बिस्नु प्रवा सापकोटाका बाह्र मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ
मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ
मान्छेको चित्र बनाउ भनेको ‘के हो छोरा यो’?
छोरो मुस्कुराउदै बोल्यो ‘बा मान्छे यस्तै छ’।।

बाघलाई बाख्राले तर्साउदैन
खडेरिमा पहरा सर्साउदैन
यती कुरा बुझिराख्नु भाई
पहिरोले फूल बर्षाउदैन।।

तिमी म भित्र सधैं दुख्ने घाऊ हौ
तिमी यो मेरो जीवन तार्ने नाउ हौ
यो पनि तिमी हौ त्यो पनि तिमी-
तिमी मेरो चिठ्ठी पुग्ने एउटै ठाउँ हौ ।।
(September 26, 2011)

यो शहर चिन्ने भन्दा बढि नचिन्नेहरुको भिड हो
थोरै उडने थोरै गुडने तर धेरै हिड्नेहरुको भिड हो
यहाँ हरेक चिजको मुल्य केवल पैसामा तौलिन्छ –
किनकी शहर भन्नु बेच्ने र किन्नेहरुको भिड हो ।।

जो अरुको हातमा फुल, आफ्नो हातमा बन्दुक थमाउछ
जो अरुको दुख्खमा दुख्छ र अरुको खुसि संगै रमाउछ
यो युग यस्तो एउटा महामानव खोजीरहेछ,खोजीरहेछ…
जो अरु हिडेको बाटो हिड्दैन, आफैं हिडेर बाटो बनाउछ ।।

हार्नेहरुकोलागि जीवन दुख्खै खुख्खको मात्रा हो
जित्नेहरुकोलागि जीवन कुनै उल्लासमय जात्रा हो
जीवन भन्नु आफ्नै भोगाईको हिसाव किताव रैछ
यायावरलाई जीवन पहाडदेखि पहाडसम्मको यात्रा हो ।।
(September 29, 2011)

~गुराँसे मन~
तिमी उदास हुँदा खेरी मेरो खुशी बसाँइ सर्छ
रिसाउछौ तिमी जव हाँसो मेरो काली तर्छ
तिम्रो मुस्कान फुले मात्रै मेरो घाम उदाउछ
तिमी रुन्छौ जतिखेर मेरो गुराँस भुइँमा झर्छ ।।

अलिकती आँगन मागी आकाशसँग
अलिकती चन्चलता मागी बताससँग
उत्ताउलो बादल बनी उडन मन लाग्छ-
अलिकती लाली पैचो मागी गुराँससँग ।।

धुम्म अध्यारो आकाश खुल्नु पर्छ
मनमा उत्साह उल्लास डुल्नु पर्छ
देश उज्ज्यालो हुन पाखामा हैन-
ओठ ओठमा गुराँस फुल्नु पर्छ ।।
(२०६८-१२-०१ )

~गाँउले मुक्तक~

यहाँ अँध्यारा अफ्ठारा गोरेटाहरु छन
यहाँ उकाला, ओराला, कुईनेटाहरु छन्
यो देश साँच्चै विविधताले भरिएको छ-
यहाँ भोका जनता र जाली नेताहरु छन् ।

‘बाढिले खेतबारी बगायो’ पल्लाघरे छविको गुनासो थियो
‘दलालले लुटनु लुट्यो’ नयाँघरे रविको गुनासो थियो
यसपाली दशैंमा घर जाँदा गुनाँसो बाहेक केहि भेटिएन-
‘उधारो खाको तिर्नै सकिएन’ गाँउले कविको गुनासो थियो ।

किन्नेहरुको हातमा कुखुरा थियो,अण्डा थियो
बेच्नेहरुमाँझमा नाफा घाटाको भागभण्डा थियो
छिः कस्तो नराम्रो सपना देखिएछ हिजो राती-
जनताको हातमा निर्वतमान देशको झण्डा थियो ।
( २०६८-०७-१४)

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *