छन्द कविता : बालसंसार

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : चित्रलेखा

होलान् पक्कै प्रगति पथ जहाँ मानवी भावनाका
होलान् त्यस्ता अतिशय छहरा जाह्नवीझैँ धराका
बुझ्नै गाह्रो हरितगृह जहाँ ऊर्वरा शक्तिपुञ्ज…
ऊर्जा नै हुन् सुखमय वसुधा बालसंसार कुञ्ज ।।

हाँस्दा हाँसो किसलय अवनी निर्झरी झुक्किए झैँ
खेल्दा प्यारो हिमशिखर छटा टाँसिनै उफ्रिए झैँ
उफ्री उफ्री प्रहर रहरकाे अन्त्य आभास छैन
पृथ्वी मानौँ शिशुमन रजकाे मुग्ध आधार चैन ! ।।

छायाजस्तै तुहिन तरलता हर्ष नै हर्ष सारा
बाला हुन् वा चपल पल सबै मित्रझैँ मेल प्यारा
बास्ना छर्ने कुसुम रज कतै बालसंसार हुन् कि
धर्ती भर्ने विपुल रस बनी स्रोत झङ्कार हुन् कि ।।

सोधूँ भन्लान् प्रमुदित मनका गोप्य ती बालतन्त्री
आफै चाखूँ पलपल फल ती चाहना दिव्य कान्ति
भन्दा नै हुन् रसिक रसमुदा बालसंसार प्यारो
बोलूँ खै के कवि मन पनि चाहना भन्न गाह्रो ।।

यस्तो लाग्यो शिशु वय जति छन् दिव्य वात्सल्य पोखूँ
मायाभित्रै मनुज मन कथा बीजको तौल जोखूँ
के हो सच्चा मधुर सुख धनी बालक्रीडा विचार
आफै चाखूँ कवि सुमन अहो ! िदव्य़ता छन् हजार ! ।।

उड्दा उड्दै गगन पथ सबै ढाक्न खोज्छन् चरीझैँ
आफै आफ्ना चपल शिशुपना राग भर्छन् बिहानै
पक्रूँ भन्दा किन किन करमा रागको छैन अन्त
छोडूँ भन्दा शिशु सुमन अझै राग छर्छन् अनन्त ! ।।

हेर्दा मौरी रसमय सरणी कर्मकै बीजजस्तो
यौटै बोली मधुर रव बनी गीत सङ्गीतजस्तो
गाऊँ यद्वा तन वदन सबै नृत्यको तालभित्रै
कस्तो प्यारो शिशु चपलपना सिर्जना नै विचित्रै ! ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *