छविलाल कोपिलाका दश मुक्तकहरु

~छविलाल कोपिला~chhabilal-kopila

हाँसियो कति, त्यो शीश मञ्जिलसंग
गरेर मीठा कुरा, प्रेमको त्यो दिलसंग
स्वर्ग हो, मरुभूमि त्यो माउण्ट आबु
रमाऔ एकैछिन, यो झिलमिलसंग ।

धेरैबेर देखि यी आँखा निदाएका छैनन् ।
सायद, हेरेर ती अझै अघाएका छैनन् ।
बचेराहरुसंग, बिहानै छुटेका हुन् आमा,
के भयो खै ! अझै गुँडमा आएका छैनन् ।

भान्सेहरु ‘चौका’संगै ‘पञ्जा’ चलाइरहेछन् ।
यता हुर्नुस् ‘छक्का’हरु ‘सत्ता’ चलाइरहेछन् ।
यो हाँडी गाउँको जात्रा, ‘बास्सा’ ढलाएर यहाँ
‘गुलाम’–‘बेगी’हरुले ‘एक्का’ चलाइरहेछन् ।

घर भित्र बाघ हुन्छन् स्यालहरु यहाँ ।
जे जे देख्छन् सबै लुछ्छन् स्यालहरु यहाँ ।
खाना पनि जानेकै छन्, तर्साएर कति,
बाघै आए कता लुक्छन् स्यालहरु यहाँ ।

अक्षरहरु अब उठ्नेछन् सामन्त विरुद्ध ।
अनि उठ्नेछन् कलमहरु सम्भ्रान्त विरुद्ध ।
खुबै घोकाइरहछौं व्यर्थ काला विचारहरु,
अब उठ्नेछन् आवाज तिम्रो सिद्धान्त विरुद्ध ।

होसियार थारूहरु ! थारू खाने थारूहरु सडकमा नआउन्
मात्तिएर भुक्ने तिनी जर्किनका दारुहरु सडकमा नआउन्
हाम्रो स्वाभिमान हामीसंगै छ, गुलाम नसम्झ अझै कसैले
तैपनि मुठ्ठीभर गद्दार पोस्न भारुहरु सडकमा नआउन् ।

कालाहरु अझै भोजभतियार चलाइरहेछन्
झूठ, साचो भनाउन मतियार चलाइरहेछन्
हेर्नुस यहाँ, दुइ-चार राजनीतिक गिरोहहरु
कसैको काँधमा टेकेर हतियार चलाइरहेछन् ।

उडाएछन् कति काला धनहरु ।
खाएर मदिरा–मिष्ठ भोजनहरु ।
मद्होसमा खुबै गर्जे बाघ जस्तै,
आखिर पाखा लागेछन् डनहरु ।

आँधी र हुरीपछि जब यहाँ आकाश खुल्नेछ
हेर यहीं, जरुर काँडाबीच कोपिला फुल्नेछ
हावाले ल्याउने छ, एउटा सन्देश सुगन्धको
अनि, फूलको डाली–डालीमा पुलती डुल्नेछ ।

खरायो सामु शेरहरु, शीर झुकाएछन्
इनार भित्र छाँया देखी, धीर झुकाएछन्
गर्जंदा नि आगो बल्ने, त्यो शब्द बाणको
आखिर हेर अहंकारी, तीर झुकाएछन् ।

–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *