कागले आफ्नो नाम आफै काड्छ । मैले भन्न पर्दैन ।

प्रपन्नाचार्य : प्रकृति ! तिमीले धन्दा मान्नुपदैन । अब तिमी घर जाऊ । पति एउटा पाङ्ग्रो पत्नी अर्को पाङ्ग्रो । लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखान बुझेकै हौली । मैले धेरै भन्नु नपर्ला । (ऊ जान्छे । एकै क्षणमा प्रभुका छोराछोरी क्रमश: प्रमोद र प्रमिलाको प्रवेश हुन्छ ।)

प्रमोद : (आत्तिएझैं गरेर) बाबा, बाबा आमाको नाना खै ?

प्रभु : अँझ पीडा थप्न आएका तिमेरू ! तेरी आमाका नाना थानामा पुगे ।

प्रमिला : बाबा, भोक लाग्यो ! खाना !

प्रभु : अब आमाले मामा बोलाउँछे । मामाले खाना बनाउँछ । त्यतिञ्जेल तिमेरूचाहिँ हावा खाएर बस्ने । अहिले जाओ, झट्टै गइहाल । (केही बुझेजस्तो केही नबुझेजस्तो गर्दै दुवै बाहिरिन्छन् ।)

प्रभु : यिनीहरू मेरो सेरोफेरोबाट त हटे । प्रणिताले प्रकाशलाई आफ्नो पञ्जामा पारेर पीडाको पहाड बोकाएझैं आज सारा पतिहरू पत्नीको पुच्छर भएका छन् । मेरो यस महान् अभियानमा साथ दिन खुलेर कोही आएनन् । हुनत, पुच्छर हुनु र पुच्छर पार्नु पौराणिक कालदेखिकै रीतिथिति हो ।

प्रपन्नाचार्य : अनि त्यसको उल्लङ्घन गर्न हज्जार जीव्रा भएका शेष नागले त सकेनन्, महादेवको त वसको कुरा रहेन भने तिमी हामीको के जोर चल्छ र ? महिलाको मन बुझेमा नै महान् काम मज्जाले फत्ते गर्न सकिन्छ ।

प्रभु : (हेलैसित हात जोडेर) पत्नीभक्त परमेश्वर प्रपन्नाचार्य प्रभु ! प्रस्ट सुन्नुस् । आफ्नी पत्नीलाई घर पठाएर पत्नीका बारेमाप्रकारप्रकारका कुरा प्रकट गर्न लाज लाग्दैन तपाईंलाई । सारा पतिहरूको पीडा परपर पार्ने हो भने मनैदेखि, तनैदेखि फरक्क फर्किनुस् । आउनुस् यस महायज्ञमा साथ दिनुस् ।

प्रपन्नाचार्य : प्रभु ! तिमीले गलत बुझेछौ । तिम्रो दु:ख साराको दु:ख हुनसक्दछ । दु:ख परेकाहरूलेमात्र तिम्रो साथ दिनुपर्छ भन्ने छैन । नारी नाम महान् छ । यही महानताभित्र तिमी पनि अल्झियौ । म पनि बल्झिएँ । साथ होसियारको लिनुपर्छ, वात काम चोरको पनि सुन्नुपर्छ । काम नाम राख्ने गरी गर्नुपर्छ ।

प्रभु : हामीकहाँ यही छ । आज जसलाई जे पर्छ उसलेमात्र सहन्छ । भोलि जसलाई जे पर्ला उसैलेमात्र सहला । एकले अर्कोलाई अर्कोले एकलाई सहयोग गर्ने र सहयोग लिने चलन नै छैन । हिजो छिमेकीकहाँ चोरले चोरी गर्यो म टुलुटुलु हेरी बसेँ, भोलिपल्ट मकहाँ चोरी गर्ला ऊ टुलुटुलु हेर्ला । चलन यस्तै छ तर आजचाहिँ मलाई पर्यो, मजस्तै पर्नेहरू आओ । सडक जाम गरौँ । आम हडताल गरौँ । पत्नी पीडित पतिहरूको महासङ्घको विस्तार गरौँ । समस्या अँझै चर्काऔँ । पत्नी विरोधी माहोल बनाऔँ । समस्या जन्माऔँ । समस्या खुवाऔँ । समस्या लगाऔँ । समस्या नचाऔं ।

प्रपन्नाचार्य : (कडा स्वरले) समस्या ! समस्या !! समस्या !!! यता समस्या, उता समस्या, जताततै समस्यै समस्या । समस्याको यस महासमुद्रबाट सरासर सास्ती मुक्त गर्न नसक्नु सरोकारवालाहरूको सोचको कमी हो । तसर्थ पुरुषहरू महिलाकहाँ जाऔँ । महिलाहरू पुरुषहरूकहाँ धाऔँ । आपसमा मिलेर मिलन राज्य बनाऔँ । विछोडको विद्रुप विष नपिऔं, नपिलाऔं ।

प्रभा : (ताली बजाउँदै मञ्चमा एक्कासि देखापर्छे ।) महान् महान् महानुभावहरू ! महाशयहरूको यस महान् मञ्चमा म मेरा मसिना कुराहरू राख्दै छु । (प्रभूतिर फर्केर) मेरा पति महाशयको नजरमा यो संसार सबैका लागि र सधैँका लागि स्वर्ग थियो । म नयाँ छँदा मलाई उहाँ स्वर्गकी अप्सरा बनाएर राख्नुहुन्थ्यो । म उहाँकी भोग्या वस्तु थिएँ । न म काम गर्न पाउँथेँ न उहाँ नै दुई पैसा कमाउनुहुन्थ्यो । मैले पुख्र्यौली धन जोगाउन हरप्रयत्न गरेँ, सबै प्रयत्नहरू बालुवामा पुल बनाए सरि भए । म रातोदिन उहाँलाई खुसी पार्न, मनोरञ्जन दिन खटिएकी थिएँ । त्यसबेला आम्दानी चाराना हुन्थ्यो भने खर्च सोह्र आना हुन्थ्यो । उहाँ वर्ष पाँचेकमै करोडपतिबाट कङ्गालपति हुनुभयो । उहाँसँगसँगै म र हाम्रा यी (छोराछोरीतिर हेरेर) दुई सन्तान पनि कङ्गालपतिका हिँस्सेदार भयौँ । हाम्रो भविष्य कुहिरोको काग भयो । ठूलो प्रलय आएपछि मैले एउटा सर्त तेर्साएँ ।

प्रपन्नाचार्य : सर्त के थियो ?

प्रभा : (प्रभूतिर सङ्केत गदै) भन्नुस्, सर्त के थियो ? मुख खोल्नुस् ।

प्रभु : (मलिन स्वरले) सब थोक नासिएर, सब थोक मासिएर मरुभूमि भएको यस घरलाई म पहिलाझैँ हराभरा पार्छु, सदाबहार राख्छु भन्ने यिनको सर्त थियो ।

प्रभा : मुख्य कुरा महत्त्वपूर्ण हुन्छ । कुरो चुरोमा नै पुगेको छैन । धन छउँञ्जेल उहाँले मलाई सक्तो सताउनुभयो, भरमग्दुर नचाउनुभयो । पुख्र्यौली धन छउँञ्जेल धनको चुरिफुरी देखाउनुभयो । हामीलाई पनि जोड्न दिनुभएन । कङ्गालपति भएपछि मैले प्रस्ताव राखेँ– अब म कमाउँछु । मेरो कमाइले बाँचुञ्जेल मेरो भनाइ अनुरूप तपाईं चल्नुपर्छ । उहाँले त्यतिखेर स्वीकार्नुभयो । जे भोगेकी थिएँ मैले उहाँलाई त्यहीमात्र गर्न लगाएकी हुँ । यसमा मेरो के दोष ? सुरुवात उहाँले नै गर्नु भा‘को हो क्यारे । अहिले यो विद्रोह ? महान् महान् महानुभावहरू ! महाशयहरूको यस महान् मञ्चमा म मेरो कुराको सुनुवाइ गर्न अनुरोध गर्दछु । (प्रभूतिर फर्केर) बोल्नुस् । अघि बढेर बोल्नुस् । साधु भएपछि अँझै स्वतन्त्र भएँ भन्ठान्नुभएको होला । अँझ परतन्त्री बन्नुपर्छ । सहमतिमा आए जे पनि सम्भव हुन्छ । असम्भव मेरो शब्दकोषमा छैन ।

प्रपन्नाचार्य : हो, प्रभु ! प्रभाको कुरा सत्य हो ?

प्रभु : (मनमनै) हुनसम्मको अल्छ्याइँ त मैले पनि प्रदर्शन गरेकै हुँ । म पनि श्रीमती जस्तै कमाउने भएको भए यस्तरी काम किन गर्नुपर्थ्यो ? ममा पुरुषत्व हराएको रहेछ । आफूले श्रीमतीबाट अपहेलना पाएँ भन्दैमा अरूलाई पनि भड्काउँदै हिँड्नु किमार्थ उचित होइन । यो फत्तुरको सन्याश्रम रोज्नुभन्दा कर्मशील बन्नु लाख गुणा उत्तम हो । मसँग पाखुरी चलाउने क्षमता पनि छ । सानो तिनो जागिर खाने योग्यता र अनुभव पनि छ । अरूका श्रीमतीले कमाउँदैनन्, मेरीले कमाउँछे । आखिरमा आम्दानी बढ्नु र बढाउनु त उत्तम हो नि । मैले पनि उत्पादनमुखी अन्य काम गर्न थालेँपछि त श्रीमतीले त्यस्तो व्यवहार नगर्ली ।

प्रपन्नाचार्य : के हो ? किन बोल्दैनौ ?

प्रभु : (सर्माउँदै) हो, सबै कुरा सही हो ।

प्रपन्नाचार्य : प्रभु, सही पनि भन्छौ, अर्थोक केही पनि बोल्दैनौ । बोल्नुपर्ने ठाउँमा बोल्नुपर्छ ।

प्रभु : (मुन्टो हल्लाउँदै र केही सर्माउँदै) हो, म नै गलत हुँ । पुख्र्यौली धन बढाउनु पर्नेमा सक्दै गएँ । पत्नीको सर्त मान्नुपर्नेमा लत्याउँदै गएँ । कस्तुरी मृगले आफ्नै नाभीबाट निस्केको बासना थाहा नपाई रनवन डुलेझैँ म पनि दगुरेँछु । (प्रभातर्फ फर्केर) अब म होसमा आएँ । मेरो पुनर्जन्म भयो । जसरी भए पनि कमाउँछु अब । पाखुरी चलाएर होस् या दिमाग खियाएर होस् । जबसम्म मेरो मति सुधारोन्मुख र उत्पादनमुखी हुन्छ तबसम्म मलाई तिमी त्यो गतिमा लग्न पाउँदिनौ जुन गति मेले भोगेर आएको छु । (प्रभा खुसी हुन्छे र सर्माउँदै प्रभुका हात समाउँछे । ऊ पनि खुसी हुन्छ । सबैले ताली बजाइरहन्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)

(२०६५/०५/०७ दायित्व)

(स्रोत : रचनाकारको नाटक/एकाङ्की सङ्ग्रह “युग उचाल्ने अक्षरकर्मीको अवसान” बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *