बाल कथा : यस्तो सँधै किन हुन्छ ?

~कार्तिकेय घिमिरे ~kartikeya ghimire

नमस्ते म आशा हुँ ।

अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु पनि सबै मिलनसार छन् । तर मलाई सँधै मेरो विद्यालयको गेटमा नपुगुन्जेलसम्म दिक्क लाग्छ । डर पनि लाग्छ । विद्यालय पुगेपछि भने म दंग हुन्छु । खुसी हुन्छु ।

म विद्यालय जाने बेलामा किन दिक्क हुन्छु ? किन डर लाग्छ मलाई ? तपाईंलाई जान्न मन लाग्यो होइन ?

ल सुन्नुस्, आज म तपाईंलाई सत्य कुरा भन्छु ः

म सँधै हतारहतार गर्दै ठीक नौ बजे विद्यालय जाने बाटोमा हिड्न थाल्छु । ठ्याक्कै पच्चीस मिनेट हिडेपछि म घरबाट विद्यालय पुग्छु । म विद्यालय जाने बाटोमा रुखहरु छन् । बाँसघारीको बाटो पनि पर्छ । ओरालो बाटो पनि छ । त्यहाँनिर सानो जंगल जस्तै साना साना रुख र बुट्यानहरु पनि छन् । जहिले म त्यो बाटो भएर जाँदा कपाल ठाडो पारेका र कपाल खुइल्याएका केटाहरु बसिरहेका हुन्छन् । उनीहरु कोही चुरोट तानिरहेका हुन्छन् र कोही बिहानै जाडोमा पनि फु्रटी खाइरहेका हुन्छन् । उनीहरुले सँधै बाटोमा म आएको देख्नासाथ मेरो बाटो छेक्छन् र ओहो ! यो फुच्ची त क्या च्वाँक छे भनेर नानाथरी भन्छन् । उनीहरुका राता आँखा देखेर मलाई एकदमै डर लाग्छ । म उनीहरुलाई केही नभनी हत्तार हत्तार डरले काँम्दै दौडदै विद्यालयतिर कुलेलाम ठोक्ने गर्छु ।

यसो गर्दा सँधै म विद्यालय पुग्दा असिन पसिन हुने गर्छु । मेरो मुटु धेरैबेरसम्म चाँडो चाँडो ढुकढुक गर्ने गर्छ । बल्लतल्ल साथीहरुसँग रमाउँदा रमाउँदै म यो कुरा बिर्सिने कोसिस गर्छु । विद्यालय छुट्टी भएर दिउँसो फर्कदा पनि मलाई त्यही टेन्सन हुन्छ । चार पाँच दिन भइसक्यो । होइन, मैले के गर्ने होला अब ? मेरो त टाउको दुख्न थालिसक्यो । मैले यो कुरा मेरो बुवालाई कसरी भन्ने हो ? ममी त मलाई छोडेर म पाँच वर्षकी हुँदा नै यो संसारबाट बिदा भइसक्नु भयो । बुवा सँधै काममा ब्यस्त हुनुहुन्छ । मेरो घरमा सब थोक छन् । टिभी, मोबाइल, ल्यापटप, एमपिथ्रि, गेम, फिलिम अनि केके केके सबथोक छन् । मलाई खाना बनाएर दिने बूढी धाइआमा पनि छिन् । उनले मेरो कुरा बुझ्छिन् जस्तो मलाई लाग्दैन । खै किन हो मेरो मन अहिले झन छटपटाएको छ । एक मनले त बाबालाई भनेर होस्टेलमै बसूँ कि जस्तो पनि लाग्छ । फेरि बाबा घरमा एक्लै पर्नुहुन्छ । यो कुरा पनि बाबालाई भन्ने आँट गर्न म सक्दिनँ ।

आज पनि सँधै जस्तै अलि हडबडाउँदै अलि डराउँदै त्यहीं बाटो भएर विद्यालयतर्फ जाँदै थिएँ । आज अरु दिनको भन्दा अझ बढी सातजना केटाहरु गितार झ्याङ् झ्याङ् पारेर बेसुरमा गाइरहेका थिए । म अलि हतारमा फटाफट त्यो बाटो पार गर्न खोज्दै थिएँ । अचानक हिजो अस्तिदेखि दुःख दिने झ्याप्ले केटाले मेरो हात च्याप्प समात्यो । मैले उसको हात झट्कार्दै फुत्काएर कराउँदै, होइन सँधै यहाँ यस्तो किन हुन्छ ? कोहो तपाईं ? मेरो हात किन समात्नुभएको भनेर कराएँ ।

सँधै चुप लाग्ने म आज बोलेको देखेर उनीहरु सबैले मुखामुख गर्दै अचम्म मानेर मलाई क्वारक्वारती हेर्न थाले । त्यसपछि अन्त कतै नहेरी खै छोड्नुस् मेरो बाटो भनेर फटाफट म विद्यालयतिर दौडिएँ । विद्यालयको गेटमा पुगेपछि बल्ल मैले लामो सास फेरें । मेरो जिउ थर्र काम्यो । आँखाभरि आशु भरियो । खै किन हो किन आज मलाई बेस्सरी ग्वाँ ग्वाँ रुन मन लाग्यो । तर छेउछाउमा सबै साथीभाइ र बहिनीहरु भएकाले मैले आशु देखाउँन पनि सकिनँ । म हतार हतार आफ्नो बेन्चमा ब्याग राखेर वाथरुमभित्र छिरें र धारा ठूलो पारेर खोलें । त्यसपछि म त्यही ग्वाँ ग्वाँ गरी ठूलो स्वरले रोएँ । थाहा छैन म आज किन यति जोडले रोएँ । दश मिनेटसम्म रोएको रोयै गरें । बाहिर वाथरुम प्रयोग गर्न हतारिएका साथीहरुले भित्र कोहो भनेर ढोका ढकढक गर्न थालेपछि बल्ल म हतार हतार मुख धोएर बाहिर निस्किएँ ।

आज किन हो किन मलाई पढ्नै मन लागेन । कक्षामा मेरो मन एकोहोरिएको थियो । दिउँसो घर कसरी जाने भन्ने चिन्ताले मलाई सताएको थियो । ठीक त्यतिबेला मिसले ल आशा भन त फेवाताल कहाँ पर्छ भनेर सोध्दा त म झसंग भएँ । झन् उत्तर दिन नसकेर मिसले स्टुपिड गर्ल भन्नु भएपछि त झन् म अकस्मात् नै रुन थालेछु । त्यसपछि बल्ल मिसले रुँदा रुँदा सुन्निएका मेरा आँखा देख्नु भएछ । अनि उहाँले मलाई आफूसँगै शिक्षक कोठामा लगेर सबै कुरा सोध्नु भयो । मिसको मायालु सोधाइ मलाई मेरी आमाले सोधेजस्तै लाग्यो । मैले सबै कुरा उहाँलाई भनें । त्यसपछि मिसले यो सबै कुरा हेड सरलाई भन्नु भयो । अनि हेड सर, मिस र म सँगै नजिकैको प्रहरी चौकीमा गयौं । प्रहरी निरीक्षक दाइलाई मैले आँट गरेर सबै कुरा भनें ।

यसरी आज एक बजे नै ती सबै फटाहाहरुलाई समातेर थुनेको खबर सुनाउँदै मिसले मलाई खाजा खुवाउँनु भयो । मेरो ओठभरि हाँसो भरियो । मैले कक्षामा कराउँदै भनें– आहा, आज घर रमाएर जान पाइने भयो । सबै साथीहरुले अचम्म मानेर मलाई हेरिरहेका थिए । तर मेरो मन भने खुसीले नाचिरहेको थियो ।

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *