कविता : डेँगू

~यादव खरेल~yadav-kharel

अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

हुकुम प्यारो डेँगूलाई
दरबार हुकुम गर्छ, डेँगू हाजिर
डेँगूलाई ज्वरो आउँदैन !
कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित
डेँगूलाई पेट दुख्दैन !
साम्राज्यवाद हुकुम गर्छ, डेँगू कुदेर पुग्छ
डेँगूलाई दम बढ्दैन !
जब निम्तो गर्छ जनसंसदले, डेँगू बिरामी पर्छ
डेँगूलाई दम बढ्दैन !
जब निम्तो गर्छ जनसंसदले, डेँगू विरामी पर्छ
डेँगू रोगले छट्पटाउँछ
उसको दम बढ्छ
उसलाई रक्तचापले सताउँछ
हुकुमबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

स्वतन्त्रता प्यारो छ डेँगूलाई
प्यारजङ्गहरू मान्छे मार्छन् !
मारून्– स्वतन्त्रता हो !
कटुवालहरू फुली थाप्छन् !
थापून्– स्वतन्त्रता हो !
सीतारामहरू ढुकुटी फोर्छन् !
फोरून्– स्वतन्त्रता हो ।
व्यभिचारीहरू बलात्कार गर्छन् !
गरून्– स्वतन्त्रता हो ।
स्वतन्त्रताबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

शान्ति प्यारो छ डेँगूलाई
मानिसहरू अपहरणमा पर्छन्
ॐ शान्ति ! शान्ति !
मानिसहरू भोकले मर्छन्–
ॐ शान्ति ! शान्ति !
मानिसहरू बाढीले बग्छन्–
ॐ शान्ति ! शान्ति !
मानिसहरू पहिरोले पुरिन्छन्–
ॐ शान्ति ! शान्ति !
शान्तिबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठाको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !
बिसङ्गति प्यारो छ डेँगूलाई
मैदानमा कालाजार मनपर्छ डेँगूलाई
जङ्गलमा विषालु झार मनपर्छ डेँगूलाई
गाउँमा अत्याचार मन पर्छ डेँगूलाई
सहरमा कारागार मन पर्छ डेँगूलाई
प्रशासनमा भ्रष्टाचार मन पर्छ डेँगूलाई
प्रेममा व्यभिचार मन पर्छ डेँगूलाई
धर्ममा अन्धविश्वास मन पर्छ डेँगूलाई
दृश्यमा अन्धकार मन पर्छ डेँगूलाई
मित्रतामा कुलङ्गार मन पर्छ डेँगूलाई
विसङ्गतिबाहेक केही मन पर्दैन डेँगूलाई
अनौठोको रोगी छ डेँगू
उसलाई मन लागे स्वस्थ बन्छ !
उसलाई मन लागे बिरामी पर्छ !

– कपन, काठमाडौँ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.