बिस्नु प्रवा सापकोटाका चौध मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

टेकेको धर्ती जति छ,नटेकेको झन कती कती
देखेको कुरा जती छ,नदेखेको झन कती कती
जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ –
लेखेको कथा जती छ,नलेखेको झन कती कती ।।

पराइको चुरी फुरी बढेको छ
जताततै हावा हुरी बढेको छ
जब तौल घट्दै गयो खल्तीको-
तिम्रो मेरो बिचको दुरी बढेको छ ।।

डालिको माया मार्ने चरीको कुरा नगर
कल्पनाकी सुन्दरी परीको कुरा नगर
बाढीले लतारेको,झुप्रोको याद आउछ-
भो भैगो साउने झरीको कुरा नगर ।।
(२०६७-०४-१७ )

जो सधैं आँशुको सागर बोकेर आँउछ
र मलाई जिन्दगीमा दिन रात रुवाँउछ
फेरी उहि निष्ठुरी सामु आइ ब्यङग् गर्छ –
पृय तिम्रो आँखामा गाजल खुव सुहाँउछ ।।

कतै झरना भएर पोखिएं भने पनि
कतै पहराहरुमा ठोकिएं भने पनि
म बग्न छाडें भनेर नसोच्नु कसैले-
तालहरुमा एकछिन रोकिएं भने पनि ।।
(२०६७-०२-१० )

आकाशमाथि विश्वास गर दर्किनेछ कुनै दिन
त्यो बगेकै खोला होस् फर्किनेछ कुनै दिन
उल्टो-सुल्टो सुल्टो-उल्टो हुनेछ अवश्य
झुपडीसंग महल थर्किनेछ छ कुनै दिन ।।

सारा ग्रन्थहरुको सार नपढेसम्म
साहसी पाइलाहरु अधि नबढेसम्म
आँफूभित्रैको मान्छे जगाउन गाह्रो रैछ-
आँफूबिरुद्ध आफैं युद्ध नलडेसम्म ।।

कहिलै पनि नजितेको बाजी हूँ म
कहिलै काजी हुन नसकेको पाजी हूँ म
भुमरीमा डुङगा छ। भेलबीच साउनको–
एक्लै किनारामा उभिएको माझी हुँ म ।।

हिंड्दा-हिंड्दै बाटो भासियो कि कसो ?
शरीरभरि एजेरु टाँसियो कि कसो ?
धेरै भयो आँउछु भनी झुक्याएको तिम्ले-
साँच्चै गाँउको चोखो माया मासियो कि कसो ?

हावाले नै शीतलता दिन्छ, हावाले नै उडाउँछ पनि
पानीलेनै तिर्खा मेट्छ पानीलेनै फेरि बगाउँछ पनि
उज्याला अँध्यारा पाटाहरु कस्का हुदैनन् र माईली–
आगोले नै न्यानो दिन्छ फेरि आगोले नै डढाउछ पनि ।।

‘बिनाबर्सात नै बाढी आयो’ भन्यौ तिमीले
पिच रोडबीचमै झाडी आयो भन्यौ तिमीले
कनिकुथी लेखेको एउटा मुक्तक सुनाउँ भनेको
छेउ नपुग्दै साला गफाडी आयो भन्यौ तिमीले ।।
(April 30, 2010)

यो गल्ली र चोक उस्तै छ
यहाँ रोग र भोक उस्तै छ
तिमी मात्रै बदलियौ साथी-
अरु त सवथोक उस्तै छ ।।

साथी बिरानो भो अब घातीको पालो आयो
उज्यालो टाढा भो अब रातिको पालो आयो
अभावै अभावको पहाड बोकेर यहि बाटो हुँदै-
बाजे हिंडे,बा हिंडे अब नातिको पालो आयो ।।

एउटा खुल्ला आकाश दिउँला भनेको
समस्याको कुनै निकास दिउँला भनेको
के गरुं समयले आफैलाइ ढुङ्गा बनायो-
फूल भै तिमिलाइ सुवास् दिउँला भनेको । ।
(February 22, 2010)

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *