कथा : सावित्री

~रजित ओझा~Rajit Ojha

भाग १

कथाका स्वरुप एक हुन्नन् । कथा त भन्ने मान्छेको भावना अनुसारले वंगिन्छ। कथा त एउटा ऐना हो सुनाउने मान्छेको मनको । उसको मनमा के खेलिरहेको छ , कथा त्यसै अनुसार चित्रण हुन्छ।कथा वाचकले धमिलिएको दिनमात्रलाई पनि रात वनाउन सक्छ अनि जुनलागेको रातलाई समेत दिन मानिदिन सक्छ। यो कथा को अर्को पाटोको हो । यो सावित्रीको कथा हो ।

सावित्री, नाम उसको वाउले राखेको, पण्डितजीले सा वाट उठ्ने नाम राख भनेर अनुमति दिएपछि। हुन त साह्रै खुशी थिएन सावित्रीको वाउ, छोरो चाहिएको थियो उसलाई । त्यसैले होला नाम पनि पुरुषको सुरक्षा गर्न सक्ने स्त्रीको राखिदियो। मृत्युको मुखवाट पनि पुरुषलाई तानेर ल्याउन सक्ने स्त्री वनाइदियो नाम राखेर । जन्मेको एघार दिन देखी नै उ सावित्री वनी ।

वाउको चिया पसल थियो गाउँको विचभागमा, वसेर चाहिने नचाहिने कुरा काट्नेहरु सवै उसैको वाउको चियापसलमा थुप्रिन्थे। पैसा हुने पैसा दिएर चिया खान्थे, नहुने पैसा नदिइ जान्थे।वाउ लाई आफ्नो व्यापार गर्ने तरिका देखेर आफैलाई दिक्क लाग्थ्यो। उ सोच्थ्यो मान्छेले शरम पचाएपछि केहि लाग्दैन,अनि उ सँग आँट पनि छैन नदिनेलाई “ओई पैसा दे!!” भनेर माग्ने।एक अर्थमा सावित्रीको वाउ डरछेरुवा थियो। परिस्थितिले हारेको थियो। त्यसैले त उ सहनशिल थियो। समयको मार आरामले पचाइदिनथ्यो, सहिदिन्थ्यो। सावित्री छ वर्षको हुँदा देखी नै उसले चिया पसलमा सघाउँथी।चियाका भाँडाहरु वटुल्थी, जानी नजानी सफा गर्थी।जीवनले उसलाई पोख्त वनाउँदै लगेको थियो। हुन त विहानको स्कुल थियो उसको तर स्कुल सकिना साथ चियापसलमा हाजिरी जनाउँथी। छोरो खोजेको वाउले छोरो भन्दा डेगिलो आड पाएको थियो सावित्रीको रुपमा। सात कक्षामा हुँदा उ पहिलो चोटी फेल भइ, त्यस पछि कहिल्यै पास भइन किनकी उसले त्यसपछि जाँच दिइन। उसलाई पढाइ प्रति नै दिग्दार लागेर आयो। उसले पढाइ छोडिदिइ, तर त्यो चियापसलको लागि भने निकै नै फाइदाको विषय वन्यो।सावित्री ठूली हुँदै गई। चियापसलमा मान्छे चिया खान मात्र नभइ सावित्रीलाई हेर्न समेत आउन थाले। पैसा नतिर्ने हरु पनि सावित्रीको नजरमा गिरिने डरले पैसा तिर्न थाले।

सावित्रीको व्यवहार भने ग्राहकको उमेर अनुसारले भिन्न हुने गर्थे ।समग्रमा भन्ने हो भने उसमा व्यापारको सुझवुझ थियो। सानै उमेर मा नै उसले उसको वाउको कमीकमजोरी वाट के गर्न हुन्छ र के गर्न हुन्न सिकेकी थिई ।उ जिस्केर हुने ठाउँमा जिस्किन्थी, रिसाएर हुने ठाउँमा रिसाइदिन्थी। चिया पसलमा आउने हरु उसले रिसाएर राती भएको समेत मन पराउँथे। हेर्ने हरु भन्थे रिसले सावित्रीमा मादकता थप्थ्यो, जसले उ अझ खुल्थी अनी विछट्टकी राम्री देखिन्थी, जसको अघि सवै अवाक हुन्थे।

एक दिन उसका वाउले उसको लागी केटा छाने।केटो गाउँकै थियो। केटोको घरनै हेर्ने हो भने सावित्रीको घरभन्दा धनी नै मान्छेको छोरो थियो। विहे अघिनै पनि कहिलेकाहिँ त्यो चियापसलमा आउँथ्यो ।सावित्रीलाई हेर्थ्यो, जिस्किन्थ्यो। सावित्रीको वाउले यी सवै देखेका थीए , तर देखेर पनि नदेखे झैँ हुन्थे। शुरुमा ख्याल ख्याल वाट शुरु भएको सम्वन्ध एकै उमेरका विपरितलिंगी हुनाले होला झांगिन वेर लागेन।हुन त शुरुमा केटाले उसको घरपरिवार विरुद्द जान मानेको थिएन तर अन्त्यमा जीत सावित्रीकै भयो । उसको जीवनमा पहिलो पुरुष आयो।

केटो हट्टाकट्टा थियो । एसएलसि पास गरेको ।क्याम्पस गएर छोडेको ।उसको वाहुपाशमा जव जव सावित्री वेरिन्थी उ संसार विर्सन्थि, केटोको छाति उसलाई चट्टान लाग्थ्यो, हात तरवार लाग्थे अनि मुटु उसको निम्ति मात्र पग्लिने मैन। उसका दिन चाँडै चाँडै विते जस्तै लाग्थे उसलाई ।रातमा पनि जव उसको छातिमा उ टाउको राखेर सुत्दथी ,उसलाई सिरानी चाहिन्नथ्यो। केटोको छातिको ढुकढुकीले सावित्री सावित्री भनी वोलिरहेजस्तो लाग्थ्यो उसलाई।जीवन यति रमाइलो गरी वित्ला भनेर सावित्रीले सपनामा पनि सोचेकी थिइन।घरमा काम पनि खासै गर्नु पर्दैनथ्यो, चिया पसलभन्दा पनि कम।

तर समयले कोल्टे फेर्यो। विहे गरेको थोरै समयमा उसका ससुरावा ले संसार छोडे। केटो इलमी नहुनाले काम पाउन सकेन। सावित्रीले फेरि काम गर्नु पर्ने भयो। सावित्रीले निकालेको घरखर्चमा दुइजनाको गुजारा चल्न थाल्यो। त्यो सम्म पनि सावित्रीले चित्त वुझाएकै थिइ । तर विस्तारै विस्तारै उसको वुढो राती राती हराउन थाल्यो। आउँदा पनि दंगदंग्ती रक्सी गनाउँदै आउँथ्यो।कहिलेकाहिँ सावित्रीलाई रिसको झोकमा पिट्थ्यो।सावित्री आफ्नो भाग्यलाई सराप्थी। दुइदिनको रमझममा हराएर ठूलो अध्यारोमा आफूले आँफैलाई धकेले झै लाग्दथ्यो उसलाई।एक दिन उसको वुढो घर आएन । भोलिपल्ट नै गाउँमा गाइँगुइँ चल्यो । उसको वुढो भट्टिकी साहुनीलाई लिएर हरायो। भन्नेहरु भन्थे दुवै इन्डिया तिर भागे ।अव फर्किन्नन् । यमराजको हातवाट समेत वुढालाई तान्न सक्ने नाम पाएकी सावित्रीले भट्टीवाल्नी सँग हार मान्नुपर्यो।

उ फेरी वाउकै चियापसलमा फर्की।चियापसलमा आउनेहरुको नजर फेरियो।उनीहरुको नजरमा अव सावित्रीवाट चाहे भन्दा वढी पाउने चाह थपियो। कसै कसैले त मुख फोरेर नै सोधेपछि उसको वाउले हार माने।सावित्रीको काकाले निकास निकाले। सावित्रीलाई गाउँवाट टाढा पठाइदिने। चिनेजानेका मान्छेको सहयोगवाट शहरको एउटा घरमा सावित्रीले काम पाई । खाने वस्ने सुविधा त्यसै घरमा नै हुने गरी।

यति वेर सम्ममा नै पढ्नेलाई विश्वास लागिसकेको हुनपर्छ । कथाले स्वरुप फेर्छ , आयाम फेर्छ । एकै मान्छे का भिन्न कोणहरु हुन्छन्। सावित्री निरिह थिई, विचरी थिई , अनी एक्ली थिई। भरिएर उसको जीवन फेरि खाली भएको थियो। खुशीका अंशहरुले सपना जस्तै उसका साथ छोडेका थिए । जीवनले उ सँग क्रुर खेल खेले जस्तै लाग्थ्यो उसलाई। कहिलेकाहिँ सपनामा विउँझिन्थी । आफूलाई गाउँमा भेट्दिनथी। न वाउसँग पाउँथी,न उसको वुढो सँग ।चिसो खाटमा उ एक्लै लड्थी । अनी उसले पाएको अंगालो कसरी गुम्यो भनेर सोच्थी। आफ्नो गल्ति पत्ता लाउन खोज्थी पत्ता लाउन सक्दिनथी, धेरैजसो ननिदाइ रात वित्थ्यो।

पहिलो चोटी उसले आफ्नो कथा आफ्नो मुटु खोलेर त्यहि घरकै दिदीलाई सुनाइ। त्यो घरकी दिदी दयालु निस्किन सुनीरहिन्। अनि सक्छेस् भने मुद्दा हाल न त भनेर सल्लाह दिइन्। सावित्रीले आफ्नो वुढोको अनुहार सम्झी , अचानक कता कता वाट माया पलाएर आयो। सोची कसरी पो हालौँ मुद्दा त्यसलाई? जीवन भर उ सँग वस्न पाउने कति भाग्यमानी होला! उसलाई त्यो भट्टिवाल्नी प्रति नै रिस उठ्यो। “आइमाइ विगार्ने आइमाइ नै हुन्” उसले मनमनै सोची ।

समय वित्दै गयो त्यो घरका मान्छे उसलाई आफ्ना लाग्दै गए । एक जना वुढा मान्छे ,उसलाई आफ्नै वुवा जस्तै लाग्थे। ति वुढा मान्छेकी छोरी दिदी , अहिले सम्म विहे नगरे पनि परिपक्व थिइन । केटा यस्ता हुन्छन्, केटा यस्ता हुन्छन् भनी उसलाई सुनाइ रहन्थिन। सावित्री सोच्थी हो शहर भनेको शहर नै हो यहाँ सवै कुरा थाहा पाउने दिदी जस्तै मान्छे भेट्टिन्छन् । अनि त्यो दिदी को भाइ मन छुने गोह्रो चिटिक्क परेको अग्लो घुम्रीएको लामो कपाल भएको । सावित्री जव जव उसलाई हेर्थी , उसलाई हेरीरहुँ जस्तो लाग्थ्यो। आफ्नो वुढोलाई सम्झिन्थी अनि तुलना गर्थी यि दुई मध्ये को राम्रो होला ? खुट्याउन सक्दिनथी, छोडिदिन्थी।

भाग २

रोहन सावित्री भन्दा तिन वर्षले कान्छो थियो। त्यसैले होला शुरु शुरुमा सावित्री रोहनलाई रोहन वावु भनेर वोलाउँथी। रोहन जव जव सावित्रीको मुखवाट वावुको उपमा पाउँथ्यो उसको उमेर प्रतिनै उसलाई घृणा लागेर आउँथ्यो। उमेरको एउटा अनौठो चरित्र हुन्छ ,दुवै तर्फ समान रुपले वढ्छ । रोहनले जति सुकै चाहोस्, रोहन जति नै वुढो हुँदै जाओस् सावित्री भन्दा सदैव तिन वर्षले कान्छो नै रहनेछ।तर मन र उमेर पृथक थिए , रोहन मनले परिपक्व हुन चाहन्थ्यो । त्यसैले सावित्रीको अघि गम्भिर रहन्थ्यो। उ सावित्रीलाई देखाउन चाहन्थ्यो त्यो वावु शरिर भित्र एउटा परिपक्व आत्मा छ, जसले सावित्रीलाई वुझ्छ। सावित्रीका मृत रहरहरु अनि शुषुप्त चाहनाहरु विउँझाउन सक्ने आँट राख्दछ त्यो मनले। रोहनका गहिरा आँखाहरु कहिले काहिँ सावित्री सँग जुद्दा मात्रै पनि सावित्रीको मनमा आगो लगाउन पर्याप्त थिए। उसका गहिरा आँखा सावित्रीलाई पुरानो जीवनमा डोर्याएर लान्थे। जहाँ सावित्री एक्ली थिईन, दुखी थिइन।

रोहनकी दिदि सुधा पनि अचम्म कि थिई , गम्भिर । उ आफ्नै कोठामा घोत्लिरहन्थी काममा, मानौँ ल्यापटपका पावर पोइन्ट प्रेजेन्टेसन मा नै संसार थियो उसको । तर पनि सयपत्रीझैँ पत्रै पत्र रहेको सुधाको मन सावित्रीको अघि कहिले काहिँ खुल्दथ्यो। कहिले काहिँ उ सावित्रीलाई सोद्थी “कसैको कसैसँग माया वसेको कसरी थाहा हुन्छ?” भनेर । सावित्री अतितमा हराउँथी ।उसलाई लाग्दथ्यो उसको वुढोसँग विताएको दुई महिना नै उसको सम्पुर्ण जीवनको अंश हो। अरु त जीवन हुँदै होइन, मात्र काटेका समयहरु हुन् । निरस् समय , मृत समय।अनी सुधालाई भन्थी दिदी ” त्यो भोगेको कुरोलाई म शव्दमा कसरी भनुँ !”। हुन त सुधालाई थाहा थियो, सावित्रीलाई यि प्रश्न राख्नु उचित हैन । त्यो त फगत उसलाई पिडा थप्नु हो तर पनि सुधा प्रश्न तेर्स्याइदिन्थी। सावित्री त्यहि प्रश्नमा छिर्के लागेर लड्थी अनि अतितको हिलोमा फेरि मैली हुन्थी।

दिनहरु वित्दै गए। अथवा भनौँ मृत समय लम्विदै गयो।एकदिन रोहनले सावित्री किचनमा एक्लै भएको मौका पाएर सावित्रीको हात पक्डियो। सावित्रीको छाति जोडले धड्कियो। उसले सावित्रीको आँखामा आँखा जुधायो। सावित्रीलाई त्यो आँखा को तेजमा, रापमा आफु मोम वनेर पग्लिए झैँ लाग्यो। उसलाई थाहा थियो, यो सम्वन्धको अस्तित्व छैन। तर उसले सम्वन्ध र सुखलाई तराजुमा जोखी । एउटा पाटोमा उसको सम्वन्ध अनी जीवन दुखको पहाड वन्दै गएको यथार्थ थियो। अर्को पाटोमा पल पल मालामा गाँसिदै आएको सपनामा थियो। उसलाई विउँझिन मन लागेन।उसले आफ्नो अनुहार रोहनको छातिमा राखिदिई । उहि न्यानोपन, उहि राप , हो उसलाई थाहा छ , यो स्थायी रहनेछैन। उसको मनले प्रतिप्रश्न राख्यो ” सावित्री तँ एउटा यस्तो वस्तु भन् , यो संसारमा जुन शास्वत छ, शास्वत त तँ पनि छैनस् !”। मनको प्रतिकार उसलाई चित्त वुझ्यो । उसलले जोडले रोहनलाई समाती । रोहन धेरै वेर सावित्रीको कपाल खेलाईरह्यो। सावित्रीको जीवनमा दोस्रो पुरुष आयो।

कथा विचित्रको हुन्छ। गति समान हुन्न कथाको, अनि कथाका कथाकार कहिलेकाहिँ हरफ हरफमा फरक हुन्छन् । सावित्रीको कथा पनि त्यस्तै छ। पहिलो खण्डमा उसको भोगाइ पृथक थियो।पहिलो खण्डमा उसले रोज्न केहि पाइन, जीवन स्वर्णिम हुँदा उसलाई लाग्यो भाग्य उसमाथी दयावान वनेको छ।जीवन मृत हुँदा उसलाई लाग्यो भाग्यले क्रुर खेल खेल्यो।

दोस्रो खण्डमा उसले भाग्यमाथी अभुतपुर्व जित हाँसिल गरी । यसपाली लक्ष उसैले रोजी । उसलाई पलहरुमा जीउन मन लाग्यो । हुन पनि त लामो यात्राको सोच वनाएर निरस यात्रा गर्नु भन्दा उसका छोटा , साना साना गोरेटा रमाइला, हरित थीए। उ चाहन्थी ति गोरेटाहरु कहिल्यै नटुंगिउन, मात्र गोल घुम्ति घुमिरहुन । अनि उ त्यहि वनपाखामा दौडिरहोस् निष्फिक्री।

रोहन सँगको सम्वन्धमा उसले रोहन सँग केहि चाहेकी थिइन। मात्र आकर्षण थियो एक अर्का प्रतिको ।दुइ जनाले शुन्यता वाँडेका थिए।शुन्यता को वाँडफाँड अचम्मको हुन्छ शुन्य वाँडिन्छ तर पनि दुवैको भागमा पुर्णता पर्छ ।

अव कथा थोरै मोड्छु, सिधा कथाहरु र सिधा वाटोहरु निरस् हुन्छन् । जव जव यात्रा जटिल हुन्छ तव तव जीवनमा कलात्मकता आउँछ। सावित्रीको कथा पक्कै पनि निरस् थिएन।

सावित्रीमा रोहनसँगको साथले परिवर्तन ल्यायो । एउटा पृथक परिवर्तन, उ अव खुशी हुन थाली । एउटा कालो छायाँ वनेको उसको वुढोका यादहरु रोहन सँग वितेका समयको प्रभावमा हराउँदै गए। एक दिन सुधाले उसलाई सोधेकी थिई” तँलाई आजकल तेरो वुढोको याद आउँदैन?” भनेर । त्यतिवेला पो सावित्रीले झल्याँस्स सम्झी, हो त उसको एउटा वुढो भनाउँदो पनि थियो। उसले त्यो याद लाई फेरि पनि पन्छाउँदै भनी ” मरोस् कि राखोस्, मलाई केहि मतलव छैन!!”। सुधा उसलाई हेरीरहि।

सुखको प्रभाव अनुहारमा पहिला देखिन्छ । खिन्न मनले कहिल्यै सुन्दरता उव्जिन्न। मान्छे जव खुशी हुन्छ उसको त उर्जाले पनि सुन्दरता ल्याउँछ। सावित्री त्यहि भएर होला आजकल सवैको नजरमा सुन्दर थिई। घरका वुढा मान्छे पनि कहिलेकाहिँ सावित्रीलाईँ जिस्क्याउँथे ” हैन के भएको छ हँ तँलाई, आजकल त फुरुंग छेस् !” उ पनि चिल्लो घसिदिन्थी “तँपाई हरु सवैको माया पाएकी छु, खुशी हुन कर नै लागेको छ अहिले त मलाई!”

सावित्री वस्ने घरको तल एउटा पानपसल थियो। छेवैमा विहान दुध, वेलुका तरकारी वेच्ने ठाउँ। सावित्रीलाई त्यहाँ पुगिरहनु पर्थ्यो ।प्रत्येक दिन दुध लिन जाँदा उसको भेट एउटा केटा सँग हुन्थ्यो। यो कथाको तेस्रो पुरुष भन्नुपर्छ त्यो केटालाई। शान्त तर रहस्यमय ।दुइ जनाको दुध देखी लिएर तरकारी किन्ने समय जुधेर होला दुवैको दिनहुँ जसो नै भेट हुन्थ्यो।

” कहाँ वस्नुहुन्छ यहाँ ?” दुई चार दिनको भेटघाट र मुस्कानको साटासाट पछि एकदिन सावित्रीले नै सोधेकी थिई।

“छेवैमा छ, पाँच मिनट जति लाग्छ ।” उसले पनि शान्त भएर नै जवाफ फर्कायो।

“अनि के गर्नुहुन्छ त यहाँ?” सावित्रीले प्रश्न राखी

केटोले सावित्रीलाई हेरिरह्यो। केहि वोलेन, तरकारीको झोला लियो अनि फरक्क फर्किएर वाटो लाग्यो। सावित्रीले खुट्याउन सकिन , उसको प्रश्न कहाँ गलत थियो भनेर।

भाग ३

त्यो दिन सावित्री सुत्न सकिन। त्यो केटाले नवोलेर पनि धेरै वोलेर गयो। उसको मौनता पनि सावित्रीको निन्द्रा उडाउन समर्थ वन्यो। निन्द्रा धुवाँ भन्दा पातलो हुन्छ। अझ अचम्म हामी त्यति पातलो निन्द्रामा सपनाका आकार दिन्छौ, वुट्टा भर्छौँ , च्यातिने, पिल्सिने सम्भावनालाई वेवास्ता गर्दै ।जीवनको सुन्दरता नै सानो शक्तिले च्यातिदिन सक्ने तिनै सपनाहरु त हुन्। हो सपनाहरु कमजोर हुन्छन् र त संगाल्नु पर्छ ,वाह्य संसारवाट लुकाउनु पर्छ। सावित्रीले पनि आज भेट्टिएको कथा रोहनवाट लुकाइ । रोहनले आज पुर्ण सावित्री पाएन। एकैछिन अर्ध सावित्री सँगको भेट पछि उ आफ्नो कोठा फर्कियो। सावित्रीको रात कट्न गाह्रो भयो । उ कोल्टे फेरिरही !!!!

भोलिपल्ट उ तरकारीवजारको छेउछाउमा देखिएन। सावित्रीलाई एउटा अनौठो डरले सतायो। उसलाई केहि भइ पो हाल्यो कि भनेर !! फेरि अर्को मनले सोची ” आ को नै हो र उ मेरो!” भनेर। सवै भेटहरुलाई सम्वन्ध दिनपाए त जीवन धेरै नै सरल हुन्थ्यो।उसको मनको त्यो सोचले उसको चित्त वुझाउन सकेन।

“दाइ त्यो सँधै तँपाइकोमा तरकारी लिन आउँथ्यो नी , एउटा झुसे झुसे केटा , हिजो खरानी रंगको टिशर्ट लाको थियो नी , चिन्नुहुन्छ ?” सावित्रीले तरकारी व्यापारीलाई नै सोधी व्यग्र भएर। तरकारी व्यापारी कुटिल मुस्कान हाँस्यो अनी जवाफ फर्कायो ” खोइ तरकारी किन्न आउँथ्यो भन्नु कि तिमीलाई हेर्न आउँथ्यो भन्नु , तरकारी किनेको आधा घण्टा सम्म पनि यहिँ वस्थ्यो तिमी आउन्जेल सम्म !!!!” उसको पहेँलो दाँतले सावित्रीलाई गिज्याए झैँ लाग्यो । सावित्रीले अर्को प्रश्न सोधिन ।

वाटो कट्दै गर्दा परवाट हस्यांग फस्यांग गर्दै आएको उसलाई देखी। सावित्री टक्क अडिइ। गतिशिल भएर एक लक्षमा हिँडेको उ पनि सावित्री अडिएको भन्दा करिव पाँच मिटरको दुरीमा अडियो। उसको गति शुन्य वन्यो, मानौँ उसको पाइला ले भन्दैथियो ” अव रोकिनु पर्छ लक्ष त पाँच मिटर मात्र टाढा छ !!”

“तँपाई मलाई पछ्याउँदै हुनुहुन्छ ?” सावित्री रिसाए झैँ गरी । उ सतह धमिल्याएर आफ्नो मन लुकाउन चाहन्थी । भित्री मन त उसलाई देखेर खुशी नै भएको थियो।

उसले घोसे मुन्टो लगायो । जवाफ फर्काएन !!

“मैले आज थाहा पाएँ तरकारी पसलेवाट ! किन मेरो लागि यस्तो मरिहत्ते ? तँपाईलाई के नै थाहा छ र मेरो वारेमा ” सावित्रीले अर्को प्रश्न राखी ।

उसले सावित्रीको अनुहार नियाल्यो । उसका आँखा सावित्रीमा गडे, धेरै वेर एक टकिए।

“त्यो घरमा वस्नुहुन्छ , भन्ने वाहेक केहि थाहा छैन!” गहिरो दवेको आवाजमा उसले वोली फुटायो।

“के चाहनुहुन्छ आखिर म वाट ?” सावित्रीले झर्किने प्रयास गर्दै भनी ।

“शायद केहि पनि चाहन्न , भेटको निरन्तरता वाहेक । साँचो सोध्नुहुन्छ भने नदेखेको दिन मलाई दिन पुरा नभएजस्तो हुन्छ , के के नपुगे जस्तो हुन्छ । सँधै तँपाइलाई नै हेरिरहन चाहन्छु !”

उसका उत्तर हरु पनि उ जत्तिकै सरल थिए। उसले कुनै आग्रह राखेन सावित्रीलाई । मात्र आफ्नो मनको चाहना पोखिदियो।

सावित्री जड भइ । संसार अचम्मको छ। यहाँको भाग वण्डा अचम्मको छ। कहिले खोजेको माया पाइन्न, कहिले नचिताएकाले माया गर्छन।

“नचाहिने, न मलाई तँपाई को वारेमा थाहा छ , न तँपाईलाई मेरो वारेमा ! तँपाई को पनि काम गर्ने समय होला , हेरविचार गर्नुपर्ने परिवार होलान् !! आफ्नै भविष्य किन विगार्नुहुन्छ ?” उसले गलेको स्वरमा प्रतिरोध गरेकी थीई यसपाली । उसलाई आँफैलाई आफ्नो नकारात्मक प्रतिरोध प्रति विश्वास लागेन ।

सावित्रीलाई उसको सामना गर्न गाह्रो भयो,उ फरक्क फर्की । उ सोची रही , उसले किन त्यो केटालाई गाली गरी ।उसको के नै गल्ति थियो र ? आफुले चाहेर माया गर्ने भए, भविष्य सोचेर माया गर्ने भए रोहन सँग पनि उसको भविष्य के नै छ र ? उसले आँफैले त परिभाषित गरेकी हो जीवन पलमा जीउनु पर्छ भनेर । कसैले जीवन भरी याद राख्ने गरीको उसको जीवनका थोरै पल किन दिन सक्दिन सावित्री? के गलत छ त त्यसमा ? धेरै प्रश्नवाचक चिन्हहरुले घेरिँदै सावित्री त्यो दिन किचन तिर छिरी।

काटिँदै गरेका तरकारी का चानाहरु जस्तै झलझल्ति उसका यादहरु काटिँदै गए वाँडिदै गए । तिन जना नै पुरुष आ-आफ्नो ठाउँमा प्रभाव छोड्ने गरी प्रभावशाली भएका थिए सावित्रीको जीवनमा!! उ चाना हरुलाई अझ साना वनाउँदै गइ। उ आफ्नो जीवनमाथीको वाह्य आधिपत्य घटाउन चाहन्छे। उ आफ्नो मनको अन्तर्द्वन्दमा पुर्णविराम चाहन्छे। उसको जीवन अहिले उनको फुस्काउन नसकेको गाँठो परेको डल्लो भएको छ। जति फुस्काउन खोज्छे त्यति कसिँदै छ ।

रोहनले अचानक पछाडीवाट अंगालो मार्यो। सावित्री झस्किइ।

“के सोच्दै छेस् ! अहिले दिदी पनि छैन !! अनी वुवा पनि वाहिर निस्किनु भएको छ !” उसले सावित्रीको कमरवाट हात छिराउँदै आग्रह गर्यो।

“किचनमा थोरै काम छ वावु !” उसले आग्रह टार्ने प्रयास गरी।

“एकै छिन मा गर्लिस न तेरो काम !” रोहनको हात घुस्रिदैँ गयो। उसको प्रतिरोध हराउँदै गयो।

भाग ४

“हिजो को लागि सरी !”

उ वाटो मैँ थियो। सावित्रीलाई कुरेर वसिरहेको । मलाई कथामा उसको उपस्थिति प्रति माया लागेर आउँछ। उ मात्र माया गर्न जान्दथ्यो। माया गर्नु एउटा कुरा अनि प्रदर्शनको भुक्तभोगि यो संसारमा माया देखाउनु अर्को कुरा ! देखीएको माया हुँदैन, नदेखिँदा माया मानिँदैन, मानिनु र हुनु अर्को कुरा।

सावित्रीले उसलाई एकटक लगाएर हेरी ।उसको वढेको दाह्री , खवटे अनुहार, पोलिस्टर को खुम्चिएको धर्के शर्ट अनि तेस्रो वटन थोरै चोइटिएको। सावित्रीले नचाहँदा नचाहँदै भए पनि रोहनलाई सम्झी । रोहन सावित्रीको नशा नशा मा थियो, उसको दिमागमा व्याप्त थीयो । एउटा लत वनेर। उसको शरिर नियाल्दै रोहन सँग दाँज्दै सावित्रीले सोची यो शरिर पक्कै पनि रोहन जत्तिको मादक छैन।

“ठिकै छ !” सावित्रीले अघी वढ्दै भनी।

“मलाई तँपाई सँग केहि कुरा गर्नु छ , यदि तँपाईले अनुमति दिनुहुन्छ भने !” सावित्रीलाई फर्किन कर लाग्यो ।

“हुन्छ !” उसले धेरै वेर सोचेर जवाफ फर्काई। त्यो सोचको गणितमा रोहन घर आउने समय सम्मको गणना पर्यो।

“म सँग चिया खान जानुहुन्छ , अलि पर ?” उसले एउटा अर्को आग्रह थप्यो। सावित्रीको मन यसपाली थोरै पग्लियो। उसले स्विकारोक्ति जनाउँदै टाउको हल्लाइदिई।

“खोइ त कुरा गरेको ?” सावित्रीले मौनता चिर्दै वाटोमा प्रश्न राखेकी थिई।

“कहाँवाट शुरु गरौँ , सोच्दैछु !!” उसले पनि आफ्ना पाइलाले भुईँमा छोडेका अवशेष खुट्याउँलाझै गरेर घोसे मुन्टो लगाउँदै जवाफ फर्कायो।

” मलाई जे कुरा पनि छिटो भएको मन पर्छ, जे वाट शुरु गरे पनि हुन्छ!!” सावित्रीले मुस्कुराउँदै उसको तनाव घटाउने प्रयास गरी। उ पनि हाँस्यो। गम्भिरता वोक्रो उक्किएपछि देखिएको स्वच्छन्द उ सावित्रीलाई गम्भिर उ भन्दा मन पर्यो।

“दुइटा चिया !!” वाटोमै कित्ली र स्टोभ लिएर जेनतेन गुजारा चलाइरहेकी एउटी आइमाईको दोकानमा लिएर गएको थियो उसले । छेवैको दुइटा मुढामा दुइजना वसे। चियाको वाफले माहौल न्यानो वनायो। सावित्रीले सोची, कहिलेकाहिँ आइमाइ हुँदा शक्तिशाली हुइन्छ, माया पाइन्छ अनि साथ पाइन्छ, मेहेनत विना प्रशंसक पाइन्छ।सावित्रीलाई आफू हुनुमा गर्व महसुस भयो। उसले चिया सुरुप्प पारी आफ्नो आँत नै तातो हुने गरेर।

“त्यो घरमा म काम गर्छु ।” सावित्रीले अचानक आफै कुराको शुरुवात गरी। उसले ध्यानपुर्वक सुनी रह्यो। मानौँ उ शव्दहरुलाई पनि स्पर्श गर्न चाहन्छ।

“म यहाँकी होइन, तर मलाई कता कता शहर मन पर्न थालेको छ,अनि शहरका मान्छेहरु पनि!!” उ एकछिन रोकिइ।” मलाई थाहा छ तिमी मलाई नियाली रहन्छौ, मेरो प्रतिक्षामा रहन्छौ ,मैले सवै थाहा पाएकी छु!!”

उ यसो भन्दै गर्दा भित्रै देखि खुशी थीई । विजयी महसुस गरेकी थिई ।सावित्री आफ्नो शक्ति पहिलो चोटी उपयोग गरेको महसुस गरेकी थीई। उसलाई पहिलोपल्ट कुनै सम्वन्धमा आफ्नो प्रभुत्व महसुस भएको थियो। उसको वुढो त उसको वुढो नै भइहाल्यो, उ भन्दा कान्छो रोहनको अघि पनि त उ लाटिएकी थिई,मात्र अह्राएको टेर्ने न थिई उ आखिर!!

” मैले तिमी भनेकोमा चित्त त दुखेको छैन हैन ?”

एकटक लगाएर सावित्रीलाई हेरी रहेको उसको क्रमभंग गर्ने गरी अनि प्रश्न तेर्स्याई । के जवाफ दिओस् विचरा, उ त मात्र सुन्न चाहन्छ, सावित्रीले उसको मौनता वुझोस् भन्ने चाहन्छ।अनि रह्यो सवाल तिमी र तँपाइको, सावित्रि उ सँग वोली त्यसको सट्टामा उ जुनसुकै सर्वनामको साटफेरमा पनि तैयार थियो। उसले छैन भन्ने भावमा टाउको हल्लायो।चिया सिद्दिएको थियो। दुवै फेरि घरतिर फर्किए।

“तिमी असाध्यै सोझो छौ,वुझ्यौ ?” सावित्रीले हाँस्दै घरछेउ आएपछी आफ्नो फैसला सुनाई। साँझपख सावित्रीको अनुहारमा अनौठो लालि देख्यो उसले।

“कसरी थाहा भयो तँपाईलाई?” उसले तँपाई भन्न छोडेन,अझै।

“मलाई पनि तिमी नै भने हुन्छ, कस्तो वुद्दु मान्छे होला!!”

सावित्री रिसाए जस्तै गरी। उ सोचमा पर्यो।

“हुन्छ म तिमीलाई अवदेखी तिमी नै भन्छु !!”

उसले सोझो स्वरमै जवाफ फर्कायो।

“किन र ? मैले भनेको जे पनि मान्छौ ?” सावित्रीले उसको हात समाउँदै प्रश्न राखी ।

“जे पनि !!” उसले पनि सावित्रीको हात नियाल्दै जवाफ फर्कायो।

“भोलि देखि सँधै भेट्ने है ?? अहिलेलाई म जान्छु !!” सावित्रीले उसका हात छोड्दै कुरो टुंग्याई अनी घरतिर लम्किई ।सावित्रीको जीवन त्यहि वाटोका दुइ पाटा जस्तै वाँडिए।सावित्री त्यहिँ पिंग खेलिरहन्थी । कहिले उसको पाटोमा, कहिले रोहनको पाटोमा।

**************** ***************** ************** ************** *********

रातको निष्पट्ट चिर्दै रोहन फेरि सावित्री सुत्ने खाटमा घुस्रियो।रोहनको त स्पर्श,सुवाष सवै सावित्रीले चिन्थी।

“छ्या कति चिसो खुट्टा!” सावित्रीले सिरिंग हुँदै भनी।

रोहन वोलेन। चुपचाप वसिरह्यो। अचम्म थियो। दिउँसो भेटिने केटाको मौनताले उसको मन जितेको थीयो।तर रोहनको मौनता उसलाई विझ्यो।उ त रोहनले वोलिरहोस्, उसलाई जिस्क्याइरहोस् भन्ने न चाहन्थी आखिर!!

“तँलाई एउटा कुरा सोध्नु छ !!” अँध्यारोमा पनि रोहनको असन्तुष्टी देखि सावित्रीले त्यतिखेर। उसलाई डर लागेर आयो। आखिर उ रोहनलाई पनि त छोड्न चाहँदैन थी।

“सोध्नु न!” उसले विस्तारी जवाफ फर्काई।

“को हो त्यो पान पसलको केटो?”

सावित्री झसंग भई। उसलाई पसिना आए जस्तो भयो।

“दाजु हो, गाउँको !!” अनकनाउँदै जवाफ फर्काई। उसको झुटमा रोहनले विश्वास गरोस् भनेर भगवान सँग प्रार्थना गरी।

“हुन्छ तेरो दाजु !!” रोहनले नपत्याए जस्तो गर्यो।

“कसम, तँपाइको मासु खाने !! तँपाइ वाहेक अरुको वारेमा सोचेकी पनि छैन मैले” उसले झुटो कसम समेत खाइदिई। आफु स्वार्थी वनेकोमा पहिलो चोटी सावित्रीलाई ग्लानि पनि भयो। तर पनि उ रोहनलाई हार्न चाहन्नथी। कुनै पनि शर्तमा !!

“दिदीले हाँस्दै हात समातेको पनि देखेकी रे !!” रोहन नपत्याउन छोडेन।

“दाजुनै हो भन्दा पनि नपत्याउने!!” सावित्रीले आफ्नो अन्तिम अस्त्र छोडी। थोरै रिसाए झैँ गरेर।

“नरिसा न!!” रोहन थोरै कमलो भएर उसलाई अँगालो मार्दै भन्यो।

“यो चाहिँ तँपाइको दिदीले देख्नुभयो भने के हुन्छ नि?” सावित्री लाडिई।

“यो अँध्यारोमा !!!” रोहनले उसलाई अझ जोरले कस्यो।सावित्रीलाई आफुले जिते जत्तिकै भयो। भोली देखी उ सँग भेट्ने ठाउँ वदल्नु पर्ला उसले मन मनै सोची।

भाग ५

पढ्नेहरु सोच्छन्, आखिर कथा कसको ? कथाको स्वामित्व कस्को ? शिर्षकले त सावित्रीकै हुनुपर्ने हो ? किन जमाउँदैछन् त यी पुरुषहरु यो कथा माथी अधिकार। कथा मा पनि पुरुषहरुकै अधिकार ! आखिर किन ?
तर सावित्री पनि त वाँडिएकी छे। सावित्रीका भावनाका वेगहरु पनि भंगाला भंगालामा वाँडिएका छन् । हो कथामा नायकको समेत अधिकार हुँदैन। कथा नायकको रहरले चल्दैन। कथाका अरु पात्रहरु नायकको वृत्त भित्र घुम्न सक्छन् तर घुमाउने अरु नै कोहि हुन्छ।

मैले यो भनीरहनुमा पनि त रहस्य छ। थोरै अहिले सम्म देखा परेका पुरुषहरु तिर फर्काउँछु कथालाई ।अनी सावित्री सँगको सम्वन्ध दाँज्नेछु। कथाको पहिलो पुरुष सावित्रीको वुढो, समाजले सावित्रीलाई दिएको नासो।उसलाई सावित्रीले आफ्नै मानेर साँची, आफ्नो आँखामा राखी , आफ्नो मुटुमा राखी। तर काँडा काँडा नै हो आखिर, फूलको छेउमा महत्व पाउँछ, छोए विझाउँछ।यति भनिरहँदा उसको कमीकमजोरी मैले आँकिरहन खोजेको हैन। म को हुँ र आखिर सावित्रीको वुढोको कमिकमजोरी को हिसाव लगाउने । तर कथामा सावित्रीको वुढोको उपस्थिति सावित्रीको जीवनमा समाजको उपस्थिति थियो, त्यो भने शास्वत सत्य थियो।

दोस्रो पुरुषको उपस्थितिको लागि पनि पहिलो पुरुष को उपस्थिति अनिवार्य थियो। रोहन सावित्रीले समाज मान्दा पाएको फाइदाको पुनारावृत्ति मात्र थियो। उसले उसको वुढोलाई आफ्नो मानेर मनमा वसाएपछि एउटा तृप्तता पाएकी थिई, तर इन्द्रको आसन त डगमगाउने जगतमा सावित्रीको मनमा सँधै उसको वुढो नै वसिराखोस् जरुरी पनि त छैन। सावित्रीको जीवनवाट उसको वुढो निक्लने वित्तिकै सावित्रीले जे हराएको ठानी त्यो भेटिनु त जरुरी नै भयो। हराउँदै नहराएको कुरा भेटिन्न ।सावित्रीले आफ्नो वुढो हराउँदा माया हराएकी थिइन मात्र शरिरको तृप्तता हराएकी थिई । त्यसैले उसको मनले पनि त्यहि खोजी गर्यो। उसको वुढोको ठाउँ रोहनले लियो।

कथामा तेस्रो पुरुषको आगमनले उसको कथामा एउटा नयाँ रंग थपेको थियो,मायाको रंग।सावित्री त्यो रंग सँग अनभिग्य थिई । एउटा नयाँ स्वाद ,स्पर्श वेगर पनि छोए जस्तो लाग्ने, मौनता पनि वोले जस्तो लाग्ने , अनि निन्द्रामा नै नभइ सपना देखिने अनौठो अनुभुति। त्यसैले तेस्रो पुरुष सावित्रीको जीवनमा आफ्नो आधिपत्य जमाउने नभइ मात्र साथ निभाउने थियो। एउटा वसन्तको पाउलाको उपस्थिति थियो उसको जसले मौसम नै स्वच्छ वनाउँछ। उसको आगमनले सावित्रीलाई आफु पवित्र छु भनी महसुस गराएको थियो।

यो कथाको यो अंशमा तिन पुरुषको सारांशको पनि आफ्नै महत्व छ। कथा सावित्रीको हो ति तिन पुरुषहरुको होइन। तर यि तिन पुरुषहरुले सावित्रीको जीवनमा जति नै आयाम थपे पनि पुर्णता दिएका थिएनन् । सावित्रीको जीवन मा अझै स्थायित्व थिएन। पहिलो ले छोडिसकेको थियो फेरि फर्किने सम्भावना थिएन, दोस्रो मात्र सावित्री को शरिर देख्दथ्यो,अनि तेस्रो संसार वुझ्दैनथ्यो। व्यवहार, समाज छोडेर मात्र सावित्री सँग विताउने दुइ पल सँग मतलव थियो। अर्को अर्थमा भन्ने हो भने कथामा चौथो पुरुषको आवश्यकता थियो। यहाँ कथामा रोहन र सुधाका वालाई थोरै महत्व दिइनु पर्दछ। कथाले अहिले सम्म खासै वास्ता नगरेको पुरुष , चौथो पुरुष। पात्र त्यति वेर सम्म निर्जिव रहन्छ , जव सम्म उसमा मन दिइँदैन, उसको दिनचर्या थपिँदैन। पात्रकै उपस्थिति भन्दा पनि उसको वातावरणको, उसको अतितले जन्माएको उसको मनस्थिति को चित्रणले पात्र सजिव वनाउँछ। त्यसैले पनि सावित्रीको कथाले थोरै विश्राम लिएर अव चौथो पुरुष को परिचय गराइनु आवश्यक छ।

***************** ***************** **************** ************ ********

उनी साधारण थिए, अत्यन्त साधारण थिए। साधारण यस अर्थमा कि उनी मात्र समयको वेग सँग दौडिन रुचाउँथे। कहिलेपनि वेग विरुद्द क्रान्ति गर्ने उनको आँट आएन। त्यसैले उनमा सामर्थ्य थियो वा थिएन त्यो टाढाको विषय वन्यो।

विहे गरेको तिस वर्ष वुढीसँग समय विताउँदा उनको जिवन पनि साधारण थियो। जस्तो हुनुपर्ने त्यस्तै थियो। एउटा छोरा , एउटा छोरी, वुढी मायाले भरिएको परिवार थियो। उनलाई संसारको खासै वास्ता थिएन , किनकी उनको परिवार नै उनको संसार थियो। एउटा भद्र पुरुषको जीवनशैली थियो उनको।

तिस वर्षमा समयले पहिलो चोटी उनको परिक्षा लियो,उनकी स्वास्नीको मृत्युको रुपमा। सामान्य रुपमा गइरहेको उनको जिवनमा भुइँचालो आयो।अनि जव भुइँचालो थामियो, आफ्ना पनि पराइ जस्ता लाग्न थाले उनलाई। दुख सँगै एउटा वुद्दत्व भेट्टाए उनले। एउटा ग्यान, उनलाई मन देखि चिन्ने उनकी स्वास्नी मात्रै थिइ, छोराछोरी पनि त्यो वर्गमा परेनन्।

मर्निंग वाकमा उनको साथीले छ्यास्स अर्को विहे गर भनीदिएको कुराले आखिर उनको मनमा जरो गाड्यो। उनले सवैभन्दा नजिक सावित्रीलाई भेट्टाए। सावित्री नै किन? प्रश्नका धेरै जवाफ हुन सक्छन्। छोरा छोरी वाहेक सँधै उनको नजरमा आउने सावित्री नै थिई, सावित्री लाई हेर्ने नजर मा फरक आउने वित्तिकै तान्न सक्ने खुवि पनि थियो। करिव एक वर्ष एक्लिएको वुढाको जीवन ले आखिर सावित्री रोज्यो।वुढाले समय सँग फेरि पनि आफुलाई वगाए । उनी साधारण थिए।

म फेरि सावित्रीको कथामै फर्किन्छु। किनकी कथा सावित्रीको हो। सावित्रीले के चाहन्थी त्यसको हो।

*********** ********** ************** ************* *********** **********

“सावित्री, एकै छिन वस न !” चिया दिएर फर्किँदै गर्दा वुढाले सावित्रीलाई वस्नलाई रोके। सावित्री छेवैको सोफामा थोरै खुम्चिएर वसी ! वुढाले चिया सुरुप्प पारे। गफको शुरुवात पक्कै पनि गाह्रो थियो। माहौल मौन वन्यो। छेवैको टिभि मात्र वोलिरह्यो। सावित्री कहिले टिभिलाई, कहिले झ्यालको गमलालाई त कहिले वुढालाई हेरीरही।

“तेरो वुढो सँग केहि कुरा भएको छ छैन आजकल?” वुढोको प्रश्न समय सापेक्षिक थियो।

सावित्रीले घोसे मुण्टो लगाउँदै टाउको हल्लाई। उसलाई के मतलव उसको वुढोको!!

“अनि तेरो काका कहाँ हुनुहुन्छ नि आजकल?”

यसपाली सावित्रीमा थोरै कौतुहलता आयो। वुढा अरु समय पनि सोध्न त उसलाई सोधि रहन्थे। तर यसपालीको सोधाई मा उसले धेरै नै चासो भेट्टाई।

“गाउँमै हुनुहुन्छ !!” उसले संक्षिप्तमा उत्तर फर्काई।

“कहिले आउने रे यता ?” वुढाले अर्को प्रश्न तेर्स्याए।

“यहि महिना”

“एक चोटी मलाई भेट्टा है !!”

सावित्री ले स्विकारोक्तिमा टाउको हल्लाई। उ सोफा वाट उठी।

” तैले अर्को विहेको वारेमा सोचेकी छेस् ?” आफ्नो चश्माले सावित्रीलाई नियाल्दै प्रश्न राखेका थिए उनले।

सावित्रीले यसपाली पुलुक्क हेरी।उसको अनुहारमा हजारौँ मिश्रित भावहरु आए।

“एक्लो जीवन कटाउन गाह्रो हुन्छ, मैले थाहा पाएँ!! तँ पनि त एक्लै छेस् !!” वुढाले आफ्नो वोली टुंग्याए। सावित्रीले कुरा वुझी। मनमा रोहन र वाटोमा कुर्ने केटाको तस्विर एक्कै चोटी आयो। नवोली विस्तारै भान्छा तिर लागी।

अन्तिम भाग

सावित्रीको मनमा द्वन्द चल्यो। नसोचेको, नचिताएको प्रस्तावमा उ घेरिएपछि आफ्नै मनमा पर्खाल लाउन चाहेकी थिई। कोकुन भित्रको मान्छे आफुलाई सवैभन्दा सुरक्षित ठान्छ। तर कोकुन खसेर जव आँतमा उज्यालो पर्छ त्यसवेला दुइवटा वाटो हुन्छन् उसको अघी, पहिलो त्यो प्रकाशमा संसार नियाल्ने, अर्को आँखा चिम्लेर अझै कोकुनमा रहेको भ्रम आफ्नो मनमा छर्ने, सावित्रीको अन्तर्द्वन्द त्यसैमा थियो।उसले हुन्न भनेको खण्डमा घरवाट वाहिर निकालिनु पर्ने हो की भन्ने डर पनि त थियो आखिर। हुन्न भनेको खण्डमा उ कथाका तिन पुरुष सँग एकै चोटी छुट्टिने दोसाँधमा थिई । त्यो त उसको लागि विछोड भन्दा पनि कैयौँ गुणा दुखदायक हुन्थ्यो।

************* ************** ************* ************* *************** *

उसले मैनवत्ति जलाई। उ सुत्ने ठाउँको वल्व फ्युज भएको छ, करिव एक महिना देखि, उसले प्रकाश चाहेकी थिईन त्यो कुनामा। त्यो कुनाको अँध्यारोमै त त्यो कुनाको आकर्षण थियो। त्यो फ्युज भएको वल्वको पनि त्यहि भएर महत्व थियो। उसैको मनको अँध्यारो कुना जस्तै थियो त्यो कुनामा पनि । उ लुक्ने कुना, रमाउने कुना, अँध्यारो प्यारो भएको कुना, रोहनको स्वामित्व भएको कुना।

“के भयो, किन चाहियो वत्ति तँलाई ?” रोहनले उसका कपाल खेलाउँदै प्रश्न राख्यो।

“तँपाइको अनुहार नहेरेको नै धेरै भयो वावु ! कहिलेकाहिँ त अँध्यारो देखी वाक्क लागेर आउँछ, दिउँसो तँपाईलाई देख्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ।” उसले रोहन तिर पुलुक्क फर्किदै जवाफ फर्काई।रोहनको अनुहार लाई मैनवत्तिले पुरा उज्यालो वनाउन सकेको थिएन। आधा भाग मैनवत्तिको अँध्यारो प्रकाशमा पहेँलिएको थियो, आधा उनीहरुका गोप्य भेटघाट जस्तै अँध्यारो थियो अझै पनि। दाह्री थोरै थोरै उम्रिएर गालालाई अझै आकर्षकता थप्दै थिए।

“के देखिस् त मेरो अनुहारमा?” रोहनले प्रश्न राख्यो।

” म अनुहारवाट तँपाइको मुटु सम्मको वाटो खोज्दैछु,अझै भेट्टाएकी छैन !!”

“नचाहिने, काहिँ अनुहारवाट पनि मुटु सम्मको वाटो भेटिन्छ?”

“भेटिन्छ त ,आँखावाट हुन्छ ! थाहा छैन तँपाइलाई ? निष्ठुरीहरु मात्र त्यो वाटो रोकेर वस्छन् ” आफु भित्रको द्वन्द लुकाउँदै उसका आँखा मा नियाल्दै उसले जवाफ फर्काई।

“मेरो आँखामा त तँ नै देखिन्छेस् नि !!” रोहनले सावित्रीको गाला मा आफ्नो हात राख्दै उसलाई वुझाउन चाह्यो। उसलाई निष्ठुरी शव्द मन पर्दैन।उसले त मात्र आवश्यकता साटेको हो।

“तँपाई मेरो साथ चाहनुहुन्छ ? वा मलाई ??” सावित्रीले रोहनको आँखामा आँखा जुधाउँदै प्रश्न राखी।

“दुवैमा फरक के छ?” रोहनले आफ्नो हात गालावाट हटाएर खाटमा राख्दै सोध्यो।प्रश्न उसलाई विझेको थियो।जानी जानी वुझ पचायो उसले!

“धेरै छ वावु, धेरै छ !!” उ एकैछिन चुप भई । पग्लिएको मैनवत्ति फेरि जम्न थालेको थियो,मैनवत्तिको पुछारमा ।धरातलमा फर्किएपछि त सवै आफ्नै स्वरुपमा आउनुपर्ने वाध्यता होला। सावित्री पनि त जीवनको राप र तापले पग्लिएको मैन जस्तो नै त थिई। जति जति जीवनको धरातल नजिक फर्किएकी थिई, जमेकी थीई, जड भएकी थिई स्थायित्व को खोजीमा।

“मैले त्यो केटा ,गाउँको दाजु हो भनी तँपाईलाई ढाँटे !!!!” सावित्रीले धेरैवेरको मौनता पछि रोहनलाई आफ्नो सत्यता दर्शाउन चाही ।

रोहन वोलेन, मात्र सावित्रीलाई हेरिरह्यो। उसको अनुहार रातो हुँदै आएको मैनवत्तिको प्रकाशमै देखियो।कहिलेकाहिँ साना वाक्यहरु सुचनाका पहाड लिएर आउँछन्।ति वाक्यका अक्षर अक्षर मान्छेको मन सँग कुश्ति खेल्ने गरी, मान्छे पछार्ने गरी शक्तिशाली हुन्छन् ।रोहन पछारिएको थियो अक्षरहरुकै फौजको अघी। अनी आफ्नो मौनता सँग नै भिँड्दै थियो।

“को हो त त्यो ?” धेरैवेरको सोच पछि रोहनले प्रश्न राख्ने सामर्थ्य वटुल्यो।

“नजिकै वस्छ !! तरकारी पसलमा भेट भएको , मलाई पहिल्यै देखेको रे, मलाई कुरेर वसिरहन्छ, म सँग मात्र समय विताउन चाहन्छ रे !!”

“अहिले किन साँचो भन्दैछेस् त?” रोहन अझ रातो भयो। उ रिसाउनु पर्ने हो वा होइन उसलाई छुट्याउन गाह्रो भयो।

“किन की म जान्न चाहन्छु, तँपाई जीवन भर मलाई चाहनुहुन्छ कि यो ओछ्यानका चार खुट्टा भित्र मात्र ?” सावित्रीले आफ्नो सम्पुर्ण इच्छा पोखिदिई।सावित्री आफ्नो दोस्रो पत्र खोलिन। चौथो पुरुषको आगमन प्रति त रोहन अझै अनभिग्य नै थियो। रोहन शान्त भयो विस्तारै ! पानी खायो नजिकै फिल्टर वाट झिकेर!!

“तँ के चाहन्छेस् त ?” रोहनले एक छिन घोरिएर फेरि सावित्रीलाई प्रश्न राख्यो।

“मेरो लागि तँपाइ एउटा लत वन्नु भएको छ , म यसमा क्रमभंगता चाहन्न!! कुनै शर्तमा पनि !! म तँपाईको शरिरमा आफुले भ्याएसम्मको निरन्तरता चाहन्छु। ” सावित्री विस्तारै कठोर वन्दै गई। उसको अघि रोहन निक्कै कान्छो, अपरिपक्व देखियो त्यो रात। पहिलो चोटी सावित्रीले रातमा समेत आफ्नो विजयध्वज गाड्न चाहि।

“म नवाँडिउ कसैसँग पनि भन्ने तेरो रहर हो भने मेरो पनि त त्यस्तै होला ” उसले रुखो जवाफ फर्कायो।

“सुविधाको सम्वन्धमा निरंकुशता थोपर्न सक्ने मेरो सामर्थ्य कहाँ!”

“कहिलेकाहिँ तेरा शव्दहरु मलाई अवाक वनाउँछन्, जे तेरो इच्छा!!” रोहन लाचार वन्यो। हो यो सुविधाको सम्वन्ध थियो। ति पल वाहेक एकले अर्काको अधिकार क्षेत्रभित्र नछिर्नु त त्यसको पहिलो शर्त हो। किन सोचेन रोहनले त्यति ?

“यो त मेरो कथाको एउटा पाटो थियो, मेरो कथाको पाटो अर्को पनि छ !!” सावित्री ले पग्लिएको मैनलाई आफ्नो हातले खेलाउँदै जवाफ फर्काई। धागोको कालो ठूलो मोममै तैरिरहेको थियो।

“के नै पाटो हुन सक्छ र ,अव !!” रोहनले हारेको स्वरमा जवाफ फर्कायो। उसको पुरुषत्वले अर्को पुरुषको उपस्थिति स्विकार्नु पनि उसको लागी त युद्द हार्नु समान थियो।

“आज विहान तँपाइको वुवा सँग कुरा भयो,वहाँ अर्को विहा गर्ने अरे, केटी को खोजी म मा आएर रोकिएछ!!” सावित्रीले अन्तिम सत्य वाट पर्दा उठाई। अनी चुप भई।रोहन एकछिन मौन रह्यो। सावित्रीको भाव विहिन अनुहार हेर्यो।कोहि किन पथ्थर हुन्छ ? हो उ स्वार्थी भई, स्वार्थले आत्मा खान्छ ,मन ढुंगो वनाउँछ। उ जड हो, उ जिवित छैन, कोहि मृत कुरा गर्दैछ कुनै स्वार्थमा रोहन सँग ।

“तँ स्वार्थी होस् ! पुरुषकी भोगी होस्, तेरो वुढोले तँलाई छोड्यो ठिक गर्यो!!” रोहन अनाहकमा चिच्यायो

“दुनियाँ मायामा स्वार्थ देख्छ, म त स्वार्थलाई नै माया भन्छु !!” सावित्रीले विस्तारै जवाफ फर्काई। कोठाको मैन पग्लिएर निभ्यो, विस्तारै अँध्यारोले फेरि आफ्नो साम्राज्य फिजायो।

समाप्त ।।।।।

02-04-13 10:44 AM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *