लेख : सफल शीर्षक कसरी राख्ने : केही सूत्र

~मोहनराज शर्मा~mohanraj-sharma

कुनै कृतिको नामलाई शीर्षक भनिन्छ । प्रत्येक कृतिका माथ वा शीर्षमा रहने यो अङ्ग ज्यादै महत्त्वपूर्ण हुन्छ । शीर्षकलाई आधा रचना नै मानिने हुँदा लेखकले शीर्षकद्वारा आफ्ना कृतिको नामकरण खुबै सोचविचारका साथ गर्नु पर्छ ।

शीर्षक आकर्षक हुनु पर्छ, तर त्यसभन्दा बढी सार्थक हुनु आवश्यक छ । शीर्षक र कृतिमा विभिन्न खालको सम्बन्ध हुन्छ र यो सम्बन्ध नै सार्थक शीर्षक राख्ने आधार बनेको हुन्छ । सम्बन्ध र आधारका दृष्टिबाट शीर्षकहरू निम्नलिखित प्रकारका हुन्छन् :

१.सामञ्जस्यमूलक शीर्षक : कृतिको विषयवस्तु, पात्रनाम, स्थाननाम आदि र शीर्षकमा मेल वा सामञ्जस्य हुन्छ, जस्तै—विषयवस्तुका सामञ्जस्यमा राखिएका ‘बसाइँ, छिमेकी, पागल, विश्वव्यथा, मुग्लान, कमरेड भाउज्यू, खलङ्गामा हमला’ आदि, पात्रनामका सामञ्जस्यमा राखिएका ‘मुनामदन, मधुमालती, भक्त भानुभक्त, म जुजुमान, गुनकेसरी, राधा, जङ्गे, यलम्बर, पल्ली, गङ्गा, नरसिंह अवतार’ आदि र स्थाननामका सामञ्जस्यमा राखिएका ‘एटलान्टिक स्ट्रिट, ओखलढुङ्ग’ आदि शीर्षकहरू ।

२.सङ्केतात्मक शीर्षक : यस खालको शीर्षकले कृतिमा भन्न बाँकी रहको वा विशेष कुरातर्फ औंल्याउँछ, जस्तै—’चिसो चूल्हो, मसान, जय भूँडी, एक रात, हामीजस्तै मैनाकी आमा, बेकर स्ट्रिटका दुई आँखा, मलाई एउटा छाता दिनोस् है, वृषभवध’ आदि शीर्षकहरू ।

३.प्रतीकात्मक शीर्षक : यस खालको शीर्षक कथ्यको प्रतीक वा प्रतिनिधि बनेको हुन्छ, जस्तै— ‘दोषी चश्मा, परालको आगो, मैले नजन्माएको छोरो, सिमसारका राजदूत, उर्गेनको घोडा, गुलरको फूल, फूलको आतङ्क, सेतो बाघ, सेतो धरती’ आदि शीर्षकहरू ।

४.व्यतिरेकी शीर्षक : यस खालको शीर्षकले कृतिको अर्थभन्दा विपरीत अर्थ बुझाउँछ, जस्तै—’आज रमिता छ, के नेपाल सानो छ’ आदि शीर्षकहरू ।

५.निरपेक्ष शीर्षक : यस तरहका शीर्षकको कृतिसंग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमको साइनो हुँदैन । यस्तो शीर्षक विरलै राखिन्छ । विजय मल्लको कथा ‘पाटन’को शीर्षक यस्तै हो ।

माथिका आधारहरूलाई मनन गरेर राखिएका शीर्षक सार्थक हुन्छन् । तपाईंलाई आफ्ना कुनै कृतिको शीर्षक राख्न समस्या परेको छ भने तोकिएको १—५ ढाँचामा समस्या लेखी ‘कलमको आँखा : सिर्जना परामर्श’मा पठाउनोस्, तुरुन्त रचनात्मक सुझाउ निशुल्क पाउनु हुनेछ ।

(स्रोत : फेसबुकको ‘कलमको आँखा : सिर्जना परामर्श’ समूहबाट )

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.