लघुकथा : परीक्षा

~कात्यायन~dhanwantari-mishra-katyayan

– कस्तो अनौठो नाम कमलको फूल! हो, फूलको हैन मान्छेको नाम हो यो|

– एक्कासि श्री हराएको अनुभूति गर्छ! मनस्तापले पोले झैं मसुसुस गर्छ! सुगन्ध-विहिन् सम्झन्छ आफैंलाई !

– सत्ता, सुन्दरी र शराबको अनुभव प्रसस्तै नगरेको पनि हैन उसले| मान्छेहरूलाई, समाजलाई र अझ देशलाई नै आफ्नो कब्जामा राख्नसक्ने शक्ति आर्जन नगरेको पनि हैन उसले|

– एकै आदेशमा बलिरहेको आगोमा मान्छेहरूलाई होम्न सक्ने क्षमता थियो उसको! माई-स्थानमा पशुलाई झैं युवाहरूलाई युध्दमा होम्न सक्ने तागत थियो उसको! साम-दाम-दण्ड-भेदको निपूण खेलाडी सम्झिन्थ्यो आफुलाई|

– शक्तिको अंशबंडासंगै आफुलाई निरीह बन्नु पर्ला भन्ने उसले कहिल्यै सोचेको थिएन| न त कहिल्यै माई-स्थानमा बलि चढाइएका राँगाहरूका आला रगतले आफुलाई पोल्ला भन्ने नै कल्पना गरेको थियो उसले| न त …

– अहिले आफ्नै नामले डसिरहेछ उसलाई! कमलको फूलले घोचिरहेछ उसलाई!

– सोचिरहेछ – नाम फेरौं? रुप फेरौं? काम फेरौं? नीति फेरौं? समाज फेरौं वा देश नै?…

– र, पश्चात आफैंलाई छकाउंदै चर्चित गुरुकोमा शरणागत् हुन पुग्छ| गुरुसँग मुक्तिको मार्गको भिख माग्दछ| गुरकै अत्याधुनिक आश्रममा आश्रयकोलागि याचना गर्दछ, गिडगिडाउँछ| वचनको ठेगान नभएको, अहं र यश-ऐश्वर्यले चूर भएको भन्दै गुरु उसको अनुरोधलाई ईन्कार गर्छन्| सबै त्यागेर आउन सल्लाह दिन्छन्|

– फर्केर, पराजित मनस्थितिमा कसैसंग वार्तालाप नगरी सोचमग्न हुन्छ केहि समय र केहि दिनमा नै सुमार्ग-कुमार्गबाट आर्जन गरिएका आफ्ना सम्पूर्ण श्री-सम्पति जम्मा गरेर सुटकेशमा राख्छ, चल-अचल सारा सम्पति गुरुको आश्रमको नाममा वसियतनामा बनाउँछ| र ढुक्क भएर फेरि गुरुको पाऊमा सम्पूर्णरूपले आफुलाई समर्पित गर्न पुग्छ|

– अध्ययनरत् गुरु केहि नबोली आफ्ना सहयोगीहरूलाई, उसलाई विश्राम-स्थलमा लिएरजान संकेत गर्छन्|

– उ आज आफैभित्र कमलको फूलको सुगन्ध मग्मगाएको आभासले लठ्ठ हुन्छ र भुसुक्क निदाउँछ!

– सबेरै ब्युँझनासाथ उ परम्पूजनीय गुरुको दर्शन गर्न लालाहित हुन्छ, जसले गत रात उसलाई चरमानंदको अनुभूति गराएका थिए|

– तर, आज गुरुका सहयोगीहरूले उसलाई गुरुकोमा जान रोकिरहेका थिए| कहाँ छन्’का जवाफ पनि दिइरहेका थिएनन्| प्रवचनका मीठा आवाजहरू पनि कतै गुन्जिएका थिएनन् आज| ऊ अन्यौलग्रस्त हुन्छ, छटपटाउँछ! पाक्छ र भक्भकाउँछ भित्र-भित्रै!… कतै गुरु त: भागेनन्???…वसियतनामाको चिन्ताले सताउंछ! र, निष्कर्षमा आफुलाई शून्यतामा पाउँछ!

– र, मोबाइलमा हिजोका आफन्तहरू; बलिष्ठ, बहुबलि, शक्तिशालि सहयोगीहरूको नामहरू पनि फेला पर्दैनन्|

– र, कमलको फूल एक्कासि सुक्छ, जर्जर हुन्छ र बल्छ दन्दनि!

२०७३/०१/३१
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *