कथा : छुटेको साथ र जितेको सम्बन्ध ।

~राजिव घिमिरे~

कुनै शनिबार कान्तिपुर कोशेलीमा पढेको थिए, ‘एउटा युवकको जीवनमा ४ वटा कुरा महत्त्वपुर्ण हुन्छ- घडि, रेडियो, साइकल र युवती ।’ समय सँगै यी प्रतिनिधिहरुको स्वरुप फेरिएको छ तर महत्त्व जस्ताको त्यस्तै । म जति नै साधु भएर हिडें पनि यी चार कुराको महत्त्व मेरो जीवनमा पनि उस्तै नै छ। म बिराटनगर चाहेका/नचाहेका, रोजेका/नरोजेका कारणहरुले पुगेको थिए; जागिरको क्रममा । त्यो ठाँउ न मेरो बाध्यता थियो न त नै रोजाइ । तर त्यो समयमा म त्यहि थिए र त्यो नै वास्तविकता थियो। एक्लो मान्छे र अफिसको इन्टरनेट । डेरा छिटो जाने हतार पनि खासै थिएन । मेरो डेरा जाने समय एकदमै अनियमित हुनु स्वाभाविक थियो ।

एक दिन डेरा मा त्यसै पल्टेको थिए, अफिसबाट आएर । मेरो कोठाको ढोकामा कसैले नराम्रो संग हिर्कायो । एकछिन झनक्क रिस उठ्यो । त्यो ‘ढ्वाङ्ग’ आवाजले मेरो एकान्त बिग्रायो । एकैछिनको सन्नाटापछि बच्चा रोएको आवाज आयो । अल्छि मान्दै ढोका खोलेर हेरे । डेढ बर्ष जतिको बच्चा मेरो कोठा अगाडि रहेछ । रुदै बसेको । वरिपरि कोहि थिएनन् । भान्जा भान्जी खेलाएकोले बच्चा फकाउन मलाई त्यस्तो गाह्रो हुदैन। । गाजल लगाएका ठुला ठुला आंखा, मगमग बास्ना आईहेको, मेथी फुराएर, कपालमा अलिक धेरै नै लगाएको तोरीको तेल, फुलाटिनको दौरा सुरुवाल अनि पाक्क पुक्क परेका हात गोडा ।

आँसु गाला सम्म बगेर तल झर्दै थिए । मलाई देखेर बच्चा चुप त भयो तर आँसु थामिएनन् । मैले उसलाई बोक्न दुइ हात अगाडि बढाए । उ सरक्क म तिर आयो । मैले उसलाई उठाँए । उसलाई आफूतिर फर्काएर, देब्रे हातले आड दिइ दाहिने हातले सम्हाले।। बच्चा बोक्दाको त्यो अनुभव अति नै न्यानो र मीठो हुन्छ । फेरि मैले त्यसरी बच्चा नबोकेको पनि धेरै भएको थियो । आफ्ना बोक्ने पनि त कोहि छैनन् । के गर्ने ।

निकै आत्मिय अनुभव पाए मैले त्यो बेला । दाहिने हातले उसको आंसु पुस्दै सोधे “तिमीलाई कां लागो?” “यहां हो? ” भनेर उसको टाउको देखांए । उसले समर्थन मा टाउको हल्लायो । यसलाई
‘पाइया-पाइया’ भनेर ढोकालाई पिटिदिए । अनि उसलाई पनि ढोका पट्टी अलिकति ढल्काएर राखें । उसले पनि ‘ला – ला पाइया’ भन्दै पिट्यो । बिचरो मेरो निर्दोष ढोका ।

हामी दुइजना मेरो कोठामा थियौं- बात मार्दै । ‘यो के?” “त्यो के?” उसका प्रश्‌न थिए मेरा कोठाका हरेक अनाथ चिजहरुलाई । म कहिले सांचो त कहिले ‘औतारी’ जवाफ दिन्थे । उ संग नाक जुधाउंदाको अनुभव झनै मीठो थियो । ‘तिम्लो नाकलाई मेलो नाकले खाइदियो ‘ भन्दै नाक जुधाएको र उसको त्यो खित्खिताएको हाँसो । बढो मोहक थियो । अनि त्यो हासो संगै उछिट्टिएर आएको उसको सिंगान । हत्त न पत्त मुख धोए । तर घिन भने त्यस्तो धेरै लागेन त्यो बेला । खेल्दै गए, रमाउदै गए, त्यहि बच्चा संग हराउँदै गए ।

केटा हो कि केटि हो, जान्न मन लाग्यो । उसको लुगा तानेर जान्न अफ्ठ्यारो लाग्यो । मैले सकिन । ‘तिम्लो नाम के?’ मैले सोध्न बिर्सिएको प्रश्न थियो । तोते बोलि मा जवाफ पाए ” तुमन” । ‘सुमन’ पुरानो तर राम्रो लाग्ने नाम । तर त्यो उत्तर ले मेरो द्विविधा अन्त्य गर्न सकेन ।

समय एक पलमा बित्यो । बाहिर २-३ जनाको आवाज आयो । मेरी घर धनि दिदी र बच्चाकी आमा बच्चा खोज्दै रहेछन् । “बाहिर लडेको रहेछ । मैले फुल्याउन भित्र ल्याएको ।” भन्दै मैले सुमनलाई उसकी आमाको हातमा दिए । आफ्नी आमा पाएपछि मसंगको क्षणिक साथलाई चटक्क छोडेर , उसले आमाको अंगालोमा हाम फाल्यो । “हामी त कता हराइछे भनेर बाहिर खोज्न हिडेका ।” मेरी घरधनि दिदीले वातावरण सन्तुलित बनाउनु भयो । सुमनले एकै पटक भएपनि मलाई फर्केर हेरोस जस्तो लागेको थियो । अंह, हेरिन् ।बरु उसकी आमा मुस्काइन् कालो बुट्टादार साडी र रातो ब्लाउजमा वहांको मुस्कान मीठो थियो ।

त्यस दिन पछि सुमन मेरो पक्का साथी भयो । म अफिस पछिको आधा घण्टा ४५ मिनेट उ संग नै बित्‌न थाल्यो । मैले बिरानो बिराटनगरमा सानो साथी पाए । मलाई डेरा छिटो पुग्ने बहाना थियो सुमन । त्यो तोते बोलिमा उसले ‘अंकल’ भनेको मलाई प्यारो लाग्दथ्यो । म सुमनलाई कहिले काहिं चक्लेट लैजान्थे तर उसकि आमाले ‘यसलाई चक्लेट दिने बानि नगर्नुहोस है’ भन्नु भयो एक दिन । मैले प्रतिवाद गरिन वा भनौ गर्न सकिन ।

सुमनसंग बसेको समयमा मैले मेरो ‘घडि’ पनि बिर्सन्थे, ‘रेडियो’ पनि, ‘साइकल’ पनि र मेरी ‘युवती’ पनि । शायद म त्यति बेला आफैलाई बिर्सन्थे ।

दिनहरु त्यसरि नै चल्दै गए । सुमनको बाबा जनकपुरमा जागिरे । १५-२० दिनमा एकपटक घर आउनु हुन्थ्यो । सुमन बाहेक मेरो अरुसंग खासै बातचित हुदैन थियो । मलाई मन पनि लाग्दैन थियो र जरुरि पनि हुदैनथियो ।

लोड सेडिङ्गको एक सांझ म छतमा बसिसहेको थिए । अध्यारो भइसकेको थियो । एकदुईजना आइमाई मान्छे खासखुस गरेको आवाज सुने । आवाज मधुरो भएकोले प्रष्ट संग सुन्न सकिन ।

” किन गर्नु अर्काको छोराछोरीलाई माया”

“लाग्यो होला नि”

” आ आफ्ना छोरा छोरी त झर्को लाग्छ बेला बेला, अर्का को “

“आमा चाहिं को पो लागेको हो कि?”

—————————————————

त्यस पछिको वार्ता सुनिएन वा मैले सुनिन । सुन्ने धैर्यता पनि भएन । म बिस्तारै कोठा आएं । कसले कुरा गरेको, कसको बिषयमा गरेको, त्यो मलाई थाहा भएन। तर त्यो अस्पष्ट, अंध्यारो बातचितको अन्तिम वाक्य मेरो मनमा नराम्ररी बिझ्यो । “के मलाई नै भनेको हो त?” यकिन त मैले पनि गर्न सकिन ।

“के गरौं के?”, त्यसै छटपट्टि भयो ।

“के मेरै बारेमा कुरा गरेको हो त?”

निश्चित उत्तर म संग थिएन । तर त्यो वार्ता मलाई भावनात्मक रुपमा बिचलित बानाउन काफि थियो । न म संग त्यो बातचितको निश्चितता थियो न त नै अब के गरौ भन्ने कुरा को उत्तर । म रात भरि छट्पट्टि नै रहें । त्यो यस्तो परिस्थिति थियो जसमा सोधिएका invalid questions को वैधानिकतामा न प्रश्न गर्न सकिन्थ्यो न प्रतिबाद नै गर्न । म लाचार थिए, त्यो रात ।

मैले एउटा मात्र उपाय सोच्न सके- बिना बहस डेरा सर्ने । मन हलुङ्गो भयो ।डेरा सर्ने ताम झाम मा लागें । दैवले मेरो बाटो सजिलो बनाइदिए । मेरो सरुवा भयो काठमाण्डौं त्यहि महिना । म खुला दिलका साथ बिराटनगर छोड्न तयार भए ।

अहिले काठमाण्डौं को चिसो डेरामा एक्लै बसेको छु । कम्प्युटर खुल्ला छ । मुकेश जी गीत गाउंदै छन -” इकदिन बिकजाओगे माटि के मोल जग मे रेहेजाएन्गे प्यारे तेरे बोल ।”

वालपेपर मा सुमनको फोटो राखेको छु । चिया संगै म सुमन संगको समयमा पुगेको छु ।म तनाव मुक्त छु । न्यानो अनुभव गरेको छु । शायद समस्याबाट भाग्नु पनि कहिले काहिं त्यसको समाधान हुदों रहेछ ………..

01-04-08 10:17 PM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.