छन्द कविता : स्रष्टा, सृष्टि र दम्भ

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- मालिनी

हर किसिम बनाए व्यासले नै पुराण
लगनसित बने ती सृष्टिका प्राण प्राण
गहन लय तिनैमा झल्किए गाउँ-देश
अब नव रचनामा लेख्नु नै के छ शेष ?

परहित, शुभ वाणी, शास्त्रका मूल मर्म
कपट र परपीडा वञ्चना पापकर्म
जति थपघट लेख्यो कथ्य आकार एकै
जति कलम कुदायो भाव वा सार एकै ।।

दिन, समय उही हो, साँझ वा रात उस्तै
प्रकति, जगत एकै रूख वा पात उस्तै
जतिजति रङ-बुट्टा छर्कियो लेखनीले
तर हर रचनामा टोक्छ दैनन्दिनीले ।।

कलम अति उँचो या हुन्न सानो कसैको
बहु जनमन छोए लाग्छ उम्दा उसैको
सृजन शिखर चढ्दै जान्छ उत्प्रेरणाले
“प्रखर” पनि खिइन्छन् मात्र आलोचनाले ।।

अनुभव छ सबैमा हर्ष-चिन्ता, दयाको
तहतह छ सबैमा योग संवेदनाको
कति कवि कवितामै आँसु पोखेर रुन्छन्
किन कतिपय एक्लै गर्जिँदै सिंह बन्छन् ?

सृजन गति चुलीमा पुग्दछन् साधनाले
शिखरतिर धकेल्छन् लक्षणा-व्यञ्जनाले
कुटिल जन अरूको बिग्रँदो बिन्दु गन्छन्
श्रम-लगनविना को व्यास कौटिल्य बन्छन् ?

कवि जति बढिया हुन् भामहै हून् कि “दण्डी”
स्वजपन-तिर लाग्छन् उग्र जो छन् घमण्डी
“फगत म युगदर्शी, अन्य निष्प्राण” ठान्छन्
सकल जगत “आफ्नै बाहुको खेल” मान्छन् ।।

असल कवि अरूको नित्य सम्मान गर्छ
तृषित कदर-भोगी डाह पालेर मर्छ
स्वजपन, परनिन्दा त्याग्छ जो नम्र बन्छ
हरबखत उही नै लोकमा पूज्य हुन्छ ।।

जति कलम चलाऊन् वेदकै चाङ लेखून्
पर-कदर नजान्ने पात्र नाली-किरा हुन्
नरमसित अरूको राख्छ जो उच्च मूल्य
अनि जनमन जित्दै बन्छ ऊ देव-तुल्य ।।

● दिन कटाउने-मानो पचाउने प्रयोजनका लागि

– नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *