अनूदित कथा : विक्रमादित्य, बूढी र सराय रोहिल्ला

~हरिश नवल~
अनु. : महेन्द्र महक

हठी विक्रमादित्यले एकपटक फेरि बेतालको लाशलाई रुखबाट ओराल्यो र काँधमा बोकेर हिड्यो, सदाझैं मौन । बेतालले केही समयपछि भन्यो, ‘तँमाथि मलाई दया लाग्छ । बाटो काट्न सजिलो होस् भनेर तँलाई म आज तेरै दिल्लीमा भएको एउटा घटना सुनाउँछु । दिल्लीको एउटा चर्चित ठाउँ छ, सराय रोहिल्ला । यहाँ बशेसरनाथ आफ्नी श्रीमती र छोराछोरीसँग बस्छ । उसको आर्थिक हैसियत– लोअर मिडिल क्लासको मान्छे हो । उसका दुई दाजुहरु छन्, जो दिल्लीमा नै फरक–फरक ठाउँमा छुट्टाछुट्टै बस्दै आएका छन् । उनीहरुकी एउटी मात्र बहिनी छ, जो विवाहपछि श्रीमान्सँग हापुडमा बस्दै आएकी छ । यी चारै जनाकी आमा मेरो यस कथाकी नायिका हुन् ।’

‘बूढी प्राग–ऐतिहासिक (साह्रै बूढी) भइसकेकी थिइन् । शरीरमा ताकतको नाममात्र पनि थिएन । छोराहरु उनको हातबाट उम्केर आफ्नी स्वास्नीको काखमा खेलिरहेका थिए । त्यसैले बिचारीले मेरठमा आफ्नो भाइको घरमा दिन काटिरहेकी थिइन् । एक दिन दुर्घटना यस्तो भयो कि ती वृद्धाको भाइको अकस्मात् मृत्यु भइदियो । भाइको छोराले सराय रोहिल्लामा बस्दै आएका बशेसरनाथलाई चिठ्ठी लेखेर खबर गरिदियो कि आएर आफ्नो चल सम्पत्ति आमालाई लिएर जानुहोस् जो आफ्नो भाइको मृत्युमा अचल भइसकेकी थिइन् । (तिमीलाई भन्नुपर्ने अर्को कुरा, मेरठको डायरीमा केवल सराय रोहिल्लाको मात्रै ठेगाना थियो ।)

बेतालले लामो सास लियो र कथा जारी राख्यो, ‘बशेसरनाथलाई पत्र प्राप्त भएको बेला ऊ पत्नीविहीन भएर सुखको जीवन बाँचिरहेको थियो । (स्वास्नी माइती गएकी थिई ।) ऊ आमाको सबैभन्दा कान्छो र प्यारो छोरा थियो । सायद त्यसैले उसको मनमा आमाका लागि अलिकता ‘भेकेन्सी’ थियो । ऊ तुरुन्त मेरठ गयो र आमालाई सराय रोहिल्ला ल्याएर आयो । आमा भने भाइको मृत्युको कारणले अथवा वृद्धावस्थाका कारणले साह्रै क्षीण हुँदै गएकी थिइन् । यहाँ आएको दुई दिनसम्म त बूढीलाई निकै आराम मिल्यो । तर तेस्रो दिन जब बशेसरनाथकी श्रीमती आफ्ना छोरा छोरीसहित माइतीबाट फर्की, बूढीलाई देखेर उसलाई छातीमा कालो सर्प दौडिएझैं लाग्यो । आफ्नो ओछ्यानमा सासुलाई सुतिरहेको र पतिदेवले आमाको टेम्परेचर नापिरहेको देखेपछि उसलाई खपिनसक्नुभयो । बल्लतल्ल श्रीमती नाथले आफ्नो टेम्परेचर (रिसको पारो) डाउन गरिन् । नमस्कार–चमत्कार अनि सेवा ढोगको औपचारिकतापछि पहिलो काम श्रीमती नाथले सासु आमालाई आफ्नो ओछ्यानबाट हटाएर पछाडिको कोठीमा सासु आमाकै उमेरसँग मेल खाने चारपाइजस्तो वस्तुमाथि स्थानान्तरण गरिन् । त्यसपछि श्रीमान् बशेसरनाथमाथि धावा बोलिन्, ‘तपाइँ मात्रै श्रवण कुमार हो र ? जो आफ्नी पूजनीय आमालाई सराय रोहिल्लाको तीर्थयात्रा गराएर पुण्य कमाउँदै हुनुहुन्छ ? अरु दुइटा छोरा के सौताका हुन् ? मैले नै यो आपत बेहोर्नुपर्ने… !’

उता बूढी भने ज्वरोले थल्लिएकी थिइन् । श्रीमती नाथका यस्ता डाइलग सुनेर उनको मन पनि थल्लिदै गयो । तर, त्यतिबेला नै उनलाई सन्तोष पनि लाग्यो, जब बशेसरनाथले रिसाउँदै कूटनीतिक तवरमा श्रीमती नाथको प्रतिवाद ग¥यो, ‘हे भगवान् ! हेर यतिबेला उहाँको बिदा लिने बेला हो । आज हो कि भोलि हो ! मैले त जानेर नै उहाँलाई यहाँ ल्याएर आएको हँु । दुनियाँले पनि देख्नेछ कि बूढीको अन्तिम दिनमा आखिरीमा बशेसरनाथकी स्वास्नी नै काम आई भनेर । सबैभन्दा कान्छी बुहारी हो तर सासुआमाको हेरविचार उसले नै गरी भनेर संसारले तेरो गुनगान गाउनेछ । फेरि आमा यहाँ रहँदा के समस्या छ र ? कोठामा पल्टिरहनुहुन्छ । धेरै खान पनि सक्नुहुन्न । राशन (सहुलियत दरमा दिइने खाद्यान्न) कार्डमा उहाँको नाम पनि राखिदिउँला । बाँकी रहने राशन ब्ल्याकमा बाहिर बेचौंला ! ठिक छ ?

‘वृद्धाले छोराले भनेको कुराबाट आफूलाई चाहिने जति कुरा मनमा राखिन् बाँकी अनावश्यक बिझाउने कुरा मकैको थोतो सम्झेर पन्छाइन् । अनि श्रीमती बशेसरनाथले लामो समयपछि पतिलाई ‘बुद्धिमान’को पदवीले विभुषित गरिन् ।’

‘भाइबहिनीहरुले थाहा पाए– आमा बिरामी हुनुहुन्छ र सराय रोहिल्लामा नै हुनुहुन्छ । त्यसैले अर्को आइतबार बिहान नास्ता खाने बेलासम्म– ठूलो छोराको परिवार अनि दिउँसो खाना खाने बेलासम्म माहिलो छोरा स–परिवार सराय रोहिल्ला आइपुगे । आमाको शारीरिक संस्करण कति संक्षिप्त भइसकेको थियो– यस विषयमा चिन्तित भएर चर्चा गर्न थाले । केटाकेटीहरुका लागि हजुरआमा अनौठो ‘वस्तु’ थियो– उनीहरु वृद्धालाई ठाउँ–ठाउँमा छोएर हेर्न थाले कि उनी कहाँ–कहाँबाट बोल्छिन् । हापुडबाट बहिनी पनि एक साँझ पतिदेवको साथमा रित्तो हात आइपुगी र दुई दिनपछि झोला भरि लिएर गई ।’

विक्रमादित्य थाकेको थियो । उसले काँध बदल्यो, बेतालले कथा जारी राख्यो, ‘दिनदिनै आमाको शरीर गल्दै गयो । हुँदा–हुँदा आमैको दिसापिसाब पनि ओछ्यानमा हुन थाल्यो । त्यसपछि भने श्रीमती बशेसरनाथको हालत बिग्रन थाल्यो । परिवार नियोजनको सौजन्यले गर्दा बच्चाको गुहूमुत धुने कामबाट मुक्ति पाइएको थियो तर अब बूढीले फेरि त्यो बिर्सनै लागेको दास्तान (घटना) ताजा बनाइदिएकी थिइन् । केही दिन त बूढीको दवा दारु (ओखतीमूलो) (दारु÷रक्सी भने बशेशरनाथले पिउने गथ्र्यो) भयो । तर केही समयपछि नै श्री तथा श्रीमती बशेसरनाथलाई यो महान ज्ञान प्राप्त भयो कि ओखतिमूलो भइराखे बूढी कहिलेसम्म बाँच्ने हुन्, टुङ्गो छैन । (लामो समय बाँचे पनि समस्या) त्यसैले औषधि पानी बन्द गरियो । बरु मनोकामनाहरु शुरु भए– बूढीबाट चाँडै छुटकारा पाइयोस् । तर यमराज उनलाई लिन आइरहेको थिएन । श्रीमती बशेसरनाथ हरेक बिहान नयाँ आशाका साथ उठ्थिन् तर वृद्धालाई परेली झिम्काउँदै गरेको देखेपछि साह्रै निरास हुन्थिन् । वृद्धाले खाना कम खान्थिन् तर खाएपछि बनाउने काम बढी गर्थिन् । घरमा भएका पुराना जति सबै लुगाफाटा वृद्धाले उत्पादन गरेको माललाई ठेगान लगाउनमा सकिएका थिए । श्रीमती बशेसरनाथले थुप्रै मनोकामना गरिन्, भाकल भाकिन्, उपाय रचिन्, व्रत पनि राखिन् तर हरेक उपाय बेकाम भयो ।

हार मानेर अन्तमा श्रीमतीजीले एकजना ज्योतिषीलाई बोलाइन् र उसलाई वृद्धाबाट मुक्ति कहिले पाइएला भनी सोधिन् । ज्योतिष अविवाहित थियो । उसले वृद्धालाई यसो हेरविचार गरेर भन्यो, ‘चिन्ता नगर्नुहोस्, आमालाई चाँडै सन्चो लाग्नेछ ।’

‘त्यहीं साँझ श्रीमान् बशेसरनाथलाई शाही हुकुम भयो कि आज रातिसम्म बूढीलाई जेठाजुको घरमा पु¥याइनुपर्छ । र त्यही रात बूढीको सरुवा मोरीगेटमा ठूलो छोराको घरमा भयो ।

‘त्यसको दुई दिनपछि मात्र बशेसरनाथलाई आमाको मृत्यु भएको सूचना प्राप्त भयो । पूरा परिवार मोरीगेटमा जम्मा भयो । बाहुन बोलाइयो, हवन गराइयो, विमान (शवयात्रामा प्रयोग गरिने रथ) बनाइयो । जसलाई तिनै भाइहरुले मिलेर सजाए । त्यसमा फलहरु झुण्ड्याइए । बेलुन सजाइए । राम्रो कपडाको कात्रो ओढाइयो । बूढीको लागि कपडा, जुत्ता, बाकस, भाँडा (जो कि उनलाई जिउँदो छँदा कहिलै प्राप्त हुन सकेनन्) आदिको व्यवस्था गरियो । उपस्थित भएकाहरुमध्ये बृद्धबृद्धाहरुको माग र केटाकेटीहरुको मागलाई प्राथमिकता दिइयो । ब्याण्ड बाजाको व्यवस्था गरियो र शव यात्रा साह्रै धुमधामका साथ निगम–बोध घाटतिर लाग्यो । घण्टी बजाइयो, गुलाल अबिर उडाइयो, तामाका पैसा (टिला छर्नु) छरियो । शव यात्राको अगाडि–अगाडि जल छर्कदै, मुण्डन गरेका, खाली खुट्टा, सेतो धोती मात्र लगाएका जेठाजु (जेठो छोरा) शोकविह्वल भएर रुँदै जाँदै थिए । सम्सान घाटमा जब वृद्धालाई अग्नि दिनका लागि दागबत्ती हातमा लिएर चितामा लिनेबित्तिकै जेठानी (जेठी बुहारी) बेहोस भएर भुइँमा पछारिइन् । श्रीमान् तथा श्रीमती बशेसरनाथ भने पहिलादेखि नै आँसुले नुहाइरहेका थिए र जेठाजु पनि पहिलादेखि रुँदै थिए ।’

केही समय मौन भएर बेतालले मुख खोल्यो, ‘ल त विक्रमादित्य, यो किस्सा यही सकिएको सम्झ । अब योसँग सम्बन्धित मेरा केही प्रश्नहरुको उत्तर देऊ । तिमीले जानेर पनि उत्तर दिएनौ भने तिम्रो टाउको टुक्रा–टुक्रा पर्नेछ । प्रश्न यो छ– श्रीमती तथा श्रीमान् बशेसरनाथले वृद्धाको मृत्युको कामना गरेकै थिए भने उनीहरु किन रोइरहेका थिए ? जेठाजु किन त्यसरी विह्वल भएर रोइरहेका थिए र जेठानी किन त्यसरी बेहोस भइ भुइँमा पछारिइन् ?’

विक्रमादित्यले टाउको कन्यायो अनि भन्यो, ‘जेठानी बेहोस भएर भुइँमा पछारिनुको कारण उनलाई खर्चको अनुमान थिएन । बूढी मरेपछि यत्ति धेरै पैसा खर्च होला भन्ने अनुमानसमेत नभएकी जेठानीले जब शवयात्रा भरी खर्च भएको पैसाको हिसाब लगाइन्, उनको होस ठेगानमा रहेन र बेहोस भई भुइँमा पछारिइन् । श्रीमती तथा श्रीमान् बशेसरनाथ रुनुको कारण– केही दिन थप आमालाई आफ्नो घरमा राखेको भए जुन यश आमाको काजक्रिया गरेकोमा जेठो छोरालाई प्राप्त भइरहेको थियो त्यो यश उनलाई मिल्ने थियो तर आफ्नै मति बिग्रेको कारणले प्राप्त भएन भन्ने सोचले रोइरहेका थिए । र, जेठाजु रुनुको कारण चाहिं कपाल थियो । कपाल पाल्ने र फेशन मन पराउने भए पनि आमाको मृत्युमा कपाल काट्नु परेकोमा उनी दुःखी भएर रोएका हुन् ।’

विक्रमादित्यको मौन भंग भएपछि बेताल फेरि उही रुखमा गएर उल्टो झुण्डियो ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in अनूदित कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *