व्यङ्ग्य निबन्ध : डिभी पुराण !

~सन्तोष चिमरिया~santosh-chimoriya

श्री गणेशाय नम:

शास्त्रमा देबहरुका पनि देब श्री महादेवका अनेकौं रुप , लिला र महिमाको बर्णन छ । शास्त्री नै नभए पनि यस्ता परमदेबको महिमागान गाउन मलाई सोमबार नै आउनु पर्छ भन्ने छैन । आज शनिबार गाए नि हुन्छ । पहिले पनि फेसबुकेश्वर महादेव र डलेरेश्वर महादेबको महिमागान र आरती गरेकै हुं । अस्ति श्रावणमा मात्रै पनि श्री लैनचोलेश्वर महादेवको महिमा कहेकै हुं । यो थितिले आजपर्यान्त श्री महादेवका महिमागान गाउनुको पुन्यफलले गर्दा यो पापी भक्तलाई फेरि पनि प्रभुको अर्को रुपको दर्शन गर्ने मौका मिलेको छ । ओहो मेरो अहोभाग्य ! आजपनी प्रभुको महिमा गाउन पाए । आज चाहिँ ,गल्ली र बाटाहरुमा , फुटपाथ र चौकहरुमा , आकासेपुल र पार्कहरुमा जतासुकैबाट प्रकट हुनु भएर दरिद्रजनका दरिद्र हर्न , भोकाका भोक र गरिबका कष्ट हर्नकै लागि यो हिमवत खण्डमा प्रकट हुनुभएका श्री डिभेश्वर महादेवको महिमागान गाउन हेतु उपस्थित भएको छु । सबै भक्तजनहरुले हात हातमा डिभी साईजको फोटो र फारम लिएर ध्यानसंग सुन्नु होला ।

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्तेमुनी !

………. तहां उप्रान्त पृथ्वीको यो खण्डमा हाहाकार भयो । पढेलेखेका भक्तजनहरु बेरोजगार भएर भोकभोकै रहदा भए । भोकाग्नी सान्त पार्न कोहि खाडी र कोहि मलेसियामा जादा भए । कोहि दर्बान, कुल्ली र कोहि गोर्खा हुँदा भए । भक्तजनका यस्ता संकट देखिकन, श्री संकटमोचक, दयानिधी, कृपानिधि , देवादी देव ,श्री महादेब पश्चिम दिशाबाट डिभेश्वर महादेवका रुपमा प्रकट हुनुभयो र भक्तजनहरुलाई उद्दार गर्न लाग्नु भयो ।

हे भक्तगण ! ध्यान दिएर प्रभुको महिमा सुन ।

श्री डिभेश्वर महादेव कस्ता महादेब भने ,एटलान्टिक सागरको बैतरणी तार्न सक्ने एकमात्र महादेब ! प्रभुको दया बिना अपरम्पार एटलान्टिक नदिको बैतर्णी तरेर पृथ्वी तलभरीको स्वर्गलोकमा जीउँदै पुग्न सकिदैन र जस्ले एकबारको जुनीमा प्रसान्त महासागरको बैतरणी तरेर मर्त्यलोकको स्वर्गलोक पुग्न सकेन त्यसको जीवन ब्यर्थै गयो । हे डिभेश्वर महादेबका परमभक्त ! सुन !! आईफोन सेभेन भएपनी ब्यर्थै भयो त्यसको मोबाइल, जसले नागरा फल्स र टाईम स्क्वायरमा एउटासम्म सेल्फी खिचेर फेसबुकमा टांस्न सकेन । ब्यर्थै गयो त्यसको जीवन जसले स्वतन्त्रताकि देबीको दर्शन गर्न सकेन । ब्यर्थै गयो त्यसको जीवन जसले स्वर्गलोकका दुई नगरी न्युयोर्क र वासिङ्टनको परिभ्रमण गरेन । यसरी भक्तहरूको एकबारको जुनी मर्त्यलोकको स्वर्गलोकबाट बिमुख भएर भोकै, नाङै, दरिद्रै, बितेको देखेपछि दुखहर्ता, बिघ्नहर्ता , करुणावतार परमपुज्य श्री महादेव जसरी पशुहरुको उद्दार गर्न पशुपति हुनुभयो, त्यसरी नै आफ्ना भक्तजनहरुको दुख कष्ट हरण गर्न डिभेश्वर महादेबको रुपमा प्रकट हुनु भइकन भक्तजनको लटका लट प्रत्येक बर्ष उद्दार गर्न लाग्नुभयो ।

हे भक्तगण ध्यान दिएर सुन ! अब अम्रीका नामको डिभेश्वर धामको महिमा कहन्छु । जसरी प्रभुको मुलरुप कपुर गौरम…… भनेर शास्त्रमा भनिएको छ , त्यसरी नै डिभेश्वर धाम कपुर जस्तै गोरा देबहरुको धाम हो । जहाँ दूध र महको खोलै बग्छ र कल्पबृक्षमा हरियो डलर फल्दछ । हरियो डलरका प्रभाबले त्यो लोकमा सबै खुशी , सबै सुखी हुन्छ्न । यस्ता डलरको प्रभाबले भक्तजनहरु चियाको सट्टा कफि, पानीको सट्टामा कोक, ढिडोको बद्लामा बर्गर खान सक्षम हुन्छ्न । हे बालक ! ध्यानसंग सुन । एटलान्टा सागरको बैतरणी तरेर जुन लोक पुगिन्छ , त्यो चानचुने लोक होइन । त्यो त्यस्तो अनुपम लोक हो जहाँ बच्चा/ बच्चाले अग्रेजीमा श्लोकवद्ध भएर बोल्न सक्दछन । जहाँ फेरेनलब्ली नलगाई स्त्रीहरु गौरी झै गोरी हुन्छ्न र जहाँ भिक्षु नै भएर भिक्षापत्र लिएर माग्नेहरु पनि गाडी चड्छन र डलरमा कमाई गर्छ्न । जहाँका देबदेबीहरु चन्द्रलोकको भ्रमण गरेर पृथ्वी फर्किएपछि मंगललोकको भ्रमणमा जान्छ्न । जहाँ बोईङ र आईफोन बन्छ । जहाँ बिल गेट्स जस्ता कुबेर र किम कादर्सन जस्ती अप्सरा बस्छिन । यस्ता सहस्र गुण र सुबिधाले युक्त भएको डिभेश्वर धाम अम्रीकाको ग्रीनकार्ड मात्रै पाए पनि सातपुस्ताको बाचुन्जेल युएस र मरेपछि सिधै बैकुण्ठबास हुन्छ ।

हे भक्त ! यस्ता प्रकारले सबै गुणबाट युक्त भएको, पृथ्वी तलभरीको महाशक्ति, महाधनी , महाज्ञानी अर्थात, दुर्गा,लक्ष्मी र सरस्वतीले एकै ठाउँमा बास गरेकी स्वेतभुमीमा बस्न , कर्म गर्न र मर्न मात्रै पाए पनि अत्यन्तै ठुलो कृति रहन्छ । कृति फैलिएर टाढा टाढाका कुम्भ/ कुटुम्ब, ज्वाइँ/ चेली, भान्जा/ भान्जी, भतिज/ भतिजी समेत आफ्नै र नजिकैका हुन्छ्न । त्यो लोकमा पुगेको , परिभ्रमण गरेको , कर्म गर्दै ग्रीनकार्ड प्राप्त भाग्यमानी उमेदवार शिव शर्मै भए पनि १२ पढ्दै गरेकी गोमा जस्ती बधु पाउनु भनी श्री डिभेश्वर महादेबले बरदान दिनु भएको छ । यस प्रकार, त्यो लोकमा प्राप्त हुने सुख भोगको बर्णन गरेर साध्य छैन । किनभने डिभेश्वर महादेबका बरदानले प्राप्त हुने डिभेश्वर धामको त्यो देश अमेरिकाको महिमा हजार जिब्रा भएका शेषनागले नि गर्न सकेका छैनन् । शेषनागले नसकेको त्यो कर्म डिभी पर्न नसकेर भाउन्न भएको म बबुरोले बर्बराउदा कसरी त्यसको महिमा पुर्ण हुन्थ्यो र ?

अत: जे जस्तो भएपनि यसैलाई पुर्ण महिमा मानेर भक्ती र श्रद्धापुर्बक यो पटक पनि १२ घन्टा तपस्वी खडेबाबा पशुपतिमा खडा भएको मुद्रामा खडा भएर डिभी भर्नु । श्री डिभेश्वर बाबाका प्रतापले अबस्य पनि यो पटक मोक्ष मिल्नेछ ।

इति इस्कण्डे पुराण खन्डे माग महात्मे कुमार अगस्ते डिभी पुराण इति !

नोट – यो डिभी पुराणलाई शास्त्रीय वचन मानेर सेयर , लाईक र कमेन्ट मात्रै गरे पनि पुन्यफल स्वरुप डिभी प्राप्त भएर सातै पुस्ताको अमृका बास हुन गइ स्वर्गीय आनंद प्राप्त हुनेछ । यसलाई हावागफ मानेर लाईक / कमेन्ट नगरे सात पुस्ताको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नामको नर्ककुन्डमा सदैब बास हुनेछ । जहाँ उसलाई महंगी, गरिबी , भ्रष्टाचार र कुब्यावस्थाका तातो तेलमा आजन्म पकौडा बनाएर तारिने छ ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.