स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~Mohan Duwal

कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती अप्ठ्याराहरूसँग जुझ्दाजुझ्दै मानसिक चोट खपेर पनि जीवनलाई सङ्घर्षकै कठघरामा आफूलाई उभ्याएर कवि बनेका नरेश शाक्य। यिनले राजनीति गरे, समाजको देखरेख गरे, शिक्षण सेवामार्फत जीवन गुजारे, धेरै थोक गरे, गर्दागर्दै चोटहरू मनमा खोपेर कवितालाई जीवनसाथी बनाए।

यिनै कवि नरेश शाक्यको जन्म वि.सं. २००३ साल मार्ग महिनामा धरानमा भएको हो। गंगाप्रसाद र जगतकुमारी शाक्यको कोखबाट जन्म पाएका यिनले २०२३ सालमा नै बी.ए.को परीक्षा उत्तीर्ण गरेका हुन्। एम.ए.सम्मको स्वाध्यायन गर्न पाएका यिनले कथा, निबन्ध, समालोचना, नाटकमा समेत कलम चलाएको देखिन्छ। तर पनि यिनी कविता विधामा चर्चित बने। २०२० सालदेखि नै साहित्यमा कलम चलाएका यिनका केही कृतिहरू कसैले छाप्छु भनी लगेर हराइदिएका दुःखद घटनाबाट पनि यिनी मर्माहित छन्।Naresh Shakya

हजारौं हजार कविताहरू छपाइसकेका, कवितामा विम्ब खोप्न सिपालु कविका रूपमा सबैले थाहा पाएका कवि नरेशले कहिल्यै पनि स्वाभिमानलाई गिर्न नदिई आफ्नै पनमा बाँच्न खोज्दाका कारणले उनी पागलजस्तै बने। यो देशमा गोपालप्रसाद रिमालजस्ता तिखो कलमका धनी कवि त बहुलाए भने नरेश शाक्य किन बहुलाउँदैनन्? साथीभाइ, इष्टमित्र, टोलछिमेकीहरू मात्र नभई आफूसँगै काम गरेका जनताका नाममा राजनीति गरेका साथीसङ्गीहरू, देशलाई दास मनोवृत्तिमा व्याप्त तुल्याउँदै तर मार्न पल्केका नेताजीहरू हेर्दाहेर्दै यिनले आफूलाई सम्हाल्न सकेनन्। त्यसैले त यिनी हार खाँदै बहुलाजस्तै बाँच्न बाध्य भए।

धेरै समयसम्म भूमिगत भई कम्युनिस्ट पार्टीमा संलग्न रहेर काम गरेका यिनले देशबाट केही पाएनन्। यिनले सिर्फ तिरस्कार, अपमान, हेला पाए। हाल यिनी आफ्नो मनोदशारूपी रोगसँग संघर्ष गर्दै छन्। ललितपुर जिल्लाकै एउटा स्कुलमा शिक्षण सेवा गरेर चापागाउँ जाने बाटोमै रहेको मामा सेकुवा घरको छिँडी कोठामा जीवन जिउन सङ्घर्ष खेप्दै छन् कवि नरेश शाक्य। कवि भएर जीवनलाई हेर्न रुचाउने एकजना संवेदनशील कवि जसले साहित्यलाई जीवनको एक्सरे र अप्रेसन भन्न मन पराउँछन्। यिनै कवि कष्ट भोगेर जीवन गुजार्न बाध्य छन्। गोपालप्रसाद रिमाल, भूपि शेरचन, पारिजातका कविताहरूबाट विशेष प्रभावित नरेश शाक्यले साहित्य लेख्ने प्रेरणा सामाजिक उत्पीडन र अन्यायबाट प्राप्त गरेका कुरा सुनाउँछन्। आफ्नो लागि केही सोच्न नपाएका, बेथितिसँग जुझदै गरेका, जीवनलाई संघर्षकै भावभूमि सम्झिदै कर्मपथमा लम्किरहेका कवि नरेश शाक्यले आफ्नो कविता लेखनबारे यस खालको विचार पोखेका छन्– ‘कुनै वादलाई धार्मिक कट्टरताको दृष्टिले नहेरेर, पूर्वाग्रही नभएर, जीवनले भोगेका, सामना गर्नुपरेका, सफलता–असफलताका खुसी र पीडाहरूलाई त्यसको स्वाभाविक नैसर्गिक रूप र स्थितिमा उद्घाटित गर्नु नै मेरो कविताको स्वभाव भएको छ।

सधैँ भावुक। सधैँ गम्भीर। मझौला कदको शरीर। फुङ्ग परेको कपाल। ट्वाल्ल परेको आँखा। यस्तै खालका शारीरिक बनोटका आयामहरूमा आफूलाई कैद गरेर बाँचिरहेछन् आज पनि कवि शाक्य। फटाहाहरू बग्रेल्ती रहेको समाजमा इमानदारहरू बिकाउन गाह्रो छ। स्वार्थीहरू चलखेल गर्ने देशमा स्वाभिमानहरू बाँच्न निकै कष्ट हुन्छ। बेइमानहरू ठूला हुने परिवेशमा सोझाहरूले ठाउँ पाउँदैनन्। थुप्रै खालका व्यथाहरू मनमा राखेर बाँच्न बाध्य छन् यहाँ कवि नरेश शाक्यजस्तै थुप्रै नरेश शाक्यहरू। दुई–चार रचनाहरू छापेर रातारात कवि हुन रुचाउनेहरू, आफ्नो कृतिहरू अरुलाई लेख्न दिएर पाँचतारे होटलमा डिनर ख्वाएर कवि बन्न सोच्नेहरू, आफ्नो प्रशस्ति लेख्न लगाएर ठूलो कवि बन्न कसरत गर्नेहरू सबैका लागि नरेश शाक्यका कविताहरू पागलका प्रलापहरू भइदिन्छन् र बेअर्थका कवि भनेर हेला गर्न रुचाउँछन्।

आधुनिक नेपाली काव्य विधाका एकजना संवेदनशील कवि। देशभक्त कवि। जनमुखी कवि नरेश शाक्यका कविताहरू सरल हुनाका साथै मार्मिक तथा संवेदनशील छन्। प्रगतिवादी सोचोन्मुख दृष्टिचेत् राखेर लेखिएका सबैजसो कविताहरू सौन्दर्यबोध हुने खालका कलात्मक छन्। शैली र विषयवस्तुका तालमेल मिलाउन सिपालु कवि नरेश शाक्यका कविताहरू नरेश शाक्यजस्तै भावुक र मनोरम छन्।

विचारलाई सौन्दर्यशास्त्रीय रूप विधानमा कवितालाई लेख्न नजानेसम्म कविता सुन्दर बन्दैन। कविताका नाममा क्लिष्टता लेख्नेहरू, सौन्दर्यशास्त्रीय रूप विधान प्रयोग गरेर बेअर्थका कविता लेख्नेहरूका माझमा कवि नरेश शाक्य बेअर्थका कवि हुन सक्छन्। तर कविको ठहर छ नवीन भाव, रचनात्मक दृष्टिकोण पुरानो पारम्परिक शैलीमा अटाउन सक्दैनन्। जबरजस्ती राख्न खोजेमा त्यो नयाँ बोतलमा पुरानै रक्सी राखेसरह हुन्छ। देशको दयनीय स्थितिमा उनी लेख्छन्– ‘अन्धकारको पैशाचिक रङ्गहरू व्याप्त छन् क्षितिजमा। साम्राज्य भोको दानवी लालसाले दाह्रा नङ्ग्रा देखाएका छन् धरतीमा। मानिसको बस्तीमा शान्ति खलबलिएको छ। सुखको निद्रा भङ्ग हुँदै गएको छ। अपहरित भएको छ मानिसका सारा चैनहरू। जीवन खपी नसक्नुको दुःखको भूमरीमा फसेको छ। यो आजको जीवनको कविताको एक पाटो हो। यसको अर्को पाटो छ– मानिस निकास खोज्दै छ, यो त्रासद, भयपूर्ण स्थितिबाट। उज्यालोको चाहना मानिसको नैसर्गिक अधिकार हो। यही अधिकारको प्राप्तिका लागि उनीहरू संघर्ष गर्दै छन्। यी भावधाराहरूबाट कवितालाई आफ्नो अस्त्र बनाउँदै आएका कवि नरेश शाक्य आफ्नो कवितामा यसरी विचार खोप्छन्ः

म आकाशको विस्तार खोजिरहेछु
म आकाशको विस्तार चाहिरहेछु
सगरमाथाका चुलीहरूझैँ
चुलिँदै गइरहेका छन् मेरा आकांक्षाहरू
म सगरमाथाको उचाइलाई
आफ्नो उडानमा भर्न चाहन्छु।

कष्ट भोगेर बाँच्दै गरेका कवि नरेश शाक्यसँग भर्खरै केही दिन मात्र भयो भेट भएको। कर्कटपाताले घेरिएको एकतले भुइँकै कोठामा पानीमा आफूलाई चुहिन दिएर सन्त्रास बाँच्न उनी बाध्य छन्। भोकभोकै अभावमा मर्न लागेका कविजस्तै उनी एक्लै रहन बाध्य छन्। एकजना राई मित्रले अलिक भरथेग गरिदिएका छन् उनलाई खान–बस्नका लागि अलिक सस्तो गरेर, त्यसैले त उनी मामा सेकुवा घरमा बस्दै आएका छन्। तनावका औषधि खान्छन्, एउटा स्कुलमा रु. ८०००।– मा आफूलाई शिक्षकका रूपमा बेच्नै आएका यिनी त्यही रकमलाई बचाएर कवितासङ्ग्रह निकाल्ने उनको इच्छा मलाई सुनाउँछन्। जनमतबाट छाप्ने सहमति दिएँ। डा. जङ्गव चौहान उनका मित्रले उनको आत्मसंस्मरणका पुस्तक छाप्न सघाइदिने वचन दिन्छन्।

स्वाभिमानीहरू दुःखले बाँच्नुपर्ने यो देशमा नरेश शाक्यजस्ता कविहरू कहर काटेर बाँच्न बाध्य हुँदा कसलाई चित्त दुखाइ हुन्छ र ? कसले खोजी गर्छ र ? नरेश शाक्य कविलाई मनमा राखेर देशलाई एकटकले हेरिरहेछु। देशको अन्यौलपूर्ण स्थिति र रूपरङ्ग हेरेर देश बुझेका कवि नरेश शाक्य कवितामा यसरी लेख्छन्ः

स्तब्ध छ
रातले कसरी आफूलाई
दिन भन्न सकेको ?
अँध्यारोले कसरी आफूलाई
उज्यालो भन्न सकेको ?
ठिही र शीतको
कठ्याङ्ग्रिदो वा जाडोले
कसरी आफूलाई न्यानो भनेर
अभिवादन लिन सकेको ?
अभिवादन दिन सकेको ?

अन्धकारको वृत्तभित्र रहेर अन्धकारको वृत्त चिर्न खोज्ने कवि नरेश शाक्यका इच्छाहरू पूरा हुन्, शुभकामना छ।

(स्रोत : नेपाल समाचारपत्र)

This entry was posted in स्रष्टा परिचय and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *