कथा : लाले, सरस्वती पुजा र पुरी

~कमल कुमार~kamal-kumar

हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा कर्रा खोलाले झण्डै स्कुल नै लगेको रहेछ । स्कुलको चौर भनेको खोलाको बगर थियो । होचो ठाउँमा भएकाले बगरमा ढुङ्गा चाहिँ थिएनन्, खोलाले बगाएर ल्याएको बालुवा थुप्रेर त्यो बलौटे बगर बनेको थियो; मरुभूमि जस्तो मेरो स्कुलको चौर । पछिसम्म खोलाले बाटो फेरेन र त्यो बालुवाको मैदानमा घाँस पलाउन थाल्यो, गाइबस्तु चर्न थाले, हामी खेल्न थाल्यौं, स्कुलको वार्षिक दिवसमा दौड हुन थाल्यो, र सरस्वती पुजामा भोज हुन थाल्यो, हलुवा र पुरीको ।

***

स्कुल नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्ग थियो । राजमार्गको दायाँबायाँ बगरेका बस्तिहरु, भट्टी र ससाना चिया पसल थिए । खोला पारिबाट स्कुल आउनेहरु राजमार्गकै पुल तरेर आउँथे । बाटो छेउछाउमा पैदल यात्रीलाई हिँड्ने फराकिलो ठाउँ थिएन । त्यसमाथि अधिकांश समय बाटो छेउमा ट्रकहरु पार्किङ गरिएका हुन्थे अनि अमलेखगन्जबाट होटलवालाहरुको लागि ट्रकको हुटमा हालेर ल्याइएका दाउराको भारी लडाइएको हुन्थे । विरगंजबाट राँगा बोकेर आएका लामा र थोत्रा ट्रकहरु धुँवाको मुस्लो फालेर घुइँ घुइँ गर्दै उत्तरतिर उकालो लाग्थे, अनि नेपालगंजदेखि आएका ‘रैना ट्राभल्स’ लेखिएका लामा लामा यात्रुबाहक बसहरु प्वाँ पुँ प्वाँ पुँ प्वाँ गरेर लामो सांगितक हर्न बजाउँदै हुँइकिन्थे । राजमार्ग छेवैमा स्कुल भएकाले वर्षेनी कोही न कोही विद्यार्थीको गाडीले किचेर ज्यान जान्थ्यो ।

हामीलाई को मर्यो भन्दा पनि विद्यार्थी मरेपछि स्कुलमा शोकको लागि हुने छुट्टीले बढि महत्व राख्थ्यो । लालबहादुर तामाङ पनि खोला पारिबाट स्कुल आउँथ्यो तर बाटोमा गाडीले किच्ला भन्ने डरले उ पुल तरेर हैन खोला तरेर आउँथ्यो ।

***

लालेको नाम लालबहादुर हो भन्ने धेरै पछि थाहा भएको थियो । सरहरु र साथीभाइ सबैले उसलाई लाले भन्थे । हामी ४-५ कक्षा मा हुँदै लालेको जुँगाको रेखी बसिसकेको थियो । म भन्दा ठूलो र बलियो र मोटोघाटो थियो लाले । कालो वर्णको दुइटा गाला पुक्क बाहिर निस्केका थिए, ओठदेखि गालासम्मको लामो खतमा टाँका लाएको डोब प्रष्ट देखिन्थ्यो । कपाल छोटो छोटो पारेर काट्थ्यो अनि सिधा अगाडि सम्याएको हुन्थ्यो, हामी त्यस्तो कपाललाई ‘लाटा कट’ भन्थ्यौं । लाले सबैलाई दौडमा जित्न सक्थ्यो, दुइ तीन जनालाई पछार्न सक्थ्यो । सँगै पढ्ने केटीहरुसँग म बोल्न लजाउँथें, लालेको दोस्ती राम्रो थियो । कहिले काहिँ लाले देखेर मलाई डाह लाग्थ्यो । तर लाले पढ्नमा चाहिँ लोदर थियो । सँधै गोलो खाएर बल्ल तल्ल पास हुन्थ्यो ।

***

स्कुल पढुन्जेल ठूलो उत्सव हुने गर्थ्यो हाम्रा लागि सरस्वती पुजा । एक महिना अघि देखि नै तयारी सुरु हुन्थ्यो । बजेट र किनमेलको काम ९-१० कक्षामा पढ्ने ठुलाहरुले गर्थे । हामी सानाहरु विशुद्ध कार्यकर्ता थियौं । सबै सँग पैसा उठाइन्थ्यो । पैसा दिनेहरुले हलुवा र पुरीको भोज खान पाउँथे, नदिनेहरु सरस्वतीको फोटोमा ढोगेर हातमा पर्साद थापेर घर फर्कनु पर्थ्यो । सरस्वती पुजाको अघिल्लो दिन नै मैदा पकाएर रंगीन कागजको तोरण तयार पार्न हामी लागि पर्थ्यौ‌ । भोलि पल्ट झिसमिसेमै स्कुल पुग्थ्यौं अनि बेहुली झैं सिँगारिन्थ्यो स्कुल। सबै लाइनमा बसेपछि वेन्चमाथि उभिएर सँस्कृत पढाउने गुरुले सरस्वतीको बन्दना भाका हालेर गाउँथे अनि हामी त्यही दोहोर्याउँथ्यौं । सुरुका एक दुइ वर्ष ‘बुडी माइडम’ ले सरस्वतीको बन्दना सुनाएकी थिइन् । हामीलाई सँस्कृत पढाउने ‘बुडी माइडम’को नाम कहिल्यै थाहा भएन । ‘बुडी’ माइडम बुढी भइन्, रिटायर्ड भइन्, अहिले यो संसारबाट पनि गइसकिन् । पछि पछि नेपाली पढाउने अर्का सरले सरस्वती बन्दना गाउन थाले ।

***

पुजा आजा सकेपछि हामी सबै खोला छेउको चौरमा लहरै बस्थ्यौं । खाने थाल आफैंले लानु पर्थ्यो । अनि हलुवा र पुरीको भोज सुरु हुन्थ्यो । सरस्वती पुजाको भोजमा एउटा अघोषित प्रतियोगिता हुने गर्थ्यो, कसले धेरै पुरी खाने भन्ने प्रतियोगिता । शायद लालेले नै सुरु गरेको हुनुपर्छ यो चलन, किनभने लगातार दुई वर्ष सम्म पुरी खाने प्रतियोगिताको उपाधि लालेकै नाममा थियो । लालेले परार २० वटा पुरी खायो रे, पोहोर त झन् आफ्नै रेकर्ड तोडेर २२ वटा खाएछ । लौ यसपालि लालेले के गर्ने हो !

***

हामी ६ कक्षामा पढ्थ्यौं होला । सरस्वती पुजाको भोजको दिन । भोजमा लाले म भन्दा पल्लो लाइनमा बसेको थियो । हलुवा पुरी बाँड्नेहरु पनि लालेलाई हौस्याउँदै थिए नयाँ रेकर्ड ब्रेक गर्न । लाले खाँदै थियो, अरु गन्दै थिए । ‘१८….१९…..२०…. खा लाले खा…तलाई अरुलेइ जित्ला !’

लाले बल गर्दै थियो । मलाइ लालेको पब्लिसिटी देखेर पहिल्यै लोभ लागेको थियो । ‘मैले नि लालेले जत्ति नै पुरी खान पाए सबले मलाइ चिन्थे, कत्रो नाम हुन्थ्यो’ यस्तो तर्कना गर्दै लालेतिर आँखा गाड्दै म पुरी ठेलिरहेको थिएँ । मैले खाको पुरी न कसैले हेरेको थियो, न कसैले गनेको थियो । लाले खाँदा खाँदा टक्क अड्क्यो, बिस्तारि तन्क्यो । माघको जाडोमा पनि लाले पसिनाले निथ्रुक्क भिजेको थियो । ‘यत्ति हो अरु खान सक्दिनँ’ लालेले २३ वटा खाएछ । यसपालि पनि लाले नै हिरो हुने पक्का भइसकेको थियो । उसलाई खुवाउने भान्छेहरु भने अझै धेरै खुवाउन नसकेकोमा खुशि थिएनन् । मलाई एक्कासी कहाँ बाट के फुर्यो, सँगै छेउमा बस्ने साथीलाई हिम्मत गरेर भनें, ‘ओइ मैले त २६ वटा खाएँ बुझिस्?’

त्यसपछि त्यो साथी चिच्यायो ‘कमलले २६ वटा पुरी खायो ।’

लालेले निराश अनुहार पार्दै पुलुक्क मलाई हेर्यो । सबैको कान ठाडा भए । लालेलाई घेर्नेहरु मलाइ घेर्न आए । लाले एक्लो भयो । म भीडको भए । गाइगुइ गाइगुइँ हुँदै सबैको कानमा पुग्यो मैले ‘२६ वटा पुरी खाएको’ कुरा । अनि धेरै पु्री खाने उपाधि मैले जितेँ । भिडले मैले नै जितेको ठहर्यो । लाले हार्यो । मैले झुटो बोलेर जितेँ । वर्षभरि साथीभाइ र छरछिमेकले मलाई ‘२६ पुरी’ उपनाम दिए । म दङ्ग परेँ ।

***

आठ कक्षाको जिल्ला स्तरीयमा फेल भएपछि लालेले स्कुल छोड्यो । कहाँ गयो, के भयो केही थाहा पाइएन । कसैले भन्यो, ‘लालेको बा बिते रे अनि पढ्न छाडेको रे’

लाले जस्तै मेरा धेरै साथीहरु औद्योगिक क्षेत्रका मजदुर र ट्रक ड्राइभरका छोराछोरी थिए । धेरैको आर्थिक अवस्था कमजोर थियो । बाध्यताले गर्दा पढाइ पुरा गर्न पाउँदैन थिए । अरु थुप्रै साथी पनि स्कुल पढ्दा पढ्दै कोही फ्याक्ट्रीमा काम गर्न गए, कोही ड्राइभर भए, कोही खलासी भए । त्यसैले लाले स्कुलबाट हराउनु पनि मेरा लागि नौलो भएन ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *