पुस्तक समीक्षा : मलाया एक्सप्रेसको समाचार हावी उपन्यास

~राजेन्द्र पराजुली~book cover - Akhanda Bhandari - Malaya Express

भारतीय (मलयालम) लेखक बेन्यामिनले सन् २००८ मै वैदेशिक रोजगारीलाई विषय बनाएर चर्चित उपन्यास ‘गट डेज’ लेखे। नाजिब मुहम्मद नामक पात्र साउदी अरब पुगेर बाख्रा चराउने काम गरेको विषयलाई बेन्यामिनले मर्मस्पर्शी ढंगमा उतारेका छन्। त्यो उपन्यासले बेन्यामिनलाई रातारात लेखक बनाएको थियो।

नेपाली साहित्यमा पनि थुप्रै लेखकले वैदेशिक रोजगारीलाई विषय बनाइसकेका छन्। केही समयअघि नवोदित लेखिका उमा सुवेदीले वैदेशिक रोजगारीमा जाने महिलाले भोग्नुपरेका कठिनाइहरूमाथि ‘तोदा’ उपन्यास लेखिन्। वैदेशिक रोजगारीमा जाँदाको हण्डर, हेपाइ र स्वदेशमै म्यानपावर कम्पनीले ठग्ने विषय अब नयाँ रहेन। त्यसकारण यो विषयमा कलम चलाउने लेखक अब बढी होशियार हुनुपर्छ– खास गरेर कथा वा घटना, रूपकको प्रयोग, पात्रको बोली आदिमा। यही विषयमा ‘मलाया एक्सप्रेस’ उपन्यास लेखेका अखण्ड भण्डारी भने यसमा केही लापर्बाह देखिएका छन्।

भण्डारीले कतिपय ठाउँमा पत्रकारिताको ठाडो भाषा प्रयोग गरेका छन् भने पात्रको बोली खोसेर आफैं बोलेका छन्। डम्बरबाट डेनिस बनी चेलीबेटी बेचबिखनमा लागेको पात्रलाई उपन्यासको अन्त्यतिर आमासँग गराइएको भेट र प्रयुक्त संवाद पत्यारिलो लाग्दैन। तथापि, उपन्यास गतिमय भएका कारण पढुञ्जेल रमाइलै लाग्छ।

पत्रकारिता हतारको साहित्यले परिचित छ। त्यसैले होला पत्रकार भण्डारीले कतिपय घटनाको बयानमा हतार गरेका छन् भने कतिपय घटनालाई अनावश्यक रूपले सविस्तार वर्णन गरेका छन्। थुप्रै ठाउँमा समाचार नै राखिदिएर पुस्तकको पृष्ठ बढाएका छन्।

‘मलाया एक्सप्रेस’ गाउँले ठिटो जीतबहादुरले रोजगारीमा जाँदा भोग्नुपरेका अप्ठेराहरूको शृङ्खला हो– ‘गट डेज’ को नाजिब जस्तै। सशस्त्र द्वन्द्वको मारबाट जोगिन मलेशिया भासिएको जीतबहादुरले आफ्नो भन्ने सब थोक गुमाउँछ, तर पछि मारिएका आफन्तबाहेक सबै चिज फिर्ता पाउँछ। गुमेकी पत्नीका साथै रकम र आमाको खुशी फिर्ता पाउँछ। जन्मथलो भोजपुरको जरायोटारमै व्यावसायिक कृषि गरेर मनग्ये आम्दानी गर्न सक्ने बन्छ। उपन्यासको अन्त्य सुखद् छ।

भण्डारीले पुस्तकको आरम्भमा ‘अनि, लेखें…’ शीर्षकमा उपन्यास लेख्नुको कारण दर्शाएका छन्। उपन्यासको टुङ्ग्याउनीमा ‘र, देखें…’ शीर्षकको टिप्पणीबाट पनि यो यथार्थमा आधारित कृति हो भन्ने बुझिन्छ, तर घटनाहरू अपत्यारिला छन्। भण्डारीले उपन्यास मार्फत वैदेशिक रोजगारीमा पैसा त कमाउन सकिएला तर धेरै थोक गुमाउनुपर्ने सन्देश दिन खोजेका छन्। आफ्नै देशमा मिहिनेत गर्दा विदेशमा भन्दा बढी आम्दानी हुने उनको धारणा छ।

यसअघि भाषा सम्बन्धी पुस्तक ‘समाचारको भाषा’ प्रकाशित गरिसकेका भण्डारीको पेशा सम्पादन भने समाचार उनको दुनियाँ। यसकारण पनि उनलाई घटना वा विषयको अभाव छैन। अर्को उपन्यासमा चाहिं उनले अझ आकर्षक भाषा, गहन तथा नौलो विषय र कलात्मक शैली अपनाउने छन् भन्ने आशा गर्न सकिन्छ।

मलाया एक्सप्रेस (उपन्यास)
लेखकः अखण्ड भण्डारी
प्रकाशकः याम्बुरी बुक प्वाइन्ट
पृष्ठः २९४,मूल्यः रु.३५०

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.