पुस्तक समीक्षा : सिमानाको कथा

~प्रदीप नेपाल~

नेपाली भाषामा पृथक् परिचयको उपन्यास हो, गुलरको फूल । नेपालतिर नारायणी भनिएको नदी सिमाना काट्नेबित्तिकै भारतमा किन गण्डक हुन्छ भन्ने बालसुलभ प्रश्नको खोजीलाई तपाईंले उपन्यासको एउटा परिचय भनिदिनुुभए हुन्छ । यो उपन्यासमा सिमानाकृत र सिमान्तकृत दुवै खाले जनताको एउटै परिचय छ । उपन्यासकारले लेखेका छन्, ‘यहाँ लेखिएका प्रत्येक शब्द पात्रले बोलेका छन्, ती सबै मनमस्तिष्कमा अभिलिखित थिए । तिनै शब्दमा शक्ति भर्ने कामका साथै लिपिबद्ध गरिएको मात्र हो ।’

गुलरको फूल नेपाल–भारत सिमानाको वारिपारि बस्ने गरिब मानिसहरूको कथा हो । नागरिकताको व्यथा बोकेको कथा हो । कथामा चार परिवार छन् । कथामा माओवादी आन्दोलन र मधेस आन्दोलनको पीडा र विस्थापन पनि छ । कथामा गौनाको पीडा छ र त्यो पनि नागरिकतासँगै जोडिएको छ ।

चार परिवारको कथा हो, गुलरको फूल । रुदल– जन्मले भारतीय, कर्मले नेपाली । पण्डितजी, जन्मले पहाडी, कर्मले मधेसी । बाजे, दु:खैदु:खको मृत्युको परिचय । हर्के दाइ, खाँटी नेपाली ।

गुलरको फूलको राम्रो पक्ष हो, जनताले बनाउँछन्, नेताले बिगार्छन् भन्ने सत्यको सम्प्रेषण । रुदलले हेर्दाहेर्दै उसभन्दापछि आएका ठेकेदार र व्यापारीले सजिलै नेपाली नागरिकता पाउँछन् । किनभने, उनीहरूको ठूला नेताहरूसँग परिचय छ । तर, रुदलका लागि नागरिकता पाउन मृत्यु नै पर्खिनुपर्छ । किनभने, ऊ नागरिकता दिने सीडीओ साहेबलाई चिन्दैन । उपन्यासले भन्छ, ‘सानो गाउँ, सानो परिवेश र सानो सुख छ यो गाउँमा । …चाडपर्व अनुसार हिन्दुको घरबाट ठेकुवा र सेलरोटी मुसलमानको घरमा पुग्छ । मुसलमानको घरबाट सेवई र खजुर हिन्दुको घरमा पुग्छ । पकाउने चुलो र सुत्ने ठाउँ बेग्लै छ । अरू कुरामा भने एउटै परिवारजस्ता छन् गाउँलेहरू ।’

दुई जना किशोर पात्र छन्, मुकेश र भुलुवा । नामैले यी दुई किशोर दुई भिन्न समुदायको प्रतिनिधित्व गर्छन् । एउटा अनुच्छेदमा ती दुईबीचको मित्रतालाई यसरी चित्रित गरिएको छ, ‘मुकेश त भुसुक्कै भएछ । आज बिहानै भुलुवाको धान दाउने सल्लाह थियो । घाम दस हात माथि पुगिसकेको रहेछ । बाजे खेतको आलीमा बसेर बिँडी तान्न थालेका रहेछन् । मुकेश पनि जर्‍याकजुरुक उठ्यो । लामो फड्को मार्दै दुवै जना गाउँतिर हान्निए ।’

उपन्यासले इतिहासको चिनारी यसै गरी दिन्छ । चित्रणको पक्ष असाध्यै मीठो छ उपन्यासमा । जस्तो, ‘दिनको उज्यालोलाई निलेर झम्के साँझ परेको छ ।’

‘आँगनमा कौवा पनि कराउँछ । बाजे शुभ वा अशुभ छुट्याउँछन् अनि भन्छन्, जाऊ पङ्खी, राम्रो खबर लेराऊ । शुभ शुभ बोल है !’

अर्को एक ठाउँमा गरिएको चित्रण झनै बेजोडको छ, ‘बाजेको आङमा पण्डितजीको आँखा पर्‍यो । कमिज कठालो च्यातिएको र बाहुला उध्रिएको थियो । मैलो लुंगी एकापट्टि च्यातिएको थियो । काट्ने बेला भएको कपाल जिंग्रिंग देखिन्थ्यो …।’

यस्तै अर्को चित्रण यस्तो छ, रुदलको देश फेरिएको छ । माटो फेरिएको छ । उनको काम पनि फेरिएको छ । तर, उनको दु:ख फेरिएको छैन । उनले पन्छाउन खोजेको दु:ख ज्यूँका त्यूँ छ ।’

त्यस्तै अर्को, ‘बाजे झरी बादल केही भन्दैनथे । एक पित्को सुखका लागि अहोरात्र खटिरहन्थे । बिहान बेलुकाको गाँस जोड्न मुस्किल पथ्र्यो । गर्न हुनेजति काम गरे । कहिल्यै हिम्मत हारेनन् । अहिले आएर मृत्युसँग हारे । उनले मृत्युलाई जित्न सकेनन् । एक मुठी दुखिया सास उडेर गयो, सदासदाका लागि ।’

अलिकति उपन्यासको सार नलेखे पाठकलाई खुराक नपुग्ला कि जस्तो लाग्छ । गण्डक नहर सम्झौताबाट उपन्यास आरम्भ हुन्छ । उपन्यासको केन्द्रीय पात्र रुदल हो, भारतमा जन्मिएको रुदल मछुवारा । गण्डक नहर बनेपछि मछुवारी पेसा संकटमा पर्छ । उसका सन्तान नेपालमै जन्मिएका छन् । जेठो छोरो गण्डक किनारमै बस्छ र सानोतिनो व्यापार गर्छ । मछुवारी पेसा संकटमा परे पनि उसलाई भारत जान मन लाग्दैन । हर्के दाइ र बाजेहरूको संगतका कारण ऊ नेपालतिरै जीवन खोज्छ । बाजेसँग लागेर रुदलको जेठो छोरो र जेठी बुहारीबाहेकको परिवार नेपालको बारा जिल्लामा आइपुग्छ । कलौतिया उसकी छोरीको नाम हो । उसको बिहे भारतमा हुन्छ । तर, नेपाली नागरिकता नभएको हुनाले उसको गौना हुँदैन । कलौतियाको गौनाको बोझ बोकेर रुदलकी पत्नी मर्छे । नागरिकताको प्रतीक्षा गरिरहेको रुदल पनि नागरिकता पाएको केही क्षणमै मर्छ । कलौतियाले नागरिकता पाएको थाहा पाएर कलौतियाको लोग्ने गौना गर्न आउँछ । बाबुको मृत्यु । कपाल फुलेकी कलौतिया । दाह्री फुलेको उसको लोग्ने । उपन्यास यहीँ टुंगिन्छ ।

गुलरको फूलका बारेमा अलिकति जानकारी गराइहालौँ । अन्तिम पृष्ठमा प्राध्यापक मोहनराज शर्माले गुलरको फूललाई यसरी चित्रित गरेका छन्, ‘छिमेकको हिन्दीभाषी क्षेत्रमा र नेपालको तराई भागमा प्रचलित एउटा उखान हो, गुलरको फूल । यसले ‘अप्राप्य’लाई बुझाउँछ ।’ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले गुलरको फूललाई यसरी चिनाएका छन्, ‘एक सम्भव कल्पनाको, आशाको प्रतीक्षाको शिल्पले बुनिएको छ गुलरको फूल ।’

उपन्यास भोजपुरीभाषी क्षेत्रमा घुमेको छ । भोजपुरी भाषाको अध्ययन–अनुसन्धानमा लागेका गोपाल ठाकुर लेख्छन्, ‘तर, भाषिक–सांस्कृतिक हिसाबले उही परिवेशमा भए पनि सार्वभौमिकताको हिसाबले भारतबाट नेपालमा आप्रवासी भएर रहेको रुदलको परिवार र त्यसमा पनि छोरी कलौतियाको सुखद भविष्यका परिकल्पना गुलरको फूल साबित भएको दारुण यथार्थ पस्किएको नेपालीभाषीबाट लेखिएको मेरो अनुभवमा यो पहिलो कृति हो ।’

उपन्यासमा प्रत्यक्ष राजनीति छैन । यो यसको मिठास हो । भोजपुरीमा बोलिएका शब्दहरूको अर्थ उपन्यासको पुछारमा राखिएको छ । ठाकुर निष्कर्ष पस्किन्छन्, ‘विधि पुगेकाहरूका लागि नागरिकता गुलरको फूल नबनोस् ।’

गुलरको फूल (उपन्यास)
लेखक : माधव प्याकुरेल
प्रकाशक : ओरिएन्टल पब्लिकेसन
पृष्ठ : ३०+३२४
मूल्य : ३७५ रुपियाँ

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.