नियात्रा : लिटिल इन्डियामा एक दिन

~राजेन्द्रप्रसाद अर्याल~

हामी बेलायत त पुग्यौ त घुमफिर गर्ने प्रशस्त समय थिएन । यस समस्यासँग परिचित विमल, विकल र विनयले न्यून समयको अत्यधिक उपयोग गर्ने कार्यक्रम तय गरें । एक बिहान हामी लन्डन सहरको साउथलतर्फ लाग्यौं । हामी जति अगाडि बढ्थ्यौं, सिनुका वरिपरि उडेका गिद्ध र चिल सरह हवाइजहाजहरू आकाश मार्गको नजिक देखिंदै आए । संसारकै अति व्यस्त विमानस्थल ‘हिथ्रो’ साउथल नजिकै पर्दो रहेछ । हुन पनि हिथ्रो विमानस्थलमा जहाज अवतरणको चाप यति धेरै हुँदो रहेछ कि पालो पर्खने क्रममा तिनीहरू आकाशैमा लामबद्ध हुन बाध्य हँुदा रहेछन् । केही समयमा नै हाम्रो गाडी साउथल पुग्यो । वासस्थान ग्रिनफोर्डबाट त्यति टाढा रहेनछ साउथल ।

साउथलको वरिपरि विचरण गर्दै गयौं । त्यहाँको अवस्था हेर्दा मलाई आफ्नो देशको नजिक पुगे जस्तो लाग्यो । छिमेकी दाजुभाइ र बन्धु बान्धवको माझमा छु भन्ने भावना उठ्न थाल्यो । हल्का र सुरक्षित महसुस गर्न थाल्यो मनले । कता कता व्यक्त गर्न नसकिने तिख्खर आनन्दले छोपेको अनुभूति भयो मलाई । एसियन मूलका अझ विशेष भन्ने हो भने भारतीय मूलका मानिसहरूको बाहुल्य देखिनाले होला, छिमेकी देश भारतमा नै छु जस्तो अनुभूति भयो मलाई ।

आपसमा जोडिएका पुराना र नयाँ नामकरण भएका दुई साउथलको यात्रानुभूतिलाई एउटै मालामा उन्न उद्यत छु म आज । साउथल मात्र होइन, त्यसका आसपासका बस्तीहरू हेज, ग्रिनफोर्ड, नर्थवल्र्ड, ह्यारोहरूमा समेत भारतीय, पाकिस्तानी, नेपाली र बङ्गालीहरूको बाक्लै उपस्थिति भेटियो । कुर्तासलवार अनि पाइजामामा सजिएका अनुहारहरू । समोसा, भेलपुरी, जेरी, डोसा, साम्बर आदि परिकारहरू सजाएर राखिएका पसलहरू । मठ, मन्दिर, मस्जिद जस्ता धार्मिक प्रतिष्ठानहरू । भारतीय विविध भाषा तथा हाउभाउमा अभिव्यक्त सवाल जबाफहरू । यी सब देख्दा सुन्दा साउथलले पाएको ‘लिटिल इन्डिया’ को उपनाम स्वाभाविक लाग्यो ।

प्रभातीय समय । मौसम खुलेको छ । न जाडो न गर्मी । यस समयको भरपुर उपभोग ग¥यौं साउथलमा हामीले । सडकका दायाँबायाँ बाक्लै देखिएका बोट–बिरुवा, हरिया चौरहरू र रङ्गिचङ्गी फुलहरूले प्रकृतिको वर्णन गरिरहे जस्तो देखिन्थ्यो । घर घरका कम्पाउन्डभित्र यदाकदा देखिने फलफुलहरूको लटरम्म अवस्था देख्दा मनै मुस्कुराउँथ्यो । मेरा नयनहरू अनायासै एउटा मन्दिरमा केन्द्रित हुन पुगे । शान्तिप्राप्तिको अनुभूति मात्र भएन— सत्य, निष्ठा र अनुशासनमा रहने उद्घोष भैरहेको अनुभव भयो । त्यस मन्दिरमा नेपालको पूर्ण तस्बिर मुस्कुराइरहेको प्रतीत भयो मलाई । जन्मभूमिका सयौं मठ मन्दिरहरूका उज्याला छायाहरू त्यसैमा प्रतिबिम्बित भए । त्यसप्रतिको उत्कट उत्सुकताले मलाई सर्लक्क निल्यो । प्रसन्नताले मात्तिएका मेरा खुट्टाहरू त्यतैतिर बढे ।

लेडी मार्गरेट रोडमा रहेको विष्णु भगवानको उक्त मन्दिरले करोडौं हिन्दुहरूको प्रतिनिधित्व गर्दै शान्तिको सन्देश दिइरहेको रहेछ । त्यस मन्दिरका पुजारी हुने सौभाग्य जननी नेपालकै वरदपुत्र वाग्लुङका ब्राह्मणले पाएका रहेछन् । यस समाचारले त झन् गौरवको अनुभूति भयो । त्यसैगरी पुरानो र नयाँ साउथलको बिचमा गुरु नानकको विशाल मन्दिर (गुरुद्वारा) भेट्यौं भने त्यसैको वरिपरि रहेका मस्जिद र चर्चहरूले पनि आ–आफ्नो धर्म गौरव बढाइरहेका थिए ।

बेलायतभरि रहेका भारतीय सामानका पारखीहरू, प्रेमीहरू, हिन्दी फिल्मका अम्मलीहरू, बलिउड नायक÷नायिकाका फ्यानहरू बिदाको समयमा साउथल ओइरिंदा रहेछन् । भारतीय खाना जिब्रामा गडेका भोजन प्रेमीहरूको पनि बाक्लै जमघट देखियो । विशेषगरी बेलायतभरि सप्लाइ गर्ने भारतीय सामग्रीका ठुला ठुला डिपार्टमेन्टमा थोक विक्रेताहरूका हात खाली थिएनन् । घुम्दै जाने क्रममा मेरा आँखाहरू नेपाली अक्षरमा चिप्लिंदै गए । देवनागरी लिपिको नेपाली भाषामा लेखिएको त्यस सूचनाजन्य सानो आलेखमा “नेपालीहरूका लागि स्विटर सुपथ मूल्यमा पाइन्छ” भनी टाँसिएको थियो ।

भारतीय मूलको व्यापारीकहाँ बस्ने विक्रेता नेपाली रहेछन् । उनले पसलमा लेखेर टाँसेको विषयवस्तु थियो त्यो । भाषामोहले मलाई गर्लम्मै अँगालो हाल्यो । आमाको काखमा तोतेबोलीसँग खेल्दै बोल्ने गरेका मिठा र झर्रा शब्दहरूको सम्झना भयो । भाषा र भेष प्राणभन्दा प्यारो छ भन्ने नाराभित्रको वास्तविकताको बोध त्यो आङ्ल मुलुकमा झनै हुन गयो मलाई । एक वाक्यको नेपाली भाषाको त्यस सूचनाले भाषागत समस्यामा रुमल्लिरहँदाका यावत् प्रश्नहरूको यथोचित उत्तर मिले जस्तो लाग्यो । भाषाप्रतिको अव्यक्त आत्मीयता देशभित्र हुँदाभन्दा विदेशमा रहँदा बढी अनुभूत हुनु स्वाभाविकै हो पनि ।

लन्डन सहरलाई विभिन्न वडाहरूमा विभक्त गरिएको र इलिङ काउन्सिलअन्तर्गत पर्ने एउटा बस्ती रहेछ साउथल । त्यहाँको सरकारी भाषा अङ्ग्रेजी नै हो तापनि अस्पताल, पुस्तकालय, काउन्सिल र किनमेल आदिमा हिन्दी बोलेर पनि भाषागत सामान्य गर्जो टर्ने रहेछ । अङ्ग्रेजी बोल्नेहरूको उच्चारण तथा लबज सुन्दा एसियनहरूकै प्रभाव देखियो । त्यहीँ जन्मेहुर्केका र लामो समय बिताएकाहरूको लबज भने अङ्ग्रेजकै जस्तो लाग्यो । हिन्दीपछि उर्दु, गुजराती र पञ्जाबी भाषाभाषीहरू आपसमा बोलेको सुनिन्थ्यो ।

“बर्मा गए पनि कर्म सँगै” भने भैmं मानिस जतिसुकै विकसित र उच्च सभ्य मुलुकमा पुगेको किन नहोस्, उसले आफ्नो नानीदेखि लागेको बानी त्याग्न कठिन हुँदो रहेछ । साउथलमा एसियन मानिसका अझ भनौं भारतीयहरूका केही व्यवहारगत असभ्य झाँकीहरू नचाहँदा नचाहँदै पनि यसै मेसोमा स्पष्ट देखिए ।

सामान खरिदमा मोलमोलाइको दबदबा नै रहेछ । अन्य टोल र बस्तीहरूको तुलनामा ट्राफिक नियमको अवज्ञा त्यस ठाउँको परिचय भैसकेछ । फुटपाथसम्म सामान ल्याएर बेच्ने र ठुलो आबाजमा म्युजिक बजाउने अनि ठुला स्वरमा बोल्ने जस्ता गलत व्यवहारहरू त्यहाँको संस्कार बनिसकेछ । कुनै कुनै ठाउँमा देखिएको पान खाएर जथाभावी थुक्दाको असभ्य रातो धब्बाले पान खानेहरूको परिचय दिइरहेको थियो । त्यस अवस्थाले रक्सौलको कुनै कुनामा पो छु कि जस्तो ठानें ।

लन्डन सभ्यताको नमुना सहर, नियम कानुनको उच्च पालना हुने ठाउँ । त्यसभित्रको एउटा बस्ती साउथलमा देखिएको यस्ता अशोभनीय र असभ्य व्यवहारले हीनताबोध भयो मलाई । हामी एसियनहरूको जीवन शैली, परम्परा, संस्कार र सभ्यताको प्रदर्शन भैरहे जस्तो लाग्यो । हामीले आफूलाई परिवर्तन गर्न नसकेकोमा दुःख मात्र लागेन, आफ्नै उचाइ ठुन्किएर नाइटोसम्म पुगेको जस्तो लाग्यो । एक्कासि खुसी खुम्चिएर चाउरी प¥यो । मुहारमा ग्लानिको रङ पोतियो । वस्त्रविहीन शरीरमा उभिइरहेछु जस्तो लाग्यो आपैmलाई । साउथलमा भेटिएको मोलमोलाइको व्यवहारले मलाई नयाँ दिल्लीस्थित पालिका बजारको सम्झना दिलायो । जमिनमुनि रहेको त्यस बजारमा मोलमोलाइले पराकाष्ठा नाघेको रहेछ । व्यापारीले भनेको मूल्यमा दसौं गुणा घटाई सामानको मूल्य तोक्दा पनि अभैm महङ्गो । बार्गेनिङ यति धेरै कि कहिलेकाहीं त क्रेता र विक्रेताको बिचमा हात हालाहालको स्थिति सिर्जना हुन जाने ।

‘अक्सब्रिज रोड’ साउथलमा भएका टोलहरूमध्ये विशेष चहलपहल हुने ठाउँ रहेछ । त्यस्तै ट्रेन स्टेसन भएको टोल साउथ स्ट्रिटलाई पनि कम आँकलन गर्न सकिएन । किङ स्ट्रिटमा रहेको टिआरयस नामक थोक विक्री हुने स्टोर भारतीय सामग्री र वस्तुहरूका लागि ज्यादै नै प्रख्यात रहेछ । उक्त स्टोरमा बेलायतमा छरिएर रहेका भारतीयहरू, नेपाली लाहुरेहरू, भारतीय रेस्टुराँ सञ्चालकहरू र त्यस्ता समाजका अन्य व्यवसायीहरूको चहलपहल देखियो ।

घुमफिर गर्ने क्रममा मिठाईका परिकारहरूले प्रवाहित गरेको सुगन्धबाट हामी मोहित हुनु स्वाभाविकै थियो र आआफ्नो स्वादमा रमाउँदै केही मिठाईहरू उपभोग ग¥यौं । भोलिपल्ट हाम्रो यात्रा पेरिसको लागि निश्चित थियो । पेरिसमा बसोबास गर्ने आफ्ना प्रियजनहरूका लागि कोसेलीस्वरूप केही प्याकेट भारतीय मिठाईको व्यवस्था विनयले गरे । साउथललाई ट्युब, मेट्रो अर्थात् भूमिगत रेलले आफ्नो सञ्जालभित्र पार्न भने सकेको रहेनछ ।

लन्डनको प्याडिङ्टन रेल स्टेसनबाट छुटेको ब्रिटिस रेल (जमिनमाथि चल्ने) साउथल हुँदै अन्य भागहरूमा जाँदो रहेछ । बलिउड फिल्मका हस्तीहरू प्रायः साउथलमा देखिनु नौलो कुरा मानिंदैन । घुमफिरका साथै सुटिङस्थलको रूपमा पनि प्रयोग गर्दा रहेछन् साउथललाई । हिन्दी फिल्मका पारखी र अम्मलीहरू पनि आफ्नो फुर्सदको समयलाई साउथलतर्पm नै डो¥याउन पल्केका बुझियो । त्यस ठाउँमा रहेका सिनेमा हलहरूमध्ये हिमालय प्यालेस नामक फिल्महलमा बलिउडका मात्र फिल्महरू प्रदर्शन गराइने व्यवस्था रहेछ । अर्कोतर्पm पञ्जाबी रेडियो स्टेसन र केही पत्र पत्रिकाहरू भारतीय उपमहाद्वीपमा बोलिने भाषाहरूमा प्रसारण÷प्रकाशन भएको अवगत हुन आयो ।

सन् २००६ को अगस्ट महिनामा भएको लन्डनको छोटो भ्रमणमा भारतीय संस्कृति, जीवन शैली, भेषभुषा, आहार–विहार र रहनसहनको जिउँदो नमुना र उदाहरण प्रस्तुत गर्न साउथल सफल रहेको देख्दा हामीलाई पनि खुसी नै लाग्यो ।

-राजेन्द्रप्रसाद अर्याल,गोरखा ।
हाल– म्याडिसन, अमेरिका ।
aryalrajendra3@gmail.com

(स्रोत : विश्वपरिक्रमा पत्रिका)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *