स्रष्टा परिचय : प्रतिभाशाली व्यक्तित्व भुवन (सुव्वा) खरेल

~लता खरेल~bhuwan-subba-kharel

१. सामान्य परिचय

वि.सं. २०१५ साल कार्तिक ११ गते पिता नारायण हवज सुव्वा र माता कलावती सुव्वाका कोखवाट वर्माको मेम्यूओमा भुवन सुव्वाको जन्म भएको हो । तत्कालिन परिस्थिति र राजनैतिक अवस्थाका कारण वर्मावाट धेरै नेपालीहरु खेदिइ रहेका थिए । यसै क्रममा उनी वाल्यावस्थामा नै परिवार सँगै नेपाल प्रवेश गरिन् । भद्रपुर नगरपालिकामा अवस्थित शारदा वालिका विद्यालयमा वि.सं.२०२२ तिर भर्ना भई प्राथमिक शिक्षा अध्ययन गरेकी भुवन सुव्वाको वाल्यकाल भद्रपुर, पृथ्वीनगर वरपर तिरै वितेको देखिन्छ । वि.सं. २०३२÷३३ तिर मेची वहुमूखी क्याम्पस प्रवेश गरेकी भवन सुव्वा वि.सं. २०३८ सालदेखि काकरभिट्टा वसोवास गर्दै आएकी हुन् । काकरटभिट्टा मा.वि.को शिक्षक भएर शिक्षण पेशा गर्दै आएकी भूवन एक समाजसेवी महिला पनि हुन् । नेपाल स्काउटमा राम्रै तालिम प्राप्त भुवन ठुलै ओहोदामा पनि रहेकी छिन् । यो वाहेक अन्य धेरै सङ्घ सम्स्थामा सम्लग्न रहेको देखिन्छ । शिक्षण र समाजसेवा भन्दा अर्को उनको व्यक्तित्व छ त्यो हो साहित्यिक व्यक्तित्व ।
यही साहित्यिक व्यक्तित्वको विशेष चर्चा यहाँ गर्ने प्रयास गरिएको छ ।

२. रुचि र स्वाभाव

भुवन सुव्वाको रुचि अध्ययन र अध्यापन नै हो । वि.ए.वि.एड.सम्मको औपचारिक अध्ययन गरेकी भुवन सुव्वाले अनौपचारिक रूपमा धेरै साहित्यिक र अन्य गहन ग्रन्थहरुको अध्ययन गरेकी छिन् । हातमा सधैं एउटा न एउटा पत्रिका वा पुस्तक वोकी रहनु, कतैकुनै नञा प्रकाशनका पुस्तकहरु देखे पछि हात वढाइ हाल्नु र दिनभरको थकाइ विर्सेर प्रत्येक वेलुका एकछिन नपढी नसुत्नु जस्ता वानी भुवन दिदीका छन् । यसवाट उनको रुचि स्पष्ट हुन्छ । अध्यापन क्षेत्रमै आफ्नो जीवन व्यतित भएकोले यो अर्को रुचि हो ।lata-kharel
यस वाहेक, धेरै सामाजिक सङ्घ सम्स्थामा आवद्ध भएर भुवन सुव्वाले सामाजिक सेवा गरि रहेकी छिन् । समाज सेवामा र सामाजिक गतिविधिमा सम्लग्न हुनु, विभिन्न तालिम, गोष्ठीमा सहभागी हुनु, यात्रा गर्नु र लेख रचनाहरु प्रकाशित गर्नु जस्तै भुवनका जीवनी नै वनेका छन् । सरल स्वभावकी धनी भुवन हँसिली र रसिली छिन् । हाँसी रहनु, मिठो वोल्नु उनको विशेषता नै हो, सायद ।

कोमल मन भएका मान्छे नै कवि (साहित्यकार) वन्छन् । यसै लाइनमा भुवन छिन् । “जीवन सङ्घर्ष पूर्ण कथा हो” यो वाक्य उनको जीवनमा चरितार्थ वनेको छ तर उनी यस्ता आफ्ना जीवन यापन क्रमका ओराली, हुस्सु कुइरो, वेदना, अँधेरा पाटा कसैलाई भन्दिनन्, वरु उनी खोजेर सकरात्मक कुरा गर्ने र सुनाउने गर्छिन् । उनको यही वानीले म पनि प्रभावित भएको छु । कुनै कुराले जीवनमा, मनमा र दिमागमा असर पुर्यायो भने तुरुन्त साहित्यिक विधाका कृतिहरु पढ्न थाल्ने र मन वहलाउने गर्छिन् उनी । समाज सेवा, शिक्षण र साहित्य लेखन एवम् अध्ययन नै उनको प्रमुख रुचि वनेका छन् ।

३. व्यक्तित्व

भुवन (सुव्वा) खरेलको जीवन सङ्घर्ष पूर्ण जीवनका रूपमा लिन सकिन्छ । व्यक्तित्व भन्नाले कुनै पनि व्यक्तिमा भएका निजी विशेषता, गुण वा समर्पण भएको क्षेत्र भन्ने वुझिन्छ । हरेक व्यक्तिका जीवनमा सामाजिक, राजनैतिक, साम्स्कृतिक, साहित्यिक लगायत विविध पक्षहरुले प्रभाव पारेका हुन्छन् । यिनै प्रभाव र व्यक्तिको समर्पण, लगाव र योगदानले उसको व्यक्तित्व निर्धारण गर्दछ । साहित्यकार भुवन (सुव्वा) खरेलका व्यक्तित्वको विश्लेषण गर्दा पनि यस्तै विभिन्न पाटाहरु हेर्नु सान्दर्भिक हुन्छ ।

(क) सामाजिक व्यक्तित्व

मानिस सामाजिक प्राणी हो । समाज विना मानिसको जीवन चल्नै सक्दैन । समाजमा मिलेर वस्नु, एक अर्कालाई सहयोग गर्नु दुःख सुख वाँड्नु जस्ता कुरा मानिसले समाजलाई गर्ने दायित्व हो । ‘मर्दाको मलामी, वाँच्दाको साथी’ भने झैं मानिसलाई मानिसकै सहयोग र सल्लाह चाहिन्छ । समाजमा मानिसले गरेको योगदानले नै मानिस अमर वन्न सक्छ । सकारात्मक कार्य भावी पिडींका लागि नमुना हो । यी सवै कुरा वुझेर नै होला भुवन (सुव्वा) खरेल समाजमा महत्व पूर्ण योगदान गर्न अग्रसर व्यक्ति हुन् । आफ्नो ऊर्जाशील जीवनको धेरै समय शिक्षण पेसामा विताएकी भुवन सुव्वाको पेसा नै सामाजिक वन्यो । शिक्षण गर्नु भन्नु नै सामाजिक सेवा गर्नु हो । यो पेसा नै सेवा हो । यस अतिरिक्त नेपाल स्काउट जस्तो मानवीय सेवामा समर्पित सम्स्थामा विभिन्न पद, आहोदामा लामो समय सम्म (हाल सम्म) रहेकी छिन् भुवन । जिल्ला कार्य समितिका आयुक्त जस्तो प्रमुख पदमा हाल उनी वहाल छिन् । नेपाल रेडक्रस सोसाइटी, एम.नेस्टी. इन्तर नेसनल लगायतका अन्य दर्जनौं सङ्घ सम्स्थामा आवद्ध भुवन सुव्वाको व्यक्तित्व सामाजिक छ ।
नेपाल भारत सहयोग मन्च झापामा पनि उनी सम्वद्ध छिन् । विभिन्न महिला समूहमा रहेर विभिन्न कार्यक्रममा भाग लिने र घुलमिल हुने गर्छिन् ।

यसरी, भुवन दिदी विभिन्न सामाजिक, सङ्घ सम्स्थामा रहेर समाज सेवा प्रति समर्पित हुन रुचाउँछिन् । उनको सामाजिक व्यक्तित्व अनुकरण योग्य देखिन्छ ।

(ख) साहित्यिक व्यक्तित्व

साहित्यले समाज सँग प्रत्यक्ष र परोक्ष रूपमा सम्वद्ध राखेको नै हुन्छ । साहित्यकारहरु पनि समाजवाट पर रहेर साहित्यको सेवा गर्न सक्दैनन् । यस्तै साहित्यकार मध्ये भुवन सुव्वा (खरेल) रहेकी छिन् । समाका मर्यादा, मान्यतालाई पालन गर्दै साहित्यमा कलम चलाइ रहेकी छिन् भुवन । भुवन सुव्वाको साहित्यको प्रमुख पाटो भनेको कथा विधा हो, जसमा एउटा कृति ‘सेती नदी’ पनि प्रकाशित भएको छ । हुन त भुवन दिदी विद्यार्थी समयदेखि नै साहित्यमा रुचि लिन्थिन् भन्ने जानकारी पाइन्छ । सर्व प्रथम कविता विधामा कलम चलाएकी भुवनका समालोचनात्मक लेखहरु पनि उत्तिकै प्रकाशित भएका छन् । विभिन्न सङ्घ सम्स्थावाट निस्कने स्मारिका होस् वा साहित्यिक पत्रिका होस् वा दैनिक पत्र पत्रिका होस् भुवनका रचनाहरु कुनै न कुनै रूपमा प्रकाशित भएका देखिन्छन् । २०५३ सालदेखि नै उनका रचनाहरु प्रकाशित हुन थालेका देखिन्छन् ।

जति उनका कथाले उँचाइ लिन सफल छन् त्यति नै उनका कविता सशक्त छन् । समालोचना, दैनिकी र यात्रा सम्स्मरण समेतमा उनको कलम राम्रो चलेको देखिन्छ ।

यसरी हेर्दा भुवन सुव्वाको साहित्यिक व्यक्तित्व कथाकार, कवि, निवन्धकार, नियात्राकार, समालोचकका रूपमा लिन सकिन्छ । यी सवै विधामा लेख रचनाहरु प्रकाशित भएकाले उनी प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छिन् ।

१. कथाकारका रूपामा भुवन सुव्वा

वि.सं. २०५४ सालमा प्रकाशित काकरभिट्टा मा.वि.को स्मारिका ‘मेचीका सुसेली’ मा भुवन सुव्वाको ‘आधा आकाश’ भन्ने कथा प्रकाशित भएको थियो, यो नै भुवन सुव्वाको कथायात्राको पहिलो प्र्रकाशित कथा हो । यो कथाले भुवन सुव्वालाई कथाकारका रूपमा उभ्याएको छ ।

झापा जिल्लालाई साहित्यको उर्वर भूमि मानिन्छ । झापाको कथा साहित्यको इतिहास हेर्दा त वि.सं. २००४ को एस.एल.शर्मासँग पुग्नु पर्छ तर झापाली नारी कथाकारको इतिहास यति पुरानो छैन । झापाली नारी कथाकारहरु मध्ये जेठी कथाकार राधिका राया नै हुन् । त्यस पछि रिमा र सीता पान्डे देखा पर्छन् । यस्तैमा दुई दशक भन्दा वढी समय विते पछि मात्र २०६० तिर भवानी क्षेत्री कथा सङ्ग्रह प्रकाशित गरी कथाकारको रूपमा उदाउँछिन् । यस पछि कथा सङ्ग्रह लिएर झापाली नारी कथाकारको पङ्क्तिमा पाँचौ स्थानमा आएकी कथाकार भुवन सुव्वा हुन् । वि.सं. २०६६ सालमा ‘सेती नदी’ भन्ने कथा सङ्ग्रह प्रकाशित गरेर भुवन सुव्वा अव्वल कथाकारका रूपमा स्थापित भएकी छन् ।

१.१ ‘सेती नदी’ कथा सङ्ग्रह र भुवन सुव्वाको कथाकारिता
‘सेती नदी’ कथा सङ्ग्रहमा ९ वटा कथा सङ्ग्रहित छन् । विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित कथाहरु सङ्कलन गरिएको यस सङ्ग्रहमा भाषाविद् गुरु श्री चूडा मणि रेग्मीको भूमिका र साहित्यकार पुण्य प्रसाद खरेलको मन्तव्य रहेको छ । कमल खरेल द्वारा प्रकाशन गरिएको यो कथा सङ्ग्रह वि.सं. २०६७ साल असारमा प्रकाशित भएको हो । छोटा छोटा नौ वटा कथाहरु रहेको ‘सेती नदी’ कथा सङ्ग्रह आकारमा सानो देखिन्छ तर निक्कै गतिला कथा यसमा छन् । गहकिलो कथावस्तुलाई उचित पात्र चयन गरी सरल भाषा शैलीमा रोचक पूर्ण प्रस्तुतिले कथाको स्तर माथि उठेको छ ।
निक्कै प्रसिद्ध र अनुभवी कथाकारको तुलनामा यहाँ भुवन सुव्वा पुगेकी छिन् ।

‘सेती नदी’ कथा सङ्ग्रहको भूमिकामा वरिष्ठ भाषाविद् गुरु चूडा मणि रेग्मीले भुवन सुव्वाको व्यक्तित्व परिचित गराउँदै भन्नु भएको छ “भुवन सुव्वा खरेल क्रान्तिकारी महिला होइनन्, तर पनि आक्रोश वोकेकी शिक्षित महिला हुन् । उनी मूक सम्वेदनाकी धनी शव्दशिल्पी हुन् । उनी शिक्षा समाजसेवा र साहित्यकी दीर्घ तपस्विनी हुन् । उनी समाजलाई गम्भीरता पूर्ण ढङ्गले पढ्ने, निरिक्षण गर्ने शक्ति भएकी भावनाकी खानी हुन् । उनीमा अज्ञात रूपमा मानवीय सम्वेदना छ्याप्छ्याप्ती भिजेको अनुभव हुन्छ ।” यसै गरी अझै अगाडि रेग्मी भन्नु हुन्छ अव भुवन लुकेकी प्रतिभा हैन, फुकेकी प्रतिभा भएकी छिन् । यी वरिष्ठ भाषाविद् साहित्यकार चूडा मणि रेग्मीको भूमिकावाट कथाकार भुवन सुव्वाको कथाकारिता स्पष्ट हुन्छ ।

‘सेती नदी’ कथा सँगालोकै भूमिकाको क्रममा आफ्नो मन्तव्यमा वरिष्ठ (कथाकार) आख्यानकार पुण्य प्रसाद खरेलले भुवन सुव्वा खरेलका लालगेडी जस्ता, शालिग्राम जस्ता कलात्मक दृष्टिले अत्यन्तै खिपिएका कथाहरु भनेर उल्लेख गर्नु भएको छ । समालोचनामा पनि अव्वल मानिनु हुने पुन्य प्रसाद खरेलले भुवनको कथाकारिताको चर्चा गर्दै भन्नु भएको छ – “भुवन सुव्वाले धेरै कथा लेखेकी छैनन् तर जति लेखेकी छन् ती कथाहरु हेर्दा कथानक, कथाको गठन, पात्रको चयन, तिनको चारित्रिक विकास, कथाको आदि, मध्य र अन्त्य आदि हेर्दा अनुभवी कथाकार जस्तो लाग्छ । …

कथामा प्रयोग भएको भाषा अभिव्यक्तिशैली अत्यन्त रोचक छ । कथाकारको आफ्नोपन पाइन्छ कथामा । अझ उनका कथाहरु पढ्दा लाग्छ उनी सस्तो मनोरन्जनका लागि कथा लेख्ने कथाकार पनि होइनन् ।

यसरी कथा सँगालो ‘सेती नदी’का ९ वटा कथा सर्सर्ती हेर्दा र भूमिका, मन्तव्य, आवरण लगायत कलेवरहरुले कथा सङ्ग्रह निकै उत्कृष्ट देखिन्छ । कथाकार भुवन सुव्वाको आफ्नोपन प्रत्येक कथामा पाइन्छ । कुनै कसैको कथा र कथात्मकतामा अनुकरण गरेको र छाया परेको पाइँदैन । भुवन सुव्वाका कथाहरु पढ्दा सस्तो मनोरन्जनका लागि मात्र कथा लेखे जस्तो लाग्दैन ।

‘सेती नदी’ कथा सँगालोमा सङ्ग्रहित कथाहरु मध्ये पहिलो कथा ‘आधा आकाश’ रहेको छ । यस कथामा ‘हरिमायाँ’ प्रमुख पात्र रहेकी छ । हरिमायाँ पारि (नक्सल, पानीटङ्की–भारत) वजारवाट सस्तोमा सामान ल्याई नेपालमा वेच्ने (भन्सान छलेर) महिलो हो । उ निरिह छे । वारि पारिको माल वसारपसार गर्ने दिक्क लाग्दो र अपमानित पेसादेखि उ सन्तुष्ट छैन । एकातिर हरिमाया जस्ता महिला वाध्यताले निरिह र वेखुसी जीवन विताइ रहेका छन् भने अर्को तिर विदेशको डलर पचाउनका लागि ठुला ठुला होटलहरुमा महिला हक र अधिकारको वारे अनि महिला मुक्तिको वारे गोष्ठी र भाषण भूषण गर्ने महिला र नाटकीय रूपमा नारा जुलुस गर्ने, लगाउने महिलाहरु प्रशस्त छन् । यस्ता कार्यक्रमले ‘हरिामायाँ’ जस्ता महिलालाई कहिं केही दिंदन । यस्तै गरेर सरकारी सम्स्थाको जुलुस भन्सार छेउ पुगेको वेला “कसरी माल भन्सार छलेर कटाउने ?” भन्ने चिन्तामा परेकी हरिमायाँले जुलुसमै मिसिएर भन्सार कट्छे र खुसी मान्छे । यसरी जे जसरी भए पनि सानो खुसी जुलुसले दिएको हुन्छ भन्ने प्रतीकात्मक अर्थ र भन्सार कटाएकोमा हरिमायाँ खुसी हुने व्यङ्ग्यात्मक अर्थ लिएर आधा आकाश कथा सकिन्छ ।

‘दिल वहादुर अखर्गेय’ भन्ने कथा यस सङ्ग्रहको दोस्रो कथा हो । यस कथाको शीर्षकले नै कथाको ‘थिम’ स्पष्ट हुन्छ । गाउँमा वेकार भएर समय विताइ रहेको दिल वहादुरका धेरै समस्या थिए । आफ्ना पाखुरीको तागत, वल, जाँगर, जोश कहाँ उपयोग गर्नु भनि छटपटाई रहेको थियो । धेरै काम गर्न सक्षम हुँदा हुँदै पनि अभावको जीवन भोगीरहेको थियो दिल वहादुर । वाध्यता र विवशताले धकेलेर उ विदेश जान विमानमा चढ्छ तर ओर्लन तपाईं विमान दुर्घटनामा पर्छ ८ उसका चाहनाहरु पुरा नहुँदै एवम् परिवारको आशाको त्यान्द्रो पनि चुँडिन्छ । यसरी यो कथा सुरुमा हेर्दा मनोवाद जस्तो लाग्छ । वर्तमान समयका वेरोजगार युवाहरुले नियति र वाध्यतालाई यस कथाले राम्ररी प्रस्ट्याउँछ र वेकम्वा नेपालको सरकार र राजनीतिलाई समेत व्यङ्ग्य गर्छ ।
‘मन कुमारी’ नामको कथा तेस्रो नम्वरमा रहेको छ यस सङ्ग्रह । यस कथामा कक्षा ८ मा अध्ययन गरी रहेकी किशोरी ‘मन कुमारी’को जीवन व्यथा कथावस्तु वन्न पुगेको छ । जँड्याहा वावु र ढोसी आमा (सानीमा) घरको समस्या । भाइ, वहिनी यी सवै जिम्मेवारी वहन गर्न नसकेर मन कुमारी घरवाट साथीहरुसँग हराउँछे । दार्जीलिङ्को क्रिस्चियन अनाथालयमा पुग्छे । उसका साथीहरु घर फर्के पनि उ फर्किदिन । यस्तै यस्तै झिनो कथावस्तु भएको कथा यस्तो व्यङ्ग्यात्मक वाक्यको रूपमा समाप्त हुन्छ ।
“यहाँ अझै पनि विभिन्न दिवसहरु मनाइँदै छन् ।
माइकवाट पुराण वाचन भै रहेछ ।”

कथाकारले हिन्दु धर्मलाई जड मान्ने र अभिमान वोक्नेहरुलाई दिन प्रति दिन ‘मनकुमारी’ जस्ता व्यक्ति पलायन भै रहेकामा वेवास्ता भएको प्रति व्यङ्ग्य गरेकी छिन् ।

कथाकार भुवन सुव्वाले ‘अलख निरन्जन’ भन्ने कथा चौथो क्रममा राखेकी छिन् । उनले यसमा किशोर अवस्थाको मनोविज्ञानको उद्घाटन गरेकी छिन् । एउटा भोगाइ र सोचाइले मानिसको जीवनमा भएको परिवर्तनको राम्रो रूप यसमा पाइन्छ । एउटा जोगीले आफ्नो सोचाइ वदलेर गृहस्थी वनेको छ भने एउटा गृहस्थी मानिसको भोगाइले जोगी वनेको छ । यस्तो जीवन भोगाइको रहस्य पूर्ण र गहिरो कथावस्तु यस कथामा हलुका पाराले दिइएको छ । यो कथा जीवनलाई गम्भीर रूपमा हेर्नेहरुका लागि गम्भीर छ भने रमाइलोको रूपमा हेर्नेले रमाइलो नै पाउँछन् र हाँस्छन् । रवीन्द्र र म पात्रका माध्यमवाट चिन्तन र तर्कहरु निक्कै मजाले कथामा सल्वलाएका छन् । कथाकारले हिन्दु धर्म र सम्स्कृतिको गहिरो अध्ययन गरेको अनुभव यस कथामा पाइन्छ ।

पाँचौ क्रममा ‘जीवन ः एउटा वोझ !’ कथा रहेको छ । तराई क्षेत्रका आदिवासीहरुको जीवन सङ्घर्ष र वाध्यात्मक परिस्थिति यस कथामा पाइन्छ । हिजो सम्म मठ मन्दिर, विद्यालय आदिलाई धेरै विघा जग्गा दान दिन सक्ने जग्गावाल परिवार (देउनिया) आज आर्थिक सङ्कट परेर जनमन, वनिवुतो गरी रहेको यथार्थ परिवेश यस कथामा पाइन्छ । माइलो र माइली यसका प्रतिनिधिध पात्र रहेका छन् । दुर्घटनामा माइलो अपाङ्ग भएको छ अनि माइलीले भाँडा माझ्ने लगायतका काम गरि रहेकी हुन्छ र उसले अपाङ्ग भएर वाँच्नु भन्दा मरेको भए हुन्थ्यो भनेर जीवन वोझको रूपमा प्रस्तुत गरेर कथा समाप्त भएको देखिन्छ ।

यस कथा सङ्ग्रहको शीर्षक कथाको रूपमा रहेको कथा ‘सेती नदी’ छैटौं क्रममा उनिएको छ । कथामा म र ऊ पात्र अर्थात् राधा र उसको श्रीमान् रहेका छन् र राधा घरमा दुई छोरी हुर्काएर वसेकी हुन्छ । उसको श्रीमान् विदेश कमाउन गएको हुन्छ । श्रीमान्को श्रीमतीको फोन वार्तालापवाट कथावस्तु अघि वढ्छ । एक्कासि श्रीमान् घर आउने कुरा गर्छ र दोस्रो विवाह गर्दै छु भन्छ । यो कुराले म अर्थात् राधाका मनमा उठेका तर्कनाहरु साह्रै मजाले कथामा देखिएका छन् । छोरा भएनन् भनेर ………………… थाप्ने र सम्पूर्ण दोष श्रीमतीलाई थपार्न पुरुषवादी अन्धविश्वास ग्रस्त हाम्रो समाजको यथार्थ स्थितिको उद्घाटन यस कथामा गरिएको छ । फोनमा “म अर्को विहे गर्दै छु, छोरो त चाहियो नि” भन्ने एक वाक्यले श्रीमतीको मनमा कत्रो हलचल ल्याउँछ, कति पीडा दिन्छ, कसरी भित्रभित्रै डढाउँछ भन्ने कुरा हृदय स्पर्शी ढङ्गले कथामा ल्याइएको छ । कथावस्तु एक दशक अगाडिको जस्तो लागे पनि हाम्रो जस्तो पिछडिएको रुढिवादी ग्रस्त समाजमा पुरुषवादी सम्स्कारले कसरी जरा गाडेर वसेको छ ? भन्ने कुरा देखाउन कथा सफल भएको देखिन्छ । कथामा मन भित्र जस्तोसुकै भूकम्प आए पनि मनमै दवाएर श्रीमतीले शिष्टाचार, शालीन र मौन व्यवहार गर्नु पर्ने वाध्यता देखाइएको छ ।

यसवाट उच्च चेतना मूलक नारी पात्र र पुरुषवादी सम्स्कार र शोषण अझ गाढा भएर प्रस्ट भएको छ । यो कथा आकर्षक, हृदय छुने र यथार्थवादी र अझ आलोचनात्मक यथार्थवादी कथाको लाइनमा रहन सफल छ । कथाकारलाई अलि माथि उठाउने यो एउटै कथा काफी छ ।

सातौं कथा ‘झिल्को’ रहेको छ । स्थानीय परिवेश र घटनालाई नै आधार वनाएर लेखेको यो कथा पनि सामाजिक यथार्थवादी कथाकै लाइनमा उभिन सफल छ । ‘सानु’ पात्रद्वारा यथार्थ स्थितिको उद्घाटन यहाँ भएको छ ।

आठौं कथा हो ‘परिणति’ । सुसेलीमा २०६१÷२÷२मा छापिएको यो कथाको निक्कै चर्चा भएको देखिन्छ । वरिष्ठ साहित्यकार, भाषाविद् चूडा मणि रेग्मीज्युले ‘पँधेरो’ भन्ने साहित्यिक सङ्कलनमा ‘लुकेको नारी प्रतिभा’ भनेर ‘परिणति कथा एक दृष्टि’ भनेर चर्चा गरेको भेटिन्छ । जसमा कथाको र कथाकारको निक्कै खुलेर चर्चा र प्रशम्सा गरेको पाइन्छ । यस कथामा गरिवी र अभावको कारण परेको प्रभाव र जनताले भोगेको महङ्गीको चरम पीडा जस्ता कुरा अभिव्यक्त भएका छन् ‘परिणति’ कथामा । झिनो कथावस्तु भित्र पनि आक्रोश, पीडा जस्ता कुरा निक्कै मजाले प्रस्ट भएका छन् । यो मनोवैज्ञानिक कथा हो । निम्न वर्गको परिवारको एक सदस्यको सानो जागिरले सवैको आवश्यकता पुरा गर्नै सक्दैन । जसको कारण आक्रोसित भएको पात्र पाङ्ग्रे कुकर कुद्छ, दिनभर झोक्राउँछ र कसैको आग्रहमा रेस्टुरेन्ट पुग्छ । यसरी राजेन्द्र पात्रको कमजोर मनोविज्ञानको परिणति यस कथामा देखाइएको छ ।

कथा सङ्ग्रहको अन्तिम अर्थात् नवौं कथा ‘सरकारी खर्च’ भन्ने रहेको छ । विद्यालयमा वितरण गरिने सरकारी पैसा वा छात्रवृत्तिको सेरोफेरोमा कथावस्तु घुमेको देखिन्छ । जिते र धनीकी छोरी रूपाले स्कुलवाट पाउने छात्रवृत्तिको पैसाल रूपालाई डाक्टर देखाउने र कपि, पन्सिल किनेर ल्याउने सल्लाहमा वावु छोरी निस्कन्छन् । महङ्गीको वेला स्कुलवाट दिने १५० रूपैंयाले डाक्टरको फिस समेत नपुग्ने भएर रक्सी सोड्क्याएर जिते साँझमा घर आउँछ । यसरी कथाले छात्रवृत्तिको थोरै रकमले एक जोर लुगा किन्न पनि नपुग्ने भन्ने एकातिर व्यङ्ग्य गरेको छ भने अर्कोतिर पढाइको लागि थप सहयोग होस् भनेर दिएको रकम कसरी दुरूपयोग भै रहेको छ ? भन्ने यथार्थ कुरालाई कथामा प्रस्तुत गरिएको छ ।

यसरी भुवन सुव्वा प्रस्तुत कथाहरुका माध्यमवाट ‘सेती नदी’ सिङ्गो कथा सङ्ग्रहको माध्यमवाट नेपाली कथाको फाँटमा उदाएकी तारा वनेकी छिन् । यस्ता निम्न वर्गिय समुदाय, शोषित वर्ग, महिला, गरिव, पिछडिएका वर्गहरुका यथार्थ समस्यालाई उद्घाटन गर्ने, चिर्ने, अझ स्पष्ट पार्ने कथावस्तु टिपेर कथाको वनोट गर्न सक्नुले भुवन सुव्वालाई निक्कै माथि उठाएको पाइन्छ ।

कथाले सामाजिक विकृतिदेखि निक्कै ठुला सरकारी गैर सरकारी विकृति एवम् पुरुषवादी र सामाजिक रुढिवादी प्रवृत्तिको चिरफार राम्ररी गरेका छन् ।

कथामा ऊहापोहमा माथापच्ची गर्विलो ध्वनि, अन्यमनस्क जस्ता केही शव्दहरु खोजी खोजी प्रयोग गरे जस्तो लाग्छ भने झिना कथावस्तु, छोटा, सरल कथा, स्थानीय परिवेश मात्र कथामा आउनुले कथाकार मोफसल नै हो भन्ने प्रमाणित गराउँछ । कथाकार भुवन सुव्वाले प्रगतिवादी चेतलाई छोएको जस्तो मात्र लाग्छ । आगामी दिनमा प्रगतिवादलाई आधार वनाएर केही दर्विला कथाहरु र आफ्नै जीवनको भोगाइवाट निक्कै खारिएको उपन्यास आउनेछ भन्ने आशा गर्न पनि सकिन्छ ।

२. कविका रूपमा भुवन सुव्वा ः

भुवन सुव्वा (खरेल)लाई एउटा कथाको कृतिले कथाकारको रूपा उभ्याए पनि उनका फुटकर कविताहरुले पनि सशक्त कविको रूपमा चिनाउँछ ।
उनका प्रकाशित भएका र रचना गरिएका फुटकर कविताहरुलाई सङ्कलन गर्ने हो भन्ने एउटा कविता सङ्ग्रह नै तयार हुन्छ ।
उनका प्रकाशित भएका कविताहरु यस प्रकार छन् ः–

कविता प्रकाशित वर्ष सम्वन्धीत पुस्तक÷पत्रिका

१. परिकल्पना २०५३ एमनेष्टि इन्टरनेशनल वार्षिक स्मारिका
२. वर्तमान २०५४ यथार्थ कुरा
३. भाइटीका २०५९ मनन साहित्यिक पत्रिका
४. वाल अधिकार २०५४ एमनेष्टि इन्टरनेशनल स्मारिका
५. रूपान्तरण २०६८ सुसेली साहित्यिक पत्रिका
६. प्रसव उद्योग २०६३ सुसेली साहित्यि पत्रिका
७. म हिंडेको वाटो जन सम्सद दैनिक

यी प्रकाशित कविताहरु वाहेक केही अप्रकाशित कवितहरु रहेका पनि भुवन सुव्वा हो भनेको छ ।

कवितामा भुवनका शव्द यस्ता छन् ः–
खोला एउटै छ तर पानी वेग्लै
त्यो तिम्रो श्वास फेर्ने हावा
यो मेरो पिउने पानी
आकाश सिङ्गो छैन, सिङ्गो धर्ती पनि छैन
हृदयहृदय पनि अखण्डित छैन ।
(परिकल्पना कविता)

तलको कवितामा वर्तमान समयका मानिसका वानी व्यवहारलाई व्यङ्ग्य गरिएको छ ।
व्रम्ह आफ्नै व्रम्हाण्डमा
सत्य आफ्नै सत्य युगमा
पृथ्वीमा सहुलियत छ, अहिले त्यसैले
भनि दिनु मात्र पर्छ,
हाम्रा गलतहरु पनि सही हुन सक्छन् ।
(वर्तमान कविता)

नेपालको राजनीति र माओवादीको जनमुक्ति आन्दोलन प्रति कवि भुवन सुव्वा सचेत छिन्, जानी……………कार छिन् र लेख्छिन् –
कहिले मुक्ति वाँड्दै कहिले मुक्ति लिंदै
परेवा जोगाउने उप क्रममा
निरिह परेवा जालमा पार्दै
निष्ठूरी त तिनी पनि भएछौ भाइ !
(भाइटीका, कविता)

२०६८ सालमा कवि भुवन सुव्वाका कविताका शव्दहरु निक्कै क्लिष्ट र खारिएका देखिन्छन् ।
उसलाई थाहै छैन म अव
विष वन्ने प्रक्रियामा छु
मेरा शरीरका नसा नसा भित्र
माङ्सपेशी भित्र, कोष र तन्तु भित्र
जताततै अव विषै विष वन्दैछन् ।
(रूपान्तरण कविता)

यसरी कवि भुवन सुव्वाका पछिल्ला कविताहरु अझै सशक्त भएका छन् । उनी एक सशक्त कविका रूपमा हामी सामु उभिएकी छिन् ।

३. एकाङ्कीकारका रूपमा भुवन सुव्वा ः–

वि.सं. २०६२ सालमा ‘फुलको माला’ भन्ने एकाङ्की अनावरण भन्ने साहित्यिक पत्रिका वर्ष १, अङ्क १ मा प्रकाशित गरेर भुवन सुव्वा (खरेल) एकाङ्कीकारका रूपमा साहित्यमा आएकी छिन् । एकाङ्की भनेर छापिएको ‘फुलको माला’ विधागत दृष्टिले पनि एकाङ्की हो । एकाङ्की धर्म यो फुलको माला एकाङ्कीले जोगाएको छ । एक अङ्कको यो फुलको मालामा लक्ष्मी र मुन्नु दुई आमा छोरी पात्र रहेका छन् । स्थान, समय र परिवेश स्पष्ट लेखिएको यस एकाङ्कीको शीर्षक सार्थक छ । अवोध वालिकाले भानुभक्तको मुर्तिलाई माला किन लगाएको भन्ने उत्तरमा कविता लेखेर भन्ने पाउँछे । ऊ आफ्नो वावाले पनि राम्रा कविता लेख्दछन् खोइ त माला लगाएको ? भन्दै आफैं माला लगाइदिने सुर कस्छे । यसलाई नाटकिय रूप दिंदा वा मन्चन गर्दा अरु राम्रो हुन्छ । अवोध वाल वालिकाको वुझाईलाई वालमनोविज्ञानको दृष्टिले उत्कृष्ट वनाएर लेखेका यो एकाङ्की हेर्दा भुवन सुव्वा राम्रै नाटक लेख्ने रहिछिन् भन्ने लाग्छ, तर यो विधामा अर्को कलम धेरै नचलेकोले नै होला अरु एकाङ्की वा नाटक प्रकाशित छैनन् ।

४. भुवन सुव्वा (खरेल) निवन्धकार र जीवनीकारका रूपामा ः–

भुवन सुव्वा (खरेल)का रचनाहरुलाई हेर्दा उनी कथाकार र कविका रूपमा मात्र होइन निवन्ध प्रकाशित गरेर निवन्धकारका रूपमा पनि स्थापित भएको देखिन्छ । ‘मनन’ साहित्यिक पत्रिकामा २०६० सालमा ‘अविष्मरणीय यात्रा’ नामको सम्स्मरणात्मक निवन्ध प्रकाशित गरेर भुवन सुव्वाले आत्मपरक निवन्धमा राम्रो दखल गरेकी छिन् । २०४२ सालमै लेखेको यो निवन्धले सम्स्मरणात्मक निवन्धको वाटो समाएर अगाडि वढेको छ । वालेको यात्रा, वसको भीडभाडलाई रमाईलो पाराले गरेको वर्णन यसमा छ ।
यो यात्रा विवरण पढ्दा आफु पनि यात्रामा सम्लग्न यात्री नै होला जस्तो जीवन्त अनुभव आफुलाई हुन्छ ।

वि.सं.२०६४ सालको ‘सुसेली’ साहित्यिक पत्रिकामा ‘धरान यात्रा’ भन्ने दैनिकी प्रकाशित गरेको देखिन्छ । स्काउटको कार्यक्रममा धरान जाँदाको सविस्तार उल्लेख यसमा भएको छ । निक्कै कलात्मक पाराले वर्णनात्मक शैलीमा यो दैनिकी लेखिएको छ । आत्मपरक अभिव्यक्ति यसमा रहेको छ ।

भुवन सुव्वाले विभिन्न साहित्यिक र विशिष्ट व्यक्तित्वहरुको जीवनी समीक्षा गर्नु भएको पनि छ, जसवाट जीवनीकारको रूपामा पनि सुव्वाको व्यक्तित्व लिन सकिन्छ ।

क. प्रेरणाको पुन्ज छत्र वुवा
छत्र वहादुर वस्नेत अभिनन्दन ग्रन्थ २०६४ मा यस्तो समीक्षा वा लेख छापिएको छ । यसमा छत्र वहादुर वस्नेतका साहित्यिक कृति, जीवनीलाई प्रेरणाको स्रोत वनेको कुरा उल्लेख छ ।

ख. हरिहर खनालको ‘दोभान’ एक सम्क्षिप्त विवेचना
‘यथार्थ कुरा’ साहित्यिक पत्रिकामा हरिहर खनाल अभिनन्दन ग्रन्थ अङ्क २०६१ मा यो विवेचनात्मक लेख प्रस्तुत भएको छ । दोभान कथाको विश्लेषणात्मक प्रस्तुत यसमा रहेको छ ।

ग. ‘पुस्तकवारे मन्तव्य’ भनेर वि.सं. २०६२ सालममा
पुस्तकको समीक्षा गरेर एक लेख प्रकाशित गरेको देखिन्छ । किराँती जातीय इतिहास, धर्म, संस्कृति, परम्परा, भाषा, साहित्य र लिपीको वारेमा गोपीलाल लिम्वुले लेख्नु भएको ‘दिव्यमेरु मानस समाज’ नामक अनुसन्धान मूलक ग्रन्थको परिचय दिने कार्य यस लेखमा भएको छ ।

यसरी भवन सुव्वा खरेलले ‘सेती नदी कथा सङ्ग्रह प्रकाशित गरि कथाकार, विभिन्न फूटकर कविता प्रकाशित गरि कवि, विभिन्न लेख, निवन्ध, एकाङ्की, समीक्षाहरु प्रकाशित गरि वहुमुखी प्रतिभा सम्पन्न व्यक्तिको रूपमा आफुलाई पाठक समक्ष परिचित गराएकी छिन् । उनका कृति र रचनाहरुले वोकेको गहनता र क्षमता अध्ययन गर्न उनका कृति र रचना नै अध्ययन गर्नु पर्ने हुन्छ ।

निष्कर्षमा भन्दा झापाली साहित्यकारका फाँटमा भुवन सुव्वा खरेल उकालो चढि रहेकी साहित्यकार हुन् । माथि उल्लेख गरिएका विशेषता र क्षमता वोकेर विभिन्न व्यक्तित्व प्रदर्शन गर्न सक्षम छिन् भुवन सुव्वा ।

आगामी दिनमा गतिलो उपन्यास, संकलित कविता सङ्ग्रह लगायतका थुप्रै कृतिहरुको अपेक्षाका साथ सुस्वास्थ्य एवम् सफल साहित्यिक जीवनको शुभ कामना साथ ‘अस्तु’ ।।
श्री दुर्गा उ.मा.वि, गरामनि

सन्दर्भ सामग्रीहरु
१ । कथाको सिद्धान्त र विवेचना – डा.हरि प्रसाद शर्मा
२ नेपाली कथा भाग–४ – साझा प्रकाशन
३ । समालोचनाको स्वरूप – नेत्र ……………………
४ । ‘सेती नदी’ कथा सङ्ग्रह – भुवन सुव्वा खरेल
५ ‘पँधेरो’ साहित्यिक सङ्कलन – खानेपानी सम्स्थान चन्द्रगढी
६ ‘सेती नदी’ भूमिका – चूडा मणि रेग्मी
७ । ‘सेती नदी’ मन्तव्य – पुण्य प्रसाद खरेल
८ । ‘सुसेली’ साहित्यिक प्रकाशनका केही अङ्क
९ ‘मनन’ साहित्यिक पत्रिका २०५९
१० । समष्टि इन्टरनेशनल स्मारिका २०५३, २०५४
११ । ‘यथार्थ कुरा’ २०५४
१२ । ‘जुही’ साहित्यिक पत्रिकाका केही अङ्कहरु

This entry was posted in स्रष्टा परिचय and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *